हामीले सामाजिक उत्तरदायित्व पुरा गरेका छाैं : किशाेर गाैतम

शुक्रबार, २२ असार २०७५, ०५ : १९ दिलीप पौडेल

१८ वर्षअघि स्थापना भएको काठमाडौँ मोडल कलेज (केएमसी) अहिले केएमसी एजुकेसनल नेटवर्कको रुपमा रुपान्तरण भएको छ । ६५ जना विद्यार्थीबाट सुरु गरेको कलेजमा अहिले करिब ११ हजार विद्यार्थी अध्ययन गर्छन् । विद्यालयदेखि स्नाकोत्तरसम्म अध्ययन हुने केएमसीले शैक्षिक क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । कलेजको शैक्षिक अवस्था लगायतका विषयमा केएमसी नेटवर्कका निर्देशक किशोर गौतमसँग शुक्रबारका लागि गरिएको कुराकानी :

केएमसी नेटवर्कमा के कस्ता कक्षा सञ्चालित छन् ?
केएमसी एजुकेसनल नेटवर्कमा विद्यालय तहदेखि मास्टर्स डिग्रीसम्मका कक्षाहरु सञ्चालन गर्दै आएका छौं । काठमाडौँको बागबजारमा काठमाडौँ मोडल कलेज, बालकुमारी नेसनल माध्यमिक विद्यालय र मैतीदेवीमा न्यु समिट कलेजमा अध्यापन गराइरहेका छौँ । हाम्रा कलेजमा विज्ञान, व्यवस्थापन, कानुन विषय पठनपाठन भइरहेका छन् । न्यु समिटमा फाइन आर्ट पनि रहेको छ । केएमसी एजुकेसन नेटवर्कले विद्यालय स्कुलमा प्ले ग्रुपदेखि १० कक्षासम्म, प्लस टु, बिबिए, बिबिएस, बिएचडब्लू, मास्टर्स डिग्रीमा अंग्रेजी र व्यवस्थापन, प्राविधिक विषयमा इन्जिनियरिङ र आइटी पठनपाठन गराइरहेका छौँ ।

सिकाई कस्तो छ ?
भर्खर एसईईको रिजल्ट आएको छ । पल्सटूका विद्यार्थीलाई किताब मात्र पढाएर हुँदैन । समयअनुसार पढाउनुपर्छ । टाई, ड्रेस सरकारी स्कुलले लगाउन थाले । ह्वाइट बोर्डमा पनि पढाउँछन् । अहिले मल्टिमिडिया, स्मार्ट बोर्डको प्रयोग गर्नुपर्छ । विद्यार्थीलाई कक्षा कोठामा इन्टरनेटको माध्यमबाट अध्यापन गराउँछौँ । अन्तर्र्राष्ट्रिय बजारमा कस्तो शिक्षा चलिरहेको छ भनेर पढाउने, सिकाउने गरिन्छ । पठनपाठनका अतिरिक्त विद्यार्थीलाई कसरी अनुशासित बनाउने अहिलेको मुख्य चुनौती हो । विद्यार्थीलाई अनुशासनसहित जीवन पढाउने गरी लैजानु पर्छ । भविष्यमा विश्वको जुनसुकै कुनामा गएर बस्दा पनि आफैँ बाँच्न सक्ने विद्यार्थी उत्पादन गर्नुपर्छ भन्ने मुख्य उद्देश्य छ ।

शिक्षण सिकाई प्रभावकारी बनाउन कसरी अध्यापन गराउनु हुन्छ ?
विद्यार्थीलाई प्रोजेक्ट वर्क, रिसर्च, फिल्ड भिजिटमा केन्द्रित गर्छौं । रिपोर्ट तयार गरेर प्रस्तुत गर्न लगाउँछौँ । जसले विद्यार्थी ढुक्कसँग आफ्ना कुरा पनि राख्न सक्छ । सामाजिक उत्तरदायित्व सहितको जनशक्ति उत्पादन गर्नुपर्ने मुलुकको आवश्यकता छ । वैज्ञानिक शिक्षा दिनुपर्ने आवाज उठिरहेको छ । राज्य र निजी क्षेत्रले जनशक्ति पाएनौं भन्नुहुन्छ । अभिभावक र कलेजले हाम्रो जनशक्तिले रोजगार नपाएको बताइरहेका छन् । यो ग्यापलाई निराकरण गर्न हामीले प्रयास गरेका छौँ । केही समयअघि हामीले आइटीसँग सम्बन्धित नेपालमा रहेका ठूला कम्पनी र हाम्रो कलेजमा आइटी पढ्ने इन्जिनियरलाई राखेर अन्तरक्रिया ग¥यौँ । बजारलाई चाहिएको कस्तो हो र हामीले के सुधार गर्नुपर्छ भनेर छलफल ग¥यौँ । यस विषयमा अब विश्वविद्यालय र सरकारले पनि सोच्नुपर्छ । अहिले देखिएको ग्यापलाई हटाउनु आवश्यक छ ।

ग्यापलाई कसरी हटाउने त ?
अब विद्यार्थीलाई स्पष्ट बनाउनु जरुरी छ । विद्यार्थीको रुचि एकातर्फ अनि अभिभावकको प्रेसरमा अर्को विषय पढिरहेका छन् । लगानी गर्ने भएकाले कलेज छनोटको अधिकार अभिभावकलाई दिए पनि विद्यार्थीकै रुचिका आधारमा विषय छनोट गर्नुपर्छ । विद्यार्थी उद्देश्यमा हिँडेन कि ? किताबमा भएका विषय पढेर मात्र उद्देश्य पूरा हुँदैन कि ? विद्यार्थी आफूले पढेको विषय कहाँ बेच्ने स्पष्ट हुनुपर्छ । आजको पढाइबाट जीवन जिउन सक्ने बन्नुपर्छ । विद्यार्थी डक्टर, पाइलट, इन्जिनियर, कम्पनीको मेनेजर, वकिल आदि के बन्ने हो पहिले नै क्लियर हुनुपर्छ । त्यसका लागि स्कुल तहबाट नै अभिवभाक, शिक्षक, संस्था र सरकारी निकायले पनि गाइड गर्नुपर्छ ।

भर्खर एसईई पास विद्यार्थीलाई के सुझाव दिनुहुन्छ ?
विद्यार्थीले पहिला उद्देश्य तय गर्नुपर्छ । अभिभावकले बच्चालाई डाक्टर बनाउन खोजिरहेको हुन्छ । विद्यार्थी कतै डान्सर बन्न खोजेको छ कि ? यस्ता कुरामा ध्यान दिनुपर्छ । बच्चाको रुचि र भविष्यको गन्तव्य देखाउनु पर्छ । विद्यार्थीलाई काउन्सिलिङ गर्छौं । सम्बन्धित विषयका सबै पाटाको विषयमा जानकारी लिएर निर्णय लिनुपर्छ ।

विद्यार्थी केएमसी नेटवर्कका शैक्षिक संस्थामा किन आउने ? 
बजारमा सरकारी र निजी क्षेत्रका प्रशस्त विद्यालय, कलेज छन् । कसैले नराम्रो छ भन्दैन । तर, संस्थाको उद्देश्य क्लियर हुनुपर्छ । केएमसीले विद्यार्थीलाई अनुशासित बनाउँछ । अभिभावकले तिरेको पैसालाई दुरुपयोग नहुने गरी फोकस गर्छौं । यहाँ भर्ना गरेपछि विद्यार्थी कलेज या घरमा हुन्छ । बीच बाटोमा भौंतारिन दिँदैनौं । हाम्रो सिस्टमले विद्यार्थी कलेज आएन भने आधा घण्टाभित्र अभिभावकलाई जानकारी गराउँछौं । अभिभावकले पनि हामीलाई जानकारी गराउनुपर्छ । केएमसीको गेटभित्र ल्याएर छाडेपछि विद्यार्थीको करिअरमा अभिभावक ढुक्क हुन सक्छन् । विद्यार्थीको तहअनुसार किताबको ज्ञान मात्र नभएर सबै प्रकार जीवन उपयोगी ज्ञान र नैतिक शिक्षा पनि दिएर सबल र सक्षम जनशक्ति तयार गर्छौं । विद्यार्थी र अभिभावकले जीवनभर स्मरण गर्न लायक शिक्षा दिन्छौं ।

प्रतिस्पर्धा कस्तो छ ?
निजी क्षेत्रका विद्यालयमा अस्वस्थ प्रतिस्पर्धा छ तर हामीलाई त्यसले छोएको छैन । टर्मकै आधारमा छात्रवृत्ति दिन्छौं । विद्यार्थीलाई प्रतिस्पर्धी बनाउँछौं । आज भर्ना हुने विद्यार्थीले दुई वर्षपछि कति शुल्क तिनुपर्छ भन्ने थाहा पाउँदैन । प्रत्येक टर्म इक्जाममा ल्याएको नम्बरको आधारमा स्कलरसिप पाउँछ । 

यहाँको कलेजले कस्तो जनशक्ति उत्पादन गरिरहेको छ ?
आजको दिनसम्म केएमसीमा पढेका विद्यार्थीले स्वदेशी र विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्षम छन् । हाम्रा विद्यार्थी प्रत्येक दिन प्रतिस्पर्धी बन्दै गएका छन् । त्यही भएर होला । हाम्रो कलेजमा पढेका विद्यार्थी महाराजगञ्जमा मेडिकल, काठमाडौं युनिभर्सिटी, धरान मेडिकलको परीक्षामा एक नम्बरमा नाम निकाल्न सफल भएका छन् । अब्बल विद्यार्थी आएर मात्र यो रिजल्ट आएको होइन । शिक्षक निकै मिहिनेती भएकाले पनि यो सफलता पाइएको हो । इन्जिनियरिङ, विज्ञान, उच्च शिक्षा पढेर बाहिर जाने कुरा किन नहोस् सबैमा अब्बल छन् ।

निजी कलेज नाफामुखी भए भन्ने आरोप छ नि ?
निजी कलेजले कमायो भन्दा उसले गरेको योगदानलाई बिर्सन मिल्दैन । अब्बल विद्यार्थी उत्पादन गरेका छन् । रातदिन खटेपछि त्यसबाट केही आर्जन लिनु स्वाभाविक हो । लगानी गरेर बेनिफिट नहुने ठाउँमा कसैले लगानी गर्दैन । सेवामूलक व्यवसाय भएकाले सामाजिक उत्तरदायित्व पनि पूरा गरेका छन् । सरकारी क्षेत्र राम्रो बनाए निजी क्षेत्र आफैँ ओझेलमा पर्छ । तीन सय ६४ दिन निजी क्षेत्रलाई गाली गर्नेहरुले रिजल्ट आएको दिन प्राइभेट सेक्टरको रिजल्टले मुलुकको इज्जत धान्यो भनेर स्याबासी दिन्छन् । त्यसैलाई राष्ट्रिय तथ्यांक बनाउँछन् । निजी क्षेत्रमा आएको विकृति पनि हटाउनु पर्छ । शैक्षिक संस्था निजी मात्र नभएर पब्लिक सम्पत्ति पनि भएकाले सोहीअनुसार दायित्व पूरा गर्नुपर्छ । 
 

Leave A Comment