ढुंगाले लैजाला ज्यान !

आइतबार, १३ जेठ २०७५, ०२ : ३० उपेन्द्र खड्का
ढुंगाले लैजाला ज्यान !

चार सय एमएल पिसाब पिसाबथैलीमा भरिएपछि पिसाब लाग्छ । करिब पाँच सय एमएल भयो भने थाम्नै गाह्रो हुन्छ । इमरजेन्सी परिस्थितिमा एक हजार एमएल पिसाब थाम्न सकिन्छ । एक हजार एमएलभन्दा धेरै पिसाब भरिए खतरा हुन सक्छ । 

सामान्य भाषामा पत्थरी भनेको ढुंगा हो । यो हामीले देख्ने ढुंगा जस्तै हुन्छ । कसैको पत्थरी शालिग्राम जस्तै देखिन्छ । कसैको दर्शने ढुंगा जस्तै पनि हुन्छ । कसैको फस्के ढुंगा जस्तै कमलो पनि हुन्छ । ढुंगा जस्तै हुने भएरै यसलाई पत्थरी भनिएको हो । 

पत्थरीलाई चिकित्सकीय भाषामा नेफ्रोलिथियासिस भनिन्छ । दुईवटा मूल मूत्रनलीबाट मूत्रथैलीसम्म पिसाब झर्छ । मिर्गौलाबाट निस्किएको पिसाब मूत्रनलीबाट बग्छ । बग्दै मूत्रथैलीसम्म आइपुग्छ र बाहिर निस्कन्छ । यसरी पिसाब बग्ने बाटोमा कण जम्मा हुन सक्छ । कण जम्मा भई पत्थरी बन्ने क्रियालाई मूत्रथैलीको पत्थरी भनिन्छ । 

कोखा दुखे सतर्क हुनु

जहाँ पत्थरी भए पनि पिसाबको नली र कोखापट्टि दुख्न सक्छ । पिसाब फेर्ने कुनै भागमा दुख्यो भने पत्थरीको शंका गर्न सकिन्छ । पिसाबमा आँखाले देख्न सक्ने वा देख्न नसक्ने रगत आउन सक्छ । पिसाब रोकिएर इन्फेक्सन भयो भने ज्वरो आउन सक्छ । पत्थरीले मिर्गौला बिग्रिसकेको छ भने ब्लड प्रेसर बढ्न सक्छ । 

सामान्यतः स–साना ढुंगाका कण छन् भने मूत्रमार्गबाट बाहिर निस्किन्छन् । ढुंगाको आकार ठूलो छ भने मूत्रमार्गमा अवरोध हुन्छ । पिसाब फेर्दा पिसाबमा अवरोध हुन्छ । ढुंगाले अवरोध गरेपछि पिसाब फेर्न गाह्र्रो हुन्छ । करिब ९ मिलिलिटरको ढुंगा छ भने पिसाब फेर्न समस्या हुन सक्छ ।

क्याल्सियमले जोखिम

सामान्यतः क्याल्सियम, फस्फेट, म्याग्नेसियम जस्ता तत्वको मात्रा बढी भयो भने पत्थर बन्छ । युरिक एसिड, औषधिको प्रयोगका कारणले पनि पत्थरी हुन सक्छ । क्याल्सियम बढी हुने दूध, चिजजस्ता पदार्थ धेरै खाँदासमेत पत्थरीको सम्भावना हुन्छ । 

शरीरमा विभिन्न तत्वलाई नियन्त्रण गर्ने अंग हुन्छन् । जसमध्ये मिर्गौला एक हो । मिर्गौलाले शरीरमा फिल्टरको काम गर्छ । 

शरीरलाई चाहिने पदार्थ राख्छ, नचाहिने बाहिर फालिदिन्छ । कहिलेकाहीँ फिल्टर गर्ने प्रक्रियामा गडबडी हुन सक्छ । मिर्गौलाले फिल्टर गर्ने प्रक्रियामा गडबडी भयो भने पत्थरीको सम्भावना हुन्छ । 
कसैको जन्मजातै पत्थरीको सम्भावना हुन्छ । जन्मजातै शरीरमा भएका अंगले आवश्यक तŒवको नियन्त्रण गर्ने क्षमता नहुन सक्छ । 

जन्मजातै मिर्गौलाको सामान्य आकारभन्दा फरक भयो भने मिर्गौलाको कामसमेत फरक हुन सक्छ । पानी कम खानाले, चाउचाउ लगायतका जंक फुड खानाले पनि पत्थरी हुन्छ । जथाभावी खानपिनका कारण ३०—३५ वर्षका युवा–युवतीमा तुलनात्मक रूपमा बढी पत्थरी देखिन्छ । 

कसै–कसैको मूत्रनलीको कुनै भाग सानो हुन सक्छ । मूत्रनली सानो भयो भने पत्थरीको सम्भावना बढी हुन्छ । मूत्रनली सानो भएका कारणले पिसाबमा बाक्लो पदार्थ वा कण आयो भने साँघुरो ठाउँमा अड्किन्छ । अड्किँदै जाँदा बिस्तारै थपिँदै जान्छ । 

त्यही पदार्थ तथा कण ढुंगामा परिणत हुन्छ । पिसाब बग्ने नलीको कुनै भाग सानो छ भने पिसाब अड्किन्छ । अड्किएको पिसाबले इन्फेक्सन हुन्छ अनि ढुंगा बन्छ ।

मूत्रनलीको जङ्सन

मूत्रनलीमा दुईवटा जङ्सन (भेट हुने दोबाटो) हुन्छन् । मिर्गौलाभन्दा केही तलको मूत्रनलीको भागमा पेल्भिस–युरेटरको जङ्सन हुन्छ । मूत्रनलीको तल्लो भागमा ब्लाडर (मूत्राशय)–युरेटरको जङ्सन हुन्छ । 
ब्लाडर—युरेटरको जङ्सन मूत्रथैली माथि हुन्छ । यो भाग सबैभन्दा सानो हुन्छ । पेल्भिस–युरेटरको जङ्सन र ब्लाडर–युरेटरको जङ्सनको बीच भागमा रगतको नसा क्रस गर्ने ठाउँ हुन्छ । 

मूत्रनलीमा दुईवटा जङ्सन र एउटा रगतको नसा क्रस गर्ने ठाउँमा साँघुरो भाग हुन्छ । ती साँघुरा भागमा बाक्लो पदार्थ तथा कण अड्किन सक्छ । बाक्लो पदार्थ अड्किँदै जाँदा ढुंगा बनेर पत्थरी हुन्छ । 

कण थपिँदै ढुंगा बन्छ

मूत्रथैलीमा बन्ने ढुंगा माथिबाट नआर्ई कहिलेकाहीँ त्यहीँ बन्न सक्छ । पिसाब बग्ने नलीमा अवरोध हुँदा सबै पिसाब बाहिर नजान सक्छ पिसाबमा भएका बिकारका कण पिसाबथैलीमा जम्मा हुँदै जाँदा ढुंगा बन्छ, त्यसैलाई पत्थरी भनिन्छ । पिसाब नलीमा लामो समयसम्म पाइप राखिएको छ भने पत्थरी हुन सक्छ । महिला पुरुष दुवैको पिसाबथैलीमा पत्थरी हुन सक्छ । 

धेरैजसो मिर्गौलाको प्रक्रियाभित्रै पत्थरी हुन्छ । करिब ९० प्रतिशत ढुंगा मिर्गौलाबाटै आउँछ । मूत्रनलीमा आउने ढुंगा मिर्गौलाबाट बगेर आउँछ । 

पिसाब फिल्टर भैसकेपछि स्टोन हुन्छ । पिसाब बन्नुभन्दा अगाडि पत्थरी सुरु हुँदैन । पिसाब बनिसकेपछि हुन्छ । छानिएको पदार्थमा के आएको छ भन्ने कुरासँग सम्बन्धित हुन्छ । पानी प्रशस्त खायोे भने ढुुंगा बग्छ । बढ्दैन । पानी नखाए थपिँदै जान्छ । ढुंगा बढ्दै जान्छ । 

मिर्गौलालाई यसरी हान्छ

केटा मानिसको लिंगमा ढुंगा आएर अड्कियो भने अन्य भागमा भन्दा बढी असर हुन्छ । पानी आउने कुलो थुनियो भने कुलै भत्किन सक्छ । गरो भत्किन सक्छ । पिसाब थुनियो भने पनि पिसाब भरिँदै शरीरमा जान थाल्छ । मिर्गौला फुल्न थाल्छ । शरीरका अन्य भागमा असर गर्दै जान थाल्छ । 

पिसाब रोकिएर शरीर फुल्दै जाने अवस्थालाई हाइड्रो नेफ्रोसिस भनिन्छ । मिर्गौलाको फिल्टर गर्ने क्षमता कम हुँदै जान्छ । जसलाई रेनल फेलियर भनिन्छ । मिर्गौला सुनिन्छ । अन्ततः पत्थरीले मिर्गौला फेलियरको अवस्थासम्म पुग्न सक्छ । जसलाई नन् फङ्सनल किड्नी पनि भनिन्छ । मिर्गौलाले काम नगर्दा ज्यान जान सक्छ । 

पिसाब रोकिएपछि इन्फेक्सन भएर पिपमा परिणत हुने सम्भावना हुन्छ । पिपमा परिणत भएको अवस्थालाई पायो नेफ्रोसिस भनिन्छ । शरीरभरि इन्फेक्सन हुन पुगेकोे अवस्थालाई युरोसेप्सिस् भनिन्छ । शरीरभरि इन्फेक्सन फैलिए ज्यान जान सक्छ । 

केटा मानिसको लिंगमा ढुंगा आएर अड्कियोे भने उसले पिसाब फेर्न सक्दैन । सामान्यतः यस्तो समस्या कमै हुुन्छ । केटा मानिसको लिंग पिसाब फेर्ने अन्तिम बाटो हो । केटा मानिसको लिंगमा ढुंंगा बिस्तारै जम्मा हुने हैन त्यहाँ बिस्तारै ढुंगा बढ्दै जाने चान्स अत्यन्तै कम हुन्छ । 

मिर्गौलाबाट एक्कासि बग्दै ढुंगा लिंगको सानो भागमा आएर अड्किन्छ अनि पिसाबै रोकिन्छ । सहरी क्षेत्रमा त तुरुन्त स्वास्थ्य संस्थामा लगिन्छ र उसको उपचार गरिन्छ । 

सामान्यतः चार सय एमएल पिसाब पिसाबथैलीमा भरिएपछि पिसाब लाग्छ । करिब पाँच सय एमएल भयो भने थाम्नै गाह्रो हुन्छ । इमरजेन्सी परिस्थितिमा एक हजार एमएल पिसाब थाम्न सकिन्छ । एक हजार एमएलभन्दा धेरै पिसाब भरिए खतरा हुन सक्छ । 

यसरी चाल पाइन्छ

साधारण एक्स–रे गरेर कहाँ, कस्तो, कुन अवस्थामा पत्थरी छ  पत्ता लगाइन्छ । भिडियो एक्स–रे गरेर पत्थरीका बारेमा जानकारी लिन सकिन्छ । 

भिडियो एक्स–रेले कहाँ पत्थरी भएको छ ? कस्तो अवस्थामा छ ? कति छ भनेर थाहा पाउन सकिन्छ । कुन्—कुन् तत्व मिलेर पत्थरी बनेको छ भन्ने भिडियो एक्स—रेले देखाउँदैन । 

सामान्यतः सिटीस्क्यान गरेर पत्थरीका बारेमा सबै जानकारी पाउन सकिन्छ । हाम्रो देशमा अहिलेको समयमा पत्थरीका बारेमा थाहा पाउन सबैभन्दा भरपर्दो र उपयुक्त प्रविधि सिटीस्क्यान नै हो । 
औषधि हालेर (कन्ट्रास्ट सिटी) वा नहाली (प्लेन सिटी) सिटी गर्न सकिन्छ । सिटी गरेर कुन तत्वले पत्थरी बनेको छ भन्नेसमेत घनत्व नाप्न सकिन्छ । 

धेरै क्याल्सियम वा क्याल्सियम—अक्जालेट मिलेर बनेको पत्थरी धेरै कडा हुन्छ । यो ढुंगा शालिग्राम जस्तै हुन्छ । धेरै फस्फेट छ भने त्यो पत्थरी नरम हुन्छ । क्याल्सियम, फस्फेट र म्याग्नेसियमजस्ता तत्व मिलेर बनेको पत्थरी दर्शने ढुंगो जस्तै कडा हुन्छ । 
दुख्नु राम्रो

नदुख्ने भन्दा दुख्ने पत्थरी राम्रो । किनभने दुख्ने भयो भने बेलैमा थाहा पाएर उपचार गर्न सकिन्छ । नदुख्नेमा थाहा हुँदैन एकैचोटि शरीरका अन्य अंगमा असर भएपछि मात्र थाहा हुन्छ । थाहा पाउँदा ढिलो भइसकेको हुन्छ । 

सामान्यतः क्याल्सियम, फस्फेट र म्याग्नेसियम मिलेर बनेको पत्थरी दुख्दैन । यी तीन तŒव मिलेर बनेको पत्थरीलाई ट्रिपल फस्फेट भनिन्छ । 
सहज छ उपचार

इमेरजेन्सी परिस्थितिमा पहिलो चरणमा लिंगमा भएको ढुंगालाई निकालिन्छ । निकाल्न सकिएन भने ठेलेर मूत्रथैलीसम्म पुर्याउने प्रयास गरिन्छ । इमरजेन्सी परिस्थितिमा सुई (निडिलको सहायताले) पिसाब लिकाल्न सकिन्छ । 

सामान्यतः स्वस्थ मानिसमा दैनिक दुई लिटर पिसाब हुनुपर्छ । दुई लिटर पिसाब आउने गरी पानी पिउनु पर्छ । सामान्यतः ३०—३५ डिग्री सेल्सियसको तापक्रममा बस्दा करिब तीन लिटर पानी पिउनु पर्छ । 
मौसमअनुसार पानी पिउनु पर्छ ।

पत्थरीबाट बँच्न सन्तुलित भोजन गर्नुपर्छ । नुनमा सोडियम हुने भएकाले नुन धेरै नखाएकै राम्रो । कुनै पनि एकै किसिमको पदार्थ धेरै खानु राम्रो हैन । काजु नै काजु खानु, दुधै दूध खानु राम्रो हैन । क्याल्सियमले पत्थरी भएर उपचार गरेको छ भने दूधजन्य पदार्थ धेरै खानु हुन्न । 

मसिनो पत्थरी छ भने पानी धेरै खाँदा बगरे जान्छ । भनिन्छ, ‘०.५ सेन्टिमिटरसम्मको ढुंगा बगेर जान्छ, उपचार गर्नुपर्दैन ।’ ०.७ सेन्टिमिटरसम्मको करिब ७० प्रतिशत उपचार नगरिकनै बगेर जाने सम्भावना हुन्छ । 

पत्थरी फाल्ने औषधि हुँदैन । के कारण पत्थरी भएको छ त्यसैको औषधि खानु पर्छ । क्याल्सियमले पत्थरी भएको छ भने क्याल्सियम पगाल्ने औषधि छैन । युरिक एसिडले बनेको छ भने युरिक एसिडको औषधि खानुपर्छ । 

पत्थरीको उपचार अप्रेसन हो । छरिएर रहेका मसिना ढुंगा छन् भने छोडिने सम्भावना हुन्छ । अप्रेसन गरेर पनि मसिना कण छोडिए भने पुनः पत्थरी हुने सम्भावना हुन्छ । एकपटक पत्थरी भएकालाई पाँच वर्षपछि पुन ५० प्रतिशत पत्थरी दोहोरिने सम्भावना हुन्छ । 

उपचारका विभिन्न पद्धति छन् । पहिले चिरेर अप्रेसन गर्ने चलन थियो । अहिले इन्डो युरोलोजीको सहयोगमा गरिन्छ । इन्डो युरोलोजी घाउ नहुने उपचार पद्धति हो । शरीरको कुनै भागबाट प्वाल पारेर पत्थरी फुटाउन सकिन्छ । पिसाब गर्ने ठाउँबाटै पनि पाइप पठाएर उपचार गर्न सकिन्छ । यसले घाउ हुँदैन ।

सामान्यतः ढाडबाट छेडेर उपचार गरिन्छ । पत्थरी भएकोे ठाउँमा इनर्जी पठाइन्छ । त्यो इनर्जीको भाइबे्रसनले फोरिदिन्छ । फोरेपछि निकालिन्छ । सामान्यतः इलेक्ट्रो हाइड्रोलिक इनर्जी पठाइन्छ । 
लेजर इनर्जी राम्रो हो । यो अलि महँगो हुन्छ । निम्याटिक इनर्जी पनि प्रयोग गरिन्छ । 
 

Leave A Comment