‘सरल गीत नै हिट हुन्छ’

बुधबार, ०५ साउन २०७३, १२ : ०० डिबी खड्का , Kathmandu
‘सरल गीत नै हिट हुन्छ’

गायक नरेन लिम्बूको ‘मलाई भन्न आउँदैन’ बोलको गीत अहिले चर्चामा छ । युट्युबमा झन्डै ३४ लाखले यसको म्युजिक भिडियो हेरेका छन् । उनको केही समयअघि मात्रै रिलिज गीत ‘रीतु’ पनि धेरैले रुचाएका छन् । रिलिज भएको झन्डै एक महिनामा पाँच लाखभन्दा बढीले हेरिसकेका छन् । उनी आफैँ गीत लेख्ने, कम्पोज गर्ने र म्युजिक भिडियो निर्देशन गर्ने गर्छन् । उनीसँग डिबी खड्काको अन्तरंग कुराकानीः


तपाईंलाई म्युजिक भिडियोमा देख्नेहरू प्रत्यक्ष भेट्दा झन् कलिलो पाउँछन् । चकित पर्छन् होला है !
मेरो उमेर जति भयो त्यति त म्युजिक भिडियोमा पनि देखिन्नँ । मलाई भेट्नेले २६÷२७ वर्षको ठान्छन् तर वास्तविक उमेर भन्यो भने झन् छक्क पर्छन् । खासमा मेरो उमेर ३४ वर्ष भयो । सानो कदकाठीले त्यस्तो देखाउँदैन ।
गीत पनि अल्लारे उमेरकै स्रोतालाई लक्ष्य गरेर गाउनुहुन्छ नि ?
म त्यसरी लक्ष्य गर्दिनँ तर मेरा गीत मन पराउनेहरू धेरै युवा उमेरकै हुनुहुन्छ । विशेष गरी धेरै सुनिएको मेरो गीत ‘मलाई भन्न आउँदैन’ यही उमेरका स्रोतामाझ चर्चित भयो । यति व्यापक होला भनेर मैले सोचेको पनि थिइनँ । ‘नेपाली ठिटो’ भन्ने एल्बममा आठ गीत थिए । त्यसमध्येको हो यो । यत्रो चर्चा पाउने अपेक्षा नगरेका कारण मैले प्रमोसन पनि गरिनँ । यो गीत रिलिज गर्नुअघि गिटार बजाएर घरमा यत्तिकै गाएँ । रेकर्ड गरेर युट्युबमा राखेको थिएँ । धेरैबाट राम्रो प्रतिक्रिया आयो । त्यसपछि म्युजिक भिडियो बनाएर अपलोड गरेँ । त्यसपछि अनपेक्षित रूपमा व्यापक भयो ।
यो गीत यति साह्रो हिट हुनुको कारण के हो जस्तो लाग्छ ?
शब्द एकदमै सरल छन् । जसले पनि सजिलै बुझ्छ । म्युजिक पनि सरलै छ । सुनेपछि गुनगुनाउन पनि सक्ने खालको छ । शब्दले बोकेको भाव धेरैलाई आफ्नै जस्तो पनि लाग्छ रे ! मलाई लाग्छ– सरल गीत नै हिट हुन्छ ।
तपाईंको आफ्नै भावना पनि हो कि ?
ठ्याक्कै होइन । मेरोभन्दा पनि यो आमभावना हो । आफूले ठ्याक्कै नभोगे पनि देखिने कुरा हो ।
सिर्जना चाहिँ कसरी भयो ?
अचानक फुरेको थियो । धेरैले आफूले मन पराए पनि केटीलाई भन्न नसकेको कुरा सुनाइ पनि रहेका हुन्छन् । यही कुरो कतै दिमागमा थियो । एकदिन अचानक आयो । मेरो साथी विदेश छ, ऊसँग कहिलेकाहीँ स्काइपमा कुरा हुँदा गीत पनि गाएर सुनाउने गर्थें । एक दिन मैले गीत सुनाउने क्रममा एउटा नयाँ ट्राई गर्छु भनेँ । एक्कासि यी शब्द फुरे । गिटार  बजाएर गाउँदा संगीत पनि मीठै भयो ।
गीत त धेरै प्रेमकै लेख्नुहुन्छ र गाउनुहुन्छ । कतै न कतै आफ्नै लभ कनेक्सन छ जस्तो लाग्छ तपाईंका गीतमा !
प्रेम वियोगपछि जो पनि ‘कवि’ बन्छ भन्छन् । मलाई पनि गीतकार प्रेमले नै बनायो कि जस्तो लाग्छ । धेरै पहिले एकजना सँगै पढ्ने केटीलाई मन पराउँथेँ । लाग्थ्यो, उसले पनि मन पराउँछे । तर, पछि थाहा भयो ऊ साथीकै रूपमा व्यवहार गरिरहेकी रहिछे, म चाहिँ एकोहोरो प्रेममा परिसकेको रहेछु । भर्खर, टिन एजबाट उम्किएको समय थियो त्यो, त्यसैले यो वियोगले त्यस्तो ठूलो असर त पारेन । साथीभाइसँग पहिलेदेखि गीत गुनगुनाउँथेँ । पछि लेख्नमा रुचि जाग्न थाल्यो । आफैँले लेखेका र कम्पोज गरेका गीत साथीलाई सुनाउँदा एल्बम बनाउने सल्लाह दिए । साथी सुदीप र मैले कोसिस ग¥यौँ, राम्रै भयो ।
गायक पनि त्यसपछि नै भइएको हो ?
साथीभाइसँग रमाइलोका लागि गीत गुनगुनाउने कुरा अर्कै भयो । मैले गायक बन्छु भन्ने त कहिल्यै सोचेकै थिइनँ । मलाई गीतसंगीतमा भन्दा बढी फुटबलमा रुचि थियो । धरान हुँदा फुटबल धेरै खेलियो । कुनै लक्ष्य नलिइसकेको अवस्थामा काठमाडौँ आएँ । यसरी ख्यालख्यालमा हामीले गीतसंगीतमा कोसिस ग¥यौँ । गायक भइयो ।
संगीत सिक्नुभएको छ ?
संगीतको औपचारिक ज्ञान लिएको छैन । गिटारका थोरै कर्डबारे जानकारी छ, तिनै कर्डलाई सकेसम्म राम्ररी प्रयोग गर्ने कोसिस गर्छु ।
म्युजिक भिडियो निर्देशन पनि आफैँ गर्नुहुन्छ । फिल्म मेकिङमा पनि रुचि छ हो ?
गीतसंगीतमा लाग्ने क्रममै जाग्यो, त्यतातिर रुचि । आफ्नै म्युजिक भिडियो बनाउँदाको समयमा ती प्रक्रिया रमाइला लाग्न थाले । आफ्नो गीतको म्युजिक भिडियो आफैँले निर्देशन गर्दा भन्ने खोजेको कुरा पनि राम्ररी देखाउन सकिएला जस्तो लाग्यो । त्यसपछि फिल्म मेकिङ भने एउटा इन्स्टिच्युटमा गएर केही समय सिकेँ । त्यसपछि मात्रै आफ्ना म्युजिक भिडियो आफैँ निर्देशन गर्न थालेँ । यस्तो गर्दा एक त गीतमार्फत आफूले भन्न खोजेका कुरा देखाउन सकियो, अर्काे लगानी पनि कम भयो ।
आफ्नो निर्देशन, लेखन र गायन क्षमतामध्ये के चाहिँ बलियो छ जस्तो लाग्छ ?
लेखन नै बलियो हो कि ?  गीत धेरैले रुचाएका छन् । खासमा मेरा शब्द सरल छन्, सबैले बुझ्छन् र रुचाउँछन् ।
एउटा गीतमा लिम्बू भाषा ‘खेने नुमा खेवा’ शब्द प्रयोग गर्नुभयो । अहिले गीतमा ‘रेला नगर’ भन्ने शब्द प्रयोग गर्नुभएको छ । गीत लेख्दा शब्द खोज्नुहुन्छ ?
मलाई पनि लिम्बू भाषा त्यस्तो राम्रो आउँदैन । गीत लेख्ने क्रममा वर्णन गर्ने शब्द छैन भन्ने दिमागमा आयो तर त्यसपछि के भन्नू ? लिम्बू भाषा जान्नेलाई ‘तिमी साह्रै राम्री छौ’ भन्नका लागि के भन्ने भनेर सोधेँ । त्यसपछि ‘खेने नुमा खेवा’ आयो ।  त्यसपछि लेखेँ, वर्णन गर्न उचित शब्द नेपाली शब्दकोशमा नभएको भन्दै आफ्नै भाषामा ‘खेने नुमा खेवा’ भनेँ । अहिलेको गीत ‘रीतु’ हर्कुलस बस्नेत र म मिलेर लेखेका हौँ । ‘रेला नगर’ भन्ने शब्द सजिलै क्यास हुने भएर प्रयोग ग¥यौँ । सहज र बोलीचालीका शब्द लेख्ने प्रयासमै आएको हो यो ।
गीत युट्युबमा हिट छन् तर आयका लागि स्टेज कार्यक्रम नै कुर्नुपर्छ है ?
पहिलो गीतको एल्बम बेचेर जति पैसा आउँथ्यो, त्योभन्दा बढी अहिले युट्युबबाट आउँछ । नेपालमा धेरै गायक÷गायिकालाई यो सम्बन्धी राम्रो ज्ञान नभएर फाइदा लिन सकेका छैनन् । म आफ्नो अकाउन्टबाट गीत अपलोड गर्छु र राम्रै पैसा आइरहेको पनि हुन्छ । फेरि, यो एक चोटि दुःख गरेर निरन्तर आइरहने स्रोत पनि हो ।
फिल्म निर्देशन गर्ने सोच पनि छ रे !
त्यो सोच यही वर्ष पूरा गर्ने तयारीमा पनि छु । गीतजस्तै सबैले बुझ्ने, आफ्नोपन महसुस गर्ने फिल्म निर्माण गर्ने सोच हो । अब फिल्म मेकिङ र गीतसंगीत समान रूपमा अघि लैजाने तयारीमा छु ।
नयाँ गीत तत्काल ल्याउने योजना छ÷छैन ?
धेरैले माग गरेको भएर ‘मलाई भन्न आउँदैन’को भाग–२ ल्याउने तयारी गरिरहेको छु । अबको तीन हप्ताभित्र युट्युबमा भिडियो अपलोड हुन्छ होला ।
देखिँदा सानै देखिए पनि उमेर ३४ भइसकेछ । अब कसैलाई मनका कुरा पनि भन्ने बेला भएन र ?
यो उमेरसम्म आइपुग्दा कतिसँग मिलन–बिछोड भइसक्यो । तर, बिहेका लागि चाहिँ जुर्नैपर्ने रहेछ । विवाहजस्तो ठूलो निर्णय यत्तिकै गर्नु पनि भएन ।

Leave A Comment