प्रहरी लफडामा कलाकार

बुधबार, ०७ चैत २०७४, ०५ : ३५ पुष्पा थपलिया
प्रहरी लफडामा कलाकार

महानगरीय प्रहरी परिसर काठमाडौं अहिले नायक भुवन केसी र निर्माता सुवास गिरीको पर्खाइमा छन् । यी दुवै निर्माता रहेको फिल्म ‘कृ’मा राखिएको पुरानो फिल्म ‘सम्झना’को ‘उकालीमा अघिअघि...’ बोलेको टुक्रे गीत अनुमति नलिई राखेको भन्दै परिसरमा निवेदन आएपछि प्रहरी अहिले केसीलाई कुरेर बसेको छ ।

भुवनले छोरा अनमोल केसीको अभिनय रहेको ‘कृ’का लागि आफूले खेलेको लोकप्रिय फिल्म ‘सम्झना’को लोकप्रिय गीतको एक टुक्रा प्रयोग गरेका थिए । ‘कृ’मा रहेको ‘धेरैपछि सम्झना, आँखा छोपी बसन’ बोलको गीतमा ‘उकालीमा अघिअघि’को टुक्रा पुरानै धुनमा समावेश गरिएको छ । अनुमति नै नलिई गीत राखेको भन्दै ‘सम्झना’ फिल्मका निर्देशक शम्भु प्रधान प्रहरी कार्यालय पुगेका हुन् । 

युट्युबमा राखिएको सो गीतको भिडियोमा रिमिक्स गीतको रुपमा प्रस्तुत गरिएको छ । ओरिजिनल म्युजिक भनेर रञ्जित गजमेरलाई क्रेडिट दिइएको छ भने रिमेक म्युजिकमा अल्मोडा राना उप्रेतीको नाम छ । रिमेक गीतको शब्दमा अल्मोडा र सविन एकतारेको नाम छ । ‘कृ’को टिम अहिले नेपाल बाहिरका दर्शकलाई सो फिल्म देखाउन विदेश भ्रमणमा छ ।

भुवनविरुद्ध प्रहरी कार्यालयमा उजुरी लिएर पुगेका प्रधान कुनै समय भुवनकै गुरु हुन् । विवादमा तानिएको बोल समेटिएको पुरानो फिल्म ‘सम्झना’मा भुवनले अभिनय गरेका थिए । 
प्रधान केही हप्ताअगाडि उजुरी लिएर प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले जाहेरी अगाडि दुवै पक्षलाई राखेर

सहमतिको प्रयास ग¥यो तर कुरा मिलेन । सहमति हुन नसकेपछि प्रधानले महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी छाडेर आएका छन् । प्रहरीले जाहेरी दर्ता गरिसकेको छैन ।

‘फिल्मको बारेमा निवेदन आएको थियो,’ काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलले भने, ‘निवेदन दर्ता भइसकेको छैन ।’

निर्देशक प्रधान भने कानुनी लडाइँबाटै मुद्दा वार कि पार लगाउने मुडमा देखिएका छन् । 
‘मैले जाहेरी दिइसकेको छु, भुवन र गिरी सम्पर्कमा छैनन्,’ उनले शुक्रवारसँग भने ‘मेरो प्रश्नको उत्तर नदिन, छलफलमा सहभागी नभई जापान गएछन्, जति लुकेर हिँडे पनि म छाड्नेवाला छैन ।’ 

गीतको प्रतिलिपि अधिकारबारे विवाद सुरु भएपछि निर्मातामध्येका एक गिरीले क्षतिपूर्ति बापत एक लाख रुपैयाँको प्रस्ताव नराखेका होइनन् तर प्रधानले त्यसलाई स्वीकार गरेनन् । 

उनी फिल्मबाट गीत हटाउनुपर्ने र सँगैमा गीतको क्षतिपूर्तिबापत फिल्मको ५० प्रतिशत कमाईको मागमा निर्देशक प्रधान अडिग छन् । उकालीमा अघिअघि बोलको गीतका कारण ‘कृ’ले बम्पर व्यापार गरेको प्रधानको दाबी छ । बक्स अफिसको दाबीअनुसार ‘कृ’ले नौ दिनमा ६ करोड २२ लाखको कुल व्यापार गरेको थियो । 

फिल्मका निर्माता गिरीले गीत प्रधानले हाइलाइटस्लाई बेचिसकेको र कानुन नलाग्ने तर्क गर्दैआएका छन् । प्रधान भने गीत बेचेकै भए प्रमाण बोकेर आउन चुनौती दिन्छन् । 

३० वर्षअगाडि बनेको सुपरहिट फिल्म ‘सम्झना’को यो गीत अहिलेसम्म पनि लोकप्रिय नै छ । यस कालजयी गीतको रचना तथा संगीतकार रञ्जित गजमेर हुन् । स्वर उदितनारायण झा र दीपा झाले दिएका छन् । सम्झनामा भुवन केसी र तृप्तीले अभिनय गरेका छन् । 

केही हप्ताअगाडि अनुमति नै नलिई पुरानो गीत नयाँ गायकलाई गाउन दिएको विषयमा गायक यशकुमार र बाबु बोगटीको विवाद सार्वजनिक भएको थियो । बाबु र यशको विवाद प्रहरीसम्म पुगेको भने थिएन ।
तर पछिल्लो समय कलाकारविरुद्ध प्रहरीमा उजुरी पर्ने क्रम बढेको छ । द्वन्द्व निर्देशक राजेन्द्र खड्गी त मानव तस्करीको अभियोगमा केन्द्रीय कारागार नै पुगिसकेका छन् । अन्य कलाकार पक्राउको क्रम भने रोकिएको छैन ।

डान्सर रोमा पनि पुगिन् जेल
एक खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार रोमा न्यौपाने ठगी अभियोगमा जेल पुगेकी छन् । गत विहीबार महानगरीय प्रहरी परिसरले पक्राउ गरेर उनलाई काठमाडौं जिल्ला अदालतमा पठाएको थियो ।
अदालतले उनीसँग ३६ लाख धरौटी माग गरेकोमा धरौटी बुझाउन नसकेपछि उनी कारागार चलान भएकी हुन् । रोमा र उनको श्रीमती चिरञ्जीवी न्यौपानेले ३६ लाख ठगी गरेको दाबीसहित एक वर्षअघि उजुरी परेको थियो ।

चिरञ्जीवी पक्राउ परे पनि रोमा फरार थिइन् । भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भिएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा उनले लाखौं रुपैयाँ ठगी गरेको अभियोग छ । 
जिल्ला अदालतले २६ पुस २०७३ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख बिगो जरिवानाको फैसला सुनाएको थियो भने रोमा फरार थिइन् ।

८ वर्षको उमेरमा दुर्घटनामा देब्रे खुट्टा गुमाएकी रोमा एक खुट्टाकै भरमा कुशल नृत्य प्रस्तुत गरेर चर्चामा आएकी थिइन् । २०७२ सालमा सरकारले उनलाई युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार दिएको थियो । 

साइबर क्राइममा निर्माता हिरासतमा
अश्लील तस्विर र भिडियो पठाएको आरोपमा फिल्म निर्माता तथा छायाकार डिक खड्का प्रहरी हिरासतमा पुगेका छन् । साथीकी श्रीमतीलाई सामाजिक सञ्जालमार्फत लामो समयदेखि अश्लील फोटो र भिडियो पठाएको उजुरी परेपछि उनी पक्राउ परेका हुन् । 

खड्कालाई साइबर क्राइम मुद्दामा म्याद थप गरी महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ । महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार उजुरीको आधारमा पक्राउ परेका खड्कालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । 

‘आफ्नो साथीको श्रीमतीलाई सामाजिक सञ्जालमार्फत अश्लील सामग्री पठाएको जाहेरीका आधारमा पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ लोहनीले भने, ‘अहिले अनुसन्धानकोक्रममा छ ।’
 

Leave A Comment