प्रविधिको लत : इन्स्टाग्रामले ल्याउँछ मानसिक समस्या

बिहिबार, १४ असार २०७५, ०३ : ५९ शुक्रवार
प्रविधिको लत :  इन्स्टाग्रामले ल्याउँछ मानसिक समस्या

मनोविद् गोपाल ढकाल 
मनोसेवा केन्द्र,मार्क नेपाल
मानसिक रोग र समस्यामा फरक छ । समस्या जटिल हुँदै गएपछि रोगमा परिणत हुन्छ । समस्याको समाधान गर्न सकिन्छ भने रोगको उपचार गर्नु पर्छ । पछिल्लो समयमा मानसिक समस्या बढ्नुको प्रमुख कारणमध्ये प्रविधिको प्रयोग पनि देखिएको छ । 
मानसिक रोग तथा डिप्रेसन हुँदा मस्तिष्कमा भएका कोष (सेल)  र मस्तिष्कको संरचनामा असर हुन्छ । डिप्रेसन हुँदा शरीरमा खुसी दिने सेरोटोनिन, डोपामिनजस्ता हर्मोनको उत्पादनमा कमी भई निराश मात्रै हुन्छ । 
प्रविधिको अत्यधिक प्रयोगका कारण पनि खुसी हुने हर्मोनमा कमी आउन सक्छ । खुसी नभएपछि डिप्रेसनको सिकार बढ्दै जान्छ ।  डिप्रेसनमा फसेका मानिसमा खुसी ल्याउन औषधि, मानिसको क्रियाकलाप आदिले सेरोटोनिन, डोपामिन हर्मोनको उत्पादन बढाई मानिसलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ ।
दुःखी हुने हर्मोनलाई कोटिशोल हर्मोन भनिन्छ । कोटिशोल बढ्यो भने दुःखी बनाउँछ । सामान्य भाषामा दुःखी हुने हर्मोनलाई स्टे«स हर्मोन भनिन्छ । चाहिनेभन्दा हर्मोनको कमी वा बढी भयो भने पनि मानसिक समस्या हुने भएकाले मस्तिष्कको हर्मोनलाई सन्तुलनमा ल्याउनु पर्छ । 
हर्मोनको घटबढको कारणले मानिसको मृत्यु हुँदैन तर हर्मोनले पार्ने प्रभावका कारण मानिसको ज्यान जान सक्छ । मानिस निराश भएर आत्महत्या गर्न सक्छ । धेरै खुसी भएर जोखिमपूर्ण काम गर्न सक्छन् । 

प्रविधिको लत
चुरोट—बिँडी, रक्सी, खैनी लगायतका नशाको लतजस्तै प्रविधिको पनि लत लाग्छ । लत लागिसकेपछि छुटाउन कठिन हुन्छ । जे कुराको मोह बस्छ, त्यहाँ लत बस्ने सम्भावना बढी हुन्छ । अहिले प्रविधिको प्रयोगको लतको समस्या बढी छ । पछिल्लो समय फेसबुकलगायतको सामाजिक सञ्जाल चलाउने लत विशेष गरी युवा—युवतीमा देखिन्छ । 

मोबाइल चलाउने लत अत्यधिक देखिन्छ । टिभी हेर्ने लतले मानसिक समस्या निम्त्याएको छ । अध्ययनअनुसार सामाजिक सञ्जालमध्ये इन्स्टाग्रामले बढी मात्रामा मानसिक समस्या ल्याएको देखिन्छ । 

लत लागेको वा नलागेको थाहा पाउने तरिका पनि छन् । टिभी हेर्न नपाउँदा, मोबाइल, इन्टरनेट, कम्युटर, सामाजिक सञ्जाललगायत ¬चलाउन नपाउँदा छटपटि हुने रिस उठ्ने, झर्को लाग्ने चिटचिटाहट हुनेजस्ता लक्षण देखिए  प्रविधिको लत लागेको बझ्नु पर्छ । 

मोबाइल, कम्प्युटर चलाउने, टिभी हेरिरहनेलगायत प्रविधिको लत परेपछि महŒवपूर्ण अन्य काम समेत छोडेको देखिन्छ । प्रविधिको लत बसेपछि बिर्सिँदै जान्छ । खानाभन्दा प्रविधिलाई महŒव दिएको देखिन्छ ।  
दैनिक ४÷५ वटाभन्दा बढी सेल्फी खिच्नु, ४÷५ वटा भन्दा बढी फोटो सामाजिक सञ्जालमा अपलोड तथा पोस्ट गरिन्छ भने त्यसलाई लत लागेको भन्ने बुझ्नु पर्छ । सामाजिक सञ्जालको लतका कारणले लागेको मानसिक समस्यालाई रोगका रुपमा लिन थालिएको छ । प्रविधिको लत बस्यो भने अन्य कुलतको लत जस्तै हुन्छ । 

मानिसले प्रविधिभन्दा अरू केही सोच्नै सक्दैन । कतिखेर मोबाइल, कम्प्युटर चलाउँ, टिभी हेरुँ भन्नेमा मात्रै ध्यान जान्छ र मानिस मानसिक रोगको सिकार हुन पुग्छ । 

बच्चाले टिभी हेर्दा बिर्सिएर खाना खान्छन्
समग्रमा सबै उमेर समूहमा जोखिम छ । बालबालिकामा यसको जोखिम बढी छ । धेरैबेरसम्म मोबाइल, कम्प्युटर चलाउँदा तथा टिभी हेर्दा खान खान मन नलाग्ने, वाकवाकी आउने, बान्ता हुने जस्ता समस्या हुन्छन् । 

मानिसहरु धेरैबेर प्रविधिसँग खेल्दा मैले कति खाना खाएँ भन्ने समेत बिर्सिन्छन् । अहिले कयौं बालबालिका टिभी हेर्दै, मोबाइल खेल्दै, कम्युटरमा भिडियो हेर्ने लगायतका प्रविधिसँग खेल्दै खानेकुरा खान्छन् । 
टिभी वा मोबाइल नहेरी खानै नमान्ने बच्चा पनि छन् । ती बालबालिकामा प्रविधिले पारेको लत हो । त्यसरी बालबालिकाले धेरै खाँदा उसले बिर्सिएर खाएको हुन सक्छ । त्यसैले बालबालिकालाई स्वस्थ राख्न प्रविधिबाट टाढै राख्नु पर्छ । आवश्यताभन्दा धेरै चलाउन दिनु हुँदैन, यसले बालबालिकाको कोष कमजोर हुने भएकाले रेडिएसनका कारण कोषको मृत्युसमेत हुन सक्छ । 

दिमाग र प्रजननमा असर 
मोबाइलको प्रयोगले शारीरिक तथा मानसिक समस्या उत्पन्न हुन्छ । मोबाइल चलाउँदा मानिसको दिमाग तथा हर्मोनमा विकीरणले असर गर्न सक्छ । विकीरण शरीरका लागि घातक हुन्छ । 

लामो समय मोबाइलमा कुरा गर्दा बे्रन ट्युमर हुने खतरा हुन्छ । कानमा असर पर्न गई कानको श्रव्य क्षमतामा पनि कमी आउँछ त्यसकारण फोन गर्दा कानमै टाँसेर कुरा गर्नु हुँदैन । मोबाइलमा भएको विकीरणले गर्दा प्रजनन क्षमतामा समेत असर हुन्छ । त्यसैले पाइन्टको गोजीमा लामो समयसम्म मोबाइल बोक्नु हुँदैन । 

मानिसहरु ६ घण्टाभन्दा कम निदायो भने निद्रा पुग्दैन । निद्रा नपुग्दा डिप्रेसन हुन सक्छ । मोबाइल आदि प्रविधि धेरै बेर चलाउँदा रिंगटा लाग्ने, चक्कर लाग्ने, एकोहोरोपन हुने जस्ता समस्या आउनुको साथै काममा ध्यान नदिने, खाना खान मन नलाग्ने वा धेरै खाना खाने पनि हुन्छ । 

लामो समयसम्म कम्प्युटर चलाउँदा कम्प्युटरको विकीरणले  दिमागमा असर गर्छ । लामो समय कम्प्युटरमा काम गर्दा कामको प्रेसर हुन्छ र हर्मोनको असन्तुलन हुन्छ । त्यसैले धेरैबेर कम्प्युटर चलाउने मानिस डिप्रेसनको सिकार हुन सक्छन् । त्यसबाहेक टाउको दुख्ने, गर्धन दुख्ने, ढाड दुख्ने जस्ता शारीरिक समस्यासमेत ल्याउँछ । 

काल्पनिक संसारमै मग्न
सामाजिक सञ्जालले अहिले परिवार, आफन्तमा जोडिने भन्दा पनि टुक्राएको देखिन्छ । एक्लोपनको विकास भएको देखिन्छ । कति मानिस त काल्पनिक संसारमा डुब्न थालेका छन् । सामाजिक सञ्जाललाई सही सदुपयोग गर्न नसकेर कतिपय मानिस डिप्रेसनको सिकारसमेत भएका छन् । 

सानैबाट प्रविधिमा झुम्मिनाले मानिसमा एक्लोपना बढेको छ । खेल्ने तथा परिवार र समाजमा घुलमिल हुने समयमा बालबालिका एक्लिन थालेका छन् । त्यसले समाज र परिवारबाट टाढिन थाले । सामाजिक अस्वस्थता बढ्न थाल्यो । 

अरूसँग कसरी बोल्ने तथा कसरी कुरा गर्ने भन्ने सृजनात्मक अभ्यास गुम्दै जान थालेको छ । 

डर चिन्ता
फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा मानिसलाई उत्तेजित पार्ने, डर, चिन्ता, घृणा उत्पन्न गर्ने किसिमका फोटो पोस्ट गरिएको हुन्छ । भ्रामक तथा गलत कमेन्ट गरिएको हुन्छ । त्यसले मानिसलाई डिप्रेसन समेत गराउँछ । 

सामाजिक सञ्जालकोे कमेन्ट तथा फोटो हेरेका कारण मानसिक चिन्ता बोकेर आउने मानसिक रोगी बढ्न थालेका छन् । सामान्यतः हेर्दा फेसबुकमा फोटो हालेर लाइक तथा कमेन्ट आएन भने मानिसको मासिकता एकोहोर हुन सक्छ । निराश हुन्छ । धेरैबेरको प्रविधिको प्रयोगका कारणले निराश हुँदै जान्छ । मानसिकता एकोहोरिँदै गएपछि सबैबाट टाढा हुँदै जान्छ । समस्यासँग जुध्ने क्षमतासमेत गुमाउँदै जान्छ । काल्पनिक संसारमा डुबिसकेको हुन्छ । चाँडो रिसाउँछ । 

कुलतको छुट्कारा
प्रविधिको कुलतबाट छुटाउन सकिन्छ । छुटाउने केही टेक्निक छन् । अवस्था हेरेर उपचार गरिन्छ । प्रविधिको मानसिक रोगबाट छुट्कारा पाउन साइकोथेरापी गरिन्छ । किन धेरै प्रविधिको प्रयोग गर्ने भन्ने काउन्सिलिङ गर्नु पर्छ । प्रविधिको प्रयोगको उपयोगिताबारेमा जानकारी दिनु पर्छ । र कमभन्दा कम प्रयोग गर्नका लागि बिस्तारै चलाउने समय कम गर्दै लैजानु पर्छ । 

प्रविधिको प्रयोगले डिप्रेसन नै भयो भने डिप्रेसनको औषधिको प्रयोग गरिन्छ । एकोहोरोपन भैसकेपछि मानिस नचिन्नेजस्ता समस्या पनि देखा पर्छन् । यस्तो समस्या उपचारपछि निको हुन्छ अपवादस्वरूप कसैमा बाहेक धेरै पुरानै अवस्थामा आउँछन् ।  

प्रस्तुतिः उपेन्द्र खड्का
 

Leave A Comment