उपचारका लागि जम्मा पारेको पाँच लाख पचाउन कसैले बिरामी ससुरासहित सासू र आफ्नै श्रीमतीको समेत हत्या गर्न सक्छ होला ?
झट्ट सोच्दा सहज आउने उत्तर हो, ‘अहं...सक्दैन ।’ तपार्इंको निष्कर्ष पनि यही हो त ? पख्नुस् एक क्रुर सिरियल किलरको इतिवृत्ति पढ्नुस् जसले २०६४ देखि ०७० को बीचमा ७ जनाको हत्या गरे । जसमा उनकी आफ्नै श्रीमती, सासू–ससुरासमेत मारिए ।
ती क्रुर हत्यारा हुन् सप्तरीका मोहम्मद सकिल हुसेन । अपराधपछि भागेर कतार पुगेका उनी बल्ल नेपाल आइपुगेका छन् । प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार इन्टरपोलको सहयोगमा नेपाल ल्याएर सप्तरी पुर्याइएका उनलाई जिल्ला अदालत सप्तरीमा पेश गरी अनुसन्धानका लागि म्याद लिएको छ ।
‘उनका केही अपराधको अनुसन्धान सकिइसकेको छ, केहीको बाँकी छ,’ डिआइजी न्यौपानेले भने, ‘अनुसन्धान गर्न बाँकी रहेका अभियोगमा अनुसन्धानका लागि अदालतमा पेश गरेर म्याद लिइएको छ ।’
५५ वर्षका इन्द्रीस खालिफ बिरामी थिए । घरमा त्यस्तै ५ लाख रुपैयाँ जम्मा गरेका थिए । ज्वाइँ मोहम्मद सकिल हुसेनले खुबै माया गर्थे उनलाई । उनले उपचार गराइदिन्छु भनेर सुनसरीको इनरुवामा रहेको डेरामा बोलाएपछि उत्तिकै उमेरकी श्रीमती जैतुन खातुनलाई लिएर छोरी सैरुल खातुनको डेरामा पुगे । २०७० मा उपचारका लागि ज्वाइँको डेरामा पुगेका वृद्ध इन्द्रीस दम्पती बेपत्ता भए ।
सँगै १८ वर्षकी छोरी पनि हराइन् । परिवारका सदस्यले नखोजेका हैनन् । तर फेला परेनन् । केही समयपछि यी तीनै जनाको कंकाल इनरुवाको जिल्ला प्रशासन कार्यालयको पुरानो भवन नजिकैको बारीमा फेला प¥यो । किन मारिए वृद्ध दम्पती रहस्य कायमै थियो ।
एकै परिवारका तीनजना हराउनु अगाडिदेखि नै सप्तरीमा अन्य ४ व्यक्तिसमेत हराइरहेका थिए । २०७० को मंसिरबाट दुलारीदेवी साह हराएकी थिइन् । २०६९ बाट सहबुँद मिया र सागिरा खातुन हराएका थिए । यही सूचीमा थिए डम्बर र कौशल्या भट्टराई ।
एकै प्रकृतिले व्यक्तिहरु हराएको उजुरीको चाङ देखेपछि पर्सा प्रहरीले २०७२ मा पुरानो फाइलको धुलो टक्टक्यायो । शंकामा परे मोहम्मद मजलुम मियाँ, समिना र नगिना खातुन । पक्राउ परेका तीनजनाबाट पोलिए मेदी मिया, नजामुद्धिन मियाँ, हजरुन खातुन, गुल्जार मियाँ, मोहम्मद मस्तकिम र मोहम्मद मजलुम मिया । यी सबैबाट नाम आयो रइस मियाँ र मोहम्मद सकिल हुसेन ।
अनुसन्धानमा सकिल २०६४ वैशाख २६ गते मारिएका आरुल मियाँको हत्या अभियोगमा २ वर्षपछि पक्राउ परेको खुल्यो । जिल्ला अदालतबाट पूर्पक्षका लागि थुनामा परेका उनी तत्कालीन पुनरावेदन अदालत राजविराजको आदेशमा थुनामुक्त भएको खुल्यो ।
कभर टिप्पणी: कसरी बन्छन् सिरियल किलर ?
अनुसन्धानमा सकिल २०७१ मै वैदेशिक रोजगारीका लागि भन्दै कतार पुगिसकेको खुल्यो । प्रहरीले २०७२ असार ६ मा इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गराए पनि कहिले नेपाल आउने पत्तो थिएन ।
भारतको विहारको मधुवनीका रइस कहिले नेपाल आउजाउ गरिरहने सूचनाको आधारमा प्रहरीले जाल बिच्छ्याउन सुरु गर्यो ।
२०७३ भदौ १९ मा रइसको हुलियासँग मेल खाने व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने तयारीमा रहेको अवस्थामा फेला परे । प्रहरी सूचीमा रइस भारतीय नागरिक थिए तर विमानस्थलमा फेला परेका व्यक्तिको साथबाट सप्तरी, सारस्वर गाविस–७ स्थायी ठेगाना रहेको नेपाली राहदानी । अुनसन्धानमा प्रहरीले खोजेको रइस उनै रहेको पुष्टी भयो । रइसको पक्राउसँगै खुल्यो शृंखलाबद्ध हत्याको कारण । त्यो थियो पैसा ।
पैसा पचाउन हत्या
अनुसन्धानमा उनले विभिन्न बहानामा पैसा सापटी लिने र हत्या गर्ने गरेको देखिएको थियो । जेल परेका व्यक्तिलाई छुटाइदिने, विवाद भएको अंशबन्डा मिलाइदिने भन्दै उनले विभिन्न व्यक्तिसँग पैसा लिने र पछि उनीहरुको हत्या गरेर गाडिदिने गरेको प्रहरी अनुसन्धानमा खुल्यो ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार जेलमा रहेको छोरालाई छुटाउने आश्वासनमा तीन लाख दिँदा सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनले पैसासँगै ज्यानसमेत गुमाएको खुल्यो । २०७२ जेठमा कल्याणपुरको जन्डौलमा कच्ची सडकछेउको खेतमा प्रहरीले सहबुँद र उनकी बुहारी सगिराको कंकाल फेला पारेको थियो ।
अनुसन्धानमा जेलमा रहेका श्रीमान् मोहम्मद आलमलाई भेट्न जाने क्रममा सकिलसँग चिनजान भएको खुल्यो । पैसा तिरेर रिहा गराउने हुसेनको प्रलोभनमा परेर उनले दुलारीदेवीसँग ६ लाख रुपैयाँ र सहबुँदसँग तीन लाख रुपैयाँ लिएको खुल्यो । दुवै कारागारमुक्त नभएपछि दुलारीले पैसा फिर्ता माग्न थालेपछि हत्या गरेको खुल्यो । २०७२ वैशाखमा महुली नदीको किनारमा प्रहरीले ३० वर्षीया दुलारीदेवीको कंकाल फेला पारेको थियो । सासू, ससुरा र श्रीमतीको हत्याको कारण पैसा र जग्गा विवाद देखियो ।
सकिल कतार गएको पुष्टीपछि प्रहरीको सक्रियतामा २०७२ असार ६ मा इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी भयो । नोटिस जारी भएको साढे २ वर्षपछि बल्ल कतार सरकारले उनलाई पक्राउ गरेर फागुन २० मा नेपाल ल्याएर बुझायो । अहिले प्रहरी उनलाई हिरासतमा राखेर हत्या शृंखलाको अनुसन्धानमा जुटेको छ ।
बदला लिँदादिँदै आफैँ हत्यारा
सकिलझंै अर्का साइको सिरियल किलर हुन् अभिषेकराज सिंह । उनी बाबुको हत्याको बदला लिने धुनमा आफैँ सिरियल किलर भए । चार वर्षअगाडि पक्राउ परेका सिंह अहिले ३५ वर्षको सजाय काटिरहेछन् कारागारमा ।
उनी सिरियल किलर हुनुको कारण यस्तो देखियो ।
माओवादी द्वन्द्वकालमा २०६२ मा उनको घरमा आएका २ जनाले आफूलाई माओवादी भन्दै बाबु अजयराज सिंहलाई लिएर गए । उनको बाबु फर्किएनन् । शव आयोे घरमा । बाबुको हत्यापछि आमाको अवस्था देखेर उनी बाबुको हत्यारा खोज्न थाले र भेटे पनि । प्रहरीको दाबीअनुसार दुवै जनालाई उनले गोली हानेर मारे । तर मारिएका को थिए नाम खुलेन ।
बदला लिन हत्यामा संलग्न उनमा हत्या गर्ने सनक चढ्यो । आफ्नो सम्पर्कमा आएकालाई उनले भिन्नभिन्न तरिका अपनाएर हत्या गर्न थाले । २०७० मा पक्राउ पर्नु अगाडिसम्म उनले चारजनाको हत्या गरिसकेका थिए ।
प्रहरी रेकर्डअनुसार २०६७ देखि २०७० को बीचमा उनले लोमस औषधि कम्पनीमा कार्यरत निरनजंग पाण्डे, जग्गा कारोबारी नरबहादुर गोतामे, स्विजरल्यान्डमा काम गरी नेपाल फर्किएका जगतसिंह तामाङ, आफ्नै घरमा काम गर्ने सार्की तामाङको हत्या गरे । प्रहरी अनुसन्धानमा खुलेअनुसार उनले चयन गरेको टार्गेटलाई विभिन्न बहानामा होटलमा बोलाएर पेय पदार्थमा नशालु औषधि मिसाएको खुवाउँथे र बेहोस बनाएपछि विशालु इन्जेक्सन दिएर हत्या गर्थे ।
शवको परीक्षणपछि मृत्युको कारण अधिकांशमा मदिरा या औषधिको ओभरडोज देखिन्थ्यो । फाइल बन्द हुन्थ्यो । तर पटक–पटक एकै प्रकृतिको घटना देखिएपछि काठमाडौं उपत्यकामा खटित गम्भीर प्रकृतिको आपराधिक घटनाको अनुसन्धानमा जुट्ने महानगरीय प्रहरी अपराध महाशाखाको टोली अभिशेकसम्म पुगेको थियो ।
अभिशेकसम्म पुर्याउने घटना पाण्डेको शंकास्पद मृत्यु बनेको थियो । २०७० असोजमा पक्राउ परेका उनलाई अदालतले ३५ वर्ष जेल सजाय सुनायो ।
लुटेराबाट सिरियल किलर
शृंखलाबद्ध हत्याको अभियोगमा कञ्चनपुरका प्रकाशसिंह ठकुन्ना प्रहरीको मोष्ट वान्टेड सूचीमा रहे पनि उनी फेला परेका थिएनन् । १० वर्ष उनी हराए । महानगरीय प्रहरी अपराध महाशाखाले २०७४ असोज १९ मा उनलाई कञ्चनपुरमा खेत जोतिरहेको बेला फेला पारेर कारागार बुझायो ।
ठकुन्ना २०६४ बाट प्रहरीको खोजीको सूचीमा थिए । २०६४, असार २१ मा ठगुन्नाले बत्तीसपुतलीस्थित हेमन्तशमशेर राणाको घर रेखदेख गर्न बसेकी ७८ वर्षीया मिश्रीमाया श्रेष्ठको हत्या गरेका थिए । उनी सो घटनाको अनुसन्धानका लागि पक्राउ परे पनि हिरासतबाटै भागेका थिए ।
प्रहरीको रेकर्डमा उनीविरुद्ध तीनजनाको हत्या, शृंखलाबद्ध डकैती, जबर्जस्ती चन्दा तथा फिरौती असुलीमा संलग्न देखिएका थिए । २०६४ जेठ २१ मा गौशालामा शंकर अधिकारी र १० असारमा लाजिम्पाटमा सुरवीर श्रेष्ठलाई गोली हानेर मार्ने योजनामा समेत ठकुन्ना नै संलग्न देखिएका थिए ।
सिरियल रेपिस्ट
२०७३ असार ६ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मानबहादुर बुढाथोकीलाई पक्राउ ग¥यो । २०५२ को घटनाको अनुसन्धानका लागि प्रहरीले खोजिरहेको बुढाथोकी भारतमा थिए । अनुसन्धानमा उनी ६ वटा बलात्कार र हत्याको घटनामा संलग्न रहेको र अन्य २६ घटनामा संलग्नताको आशंका देखिएपछि भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेर नेपाल ल्याइएको थियो । प्रारम्भमा प्रहरीले उनी ३२ वटै घटनामा संलग्न रहेको दाबी गरेको थियो । अनुसन्धानमा भने ६ वटा घटनामा मात्रै संलग्नताको दाबी गर्याे ।
उनलाई प्रहरीको शंकाको घेरामा पार्ने घटना थियो २०५३ असार ९ को । प्रहरीले धागोले बुनेको पछ्यौराले घाँटी बाँधेको अवस्थामा १८ वर्षीय लीला स्याङ्गताङ्गको शव फेला पारेको थियो । शारीरिक रूपमा अशक्त उनी नजिकैको जंगलमा गएको बेला मारिएकी थिइन् । उनको घाँटी सलले बेरिएको थियो ।
जिल्लामा यस्तै प्रकृतिको हत्याका अन्य घटना पनि थिए । २०५२ फागुन २४ मा धनुषा बेगाडाबरमा भएको महिलाको हत्या, चैत २३ मा धनुषाको ढल्केवरदेखि उत्तरको दमार जंगलमा १७ वर्षीया किशोरीको हत्या, २०५३ जेठ ६ मा धनुषाको ढल्केवरदेखि पूर्वको जंगलमा ६१ वर्षकी महिलाको हत्याको प्रकृति यस्तै थियो । यसैगरी २०५३ असारमा महोत्तरी बर्दिबासको जंगलमा भएको २५ वर्षकी महिलाको हत्या र २०५३ साउनमा धनुषाको लालगढ बजारतिरको जंगलमा भएको महिलाको हत्याको प्रकृति पनि उस्तै थियो ।
२०५३ मा बलात्कार र हत्या अभियोगमा पक्राउ पर्दा अदालतमा बुढाथोकीले दिएको बयानमा पुराना घटनासमेत जोडिएको थियो । २०६२ सम्म जेल बसेका उनी छुटेपछि बेपत्ता थिए । खोज्दै जाँदा भारतमा विवाह गरेर बसेको सूचनाको आधारमा भारतीय प्रहरीसँगको समन्वयमा उनी पक्राउ परे । पक्राउपछिको बयानमा उनले ‘एकान्तस्थानमा घुम्न जाँदा महिला देखेलगत्तै छटपटी हुने र यौन सम्बन्ध राख्न मन लाग्ने’ उल्लेख गर्दै नमान्नेको हत्या गर्ने गरेको बयान दिएका थिए ।
Leave A Comment