‘हजुरबुबा बिपीलाई मिस गरिरहन्छु’

बिहिबार, ०३ जेठ २०७५, ०५ : ३४ प्रजु पन्त
‘हजुरबुबा बिपीलाई मिस गरिरहन्छु’

१० वर्ष देखि  टिचिङ अस्पतालमा सेवारत डाक्टर अपर्णा कोइराला बस्नेत साहित्यमा हामफालेकी छिन् ‘फलेन्, इन् लभ्’ पुस्तकमार्फत् । अंग्रेजी भाषामा लेखिएको यो पुस्तककी लेखिकाको साइनो कोइराला परिवारसँग जोडिए पनि राजनीतिमा कति जोडिएकी छैनन् । पेसाले उनी डर्मिटोलोजिस्ट (छालारोग विशेषज्ञ) हुन् । बिरामीको स्वास्थ्य जाँच्दाजाँच्दै उनले कसरी समाजको नाडी जाँच्न भ्याइन् ? शुक्रवारकर्मी प्रजु पन्तले गरेको कुराकानी ।

तपाईं डाक्टर पढिरहेको र अभ्यास पनि गरिरहेको व्यक्ति पुस्तक लेख्ने समय कसरी निस्कियो ?
भित्र इच्छा भएपछि जसरी पनि लेखिँदोरहेछ । 

लेख्न कहिलेबाट सुरु गर्नुभयो ? 
पहिला  १० वर्ष उमेरमा कविता लेखेँकी थिएँ । पढ्नेक्रम जारी रहे पनि लेख्नेक्रम भने टुट्यो । मेडिकलको पढाइ सुरु भएपछि त कोर्सकै किताबको ठेलीले थिच्थ्यो । अरु लेख्न, पढ्न समय निकाल्नै गाह्रो हुन्थ्यो । तैपनि फाट्टफुट्ट भने जारी राखेकै थिएँ ।

 ‘फलेन्, इन् लभ्’ लेख्नुको पृष्ठभूमि केही छ कि ?
यो पुस्तक लेख्न ठ्याक्कै सात वर्ष लाग्यो । कहिले के नफुर्ने, कहिले फुरेको बेलामा लेख्न नभ्याउने । १० वर्षअघि  टिचिङ हस्पिटलमा  काम गर्न थालेपछि भने केही फुर्सद निकाल्न सकेँ । नेपालको राजनीति, सामाजिक, आर्थिक पाटा बुझ्न थालेँ । त्यसैको बलमा पुस्तक निस्कियो । 

‘फलेन्, इन् लभ्’ हो चैँ कस्तो पुस्तक ?
एउटा महिला पात्रकोे भोगाइ यो । ऊमार्फत् समाज, राजनीति, आर्थिक पाटोलाई नेपालीले कसरी भोगिरहेका छन् भन्ने तथ्यलाई खुलाउन खोजेकी छु । २०६२–०६३ पछिको सामाजिक अवस्थालाई प्रस्तुत गर्ने प्रयास गरेकी छु । 

ठाउँको नाम दिएर उपन्यासको अध्याय छुट्ट्याउनुभएको छ, तपाईं जहाँ–जहाँ बस्नुभयो, त्यहीँको झल्को हो यो उपन्यास ?
पूरै नभए पनि केही त अवश्य हो । त्यसमा कल्पनाशीलता  मिसिएको छ । फेरि आफू नबसेको नगएको ठाउँबारे त कसरी लेख्नु ? 

लेख्दा लेख्दै  छोड्नुपरेपछि त्यही भावमा फर्केर लेख्न कत्तिको गाह्रो हुने रै’छ ? 
कतिपल्ट त मैले लेख्नै छाडेँ । के भन्न खोजिरहेकी थिएँ भन्ने बिर्सने । कतिपटक त लेखिसकेको पनि के भन्न लेखेकी थिएँ भनी ठम्याउनै गाह्रो । 

लेख्न कत्तिको गाह्रो रै’छ ?
लेख्न भन्दा सम्पादनको पाटो गाह्रो रै’छ । 

सम्पादनको चरण चैँ कस्तो भयो त ? 
यो पाटो साह्रै गाह्रो रहेछ । कुन राख्ने, कुन नराख्ने धेरै सोच्नुपर्ने रहेछ । 
सम्पादन गर्दा लेखिसकेको कुरा मन नहुँदा–नहुँदै राख्न मिल्दैन  त्यतिबेला कस्तो अनुभव हुँदोरहेछ ?
सम्पादकले बोरिङ हुनसक्छ भनेर एउटा पाटो हटाइदिनुभयो । उहाँले एकदम नम्र पाराले किन काटेँ भनी सम्झाउनुभयो । उहाँको भनाइ थियो, ‘कतिपय तिम्रा कुरा भर्खर कपाल काटेर आएको मान्छेको के–के नमिलेजस्तो हुन्छ, त्यस्तै  भएको छ, माइन्ड नगर ।’ पछि किताब हेर्दा त कपाल हैन, हातै काटेजस्तो महसुस भयो । त्यसपछि त्यसलाई तीन महिना केही नगरी राखिरहेँ । पछि फेरि अर्कै तरिकाले लेख्छु भनेर पुनः लेखे । 

लेखकहरु कोही कोबाट प्रभावित हुन्छन्, कोही कोबाट । तपाईं चाहिँ कोबाट प्रभावित हुनुहुन्छ ?
म बिपी कोइरालाबाट अति प्रभावित छु । उहाँ मेरो आइडल पर्सन हो । हर कुरामा उहाँ मेरो आइडल पर्सन हो ।

तपाईंको त परिवारकै व्यक्ति हैनन् बिपी कोइराला, तारिणीप्रसाद कोइराला ?
हो, दुवै मेरा हजुरबुबा हुनुहुन्छ । 

साहित्यकार तारणीप्रसादको संगत कत्तिको पाउनुभयो ? 
म जन्मनुभन्दा एक हप्ताअगाडि तारिणीप्रसाद बुबाको निधन भयो । त्यसकारण मैले उहाँको सगंत गर्न पाइनँ तर बिपी कोइरालाको संगत धेरै पाएँ ।

बिपीलाई सम्झँदा के सम्झनुहुन्छ ? 
उहाँसँग रहँदा–बस्दाको धेरै कुरा सम्झन्छु । हुन त बच्चा बेला उहाँलाई त्यति महŒव दिइएन, उहाँका कुराहरुलाई ध्यान दिइएन । 

केही सम्झना त होला नि ?
सबैभन्दा राम्रो कुरा, घरमा सबै जना ४ बजे उठ्थ्यौँ । ओढ्ने लिएर  चियासहित हामी बिपीको कोठामा पुग्थ्यौँ र २÷३ घण्टा हामी बिपी हजुरबुबाको कोठामा झुम्मिन्थ्यौँ । घरमा के–कस्ता समस्या छन्, के हुँदैछ भन्नेजस्ता छलफल हुन्थे । कालो चिया खाँदै त्यस्तो छलफलमा सबै जना सहभागी भएको पाउँदा अहिलेको हाम्रो सानो परिवारमा त्यो अभाव महसुस हुन्छ । मेरो जीवनमा पनि त्यस्तै होस्, सबै परिवार बिहानै उठेर बिपी हजुरबुबालाई घेरेजस्तै कसैलाई घेरेर बसौँ भन्ने मिस गरिरहन्छु । 

बिपीले केटाकेटीलाई कसरी फकाउनुहुन्थ्यो ?
उहाँको व्यक्तित्व नै यस्तो थियो कि हरकोही झुम्मिरहन चाहन्थे ।  उहाँले हामी बच्चाहरुलाई उहाँलाई दिइएका उपहार बाँड्नु हुन्थ्यो । साना हुन् कि ठूला सबैलाई उत्तिकै, सबैलाई समान तरिकाले सम्मान र माया गर्नुहुन्थ्यो । 

त्यतिखेर परिवारमा पढ्ने पढाउने कत्तिको चलन थियो ?
माइन्ड खुल्न, एजुकेसन दिन हाम्रो परिवार सक्रिय थियो । विराटनगरमा कन्या विद्यालय खोल्न निकै सक्रिय थियो । आदर्श विद्यालय त बिपीका बुबा पिताजी कृष्णप्रसादले ठूलो सङ्घर्ष गरेर खोल्नु भएको सबैलाई थाहा नै छ । सबै शिक्षित होऊन्, ज्ञानतर्फ आकर्षित होऊन् भनी कोइराला परिवारले गरेको काम अलिकति  पुस्तकमा पनि झल्काएकी छु । सबै जना पढ्ने भएको हुँदा आफूले पढेका पुस्तकहरुबारे छलफल गर्ने, यस्तो पढ्नू भनी सल्लाह दिने काम हुन्थे । 

हाम्रो समाजमा अझै पनि बालबालिकालाई स्कुलका पुस्तकबाहेक बाहिरी पुस्तक पढ्न लगाउने चलन छैन । तपाईंको घरमा कस्तो वातावरण थियो ?
हाम्रोमा पुस्तक पढ्नु ‘पार्ट अफ लाइफ’ (जीवनको अङ्ग) नै थियो । कस–कसले के–के पढे, पढ्दैछ भनेर छलफल नै हुन्थ्यो ।  

तपाईं चाहिँ कस्तो पुस्तक पढ्नुहुन्थ्यो ?
धेरै थरिका पुस्तकहरु पढियो । मेडिकल लाइनमा लागेपछि भने पढ्न पाइएन । सुरुमा मैले म्याक्सिम गोर्कीको ‘आमा’ पढेँ, त्यसले मलाई धेरै दिनसम्म प्रभावित पारिरह्यो । त्यस्तै दिल्लीमा पढ्दाताका निरञ्जन  कोइरालाले मलाई पढ्न प्रेरित गर्नुहुन्थ्यो । उहाँसँग भेट हुनेबित्तिकै पुस्तकको कुरा निस्कन्थ्यो । उहाँले नै पहिलो पटक मलाई एनी ¥यान्डका किताबबारे चर्चा गर्नुभएको थियो । 
 

Leave A Comment