‘नेपाली साहित्य दलालीतर्फ जाँदैछ’

शुक्रबार, ०४ जेठ २०७५, ०६ : २५ प्रजु पन्त
‘नेपाली साहित्य दलालीतर्फ जाँदैछ’

समालोचक तथा कवि नेत्र एटम (नेत्रमणि सुवेदी) पेसाले त्रिभुवन विश्वविद्यालयमा  प्राध्यापन  गर्छन् ।  साहित्यको समालोचना गर्दै  आएका  एटमसँग नेपाली साहित्यमा  कविताको  उपस्थिति र समालोचनाका नयाँ आयाम अनि साहित्यको विकृतिका विविध पाटोमा आधारित रहेर  शुक्रवारकर्मी प्रजु पन्तले गरेको  कुराकानी 

कविताको क्षेत्रमा समालोचना गर्दै आउनुभएको छ हिजोआज केमा आधारित रहेर समालोचना गर्र्दैै हुनुहुन्छ ?
म खासमा नयाँनयाँ कुरामा कलम चलाउन रुचाउँछु, त्यसकारण  नेपाली कविताको पर्यावरण चेतना केकस्तो छ भनेर अध्ययन अनुसन्धान गर्दैछु । कवितामा पर्यावरणीय चेतना कसरी आएको छ, हाम्रा कविहरुमा यसको चेतना कति छ भनेर पनि हेर्न खोजिरहेको छु ।

पर्यावरणीय समालोचना भनेको के हो ? 
पर्यावरण भनेको भौतिक र जैविक वस्तु बीचको सम्बन्ध हो । यी दुईबीच सन्तुलन कस्तो छ ? अहिलेका कविताले कसरी सम्बोधन गरेका छन् ? कविताले वातावरणलाई कसरी हेरेको छ ? भन्नेमा आधारित रहेर अध्ययन गर्न खोज्दै छु । यसबारे केही समय पहिले सैद्धान्तिक लेख पनि लेखेको थिएँ । समालोचनाको लागि यो पूरै नयाँ विषय हो ।  

त्यो लेख कुन विषयमा केन्द्रित थियो ?
विश्वमा पर्यावरणीय साहित्य कतातर्फ गइरहेको छ, त्यो कस्तो  चलिरहेको छ ? भन्ने विषयवस्तुमा आधारित थियो । विशेष गरी त्यसमा ‘इकोसिस्टमका’ कुरा छन् । पुँजीवादले  कसरी जनताको विपक्षमा काम  गरिरहेको छ भन्ने बारेमा पनि थियो । पँुजीपतिहरुको पक्षमा वातावरणको दुरुपयोग भइरहेको छ । जस्तोः राजमार्ग बन्यो भने वनफँडानी गरिन्छ । त्यसको प्रत्यक्ष असर त्यहाँका स्थानीयलाई परिरहेको हुन्छ । भारतमा केही समय पहिले ‘चिप्को’ भन्ने आन्दोलन चलेको थियो । ठेकेदारहरुलाई सरकारले ठूला रुखहरु काट्न दियो, त्यहाँका स्थानीयले रुखलाई अँगालो हालेर काट्न दिएनन् । नुवाकोटबासीले काठमाडौँको फोहोर सहिरहेका छन् । यस्तो चिजलाई कविताले कसरी सम्बोधन गर्दाेरहेछ भन्नेतर्फ म हेरिरहेको छु । 

पहिलाका कविताहरुमा पर्यावरणबारे कस्तो ‘सेन्स’ पाउनुभयो र अहिले लेखिएका कवितामा पर्यावरणीय चेतनामा के भिन्नता रहेछ ? 
पहिला लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, सिद्धिचरण श्रेष्ठका उर्वशी वा लेखनाथ पौड्यालको ‘तरुण–तपसी’ आदिमा पाउन सकिन्छ । अहिलेका कवितामा यस्तो चेतना कम छ । प्रकृतिसँग मानव जातिको जीवनको तादम्यता कसरी मिलेको छ भन्ने कुरा पाउन मुस्किल छ नेपाली कवितामा । अविनाश श्रेष्ठका कवितामा भने हाम्रो ब्रह्माण्ड, वनविनाश र ऊर्जा सङ्कटलाई सम्बोधन गरिएको छ ।

हाम्रोमा राजनीतिक चेत भएका कविता अलि बढी छन्, होे ?
बाहिर सुनिएका र मिडियामा धेरै पढिएका तिनै राजनीतिक कविता हुन् । अब राजनीतिक चेतसँग पर्यायवरणीय चेतलाई र यी दुवैलाई गहन कलात्मकतासित पनि जोड्न आवश्यक छ ।

कवितामा कसरी राजनीतिक चेत र पर्यावरणीय चेतना जोड्ने ?
समाजवादी चेत भएका कविले जोड्न सक्छन् । पुँजीवादी चेत  भएकाले सक्दैनन् । पुँजीवादी प्रजातन्त्रले व्यक्ति र व्यक्तिगत सम्पत्तिलाई मात्र महŒव दिन्छ । त्यसका निम्ति व्यक्ति नै सर्वेसर्वा हो । जस्तोः धेरै चाउचाउ उत्पादन गर्छ चौधरी ग्रुपले, यहाँ उसको आम्दानी मात्र हेरिन्छ, विनोद चौधरी अर्बपति भएको भनेर मक्ख परिन्छ । त्यो उत्पादनले समाजमा कस्तो असर परेको छ, स्वास्थ्यमा के कस्तो असर परेको छ भनेर हेरिन्न तर समाजवादी चेत हो भने त सामाजिक भाव बढी हुनुपर्छ नि, अनि प्रकृतिको विनाशले समाजमा कस्तो असर पार्छ, त्यो पनि हेर्छ तर पुँजीवादका पक्षधरले त्यो हेर्दैनन् । हाम्रोमा समाजवादी चेत अत्यन्त कम छ । 

साहित्यकारमा समाजवादी चेत कस्तो छ ?
चल्तीका अधिकांश साहित्यकारमा राजनीतिक पार्टी र आइएनजिओले ल्याइदिने मुद्दामा मात्र केन्द्रित हुने प्रवृत्ति छ । तिनमा आफ्नो मौलिक चेत देखिँदैन । राजनीतिक दल नपुगेको ठाउँमा पुगेर नयाँ विचार, दर्शन दिनुपर्ने, उज्यालो छर्नुपर्नेमा उनैको फेरो समातेर हिँड्ने साहित्यकारहरु धेरै देखिन्छन् । 

किन यस्तो भएको ?
यो साहित्यकारहरुमा सङ्कीर्ण मानसिकता हाबी हुँदै गएको लक्षण हो । स्वार्थी मानसिकता भएका कतिपय साहित्यकारले सस्तो लोकप्रियताका लागि प्रकाशकको निर्देशनअनुसार लेख्नुपर्ने स्थिति पनि सिर्जना गर्न थालेका छन् । 

राजनीतिक दल र आइएनजिओ अनुसार लेख्न थालेका छन् भन्नुभयो, यसरी नेपाली साहित्य कतातिर जान्छ ?
यसरी लेखिने निर्देशित साहित्य त दलाली र भ्रष्टतातिर जान्छ । अहिले नेपाली साहित्य त्यही कुबाटोतर्फ जाँदैछ कि जस्तो लाग्छ । 

भनेपछि साहित्य दलालीतर्फ जादैछ भनेर बुझे हुन्छ ?
हो । सबै त होइन, धेरै चाहिँ कोही राजनीतिक दलको कोही आइएनजीओको दलालीतर्फ  लागेका छन् । सिस्टम बिग्रेको छ । जे लेखिदिए फाइदा हुन्छ त्यही लेख्ने, मिडियाले पनि राम्रा रचनालाई भन्दा सम्बन्ध र पहुँचलाई नै प्राथमिकता दिने, प्रचारप्रसार र पैसाको लागि लेख्नहरुकोे बाढी नै आएको छ, यसले नेपाली साहित्यलाई राम्रो गर्दैन । 

यो त सबै क्षेत्रमा देखिएको विकृति होइन र ?
त्यै त, साहित्यमा पनि यो विकृति नै हो । बजारमा के बिक्छ भनेर लेख्ने कि अन्तर्मनले के भन्छ भनेर लेख्ने ? साहित्यकारले अन्तर्आत्माको सोच लेख्ने हो । निर्धक्क साथ लेख्न प¥यो, कसैलाई  खुसी पार्न लेख्ने होइन । आफ्नै जीवन र आफूले अवलम्बन गरेको चिन्तनलाई पनि आलोचनात्मक रुपले लेख्न सक्नुपर्छ । 

साहित्यमा त धेरै विकृति औँल्याउनुभयो, नेपाली समालोचनाको स्थिति कस्तो छ ?
साहित्य जस्तो छ, त्यस्तै छ समालोचना पनि । समालोचना साहित्यबाटै निर्देशित हुन्छ । साहित्य जति फैलियो, कलात्मक हुँदै गयो, समालोचना पनि त्यति गहन हुँदै जान्छ । हाम्रा साहित्यकारलाई अरुसित तुलना गरेको मन पर्दैन, तुलना नभई मूल्याङ्कन हुँदैन । आफ्नो प्रशंसा भए ठीक, नभए बेठीक । अहिलेका साहित्यकार त अलिकति आलोचना पनि सुन्नै चाहँदैनन् । 

अहिले त समालोचना पनि सही तरिकाले गरिँदैन भन्ने छ नि ?
यो पनि आंशिक रुपले सही हो । लेखक वा प्रकाशकहरुले समालोचकलाई के लेख्दा फाइदा हुन्छ, त्यही तरिकाले समालोचना गराउने गरेको पनि देखिन्छ । पत्रिकामा आउने समालोचना कि त अधिक प्रशंसा गरेर किताब बिकाउने कि भने विवादमा तानेर चर्चित बनाइदिने भन्ने तरिकाबाट चल्दै गएको छ । यस्ता सस्ता र प्रायोजित समालोचनाका विरुद्ध गहन समालोचना पनि लेखिन्छन्, तर तिनको पठन प्राज्ञिक निकायमा मात्र सीमित छ ।   

प्रायोजित विवाद भन्नाले ? 
लेखक स्वयम्ले आफ्नो कृति चर्चित होस् भनेर, प्रायोजन गरेर विवाद निकाल्न पठाउने गरेको देखिन्छ । अनि त्यो विवादबाट गलत फाइदा लिने । जसरी हुन्छ, किताबलाई चर्चाको माल बनाउने र बिकाउ कुरामा मात्र जाने उद्देश्यले विवाद सिर्जना गरिएको पनि देखिन्छ । 

अलिकति प्रसङ्ग मोडँे, नेपाली साहित्यमा कति धार देख्नुभएको छ ?
तीन धार देखिन्छन् । एक यथास्थितिवादी, दुई अग्रगामी र तीन अवसरवादी । यथास्थितिवादीले जस्तो छ, त्यस्तै चलोस् भन्ने पक्षबाट लेख्छ र प्रायः यो पीडक वर्गको पक्षबाट लेख्छ । अर्काे अग्रगामी, जसले सदा न्यायपूर्ण परिर्वतन चाहन्छ, जसले पीडित वर्गको पक्षबाट लेख्छ । अवसरवादी धारकाले समय र अवस्था हेरेर जुन विषय र सन्दर्भमा लेख्दा आफ्नो व्यक्तिगत स्वार्थ पूरा हुन्छ, त्यसै गरी लेख्छ । तेस्रो धारकाले चर्चित हुन, सत्तामा जान वा अन्य व्यक्तिगत लाभ लिइराख्न जे पनि लेख्छन्, सङ्गठन बनाएर प्रभाव पनि पार्छन् । पार्टी बदलेर सत्तामा बसिरहन चाहने नेताजस्तै हुन् ती ।

साहित्यमा धार छुट्याएर लेख्ने प्रचलन ठीक हो ?
विचार त सबैको आआफ्नो भई नै हाल्छ र त्यसले धार पनि छुट्याउँछ । साहित्यकारको दृष्टिकोण कुन बाटो र कति कलात्मकताका साथ जाने भन्ने हुन्छ । सबै मान्छेलाई  समानमा हेर्ने कि, मानवीयतालाई प्राथमिकतामा राख्ने कि व्यक्तिगत स्वार्थलाई मात्र हेर्ने भन्ने कुरा हो । विचार जे छ, त्यही नै सिर्जनामा प्रतिविम्बित हुन्छ । 

साहित्य कुनै वादबाट प्रेरित हुनुहँुदैन भन्ने पनि छ नि ?
किन हुन नहुने ? वादबाट प्रभावित हुन मिल्छ तर त्यसमा कलात्मकता हुन प¥यो । सुन्दर मात्र भएर पनि भएन, त्यो मानवीय चिन्तनलाई उज्यालोतिर लैजाने पनि हुन प¥यो । पारिजातको ‘शिरीषको फूल’को अस्तित्ववादी चिन्तनको कृति हो, यो मान्छेको हितअनुकुल छैन, आत्महत्यातर्फ उन्मुख तर त्यो कलात्मक छ । वैचारिक चिन्तनका रुपले पनि सुन्दर भएको भए त्यो झन् उच्च हुने थियो । 

यी त सबै विकृतिका कुरा भए, कस्ता विषयमा साहित्य लेखियो भने चैँ नेपाली साहित्य उकासिन्छ ?
साहित्यको कुनै सीमा छैन । जे विषयमा र जुनै विधामा लेखे पनि लेखनको ‘इन्टेसन’ सही हुन प¥यो र त्यो कलात्मक पनि हुन प¥यो । लेखकले आफँैलाई ढाँटेर लेख्न हुँदैन, चर्चा मात्र कमाउनका लागि नारीलाई दास ठान्नेले नारीवादी साहित्य लेखेर त्यो अर्थहीन हुन्छ । आफू पनि अँध्यारोबाट उज्यालोतिर हिँड्ने र लेखनको बाटो पनि त्यसरी नै तय गरेर कलात्मक नवीनतातिर लाग्न सके नेपाली साहित्य अघि बढ्छ । 

अरु विधाको तुलनामा कविता अलि थोरै निस्किएको हो ?
कथा, उपन्यास समाजको यथार्थमा आधारित काल्पनिक सिर्जना हुन् र बाहिरतिर फर्केका हुनाले पढ्दा ती अधिक रोचक हुन्छन् । कविता त कविको ‘इन्टर्नल’ आवाज हो, अमूर्त ‘इमोसन’को विम्व हो । कविता धेरै खाँदिएको हुन्छ र यसलाई शब्दशब्दले जीवन्त बनाएको हुन्छ । त्यसैले यसलाई आत्मसात् गर्न काव्यिक संस्कार आवश्यक पर्छ । कथा उपन्यास धेरै बिक्लान्, कविताको बजार अलि कम होला तर प्रकाशकले कविता कम छाप्लान् तर कविता थारै निस्किए पनि अरु विधाका तुलनामा नेपाली कविता सुन्दर छन् । 

आख्यानको तुलनामा कविताले पाठकलाई कसरी तानेको छ ? 
कविताको अन्तरमा ‘म्युजिक’ छ, अलिकति चिन्तनको नवीनता छ । अहिले यसको प्रस्तुतिमा पनि विशिष्टता देखिन थालेको छ । विचार र आनन्दको सङ्गम बनेर प्रदर्शन गर्न सकिने हुनाले कविताले पाठकलाई तान्छ र पछिसम्म प्रभावित पारिरहन्छ, नेपाली आख्यानको प्रभाव समाचारको जस्तो छ, पढुञ्जेललाई मात्र । कविताको गहिराइ आख्यानमा छैन ।         
 

Leave A Comment