कभर टिप्पणी: कसरी बन्छन् सिरियल किलर ?

शनिबार, २६ फागुन २०७४, ०३ : ३८ शुक्रवार
कभर टिप्पणी:  कसरी बन्छन् सिरियल किलर ?

ब्यारिट ब्रोगार्ड
‘मलाई उदेक लाग्छ, मान्छे किन साथी बनाउन चाहन्छन् ? मानिस एकअर्काप्रति किन आकर्षित हुन्छन् भन्ने मैले कहिल्यै बुझ्न सकिन । सामाजिक अन्तरक्रिया (सोसल इन्टरएक्सन)हरूमा के छ मलाई थाहा भएन ।’

‘म कुनै कुरामा पनि दोषी महसुस गर्दिन । जसले दोषी महसुस गर्छ, उनीहरुप्रति म दुःखी हुन्छु ।’
‘तिम्रो जस्तो चिसो आँखा छ, म पनि त्यस्तै चिसो छु । त्यसैले म कसैलाई पनि बालै गन्दिन ।’
माथिका यी संवाद मनोरोगी (साइकोपाथ)हरूका धारणाबाट संकलन गरी निकालिएका हुन् । प्रायः साइकोपाथहरु चिसा, भुत्ते संवेदना भएका, कुनै पनि अपराधबोध नभएका हुने विशेषज्ञहरुले निष्कर्ष निकालेका छन् ।

मनोरोगको कारण के हो भन्ने अहिलेसम्म कसैले रहस्य खोतल्न सकेको छैन । संसारका चर्चित विश्लेषकहरुलेसमेत यो प्रकृतिबाट निश्रृत व्यवहार हो कि वातावरणीय प्रभावले आउने वा सिक्ने विषय हो भनी खुट्याउन सकेका छैनन् । 

यसबारेमा गरिएको एउटा अध्ययनले भने हामीलाई थोरबहुत जानकारी दिन्छ । जस्तो, मिनेसोटा स्टडी अफ ट्वीन्स रियर्ड अपार्टले पोषणको प्रवृत्ति वा भनौँ व्यवहारगत परिणामका कारण यस्तो व्यवहार देखिने बताउँछ । अमेरिकाको मिनेसोटा ट्वीन स्टडी परियोजना मूलतः मिनेसोटा विश्वविद्यालयका प्राध्यापक थोमस जोसेफ बुचर्ड जुनियरले गरेको अध्ययन हो । 

यस अध्ययनले साइकोपाथी ६० प्रतिशत आनुवांशिक हुने देखाएको छ । यस प्रतिशतले के देखाएको छ भने साइकोपाथी व्यवहार बढीजसो डिएनएबाट आउँछ र बाँकी लालनपालन तथा हुर्काइबाट पनि आउँछ ।
जुम्ल्याहामध्ये दुवै आनुवांशिक रुपमा उस्तै हुन्छन् भन्ने पहिलेको जुन सोच थियो, त्यस्तो हुँदैन रहेछ भन्ने पछिल्लो आनुवांशिक अध्ययनले देखाएको छ । सुरुवाती भ्रूण विकासको क्रममा केही सय म्युटेसन हुन्छ । तिख्खर परिवर्तन देखिने गरी हुने म्युटेसनबाट आउने आनुवांशिक फरक हुनका लागि कैयौँ वर्ष लाग्ने गर्छ । यसले नै साइकोपाथिक व्यवहारका लागि खुला अवसर र सम्भावना सुनिश्चित गर्ने हो ।

आनुवांशिक रुपमा साइकोपाथी आयो भने मस्तिष्कमा केही असामान्यपना अपेक्षा गर्न सकिन्छ । यसबाट नै तुरुन्त साइकोपाथिक व्यवहार देखिन थाल्छ । विस्किन्सन विश्वविद्यालय, म्याडिसनमा गरिएको अध्ययनमा यस्तै किसिमको सम्भावित विकृति देखिएको थियो । एक जना साइकोपाथी रोगीको मस्तिष्क स्क्यान गर्दा के पाइएको थियो भने उसको मस्तिष्कमा हुनुपर्ने एमग्डाला र भेन्ट्रोमेडियल प्रिफ्रन्टल कर्टेक्सबीच हुनुपर्ने संयोजक (जोड्ने तŒव) को संख्या निकै न्यून थियो । एमग्डाला एउटा सबकोर्टिकल संरचना हो, जसले मस्तिष्कको नकारात्मक उत्तेजनालाई विश्लेषण गर्ने गर्छ ।

त्यस्तै भेन्ट्रोमेडियल प्रिफ्रन्टल कर्टेक्स भने मस्तिष्कको अगाडिको भाग हो, यसले आएको विश्लेषणको प्रतिक्रिया व्यक्त गर्ने गर्छ । यी दुई क्षेत्रलाई जोड्ने तŒव कमजोर भएको अवस्थामा आएका नकारात्मक भावनालाई कडा नकारात्मक भाव अभिव्यक्त गर्न सक्तैन । यो अवस्था हुनु भनेको साइकोपाथ व्यक्तिको अवस्थाजस्तै हुनु हो ।

साइकोपाथ व्यक्तिले कुनै नराम्रो काम गरेकोमा तत्काल पक्राउ परे भने पनि आफूलाई न त नर्भस महसुस गर्छन् न त लज्जा महसुस नै गर्छन् । कोही मानिस पीडामा छन् भने उनीहरु दुःखी हुँदैनन् । उनीहरुलाई शारीरिक पीडा भने महसुस हुन्छ तर भावनात्मक पीडाले उनीहरूलाई छुँदैन ।

विस्कन्सिन, म्याडिसनको अध्ययनले आपराधिक साइकोपाथी र तिनको मस्तिष्कको अस्वाभाविकताबीच सम्बन्ध देखाएको छ । मस्तिष्कको यस किसिमको अस्वाभाविकता उसको दिमागमा तत्काल छिर्ने वा उसले तत्काल हासिल गर्ने होइन । यो त साइकोपाथको डिएनएमा गहिरोगरी बसेको हुन्छ । 

त्यसो त यस किसिमको निष्कर्षमा पुग्ने अध्ययनको आफ्नै किसिमको सीमितता हुन्छन् । यस्ता अध्ययनले आपराधिक चरित्र भएका साइकोपाथको अध्ययन गरेको हुन्छ । सबै साइकोपाथ अपराधी हुँदैनन् भन्ने कुरा पनि बिर्सनु हुँदैन । अधिकांश साइकोपाथलाई उत्तेजित वा म्यानुपुलेट गर्न सकिन्छ । उनीहरु आक्रामक र आवेगी हुन्छन् । उनीहरुमा यस्ता विशेषता हुन्छन् भन्दैमा सधैँ उनीहरु आपराधिक गतिविधितर्फ आकर्षित भइहाल्छन् भन्ने हुँदैन । 

अपराध नगरेका साइकोपाथहरु उत्तेजित हुने, आक्रामक र आवेगी बन्ने पनि हुन्छन् तर उनीहरुमा पनि एमिग्डाला र भेन्ट्रोमेडियल प्रिफ्रन्टल कर्टेक्स (भिएमपिएफसी) बीच हुने गतिविधि घटेको देखिएको देखिन्छ । किन त्यस्तो भयो त ? यसको उत्तर पाइएको छैन । 

अध्ययनको अर्को सीमितता के पनि छ भने साइकोपाथको एक वर्गमा मात्र मस्तिष्कबीचको गतिविधि घटेको पाइएको छ तर अन्य विविध किसिमका मानसिक अवस्था भएका मानिसहरु जस्तो मानौँ पागलपन, सिजोफ्रेनिया र अन्य चरम यौन व्यवहारबाट पीडितहरुले पनि गम्भीर किसिमका अपराध गरेका हुन्छन् । तिनमा यस किसिमको गतिविधि किन घटेको देखिन्न ?

विस्कन्सिन अध्ययनले केही प्रकाश भने पारेको छ । साइकोपाथी दुविधाग्रस्त हुन्छन् भन्ने चाहिँ अध्ययनले देखाएको छ । फेरि दिमागको संयोजन हुने भावनात्मक प्रणाली के कारणले घट्छ, टुट्छ भन्नेमा अध्येताले अझै पत्तो पाउन सकेका छैनन् । अनुमानअनुसार सायद न्युरोट्रान्समिटरहरुले राम्रोसँग काम गर्न नसक्दा यस किसिमको समस्या आउन सक्छ । अर्कोतर्फ कहिलेकाहीँ मस्तिष्कको रोग लागेपछि त्यहाँ उत्पन्न हुने श्वेत पदार्थ घट्ने क्रमले यस्तो हुनसक्छ । श्वेत पदार्थले नै न्युरोनहरुबीच संयोजकको भूमिका खेलिरहेको हुन्छ । टुटेको कनेक्टिभिटीका कारण मस्तिष्कको भावनात्मक प्रणालीले काम नगरेको हुनसक्छ र यसमा पछि अन्य वातावरणीय प्रभावले अझ बढी भूमिका पनि खेल्न सकेको हुनसक्छ । 

मनोरोग उत्पन्न हुनुमा सामाजिक कारणको थोरै भूमिका वा ज्यादै कम नै हुन्छ । तर वर्षौंदेखि साइकोपाथका दिमागमाथि अनुसन्धान गरिसकेपछि पनि शोधकर्ताहरुले दुवै कारकमध्ये कुन कारणले बढी भूमिका खेलेको हुन्छ भन्ने निष्कर्ष निकाल्न अझै सकिरहेका छैनन् । 

बालापनमा भएको शोषण वा तिनीहरुलाई गरिएको उपेक्षाका कारण प्रायः तिनीहरुमा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर हुने गर्छ । यो भनेको एक किसिमको फोबिया (डर) हो । तर अवसादका विकारहरु भने एमिग्डाला र भेन्ट्रोमेडियल प्रिफ्रन्टल कर्टेक्स (भिएमपिएफसी) बीचको अति कनेक्टिभिटीका कारण पनि हुनसक्छ । जसका कारण भिएमपिएफसीले नकारात्मक सूचना विश्लेषण गर्न सक्दैन । 

बालापनमा भएका शोषण र उपेक्षा पनि साइकोपाथले गर्ने अपराधका आधारभूमि भएका कारण त्यसलाई पनि हामीले नदेखेझैँ गर्न सक्तैनौँ तर यो नै मनोरोगका लागि मुख्य योगदानकर्ताका रुपमा मान्न सक्तैनौँ । जस्तो, एक जना अमेरिकी चाल्र्स मेन्सनलाई बाल्यकालमा शोषण गरिएको थियो र उपेक्षित जीवन उनले बाँचेका थिए । टेड बन्टी, जेफ डामेर र डेनिस राडेरले भने प्रेमिल अभिभावकको साथ र सहयोग पाएका थिए । 

न्यु मेक्सिको विश्वविद्यालयका एल्सा एर्मर र केन्ट किलले गरेको अध्ययनले साइकोपाथले नैतिकताका आधारमा कतिपय नीतिनियम पछ्याउन अप्ठेरो र असहज महसुस गर्ने गरेको पाएका थिए । यद्यपि उनीहरुलाई नियम भने पूर्ण रुपमा थाहा हुन्थ्यो । सिधासिधा रुपमा उनीहरुलाई नियम पछ्याउन गाह्रो हुने भए पनि तिनलाई यस सम्बन्धमा सच्याउन भने सकिने देखिएको छ । जसरी अटिजम रोग भएकालाई धेरै कुरा सिकाउन सकिन्छ, त्यस्तै यस्ता साइकोपाथलाई विशेष किसिमका तालिममार्फत् सिकाउन सकिने केहीको धारणा छ । 

त्यस्तै जसले नकारात्मक भावनालाई पछ्याउन सक्तैनन्, उनीहरुलाई विशेष किसिमका तालिम निर्माण गरी त्यसलाई बढाउन सकिन्छ । यसका लागि विशेष किसिमका औषधि खासगरी एलएसडीबाट निर्मितबाट औषधि प्रभावकारी हुनसक्छ ।

गम्भीर किसिमका अपराध गर्नेहरु साइकोटिक हुन्छन्, साइकोपाथले त्यस्तो गर्दैनन् । साइकोसिस र साइकोपाथी भिन्न किसिमका मानसिक अवस्था हुन् । साइकोसिस भएका मानिसमा कुनै पनि किसिमको वास्तविक सेन्स (भावना वा बोध) हुँदैन । साइकोपाथी भने एक किसिमको पर्सन्यालिटी डिसअर्डर हो । साइकोटिक रोगहरु उपचार हुन सक्छन् तर पर्सन्यालिटी डिसअर्डर भने लगभग स्थायी नै हुन्छन् । यस किसिमको डिसअर्डर लिएरै मान्छे बाँच्छन् र मर्छन् पनि तर साइकोटिक रोग निको हुने सम्भावना पनि हुन्छ ।

साइकोटिक र साइकोपाथमा एउटा कुरा मिल्न सक्छ, दुवै अवस्थामा उनीहरु सुस्त व्यवहारका हुन्छन् तर उनीहरुमा वास्तविकतालाई हेर्ने कुरामा भने फरक हुन्छ । साइकोपाथ गणना गर्ने किसिमका हुन्छन् र उनीहरुलाई अन्य व्यक्ति, वस्तु तथा सामग्रीले उत्तेजित बनाउन सक्छन् तर उनीहरुलाई दिग्भ्रम हुँदैन ।
शृंखलाबद्ध हत्या गर्ने कोरल युजिन वाटले कैयौँ महिलाहरुलाई घाँटी थिचेर मारे किनभने उसले तिनको आँखामा प्रेतात्मा देख्थे ।

बेली सारेन्सन गिनिजले आफ्नै पतिलाई रेटेर मारिन् किनभने उनले पुरुष जति सबै खराब देख्थिन् । एड गेइनले भने आफू महिला बन्न चाहने हुनाले महिलाको छाला र अंग काटी आफूसँग टाँसेर हिँडे । रिचर्ड ट्रन्टन चेजले आफूले मारेका मानिसको रगत पियो र त्यसैले नुहायो किनभने उसको विश्वास थियो, यसरी नुहाउँदा उसको रगत बिलाउनेछ र उसलाई नाजीले पक्राउ गरेपछि उसको रगतमा नाजीको हात नपरोस् । हात परेको खण्डमा उसको रगतलाई नाजीले विषको पाउडर बनाउलान् भन्ने डर थियो ।

मस्तिष्कमा हुने उत्तेजना अभावले मानिसलाई मन्दबुद्धिको बनाउन सक्छ वा नकारात्मक प्रभाव पार्छ । त्यस्तै अति उत्तेजनाले पनि प्रभाव पार्छ । अति उत्तेजना र उत्तेजना अभाव दुवै अवस्थामा एक साथ फरक रिसेप्टर साइटले भिन्दाभिन्दै किसिमको प्रतिक्रिया देखाउँछ । त्यसैले साइकोपाथी र साइकोसिसमा भिन्दाभिन्दै किसिमको प्रतिक्रियाले उत्पन्न गर्ने तौरतरिका ओभरल्याप पनि हुनसक्छ र त्यसले दिने प्रतिक्रिया मन्दबुद्धिको वा नकारात्मक प्रभावको पनि हुनसक्छ ।

www.psychologytoday.com

Leave A Comment