राम लोहनी –
२०७४ मा नेपाली पुस्तकहरु ठीकठीकै आए । बजारलाई तहल्का मच्चाउने गरी कुनै पुस्तक आएन भन्दा पनि हुन्छ । संख्यात्मक हिसाबले पुस्तक प्रकाशन गत वर्षको जस्तै देखियो । गत वर्षझैं यो वर्ष पनि पुस्तकको बजार उपन्यासको चर्चाले नै ओगट्यो । संख्यात्मक दृष्टिले हेर्दा कविता विधा हावी देखिए पनि बजारमा चर्चा पाउने काव्यकृति देखिएको छैन ।
आत्मकथामा नयाँ आयाम
नेपालमा आत्मकथा लेख्ने, लेखाउने प्रचलन पछिल्लो समय ह्वात्तै बढ्दै गएको छ । आत्मकथा लेखनमा स्वभावतः लेखकले आफूलाई नायकत्व प्रदान गर्ने गर्दछ । त्यो सँगसँगै आफ्ना गुणदोष र कमीकमजोरीको पनि यथोचित समीक्षा गरियो भने पाठकीय दृष्टिले त्यो लाभदायक हुन सक्छ ।
तर गएका वर्षहरूमा प्रकाशित आत्मकथाहरूमा आफ्ना कमीकमजोरीलाई लुकाउने र आफूलाई धिरोदात्त नायकको रूपमा प्रस्तुत गर्ने प्रयास गरेको देखियो । आफूलाई सबै प्रकारका कमजोरी र दोषबाट मुक्त देखाउन खोज्ने प्रयास र दैनिक जीवनका सामान्य र नियमित घटनाहरूको नालीबेली प्रस्तुत गर्ने दुई प्रकारको प्रवृत्तिमा आत्मकथा केन्द्रित हुँदै आएका छन् ।
यो वर्षको नयनराज पाण्डेको संस्मरण ‘यार’ले त्यस्तो परम्परा तोड्ने प्रयास गरेको छ । लेखकले यसमा आफ्ना कमीकमजोरीलाई केही हदसम्म देखाउने र तिनको मूल्याङ्कन गर्ने प्रयास पनि गरेका छन् । सार्वजनिक व्यक्तित्वको चेपमा अदृश्य बनेका चरित्रका विविध पत्रहरूलाई पाण्डेले हिम्मतसाथ सार्वजनिक गरेका छन् ।
कुमार नगरकोटीको ‘दोचा’को लेखन शैली उहाँको अरु कृतिजस्तै फेन्टासी पाराको छ । यो पुस्तक पनि संस्मरणमा नयाँ प्रयोग ठहरिन्छ । मदनकृष्ण श्रेष्ठको ‘महको म’ मा लेखकले आफ्ना जीवनका आरोह अवरोहको वर्णन गरे पनि आत्मसमीक्षालाई भने महत्व नदिएको अनुभूति हुन्छ ।
फिक्सन नन्–फिक्सन
केही वर्षदेखि साहित्यमा लाग्नु भनेको फिक्सन र अझ उपन्यास नै लेख्नु हो भन्ने सन्देश दिएजस्तो देखिँदै आएको छ । अन्य विधामा चर्चित लेखकले पनि उपन्यास नै लेखेका र लेख्दै गरेका चर्चाले बजार गर्माइरह्यो । यही क्रममा कवि सरस्वती प्रतीक्षाको ‘नथिया’ले प्रशस्त चर्चा बटुल्यो पनि । बादी जातिमा हुने परम्परागत देह व्यापार यो उपन्यासको विषयवस्तु हो । बादी जातिको देह व्यापारकै कथालाई आधारित बनाएर विवेक ओझाले ‘ऐलानी’ शीर्षकको उपन्यास पनि बजारमा ल्याए ।
तीर्थ गुरुङको ‘पाठशाला’ ले एउटा संवेदनशील किशोरको मस्तिष्कमा घर र विद्यालयको प्रदुषित वातावरणले पारेको नकारात्मक प्रभावलाई उजागर गरेको छ । नारायण ढकालको ‘हजार माइलको यात्रा’ कम्युनिस्ट आन्दोलनमा देखिएको विसर्जनवादको एउटा चित्रको रूपमा आएको छ । विप्लव प्रतीकको ‘अविजित’ पनि कम्युनिस्ट विचारधारामाथि सहानुभूति राख्ने एउटा पात्रको कथा हो । यसमा २०४६ सालभन्दा अगाडिको झन्डै पचास वर्षको राजनीतिका प्रमुख घटनालाई व्यक्तिगत जीवनका भोगाइसँग घुलमिल गराएर प्रस्तुत गर्न खोजिएको छ ।
यो वर्षका केही उपन्यासले सामाजिक र अल्पसंख्यकका मुद्दालाई पनि उठाउन खोजेको देखिन्छ । कमल रिजालको ‘दृष्टिभ्रम’ ले बोक्सीप्रथा विरोधी अभियानलाई आवाज प्रदान गरेको छ । कल्पना कल्पपुञ्जको ‘सञ्जिवनी’मा जन्मजात बोली गुमाएकी एउटी पात्रलाई आधार बनाएर तिनीहरूले भोग्न सक्ने समस्या र तिनको शोषणलाई उठाउन खोजिएको छ । अध्ययनका लागि अमेरिका पुगेको युवा नेपाली राजनैतिक, पारिवारिक, सामाजिक आदि कारण अमेरिकामै भासिन बाध्य भएको कथालाई विजयराज शर्माको ‘भास’ ले प्रस्तुत गरेको छ ।
प्रेमलाई विषय बनाएर अश्विनी कोइरालाको ‘प्रेमालय’, कृष्ण गौतमको ‘रानीवन’ बजारमा देखिए । युवा लक्षित भनेर उच्छृङ्खल यौन मसला भएका केही उपन्यास पनि बजारमा चर्चामा रहे केही समय । मालिका केशरीको ‘सुवर्णलता’ प्रेम नै मुख्य विषय भएको उपन्यास हो । पच्चीस सय वर्षभन्दा लामो अवधि समाधिमा रहेकी एउटी युवतीलाई वर्तमानमा ब्युँझाएर प्रस्तुत उपन्यासले स्वप्नव सदृश एउटा इतिहासलाई उतार्न खोजेको छ ।
पौराणिक पात्र विश्वामित्रमाथि शीतल गिरीले ‘तपोधन’ शीर्षकको उपन्यास ल्याएका छन् । नीलम कार्की निहारिकाले राणाकालमा सामाजिक सुधारकी अभियन्ता ‘योगमाया’को जीवनीपरक आख्यान निकालिन् ।
गैरआख्यान अन्तर्गत यज्ञशको ‘भुइँया’, हरिबहादुर थापाको ‘रजगज’ चर्चामा रहे । आकर्षक र सरल भाषामा लेखिएको ‘भुइँया’मा मुख्यतः तराई क्षेत्रका अल्पसंख्यकहरूको आन्दोलनको कथालाई समेटिएको छ । ‘रजगज’ नेपालको इतिहासमा गएको तीस चालीस वर्षभित्र भएका भ्रष्टाचारको नालीबेली हो ।
यस्तै यात्रा साहित्यमा कृष्ण बजगाइँको ‘भाया साक्रा’, नेपालको इतिहासलाई द्वन्द्वात्मक भौतिकवादी आँखाले हेर्न खोजिएको रामराज रेग्मीको ‘नेपालको इतिहासः एक माक्र्सवादी दृष्टिकोण’, कमल रिजालको ‘दर्शन भित्रको दर्शन’, तिब्बती शरणार्थीको बारेमा श्रीभक्त खनालको ‘अप्ठेरो बाटो’, विभिन्न व्यक्तित्व माथिको रोचक घिमिरेको रोचक संस्मरणात्मक आलेख संग्रह ‘अनुहार र अनुभूति’ आदि पनि यसै वर्ष बजारमा आएका छन् ।
यस वर्ष प्रकाशित कथाहरूमा अर्चना थापाको ‘कठपुतला’, ध्रुवसत्य परियारको ‘कैरन’, अनमोलमणिको ‘१९ नंबर’, अनुपमा रोशीको ‘मध्यान्तर’, श्रीरामसिंह बस्नेतको ‘अनुहारहरू’ आदि छन् । कठपुतला र कैरन फरक विषयवस्तु र फरक शैलीका कारण उल्लेखनीय छन् । अनुहारहरूमा बस्नेतले यौन मनोविज्ञानलाई खोतल्ने प्रयास गरेका छन् । यस्तै, सुमन सौरभले एकै विषय ‘सपना’माथि लेखेका लघुकथाहरूको संग्रह ‘स्वप्निस्तान’ एउटा प्रयोगात्मक सिर्जना हो ।
गुणस्तर कस्ता छन् ?
पछिल्लो समय पुस्तक र पाठकको संख्या दुवैमा वृद्धि भएको दखिन्छ । लेखनमा पनि विविधता देखिन थालेको छ । लेखकहरूमा नयाँ र अनुसन्धानात्मक विषयमा लेख्नु पर्छ भन्ने जागरुकता पलाएको छ । अन्तर्राष्ट्रिय साहित्य आदिको पठनले पनि पाठकमा नेपाली भाषामै उत्कृष्ट कृति पढ्न रहर विकास भएको छ । लेखकहरूमा पनि पढेरै लेखनमा निखार ल्याउन सकिन्छ भन्ने धारणा विकास भएको देखिन्छ । यसले गर्दा पहिलेभन्दा अहिले निस्केका पुस्तकहरुमा गुणवत्ता बढ्दो देखिन्छ ।
प्रकाशन र छपाइमा पनि व्यावसायिकता बढ्दै छ तर गैरआख्यान र प्राज्ञिक लेखनमा भने स्थिति अझै पनि निराशाजनक नै छ भन्दा फरक पर्दैन । विश्वको ज्ञानको तह कहाँ पुगिसक्यो, नेपाली पाठकलाई के कस्ता पाठ्यसामग्री उपलब्ध गराउनु आवश्यक भैसक्यो र त्यो कसरी सकिन्छ भन्नेतर्फ लेखकहरूमा पर्याप्त चिन्तन विकास भैनसकेको हो कि भन्ने अनुभूति हुन्छ ।
फरक विषयका पुस्तक
आशाका किरण भने देखिएका छन् । केही अगाडिसम्म लेखनमा विशेष गरी सामाजिक विषयवस्तु उठाउनुलाई महत्व दिइन्थ्यो तर अहिले आख्यानकै लागि पनि अनुसन्धान गर्ने गरेको देखिन्छ । गैरआख्यान प्रकृतिका अनुसन्धानात्मक कृति पनि प्रकाशित हुन थालेका छन् ।
सौरभको ‘असङ्गति’ यस्तै प्रकृतिको कृति हो । युग पाठकको ‘माङ्गेना’ यस्तै अर्को पुस्तक हो । माङ्गेनाले सामाजिक विषयवस्तुहरूलाई वैकल्पिक धारबाट कसरी हेर्न सकिन्छ भन्ने कुराको उठान गरेको छ । सिमान्तकृत समुदायको दृष्टिकोणबाट घटना नियालिएको छ । यस्ता पुस्तकहरूले नयाँ बहस र्सिजना गर्छन् । के सत्य हो, के सत्य होइन भनेर समाजमा तरङ्ग पैदा गर्छन् ।
साहित्यका अन्य विधा
कथा, कविता, गजलहरु पनि निस्किरहेका छन् । कवितामा विविधता आएको छ । छन्द शैली कमजोर हुँदैछन् । आधुनिक कविहरूमा मुक्त छन्द लोकप्रिय बन्दै गएको छ । यो वर्ष तेह्र कविहरूले संयुक्त रूपले ‘आरोहण’ महाकाव्य लेखेर नयाँ प्रयोगलाई प्रकाशनमा ल्याएका छन् ।
२०७२ सालको भूकम्प र त्यसको प्रभावमाथि महाकाव्य रचना गरेर समकालीन विषयमा पनि महाकाव्य लेख्न सकिन्छ भन्ने दृष्टान्त प्रस्तुत भएको छ आरोहणमार्फत् । कवि प्रथाको ‘युद्धशिविरमा हिँडेको मान्छे’, उपेन्द्र सुब्बाको ‘रोज्जा कविता’ चर्चामा रहे ।
नेपाली साहित्यमा खडेरी परेको विधा भनेको नाटक हो । निबन्धहरू प्रकाशित भए पनि प्रभावकारी रूपमा अघि आउन सकेका छैनन् । हास्यव्यंग्य पनि कमजोर बन्दै गएको छ । समालोचनाका पनि केही कृति देखिएका छन् । भैरव अर्यालको छाप परेका पाठकहरूलाई खुराक पुग्ने गरी व्यंग्य जन्मिन सकेका छैनन् । जे छन्, ती राजनैतिक व्यंग्यमा मात्र सीमित छन् । यो वर्ष प्रकाशित हास्यव्यंग्य निबन्धमा महेश थापाको ‘नमोनमः’ले प्रशस्त चर्चा पायो ।
नेपाली साहित्यको भविष्य
नेपाली साहित्यको कृति अङ्ग्रेजीमा अनुवाद हुन थालेका छन् । यो सुखद् कुरा हो । कृष्ण धरावासीको ‘राधा’ उपन्यास यसैपालि अनुवाद भयो । इन्द्रबहादुर राईको ‘आज रमिता छ’ र अर्को एउटा कथा संग्रह पनि अनुवाद भएको छ । यसले के जनाउँछ भने हाम्रा साहित्य कृति पनि विश्व डुल्दैछन् । लेखकहरूको ध्यान पनि आफ्ना कृति विश्व बजारमा पुर्याउनेतर्फ केन्द्रित भएको देखिन्छ ।
आम जनसमुदायमा र विशेष गरी नयाँ पिँढीमा पठन संस्कृति बढ्दैछ । विश्वभरि छरिएर रहेका नेपाली समुदायबाट पनि नेपालीमा लेखिएका कृतिको माग बढ्दै गएको छ । पाठकको दायरा बढ्नु शुभलक्षणको सूचक हो । बढ्दो प्रतिस्पर्धा र नवलेखकहरूको प्रवेशको कारण पनि लेखनमा फरक स्वाद पाउने सम्भावना बढेको छ ।
लेखक र पाठक
नेपाली लेखकभन्दा पाठक निकै अगाडि छन् । केही सर्भेहरूले पाठकभन्दा लेखक कम पढ्छन् भन्ने बताइरहेका छन् । भने जस्तो पुस्तक नपाएर पाठकहरु अंग्रेजी पुस्तकतर्फ ढल्केका पनि छन् । कतिपय लेखकहरू साहित्यमा सहानुभूति लेखेर आफूलाई पाठकमाझ परिचित गराउन खोजिरहेका जस्ता देखिन्छन् ।
उदाहरणका लागि सीमान्तकृतको विषयमा लेखिएका पुस्तकहरू क्रान्तिकारी, समस्या पहिचान गर्ने र तिनको समाधान दिने भन्दा पनि सहानुभूति प्रकट गर्ने खालका लेख्ने गरिएका छन् । पाठकले सहानुभूति खोज्दैन, परिर्वतनशीलता खोज्छ । पाठक पढ्दै गरेको पुस्तकले समस्या मात्र नदेखाओस्, हल गर्ने उपायमाथि पनि विमर्श गरोस् भन्ने चाहन्छन् । त्यसतर्फ लेखकहरुको पर्याप्त ध्यान जानु जरुरी देखिन्छ ।
Leave A Comment