साहित्यकार धु्रवचन्द्र गौतम ७४ वर्ष पुगिसके । अहिलेसम्म ५० भन्दा बढी पुस्तक लेखिसकेका गौतमका २५ वटा उपन्यास प्रकाशित छन् । उनका कथा कविता पनि प्रकाशित छन् । १० वर्षको उमेरदेखि कविता लेख्न थालेका गौतम ७४ वर्षको उमेर पुग्दा पनि लेखिरहेका छन् । हरेक दिन उनी केही न केही लेखेकै हुन्छन्, लेखाइबाट उनी अझै थाकेका छैनन् । २०७४ मा उनको ‘एक आनाको जमाना’ नामक अनुभव उपन्यास प्रकाशनको अन्तिम चरणमा छ । उनै गौतमसँग साहित्यको विभिन्न पाटोबारे शुक्रवारकर्मी प्रजु पन्तले गरेको कुराकानी :
यो विषयमा लेख्छु भनेर विषयको छनोट कसरी गर्नुहुन्छ ?
समाजबाटै लिने हो । वर्तमान समाजको मान्छेको सोचाइ बुझाइलाई नै मैले लेखनमा उतार्ने गरेको छु । कुनै पनि विषयवस्तु, आइडिया अथवा प्लट भनु त्यो मेरो दिमागमा फ्याट्ट आउँछ । जब केही फुर्छ अनि म लेख्न थाल्छु । लेख्छु भनेर सोच्नेबित्तिकै झलल्ल परेको उज्यालो आउँछ । त्यो एक निमेषको उज्यालोलाई टपक्क टिपेर लेख्न थाल्छु ।
‘उपसंहार तथा चौथो अन्त्य’ उपन्यासको रवि भन्ने पात्र कसरी छान्नुभयो ?
हाहाहा... त्यो पनि त्यतिबेलाको समयअनुसारको हो । पहिले विषय हुन्छ । त्यो पछि पात्र आउँछ । कस्तो आउने भन्नेकुरा थिमले बताउँछ । किन आयो भन्न गाह्रो छ ।
विषयवस्तुको छनोट कसरी गर्नुहुन्छ ?
‘अलिखित’ उपन्यास मेरो गाउँको अनुभव हो । धेरै ठाउँमा जाँदा धेरै थरिका मान्छे भेटिन्छन् । त्यहाँ धेरै थरिका मान्छेको संगत हुन्छ । त्यस्ता विषयवस्तुलाई लिएर आफ्नो काल्पनिकता अझ भनांै कलात्मकता भरेर लेख्ने हो । लेखक सधैँ एउटै विषयवस्तुमा केन्द्रित हुनुपर्छ भन्ने छैन । त्यसकारण धेरै विषयवस्तु हुने हो । कुन आउँछ भन्ने एकिन हुन्न । जम्मै कुरा वर्तमान समयको पात्र तथा विषयवस्तु हुन् ।
विषयवस्तुको प्राथमिकता त होला नि ?
विषयवस्तु भन्ने कुरा जतिबेला पनि हुन्छ । कुनै निश्चित समयमा हुन्छ भन्ने हुँदैन । हाम्रो वरिपरि २४ घण्टा विषयवस्तु घुमिरहेको हुन्छ । तर, सबैलाई सबैखाले विषयवस्तुले सबैलाई आकर्षण गर्छ भन्ने होइन । एउटै घरका मान्छे पनि कोही लेखक, कोही इन्जिनियर हुन्छन् । टिपिने क्षमतामा भर पर्छ । जुन कुराले छुन्छ त्यही हुन्छ । जुन विषयवस्तु देख्नेबित्तिकै बत्ती बिजुली चम्केजस्तो हुन्छ त्यसैलाई टिपेर लेख्न थाल्छु ।
पात्र छनोटको कुनै विधि छ त ?
लेखकले पात्र दिनरात देखिरहेको भेटिरहेको हुन्छ । थिम आएपछि कुन पात्र कहाँ उपयुक्त हुन्छ त्यहीँ राख्ने हो । प्रत्यक्ष भेटेका पात्रलाई उसको असली रूपलाई नमासिने गरी काल्पनिकतामा ढालिन्छ ।
वादबाट प्रभावित हुनुहुन्छ पनि भनिन्छ नि ?
मलाई अरूले अस्तित्ववादी विसंगतिवादीबाट प्रभावित छ भन्छन् । तर, म आफँै स्वयंलाई केहीबाट प्रभावित छु जस्तो लाग्दैन ।
पञ्चायतकाल, संवैधानिक राजतन्त्र, गणतन्त्र सबै अवस्थामा तपार्इंको कलम चलिरहेको छ । यस्ता राजनैतिक परिवर्तनले एउटा लेखकलाई कस्तो प्रभाव पार्छ ?
समाजमा घटेका प्रत्येक घटनाले साहित्यमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । हामीले पञ्चायत कालमा पनि त्यो व्यवस्थाविरुद्ध लेख्यौं । त्यहीबेला मैले ‘डापी’ भन्ने पुस्तक निकालेँ, त्यतिबेला समालोचना गर्नेले भारतमा इन्दिरा गान्धीले संकटकाल लगाएको हुँदा उतैको घटनाअनुसार पुस्तक लेखिएको भनेर लेखे । म त्यतिबेला पिएचडीका लागि भारतमा बसेको थिएँ । तर त्यो विषयवस्तु नेपालकै थियो, नेपालकै शासन व्यवस्थाविरुद्ध लेखिएको थियो र नेपालमा लेखिएको थियो । प्रकाशन मात्र ढिला भएको थियो । समालोचकले नै पञ्चायतविरुद्ध भन्न सकेनन् । खराबी अहिले पनि लेखिन्छ । तर, त्यो बेलाको जस्तो लेखनमा अहिले गाह्रो छैन ।
तपार्इंले पञ्चायतविरुद्धको पुस्तक लेख्दा समाजमा कस्तो प्रभाव परेको थियो ?
समाजले जसरी साहित्यलाई प्रभाव पार्छ त्यसरी नै साहित्यले पनि समाजमा प्रभाव पर्छ । पञ्चायतकालमा मैले ‘डापी’ पुस्तक लेख्दा एउटा घनको काम गरेकै हो । त्यस्तै अरू धेरै घनहरु ठोकिँदै गए र त्यो शासन व्यवस्था हट्यो । एक झटारोले परिवर्तन हुँदैन, त्यहाँ त सयाैं झटारोहरु पर्न आवश्यक छ । ५ जनाले पढे पनि ५ जनाको मानसिकता त परिवर्तन हुन्छन् । त्यो बेला प्रभाव भने राम्रै परेको थियो ।
पहिले र अहिले लेख्दा के फरक पाउनुहुन्छ ?
पहिले र अहिलेका पात्र फरक हुन्छन् । अहिले धेरै परिवर्तन भइसक्यो । त्यो बेला सत्ताको विरोध गर्दा पनि सांकेतिक तरिकाले गर्नुपथ्र्योे । अहिले लेखनमा कलात्मकताको अभाव छ । जे लेख्न पनि स्वतन्त्रता भए पनि कलात्मकताको अभाव छ जस्तो लाग्छ । अहिले प्रतिस्पर्धा भनेकै आफैँसँग हो । पहिले लेखक थोरै हुन्थे । नोटिस हुन्थ्यो । अहिले लेखेर मात्र हुँदैन, प्रचार–प्रसार पनि गर्न सक्नुपर्छ ।
अहिलेको लेखनप्रति सन्तुष्ट हुनुहुन्न हो ?
अहिले निस्केका सबै पढेको छैन तर जति पढेको छु राम्रै छन् । लेखक पनि बढेका छन् । साहित्यकार संख्यात्मक र गुणस्तर सबै बढेका छन् । हामी युवा छँदा लेख्दाखेरि स्वतन्त्रताको चाहना राख्दै लेखिन्थ्यो । तर अहिले त्यो छैन । अहिले कलात्मक बनाउने भन्ने हो । अहिले स्वतन्त्रता छ तर कलात्मकताको अभाव छ । लेखनमा कलात्मकता हुन जरुरी छ ।
पहिलेका साहित्यकार र अहिलेका साहित्यकारमा के फरक पाउनुभएको छ त ?
पहिले र अहिले धेरै फरक छ हामीले हातले लेख्थ्यौ । अहिले पनि म हातैले लेख्छु तर अहिले त्यस्तो छैन । स्रोत साधन प्रशस्त छन् । ज्ञान पनि बढेको छ । नयाँ कुरा आएको छ । राम्रो पनि लेखिरहेका छन् तर कलात्मकताको अभाव भने छ ।
कृतिमा के फरक छ ?
अहिले समाज धेरै परिवर्तन भएको छ । पहिले शासकको विरोधी कृति आउँथे । अहिले सिमान्तकृत समुदाय पीडामा परेका मान्छेहरुको कुरा आउन थालेका छन् । पहिले पनि आउन त स्थलगत आउँथे तर कमै हुन्थे, अहिले आएका कृतिहरुमा सामाजिक मुद्दाहरु बढी आउन थालेका छन् ।
अहिले बढी अश्लीलता छाएको छ भन्ने सुनिन्छ । हो त ?
यो गलत हो । तपाईं केलाई अश्लीलता मान्नुहुन्छ त्यसले फरक पार्छ । हामी युवा छँदा समाजले अश्लील मान्ने कुरा अहिले समाजले सहजै स्वीकार्छ । यदि यौनलाई अश्लील भन्नुभएको हो भने पनि गलत हो । के यौन अश्लील हो र ? सान्दर्भिक बनाएर यौनका कुरालाई कलात्मक ढंगले साहित्यमा उतार्दा अश्लीलता हुँदैन ।
व्यक्तिगत प्रसंगतिर जाउँ है त । तपार्इं कतिबेला पढ्नुहुन्छ ?
यतिबेला पढ्ने भन्ने नै छैन । यदि कुनै पुस्तकको विषयवस्तुले तान्यो भने बिहानबेलुका राति जतिबेला पनि पढेकै हुन्छु । आफ्नो पुस्तक लेख्दा लेख्दै पनि पढिरहेको हुन्छु ।
कुन उमेरको हुनुभयो ?
म २००० मा वीरगञ्जमा जन्मेको हुँ ।
कहिलेदेखि लेख्न थाल्नुभएको नि ?
लेख्न त २०१० सालदेखि सुरु गरेको हुँ । छापिएको रूपरेखा पत्रिकामा २०२० सालबाट कविता, कथा छापिन थालेको हो ।
पहिलो पुस्तकको प्रकाशन कहिले गर्नु भएको हो ?
पहिलो उपन्यास ‘अन्त्यपछि’ भन्ने २०२४ सालमा छापिएको हो ।
लेखक नबन्नुभएको भए के बन्नुहुन्थ्यो ?
मलाई गाउन खुब मन पर्छ । पहिलेबाटै । सायद गायक पो बन्थेँ कि !
तपाईंका लागि साहित्य के हो ?
अंग्रेजीमा प्यासन भन्छन् क्यारे त्यही हो ।
Leave A Comment