योगेश भट्टराईको फिटनेस : ५१ वर्षीय ठिटो

शुक्रबार, २२ असार २०७५, ०३ : ३५ उपेन्द्र खड्का
योगेश भट्टराईको फिटनेस : ५१ वर्षीय ठिटो

उमेर ५१ पुगे पनि ठिटै देखिन्छन् याेगेश भट्टराइ । नेकपाका नेता तथा सांसद समेत रहेका उनी निक्कै फिट देखिन्छन् । अाखिर यसकाे राज के रहेछ ? शुक्रवारकर्मीले पहिल्याएका छन् ।  

लाजिम्पाटमा रहेको वेलनेस क्लबमा पुग्दा योगेश भट्टराई शारीरिक व्यायामका लागि कपडा बदल्ने तयारीमा रहेछन् । केही समयमा उनी भेष्ट, कट्टु र स्पोस्र्टस जुत्तामा देखिए । व्यायामहलतिर लागेका उनी पहिला वार्मअपका लागि रनिङ मेसिनमा दौड्न थाले ।

उनी यसरी दैनिक पाँच किलोमिटरसम्म दौड्ने रहेछन् । करिब २० मिनेटको दौडाइमा उनी असिनपसिन भइसकेका थिए । उनी रुमालले पसिना पुच्छ्दै थिए ।

यही मेसोमा उनीसँग फिटनेससम्बन्धी हल्का कुरा सुरु भयो ।

‘मैले एउटा कोटेसन पढेको थिएँ, ‘स्वास्थ्यले २४ घण्टामा एक घण्टा मलाई दिनुहोस्, २३ घण्टा म तपाईंलाई दिन्छु भन्छ रे,’ उनले भने ‘यस भनाइबाट म प्रभावित भएँ । त्यसैले २४ घण्टामा एक घण्टा स्वास्थ्यका लागि सोचियो भने, व्यायाम गरियो भने २३ घण्टा स्वस्थ रहन सकिन्छ भन्ने लाग्यो ।’ 
उनी ५१ वर्षका भइसकेका रहेछन् । तर झट्ट हेर्दा त्यस्ता देखिँदैनन् उनी । ठिटै देखिन्छन् योगेश ।
हल्का कुराकानीपछि उनी पुस अप, चेन अप, पुल अप हुँदै डम्बेल उठाउनतिर लागे । एक्सरसाइजको विभिन्न प्रक्रिया पूरा गर्दै उनले करिब २ घण्टा बिताए जिमखानामा ।

‘मलाई सुगरको समस्या छ । दस वर्षदेखि नियमितरूपमा  औषधि खाइरहेको छु,’ उनले भने, ‘धरै कडा हैन । सामान्य किसिमको हो । सुगर बढेर स्वास्थ्यमा अहिलेसम्म त्यस्तो अप्ठेरो परेको छैन ।’ 

मर्निङवाक छोडेँ 
उनी पहिला रेगुलर मर्निङ वाक जान्थे । तर अहिले जाँदैनन् । काठमाडौंमा मर्निङ वाक गर्ने वातावरण नै छैन रे । त्यसमाथि मध्यसहर बबरमहलमा बसाई भएकाले मर्निङ वाक जाने ठाउँको अभाव पनि छ उनलाई । मनिङ वाकमा निस्किँदा वाकभन्दा पनि मानिसहरुसँग गफमा भुल्ल थलिएपछि उनी खुला ठाउँको साटो बन्द कोठाको एक्सरसाइजमा सक्रिय भएका रहेछन् । 

‘कुरा नगरौँ ठूलो भएछ, भन्छन् । रिसाउँछन् । अहिले छोडें उनले भने । 

२ वर्ष डान्स गरेँ
मर्निङ वाकको विकल्पमा उनी केही समय डान्स क्लासमा समेत गएका थिए । उद्देश्य डान्स सिक्नभन्दा पनि बडी मेन्टेन नै थियो । उनले २ वर्ष डान्स एक्सरसाइज गरे । 
‘त्यतिखेर म अनामनगर बस्थेँ घरको नजिकै भएकाले पनि त्यहाँ डान्स अभ्यास गरेँ,’ उनले भने, ‘डान्स गर्ने ठाउँको बोर्डमा लेखिएको थियो, ‘जो धेरै नाच्छ, ऊ धेरै बाँच्छ ।’ 

अहिले जिमको भर
दुई वर्षअघिदेखि उनी लाजिम्पाटमा रहेको वेलनेस क्लब जाने गरेका छन् । उनी जुन समयमा फुर्सद हुन्छ त्यही समयमा जान्छन् जिम । दैनिक २ घण्टा बिताउँछन् उनी व्यायामशालामा । आफूलाई, मन परेको, शरीरलाई फिट हुने व्यायाम गर्छन् । उनलाई श्रीजेश श्रेष्ठले सघाउँछन् एक्सरसाइजमा । उनी योगेशका गुरु हुन् । 

‘गुरुले सिकाउन थालेपछि भुँडी घट्यो’ उनले भने । 
पहिला उनी मात्तिने गरिनै मदिरापान गर्थे रे । अहिले छाडेछन् । उनका अनुसार छोडेको १२ वर्ष भयोे । 
‘साथीहरुसँग रक्सी खाएर मातेर पनि हिँडिन्थ्यो,’ उनले भने, ‘बागबजार, पुतली सडक, ठमेलतिर मातेर हिँडिन्थ्यो ।’ 

Leave A Comment