पोखरामा नाटक महोत्सव : थाङ्लादेखि एन्टिगोनीसम्म

आइतबार, १८ चैत २०७४, ०१ : ५७ मनोज घर्तीमगर
पोखरामा नाटक महोत्सव : थाङ्लादेखि एन्टिगोनीसम्म

तिमी मेरो को हो ? नाटक थाङ्लामा कलाकार पेम्बा (रोय श्रेष्ठ) ले बहुपति प्रथाअन्तर्गत आफ्नै पत्नी लोप्साङ (दिया मास्के) लाई सोध्छन् । कलिलो बालक पेम्बालाई आफ्नो विवाह भएको थाहै हुँदैन । ठूलो भएपछि दाजु ग्याल्पो (प्रकाश घिमिरे) ले लामाबाट पूजापाठ गराएर लोप्साङ र पेम्बालाई पति–पत्नीको रूपमा रहन बाध्य पार्छ ।

प्रेम सम्बन्धमा रहेका पेम्बाले दाजुकी पत्नीलाई आफ्नी पनि पत्नी मान्नुपर्ने अवस्था आएपछि उसले आत्महत्या गर्छन् । व्यक्तिगत स्वतन्त्रता, धार्मिक बन्धन, प्रेम लगायतका द्वन्द्वमा अल्झिएको एउटा परिवारको यो कथाले हिमाली क्षेत्रका केही समुदायभित्र प्रचलित बहुपति प्रथाले व्यहोर्नुपरेको दुःखको कथा समेटेको छ । 

हिउँ पर्ने सुख्खा ठाउँ, तीब्बतसँगको कठिन व्यापार र कष्टकर जीवनलाई कलात्मकरूपमा उतारिएको थाङ्लाको लेखन सरुभक्तको रहेको थियो भने परिकल्पना र निर्देशन अनुप बरालले गरेका थिए । अभिनयमार्फत प्रकाश घिमिरे, टिकाभक्त जिरेल, दीया मास्के, दर्पण राजवंशी, केशव राई, रोय श्रेष्ठ, स्वस्तिका राजभण्डारी, किरण चाम्लिङ राई, नमिता तामाङ, सूर्यमान लिम्बूले आफ्नो क्षमता देखाए ।

सुरज मल्ल, मनिष निरौला, अनोज पाण्डे, विना थापा, सञ्जिता, सवीर चुरौटे, प्रकाश दाहाल, शिशिर सिवाकोटी, सरोज श्रेष्ठ, प्रयास राई र आकाश अधिकारीको कोरसले नाटककको आकर्षण बढाएको थियो । ‘एकै पटक धेरै नाटक हेर्ने अवसर महोत्सवले जुराइदियो’ नाट्यप्रेमी शितल गिरी भन्छन्, ‘पोखरामा आएको पहिलो मौकालाई मैले छुटाइन । आशा छ प्रतिष्ठानले बेलाबेला पोखरामा यस्तै महोत्सव गर्नेछ ।’

‘थाङ्ला’ नाटकसँगै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा चैत ८ गतेदेखि सुरु भएको ‘राष्ट्रिय नाटक महोत्सव’ एकसातासम्म चल्यो । ‘देशका फरकफरक ठाउँमा रहेका नाट्यकर्मीलाई एउटै स्टेजमा ल्याउन महोत्सव सफल भएको छ’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त भन्छन्, ‘महोत्सवले नाट्यकर्मीलाई एकीकृत गरी हौसला प्रदान गर्नुका साथै नयाँ–नयाँ गतिविधि सञ्चालन गर्न सहयोग पुगेको छ ।’

विश्व रंगमञ्च दिवसको अवसरमा आयोजित नाटक महोत्सवले पोखरा थिएटरको ‘गन्धर्व नाटकघर’ एकसाता नाटकमय बन्यो । योभन्दा अघि बेला–बेलामा यहाँ नाटक मञ्चन भइरहेका थिए । कुनै समय काठमाडौंको गुरुकुलमा नाटक मञ्चन भइरहेको समाचार पढेर रंगमञ्चको स्वाद लिन बाध्य पोखरेलीले घरछेउमै रोज्जा नाटक हेर्ने अवसर पाए ।

‘पोखरेली नाट्य पारखीलाई नाटक महोत्सवमा आएर नाटकको मज्जा लिने मौका दिन हामीले महोत्सव आयोजना गरेका हौं’ स्थानीय व्यवस्थापक पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्की भन्छन्, ‘यसले पोखराको नाट्य क्षेत्र थप गतिशील बन्ने बाटो खोलिदिएको छ ।’

महोत्सवमा हिमाली कथा मात्रै होइन, विदेशी नाटकसमेत देखाइयो । प्राचीन ग्रीसेली नाटककार सोफोक्लिजले इशापूर्व ४४१ ताका थेविजका नाटकहरुअन्तर्गत लेखिएको एन्टिगोनी नाटकले दर्शकलाई नयाँ स्वाद दियो । संसारमा प्रसिद्ध दुःखान्त नाटकहरुमध्येको एक उदाहरण मानिने एन्टिगोनी नाटकमा अभिनय गरेका कलाकारको अभिनयलाई दर्शकले खुब रुचाए ।

नाटकलाई व्यवस्थित र रोचक बनाउन निर्देशक राजन खतिवडाले गरेको प्रयोगले नाट्यप्रेमीलाई १ घण्टा २० मिनेटको समय बितेको पत्तै भएन ।  नाटकमा सिर्जना सुब्बा, रञ्जना ओली, पुष्कर कार्की, विकाश जोशी, सोमनाथ खनाल, प्रदीपकुमार चौधरी, उमेश तामाङ, अनुजा अधिकारी, पशुपति राई, अनुप न्यौपाने, मिलन कार्की, विक्रम श्रेष्ठ, सुदिप खतिवडा, सागर दाहाल र सञ्जिव राईको अभिनय दमदार थियो । 

महोत्सवमा नेसनल आर्ट स्कुलको सान्नानीको सन्ते राजा, युथ क्रिएसन थिएटरको प्रस्तुतिमा भर्जिन कथा, राष्ट्रिय नाचघरको एक चिहान, हिमाली सांस्कृतिक परिवारको नारी शिक्षा, सद्भाव थिएटरको चाँदीको घेरा, मञ्जरी नाट्य समूहको पानिघट्ट, ओथेलो नाटक समूहको जयगान, लोक सञ्चार जनकपुर तथा सिल्पी थिएटरको प्रस्तुतिमा सखि नाटक मञ्चन भए ।

लामो समय नाटकको स्वाद लिन नपाएका पोखरेली दर्शक नियमित नाटक हेर्न पाउँदा असाध्यै खुसी थिए । केही महिनाअघि ‘पोखरा थिएटर’ खुलेपछि पोखरेली दर्शकको नाटकप्रति उत्सुकता बढ्यो । थिएटर खुलेसँगै पोखरेली रंगमञ्च फेरि तातिएको छ । पोखरा थिएटर, युथ क्रिएसन थिएटर, पञ्चामृत नाट्य समूह, पोखरा नेसनल आर्ट स्कुल, ओथेलोलगायतले नाट्य कर्म गरिरहेका छन् । यही मौकामा सरकारीस्तरबाटै पोखरामा नाटक महोत्सव आयोजना भएपछि पोखरेली रंगमञ्चले नयाँ बाटो लिने पक्का छ । ‘नाट्य विधामा दक्षिण एसियामै नेपाल एकदमै सक्रिय राष्ट्र हो ।

त्यसमा पनि पोखरा अग्रस्थानमा आउँछ’ महोत्सवका सहसंयोजक रमेशरञ्जन झा भन्छन्, ‘त्यही भएर काठमाडौंकेन्द्रित नाट्य गतिविधिलाई बाहिर ल्याउन पोखरासँगै अन्य क्षेत्रमा पनि नाटक महोत्सव गर्न थालेका छौं ।’ 

तस्बिर : मन गुरुङ 

Leave A Comment