चिल्ड्रेन लाइन बोर्डिङ स्कुल बागलुङले करिब एक करोड रुपैयाँ लगानी थपेर विज्ञान र व्यवस्थापन विषयमा प्लस टूका कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । करिब पाँच करोड रुपैयाँको जग्गामा खरिद गरेको बोर्डिङले प्रयोगशाला, भवनलगायतका पूर्वाधारमा मात्र करोड खर्चिएको हो ।
१० कक्षासम्म अध्यापन गराउँदै आएको बोर्डिङले उच्च शिक्षामा पनि अवसर देखेर लगानी बढाएको हो । ‘सुविधासम्पन्न कलेज बनाउनका लागि लगानी गरेका हौं,’ चिल्ड्रेन लाइन बोर्डिङ स्कुलका अध्यक्ष नवराज पौडेलले भने, ‘प्रतिस्पर्धी बजारमा गुणस्तरीय शिक्षा दिन ठूलो लगानी भएको छ ।’ चिल्ड्रेन लाइन बोर्डिङले यो वर्षदेखि ११ कक्षामा विज्ञान र व्यवस्थापनमा पढाइ सञ्चालन गर्न लागेको हो ।
एसईई तहको पढाइ पूरा गरेका विद्यार्थीलाई लक्षित गरेर निजी क्षेत्रका कलेजले दस जोड दुई (प्लस टू) सञ्चालन गर्ने क्रम बढ्दो छ । सरकारीको तुलनामा निजी कलेजले गुणस्तरीय शिक्षा दिँदा निजीमा विद्यार्थीको आकर्षण बढेकाले पनि कलेजमा धमाधम लगानी बढाइरहेका छन् । नयाँ मात्र नभएर पुराना कलेजले पनि लगानी थपेर पूर्वाधारमा सम्पन्न बनाउँदै गएका छन् । क्याम्ब्रिज इन्टरनेसनल कलेजले लगानी बढाएर करिब डेढ करोड रुपैयाँ पुर्याएको छ ।
साउथवेस्टर्न स्टेट कलेज, काठमाडौंले करोडौं रुपैयाँ खर्चिएर सुविधा सम्पन्न अत्याधुनिक भवन बनाएको छ । काठमाडौंको वसुन्धारामा निर्माण गरिएको अत्याधुनिक भवन निकै आकर्षक छ । व्यवस्थित कलेजका लागि पूर्वाधार आवश्यक भएकाले लगानी गरेर आफ्नै भवन बनाएको साउथवेस्र्टन स्टेट कलेज, काठमाडौंका प्रिन्सिपल राजेन्द्र केसी बताउँछन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै निजी कलेजलाई दस जोड दुई (प्लस टू) मा विद्यार्थी तान्न भौतिक पूर्वाधारलाई पनि माध्यम बनाएका छन् । कलेजमा निजी क्षेत्रले ठूलो लगानी गरेका छन् । यहाँको मात्र नभएर अन्तर्राष्ट्रिय स्तरका प्याकेज राखेपछि निजी कलेजमा विद्यार्थीको आकर्षण अझै बढेको छ ।
निजी कलेजमा २५ अर्ब रुपैयाँ बढी निजी क्षेत्रले लगानी गरेको ३ हजार ६ सय ६९ उच्च माविमध्ये १ हजार ५० उच्च मावि निजी क्षेत्रबाट सञ्चालन गरिएको उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले जनाएको छ ।
‘एउटै कलेजले न्यूनतम एक करोडदेखि २० औं करोड रुपैयाँसम्म लगानी गरेका छन्,’ हिसानका अध्यक्ष रमेश सिलवालले भने, ‘निजी क्षेत्रको अर्बौं रुपैयाँ लगानी गरे पनि सरकारले उपयुक्त वातावरण बनाउन सकेको छैन,’ निजीले गुणस्तरीय शिक्षा दिएकोले सबैको आकर्षण यतातिर गएको हो, विद्यार्थीलाई पैसाभन्दा राम्रो शिक्षा चाहिएको छ,’ उनले भने ।
सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरे विश्वस्तरको शिक्षा दिन सक्षम रहेको उनले बताए । अहिले एसईईको नतिजा निस्किएपछि निजी कलेजलाई दस जोड दुई (प्लस टू) मा विद्यार्थी तान्न प्रतिस्पर्धा गरिरहेका छन् । विगतमा एसएलसीमा फेल भएपछि धेरै विद्यार्थी बीचैमा पढाइ छाड्थे । अब एसईईपछि प्रायः सबैजसो विद्यार्थीले कक्षा १२ सम्मको शिक्षा लिने भएकाले पनि कलेजमा निजी क्षेत्रको आकर्षण बढेको छ ।
सरकारी कलेजमा विद्यार्थीलाई सन्तुष्ट पार्न नसक्नुले पनि निजी कलेजको शैक्षिक व्यवसाय फस्टाएको हो । सरकारसँग सम्बन्धन लिएर विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, होटल म्यानेजमेन्टसहित विभिन्न प्राविधिक विषयको पढाइ सञ्चालन गरेका छन् । केहीले विदेशी युनिभर्सिटीसँग सम्बन्धन लिएर ‘ए—लेवल’का प्याकेज चलाएका छन् । काठमाडौं उपत्यकासहित पोखरा, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढीलगायतका प्रमुख सहर शैक्षिक ‘हब’को रूपमा विकास भएका छन् ।
हरेक जिल्ला सदरमुकाममा निजी कलेजको संख्या उत्तिकै छ । कलेजले भर्ना, परीक्षा, मासिक शुल्कसहित ड्रेस, पुस्तक, कलेजमा हुने अतिरिक्त क्रियाकलाप, खेलकुद, परीक्षा, खाजा, होस्टेल आदिबाट राम्रै कमाइ गर्छन् ।
विज्ञान विषय पढ्ने एक विद्यार्थीले दुई वर्षको न्यूनतम एकदेखि तीन लाख रुपैयाँ, व्यवस्थापनमा ७५ हजारदेखि सवा लाख, मानविकीमा ५० हजारदेखि एक लाख, शिक्षामा ५० हजार रुपैयाँसम्म मासिक फी लिने गरेको हिसानले जनाएको छ । उच्च माविमा करिब एक लाखलाई रोजगारी दिएको छ ।
लगानी भित्रिएसँगै कलेजहरूमा अस्वस्थ प्रतिस्पर्धा बढेको क्याम्ब्रिज इन्टरनेसनल कलेज, कलंकीका कार्यकारी अध्यक्ष गंगाधर अधिकारीले बताउँछन् । ‘धेरै नाफा नभए पनि कलेजहरू डुब्ने अवस्थामा भने छैनन्,’ उनले भने, ‘न्यून पुँजी लगानी गरेका कलेज सञ्चालनमा अलि चुनौती छ ।’
Leave A Comment