प्रायः मनोविश्लेषणमा आधारित रहेर कथा लेख्न रुचाउने कथाकार महेशविक्रम शाहले नयाँ कथा सङ्ग्रह ‘भुइँखाट’ बजारमा ल्याएका छन् । प्रहरी पेशामा समेत संलग्न शाह आफूलाई काल्पनिक भन्दा पनि यर्थाथपरक कथाकार भन्न मन रुचाउँछन् । शुक्रबारकर्मी प्रजु पन्तसँग शाहले साटेको लेखन अनुभव ।
साहित्यले हाम्रो भित्री आखाँ खोल्ने काम गर्छ । हामीले सानो भनेर यादै नगरेका, अझ भनौँ महत्व नदिएका विषय यदि साहित्यमार्फत् पढियो भने हृदयलाई छुन्छ । साहित्य जीवन्त हुन्छ । कुनै पनि देशको सभ्यता विकास नाप्ने एउटा सूचक साहित्य पनि हो । साहित्यले नै त्यहाँका मान्छेहरुको सोच्ने शक्तिको पहिल्याउँछ । विकासको स्तर कस्तो छ भन्ने कुरा त्यस देशमा कस्ता कृतिहरु सिर्जना गरिन्छन् भन्ने कुरामा भर पर्छ ।
आफ्ना कृतिका विषयवस्तु
मलाई काल्पनिक विषयवस्तु भन्दा यथार्थपरक विषयवस्तुले धेरै तान्छ । जबसम्म कुनै विषयले हृदय छुँदैन, म केही पनि लेख्न बस्दिन । जस्तो विषयवस्तुले अन्तर्मनैदेखि लेखकलाई छुन्छ, ठीक त्यस्तै कुराको उठान गर्नुपर्छ ।
मेरो नयाँ कथा सङ्ग्रह ‘भुइँखाट’ पनि अन्य कृतिमा जस्तै मनोविज्ञानलाई आधारित बनाएर लेखेको छु । गरिब मान्छेदेखि साम्भ्रान्त मान्छेहरुको सोचाई भोगाईलाई प्रमुख बनाएको छु । मेरा विषयवस्तु यही हुनुपर्छ भनेर म सीमित घेराबन्दीभित्र बाँधिएर लेख्दिन । मलाई जुन विषयले छुन्छ, त्यो मैले लेखेकै हुन्छु । यो वा त्यो भन्ने छैन ।
मेरो लेखनशैली
साहित्य सिर्जना सरल, सुरुचि, सुललित, कलात्मक अभिव्यक्ति हुनुपर्छ भन्ने मलाइ लाग्छ । साहित्य जटिल शैलीले लेख्ने र बौद्धिकता थोपार्ने काम म झुक्किएर पनि गर्दिन । साहित्य त सामान्य भन्दा सामान्य पाठकले पनि बुझून्, कसैको मनमा लागेको आदर्शवादी कुरा होइन समाजमा भएको यथार्थिक घटनालाई लेखून् । स्थान अनुसारकै बोलीचालीमा लेखकले लेख्न सक्नुपर्छ र लेख्दा शैली सहज र सरल हुनुपर्छ ।
मैले गाउँले परिवेशको कथा लेखेको छु भने त्यही गाउँको परिवेस बोलीचाली, चिन्तन, शैलीलाई टपक्कै टिपेर आफ्नो सिर्जनामा लेखेको हुन्छु । मेरो शैली सरल छ भनेर पाठकहरुले प्रतिक्रिया दिनुहुन्छ । म पनि शैली सहज होस् भन्ने कुरामा ध्यान दिन्छु ।
लेखनीको प्रभाव
साहित्यकारहरु कोहीबाट पनि प्रभावित हुनुहुँदैन । साहित्य मौलिक सिर्जना हो । हुन त म पनि सुरुवाती दिनमा रुसी साहित्यकार टल्सटोयबाट प्रभावित थिए । उनको जस्तै कथा लेख्न खोजँे । उनले जस्तै लामा लामा लेख्न सुरु नगरेको पनि होइन तर पछि के लाग्यो भने साहित्यमा अरुले लेखेको जस्तै होइन, आफ्नै हुनुपर्छ । त्यसपछि मैले उनलाई ‘फलो’ गर्न छाडिदिएँ ।
अहिले म कसैबाट प्रभावित भएर लेख्दिन । बरु कसरी विषयवस्तु उठान गर्ने, शैली कस्तो अपनाउने भनेर याद भने गर्छु ।
पात्र छनोट
मेरा कथामा काल्पनिक भन्दा वास्तविक पात्रको छनोट गरेको हुन्छु । यसको पनि कारण छ, मलाई काल्पनिकतामा भन्दा वास्तविक जीवनसँग जोडिन मन लाग्छ । मेरा कथाका पात्रहरु मैले नजिकबाट चिनेका र बुझेका हुन्छन् ।
धेरै साथीहरुले मलाई किन आफ्नै नजिकको पात्रको कथा लेख्छस् भन्नुहुन्छ तर कथाकारलाई को आफ्नो को पराइ ! पात्रको घटनाले छोएपछि परिवार भित्रको पनि हुनसक्छ, मेरो कार्य क्षेत्रको पनि हुन सक्छ । एउटा साहित्यकारलाई नजिकको वा टाढाको पात्र भन्ने हुन्छ जस्तो मलाई लाग्दैन ।
विदेशी पात्र विदेशी विषयवस्तु
म पेसाले प्रहरी पनि हुँ । जसका कारण मैले धेरै देशको भ्रमण गरेको छु । म आफैँ पनि घुम्न मन पराउने मान्छे हुँ । धेरै देशको भ्रमण आफ्नै खर्चले गरिसकेको छु ।
विभिन्न उद्देश्यले विविध देशहरुमा घुम्न गइन्छ । कामकै सिलसिलामा गएको बेलामा पनि फुर्सद पाउनेबित्तिकै त्यहाँको रहनसहन, संस्कृतिबारे बुझ्न निस्किहाल्छु । फरक विविधताले मलाई छुन्छ । मेरा कथाहरुमा म जहाँ पुग्छु, त्यहीँका पात्रहरु राखेको हुन्छु ।
विदेशी विषयवस्तुले मेरा कथामा स्थान पाएका छन् । त्यसको एउटै कारण छ, चाहे मानिस हाइटीको होस्, चाहे युरोप वा अमेरिका र एसिया– जहाँको होस्, आखिर मानवीय संवेदना त उही हुन्छ । हामी भौगोलिक सिमानाले फरक–फरक देशका हौँला तर हाम्रो मनोभावना मिल्छ ।
पेसा र लेखनी
साहित्य सिर्जना र पेसा बिल्कुलै फरक कुरा हुन् । के एक प्रहरीलाई संवेदनाले छुदैन र ?
प्रहरी पोस्टिङ जता पनि हुन सक्छ । म एकचोटी नेपालगञ्जमा पोस्टिङ भएको थिएँ । त्यहाँको कुराले छोएर मैले ‘नभागञ्ज’ भन्ने कथा लेखेँ । म प्रहरी भए पनि म साहित्यकार पनि हुँ ।
प्रहरीको काम कानुन कार्यान्वयन गर्नु हो, ड्युटी पूरा गरेसँगै मैले उब्रिएको समयमा मनमा छोएका अपराधीकै मनोदशा बुझेर कथा लेखेको छु । यसरी कथा लेख्नुको एउटै कारण छ, त्यो मानिस अपराधी कसरी बन्यो ? गल्ती कसरी गर्याे ? भन्ने बुझ्ने मन हुन्छ ।
केही दिन पहिले कैलालीको घोडाघोडी नगरपालिकामा राधा चौधरी बोक्सीको आरोपमा कुटिइन् । त्यहाँ धेरै मूकदर्शक बनेर बसे । प्रहरीले कानुनबमोजिम दोषीलाई कार्बाही गर्नु त छँदैछ तर साहित्यिक मन भएकालाई कार्बाहीले मात्र चित्त बुझ्दैन । त्यसमा कथा पनि देख्छ, साहित्यकारले र लेख्छ किनभने साहित्यले संवेदना सिर्जना गर्छ । पीडितको अनुभूति साहित्यमा लेखिन्छ अनि त्यो साहित्य पढ्ने मान्छे त्यस्तो जघन्य अपराध हुँदा मूकदर्शक बनेर बस्दैन ।
पुरस्कारका परिबन्दमा साहित्यकार
मैले सुन्ने गरेको छु, केही मानिसहरु कृति कसरी राम्रो लेख्ने भन्दा पनि ठूला पुरस्कार कसरी लिने भन्ने होडबाजी गर्छन् । हुन त विश्वमा नै दिइने पुरस्कारहरु विवादमा नआउन होइनन् । ‘पुरस्कार मलाई दिनुस्, त्यो राशि बराबरको नगद तपाईंलाई नै भने’ भनेर पुरस्कार वितरकलाई पनि फकाइन्छ रे भन्ने पनि सुन्नमा आउँछ ।
तर म आफू पुरस्कारका लागि लेख्दिन त्यस कारण पुरस्कारको वास्ता लाग्दैन । पुरस्कारको महŒव नहुने होइन । यो त राम्रो लेखेपछि आफैँ हात लाग्ने कुरा हुन् ।
Leave A Comment