आयुर्वेदका वकालतकर्ता

बुधबार, ०५ साउन २०७३, १२ : १९ शुक्रवार , Kathmandu
आयुर्वेदका वकालतकर्ता

रिटायर्ड इन्जिनियर कृष्णप्रसाद पोखरेल बीसौँ वर्षदेखि आयुर्वेद उपचारको अभ्यास गर्दै छन् । यो उनको पुख्र्याैली पेशा पनि हो । उनी हेपाटाइटिस बी, सी, लिभर सिरोसिस, मिर्गौलाको रोगलगायत स्वास्थ्य समस्याको उपचार गरिरहेको दाबी गर्छन् । बिरामी र उनीहरूको आफन्तको विश्वास जितेको उनको थप दाबी छ ।
केस १
जन्डिस बढेर अनुहार पहेँलपुर भइसक्यो । मुखमा जाउलो नछिरेको हप्ता नाघिसक्यो । हातखुट्टा सुक्दै र पेटको आकार बढ्दै जान थाल्यो । उठबस गर्न नसक्ने स्थिति आइलाग्यो ।
यस्तो अवस्थामा वीर अस्पताल दौडाइएकी कविता सुवेदी (३३) लाई ‘ल्याब टेस्ट रिपोर्ट’ले झन् निराश बनायो । ‘तपाईंलाई लिभर सिरोसिस भइसक्यो,’ डाक्टरले साइरन बजाइहाले, ‘चाँडै लिभर इम्प्लान्ट भएन भने जे पनि हुन सक्छ ।’ त्यसका लागि कहलिएका भारतीय अस्पतालहरू पनि सुझाइए । तर, समस्या पैसाको । लाखौँका बिटा खर्चन सक्ने हैसियत नभएपछि बिलखबन्दमा प¥यो, कविताको परिवार ।
केस २
ल्याब टेस्ट रिपोर्टले हेपाटाइटिस सीसँगै लिभर र मिर्गौलामा समेत गम्भीर समस्या भइसकेको जनाऊ दिँदा सल्यानका प्रेम आचार्य (३९) ले ‘अब त बाँचिन्न’ सोचिसकेका थिए । यहाँका सरकारी अस्पतालहरूबाट चित्त बुझ्दो उपचार सेवा नपाएर भौतारिइरहेका उनले निजी अस्पताल छिर्न सक्ने आँट गरेनन् ।
राजधानीका अस्पतालहरू धाउन लागेको महिना दिन बित्न लागिसकेको थियो । स्वास्थ्य अवस्था झन् खस्किँदो थियो । जहान केटाकेटीको पिर छुट्टै थियो । ‘मैले त आफू बाँच्ने दिन गन्ती सुरु गरिसकेको थिएँ । स्वास्थ्य अवस्था यसै गरी ओरालो लाग्दै जाने हो भने धेरै दिन बाँचिन्न क्यारे सोचिसकेको थिए,’ आचार्यले भने ।  
केस ३
रुकुमका प्रकाश मगर (४२) ले राजधानीका सडकहरूमा तरकारी बेचेर परिवार पालिरहेका छन् । उनमा यो समस्याले सताउन थालेको दुई वर्ष भयो । लिंगको टुप्पोको रङ फेरिएर कालो हुने, चिप्लो पानी बगिरहने र लिंगको फेदमा असह्य चिलाउने । उनकी श्रीमतीको यौनांगमा पनि यस्तै समस्या देखियो । छोराको यौनांग पनि चिलाएर सहने नसक्नु हुन थाल्यो । चार वर्षको छोरा स्कुलमा सबैको आँखाको तारो बन्न थाल्यो । कोही हचुवामा एचआईभी भनिदिन्थे । कोही भिरंगी भन्दै हाँसोको पात्र बनाउँथे ।
ल्याब रिपोर्ट हेरेर डाक्टरले ‘जुन्स बेलानाइटिस’को समस्या भनेर उल्लेख गरे । तिनै डाक्टरहरूले लेखिदिएको पोकापोका औषधिले केही प्रभाव नदेखेपछि उनमा छटपटी बढ्न थाल्यो ।
‘पत्याउनै नसक्ने गरी सुधार भयो’
यी तीनटै केसमा उल्लेख भएका बिरामी अहिले आफूलाई सामान्यउन्मुख ठान्छन् । उनीहरू एकमत छन्, ‘आयुर्वेदिक औषधिको शक्तिले मेरो स्वास्थ्य अवस्था सुध्रिदै गएको छ ।’
केस १ मा समेटिएकी कविताले गत जेठको १८ गते वीर अस्पतालमा ल्याब टेस्टपछि डाक्टरले लेखिदिएकै औषधि खाइन्, मात्र सात दिन । आफ्नैजस्तो समस्या भएका अर्का एक बिरामीको सल्लाहमा कविता आयुर्वेदिक औषधितिर लागेकी थिइन् । ललितपुर, लेलेका कृष्णप्रसाद पोखरेलले तयार पारेको आयुर्वेदिक औषधि उनकै सल्लाहबमोजिम खान सुरु गरिन् । १४ दिनपछि गरिएको ल्याब टेस्टको नतिजाले उनलाई मात्र होइन, वीरकै डाक्टरहरूलाई आश्चर्यमा पा¥यो । ‘म मात्र हो र, वीरकै डाक्टरहरू दंग परे,’ ललितपुर, सातदोबाटोस्थित आफ्नै घरमा भेटिएकी कविताले शुक्रवारसँग भनिन्, ‘आयुर्वेदिक औषधि खान्छु भन्ने कुरा डाक्टरलाई अहिलेसम्म थाहा दिएकी छैन ।’
उनी अहिले घरको काम गर्न सक्ने भइसकिन् । खानपिन सामान्य मान्छेकै जस्तो भइसक्यो । ‘सुन्निएको भुँडी घटेर यत्रो भइसक्यो,’ पेटतिर देखाउँदै उनले भनिन्, ‘यो आयुर्वेदको औषधि फेला नपरेको भए म अहिलेसम्म यो अवस्थामा हुने कल्पनै गरेकी थिइनँ । परिवारले पनि आश मारिसकेका थिए । पाँच हजार रुपैयाँको खर्चमा यो अवस्था आउँदा को खुशी हुन्न ?’
सल्यानका प्रेम अहिले आफ्नो अवस्था देखेर छक्क छन् । ‘वीर अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गर्न पठाएर यहाँ आएको हुँ,’ लेलेस्थित पोखरेलकै घरमा आराम गरिरहेका उनले केही दिनअघि भनेका थिए, ‘अहिले त म अब आफू बाँच्छु जस्तो लागिरहेको छ । पत्याउनै नसक्ने गरी चाँडै सुधार भयो । पेट घटेको छ । खाना रुच्छ ।’
रुकुमका प्रकाश र उनकी श्रीमतीले पोखरेलले दिएको औषधि खान थालेको दुई महिना भयो । उनी पनि खुशी छन् । ‘यो औषधिको असर यति चाँडो देखिएला भन्ने सोचिएकै थिएन,’ तेस्रो पटक औषधि लिँदै गर्दा लेलेमै भेटिएका उनले भने, ‘सस्तैमा यसरी उपचार हुन्छ भन्ने थाहा पाएको भए पहिले नै आइन्थ्यो । अब त छोरालाई पनि गुलियो मिसाएर खुवाउने विचारमा छु ।’
कृष्णप्रसादको दाबी
खासमा कृष्णप्रसाद पोखरेल रिटायर्ड इन्जिनियर हुन् । बीसौँ वर्षदेखि आयुर्वेद उपचारको अभ्यास गर्दै पनि आए । ‘बाउबाजेदेखि सिकेको कामलाई निरन्तरता मात्र दिएको हुँ,’ चितवनको एक आयुर्वेदिक औषधि कम्पनीका सञ्चालक पोखरेलले भने, ‘मैले तयार पारेको औषधि र त्यसको प्रभावबारे बुझ्नुस् । गलत साबित भएछ भने कारबाही भोग्न तयार छु ।’
उनी हेपाटाइटिस बी, सी, लिभर सिरोसिस, मिर्गौलालगायत रोगको उपचार गरिरहेको दाबी गर्छन् । बिरामी र उनका आफन्तहरूको विश्वास जितेका छन् । बिरामीको ‘हिस्ट्री’ हेर्दा र उनीहरूका प्रतिक्रिया सुन्दा धेरै मान्छे पोखरेलले अभ्यास गरिरहेको उपचारमा ‘केही खास त छ नै’ भन्ने कुरामा एकमत हुने गरेका छन् ।
उनी कहाँ नाम चलेकै डाक्टरसमेत उपचारका लागि जाने गरेको देखिन्छ । राजधानीका दुइटा निजी अस्पतालमा फिजिसियनका रूपमा कार्यरत एक चिकित्सक पोखरेल कहाँ ‘प्रोस्टेट ग्ल्यान्ड’को उपचारका लागि पुगेका थिए । दलका नेता तथा उपल्लो तहका सरकारी प्रशासक पनि पोखरेलकोमा धाउने गर्छन् ।
एचआईभी संक्रमित पनि उनका ‘रेगुलर प्यासेन्ट’ हुन् । पोखरेलले दिएको औषधि खाएर आफूमा सकारात्मक प्रभाव परेको दर्जनौँ एचआईभी संक्रमित बताउँछन् । ‘भाइरल लोड’ ह्वात्तै घटेको र ‘सीडीफोर काउन्ट’ सोचेभन्दा ज्यादा बढाएको उनीहरू सुनाउँछन् । ‘उहाँको औषधि खान थालेको तीन महिना पुग्दै छ,’ एक लामा थरका इन्जिनियरले भने, ‘भाइरल लोड लेस देन ट्वान्टी पुगेको छ । सीडीफोर काउन्ट ६ सय ७३ पुगेको छ । यति चाँडो यति प्रभाव पर्ला भन्ने सोचेकै थिइनँ ।’
टेकुस्थित नेसनल ल्याबमा भेटिएका पोखराका एक संक्रमितले पनि आयुर्वेदिक औषधिप्रति आफूमा विश्वास बढाएको बताए । ‘म संक्रमित भएको थाहा पाएको १० वर्ष भयो,’ उनले भने, ‘एआरभी सुरु गरेकै छैन । हुन त यो आफूमा केयर भएर पनि होला । तर, उहाँको औषधिले साथ दिएको चाहिँ पक्का हो । मेरी श्रीमतीलाई पनि यही औषधि सुरु गरेको छु ।’ उनकी चार वर्षिया छोरीलाई पनि एचआईभीको संक्रमण छ ।
ललितपुर बस्दै आएकी लमजुङकी एक २० वर्षीया संक्रमितले आफूमा आयुर्वेदिक औषधिले पारेको प्रभावलाई ‘तुलनै गर्न नसकिने’ बताइन् । ‘म इन्टरनेटबाट खोज्दैखोज्दै उहाँकोमा पुगेँ,’ उनले भनिन्, ‘दुई महिनामै सात किलो तौल बढेको छ । ल्याब टेस्टमा पनि सुधार हुने आशा छ ।’
पोखरेलले त एचआईभीलाई आफ्नो औषधिले ‘निर्मूलै पार्न सक्ने’ दाबी गर्छन् । यसका केही तथ्य उनले विभिन्न अनुसन्धान गर्ने संस्थालाई उपलब्ध गराएका छन् । सन् २००२ मा चितवनका एक संक्रमितमा पारेको प्रभावलाई हेर्न सकिन्छ । चितवन मेडिकल कलेजमै जाँच्दा सुरुमा ‘पोजेटिभ’ देखिएका ती व्यक्ति पछि त्यही मेकिडल कलेजमा ‘एचआईभीको प्रभाव स्पष्ट नखुलेको’ भनियो । संक्रमितमा छोटो समयमै देखिएको प्रभावले चिकित्सकहरू पनि अचम्ममा पर्ने गरेको पोखरेल बताउँछन् । संक्रमितको विश्वासका कारण उनकोमा धाउनेको संख्या पनि बढ्दो छ ।
‘यदि कसैले यो औषधिमा अनुसन्धान गर्छ भने म तयार छु,’ पोखरेल दाबी गर्छन्, ‘मान्छेको रोगसँग लड्ने क्षमता ह्रास गर्ने रेट्रो भाइरसलाई निष्कृय पार्न सक्ने क्षमता मेरो औषधिमा छ । विज्ञानलाई चुनौती दियो भन्दै यहाँ त उल्टै उडाउने मात्र गरिन्छ ।’
अनुसन्धान हुँदै छ
स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पोखरेलको औषधिलाई अनुसन्धानको एउटा विषय बनाएको छ । तर, एचआईभीको भने होइन । हेपाटाइटिस बी, हेपाटाइटिस सी र लिभर सिरोसिसमा मात्र केन्द्रित भएर अनुसन्धानका लागि परिषद्ले पोखरेललाई आशयपत्र दिलाएको छ ।
परिषद्का सदस्य सचिव डा. खेम कार्कीका अनुसार पोखरेलले दाबी गरेको औषधिलाई तीनटा रोगमा केन्द्रित भएर अनुसन्धान गर्नका लागि विभिन्न समिति बनेका छन् । ‘प्रोटोकल’ पनि बन्ने तयारीमा छ । ‘पाँचछ सय पेज लामो प्रोटोकल बन्दै छ,’ उनले भने, ‘अहिलेम्म थप केही भएको छैन । प्रोटोकल बनिसकेपछि अनुसन्धानले गति पाउने हो । उहाँले हामीले भनेजति औषधि दिलाइसक्नुभयो । त्यसलाई टेस्ट गर्नुछ । त्योभन्दा पहिला भोलन्टियर प्यासेन्ट खोज्नुछ ।’ उनका अनुसार पोखरेलले यसअघि गरेका अभ्यासलाई अनुसन्धानले कुनै पनि आधार बनाउँदैन । अनुसन्धान टिमको निगरानीमा रहेर भोलन्टियर प्यासेन्टमा देखिएको नतिजा आँकलन गर्ने हो ।
अनुसन्धानको विषय मात्र बनेको हुनाले यसमा भ्रमित नहुन उनी सबैलाई सजग गराउँछन् । ‘यहाँ त परिषद्को आशयपत्रलाई नै भजाएर खानेहरू पनि रहेको सुनिन्छ,’ डा. कार्कीले सचेत गराए, ‘सबै सचेत हुनुपर्छ । यसमा थप बोल्न आवश्यक पनि छैन ।’ उनका अनुसार पोखरेलबाहेक क्यान्सरलगायत रोग निको पार्ने दाबी गर्ने एउटा अर्को समूह ‘कल्पसनत’लाई आशयपत्र दिएर अनुसन्धानको विषय बनाइएको छ ।  
(फिचरमा उल्लेखित बिरामीका नाम परिवर्तन गरिएको छ ।)


‘नसक्ने काम सक्छु भन्दिनँ’
कृष्णप्रसाद पोखरेल
मैले आयुर्वेदिक औषधिमा अभ्यास गर्न लागेको ३० वर्ष पुग्न लाग्यो । बाउबाजेबाट सिक्दै आएको ज्ञान हो यो । केही तालिम पनि लिएको छु । विभिन्न जडीबुटी संकलन गरेर आफैँ औषधि तयार गर्छु । मसँग हस्पिटलमा पैसा सकेर गरिब भएका बिरामीदेखि नेता, प्रशासक, डाक्टरसमेत उपचारका लागि आउँछन् । उहाँहरू आफूलाई मकहाँ आएको बारे खुलाउनसमेत चाहनुहुन्न । एचआईभी संक्रमित पहिचान खोल्ने कुरा भएन । अन्य रोगका बिरामी पनि विभिन्न कारणले सकभर नचिनिन चाहन्छन् । यसले गर्दा पनि अरूलाई विश्वास दिलाउने आधार प्रस्तुत गर्न गाह्रो छ ।
मैले नसक्ने काम सक्छु भन्दिनँ । सक्ने काममा बिरामी र आफन्तलाई खुशी पारेकै छु । आयुर्वेदिक औषधिमा भएको शक्तिलाई कम आँक्ने हो भने त के लाग्यो र ? नत्र यसमा अनुसन्धान भइदेओस् भन्ने चाहन्छु । स्वास्थ्य अनुसन्धान परिषद्ले यसलाई अनुसन्धानको विषय बनाएकोमा खुशी छु । यसले गति पाउनेमा आशावादी छु । यसैलाई भजाएर कमाएको सोचिएला । यस्ता गलत काम मबाट भएका रहेछन् भने कारबाही भोग्न तयार छु ।
केही केस अमेरिका पुगेका छन् । उताबाट केही व्यक्ति अनुसन्धान गर्छु भनेर पनि आए । जो पायो उसलाई अनुसन्धान गरिदिनुस् भन्दै हिँड्नु पनि भएन । यहाँ आयुर्वेदमाथि चासो र चिन्ता हुन आवश्यक छ । यसलाई गम्भीर अनुसन्धानको विषय बनाइनुपथ्र्यो । यहाँ सोचे जसरी काममा प्रगति र साथ मिलेन भने भारततिर जाने सोचेको छु ।

Leave A Comment