मनीषाको दोस्रो इनिङ

बिहिबार, १४ असार २०७५, ०४ : ५४ शुक्रवार
मनीषाको दोस्रो इनिङ

असफल चलचित्रको चाङ अनि क्यान्सरसँगको लडाइँका कारण नेपाली चेली मनीषा कोइरालाको बलिउड यात्रा लगभग टुंगिने मोडमा पुग्यो । प्राणघातक रोगलाई नै उनले पछारेपछि पछिल्लो समय उनी आध्यात्मिक बन्दै गएकी थिइन् । भारतको मुम्बईमा भन्दा नेपालमा उनको बसाई बाक्लिइरहेको थियो । बिस्तारै उनी बलिउडबाट ओझेल पर्दै गएकी थिइन् ।

तर उनलाई बलिउडले बिर्सिसकेको थिएन । रियल लाइफमै निक्कै कन्ट्रोभर्सियल एक्टर सञ्जय दत्तको रिल जीवनीले उनलाई बलिउडमा पुनः फर्कायो । फिल्म ‘सञ्जु’मा सञ्जय दत्तकी आमा तथा प्रख्यात अभिनेत्री नर्गिसको भूमिकामा अभिनय गरेकी उनलाई बलिउडले न्यानो स्वागत गर्याे । आखिर उनी कसरी जोडिइन् नर्गिस र ‘सञ्जु’सँग उनले एक भारतीय सञ्चारमाध्यमसँग खुलाइन् ।

सन् १९९५ मा उनको फिल्म ‘बम्बे’ रिलिज हुँदा सञ्जयका बाबु सुनील दत्तले  फोन गरेर उनको कामको प्रशंसा गर्दै ‘फिल्म हेरिरहँदा दिवंगत पत्नी नर्गिसको सम्झना आएको’ प्रतिक्रिया दिएका रहेछन् । त्यो बेला उनी निक्कै खुसी भएकी रहिछन् । संयोग, उनी पर्दामा उनै नर्गिससँग जोडिइन् र फिल्मको ट्रेलरमा ठ्याक्कै नर्गिसजस्तै देखिएको प्रतिक्रिया पाइरहेकी छन् । 

भारतसँगै नेपालमा समेत ‘सञ्जु’ रिलिज हुने व्यग्र पर्खाइमा छन् फिल्मप्रेमी । उनी ट्रेलरबाटै पाएको प्रतिक्रियाबाट उत्साहित छिन् नै यो भन्दा खुसी बलिउडले पुनः गरेको न्यानो स्वागतप्रति छिन् ।
फिल्म निर्देशक राजु हिरानीले किन मनीषालाई नर्गिस दत्तको भूमिकाका लागि रोजे त ? मनीषाको धारणाछ, ‘मैले क्यान्सरको पीडा भोगेकी छु । नर्गिसको देहान्त क्यान्सरकै कारण भएकाले निर्देशक हिरानीले मलाई छनोट गरेका हुन सक्छन् ।’

‘सञ्जु’ फिल्मका लागि उनलाई प्रस्ताव आउँदा उनी नर्भस भएकी थिइन् रे ! मनीषा पुरानो रोग सम्झेर त्यसैको अभिनय गर्ने पक्षमा थिइनन् । निर्देशक हिरानीले उनलाई आश्वस्त पार्दै भने, ‘यो फिल्म नर्गिसको क्यान्सरमाथि बनेको होइन । यो एउटी आमा र छोराबीचको प्रेमकथा हो । पर्दामा मलाई तपाईंको क्यान्सर ब्युँताउनु छैन ।’ त्यसपछि मनीषा फिल्म खेल्न तयार भइन् । 

नर्गिस दत्तझैँ देखिनका लागि उनले नर्गिसद्वारा अभिनित फिल्म मात्र हेरिनन्, नर्गिसकी छोरी प्रिया दत्तले दिएको जीवनीपरक पुस्तक ‘मि. एन्ड मिसेज् दत्त’ पनि पढिन् । 

‘यो पुस्तकले मलाई नर्गिसको निजी जीवनका कयौँ पाटा बुझ्न सघाउ पुर्यायो,’ मनीषाले एक भारतीय मिडियालाई दिएको वार्तामा बताएकी छन्, ‘पुस्तकले उनको भित्री पाटा पनि खुलाएको रहेछ । खासगरी सञ्जय दत्तलाई उनले कति माया गर्थिन् भन्ने पुस्तकले राम्रोसँग बताएको पाएँ ।’

नर्गिसको भूमिकापछि उनलाई अब हरेक फिल्ममा आमाको अभिनय गर्ने प्रस्ताव आउला भन्ने पिरलो भने बढेर गएको छ । ‘हुन त हामीले हाम्रो उमेरअनुसारको भूमिका खोज्नुपर्छ, खेल्नुपर्छ,’ उनले भनेकी छन्, ‘तर टिपिकल आमाको भूमिका भने म गर्दिनँ । मैले फेरि २५ वर्षकी युवतीको जस्तो भूमिका खोजेर पनि हुँदैन । त्यसैले राम्रा भूमिका र उमेर सुहाउँदा भूमिकामा आफूलाई सहज महसुस गर्छु । त्यसैले त्यस्ता फिल्म प्राथमिकतामा पर्छन् अब ।’

नेपाली फिल्म ‘फेरि भेटौँला’ खेलेर बलिउड पुगेकी मनीषाले बलिउडमा १० वर्ष एकछत्र राज गरिन् । उनी नम्बर एक नायिकामा समेत गनिइन् । उनलाई पहिलो ब्रेक दिने निर्देशक सुभाष घईले हालै नेपाल भ्रमणमा मनीषा आफूले देखेका नायिकामध्ये सबैभन्दा सुन्दर रहेकी’ प्रतिक्रिया दिएका थिए । 
 

Leave A Comment