पायल्स, फिस्टुला र फिसर

मङ्गलबार, २६ असार २०७५, ०१ : १२ शुक्रवार
पायल्स, फिस्टुला र फिसर

पायल्स, फिस्टुला र फिसर तीनवटै रोगका लागि सिज बाथ गर्न सकिन्छ ।  

मलद्वारमा हुने तीन किसिमका रोग हुन् पायल्स, फिस्टुला र फिसर । आन्द्रामा खाना पच्ने नर्मल प्रक्रिया हुन्छ, खाना पच्दै अगाडि जाने प्रक्रियालार्ई पेरिसटाल्सिस भनिन्छ । आन्द्राबाट खाना पच्दै जाँदा दिसा साह्रो हुँदै जाने क्रममा आन्द्राको चाल पनि ढिलो हुँदै जान्छ । आन्द्राले आफ्नो चालमा काम गर्न सक्दैन । 
आन्द्राको चाल ढिलो हुँदा दिसा पनि बिस्तारै तल पास हुन्छ । धेरै समय गलाएर दिसा पास हुँदै जाँदा मलद्वारको छेउसम्म दिसा पुग्दा दिसामा भएको पानी आन्द्राले सोसिसकेको हुन्छ । 

पानी सोसिसकेपछि कडा गोटाजस्तो बन्छ । त्यस्तो कडा दिसाले आन्द्रालाई असर गर्छ । भने बाहिर मलद्वारमा चोट लगाउने, इन्फेक्सन हुने, पायल्स तन्काउने तथा तलतिर धकेल्ने जस्ता असर हुन्छन् ।
कब्जियत भएपछि खाएको खाना आन्द्राबाट अगाडि बढ्न छोड्छ । ढिलो वा २÷३ दिनमा दिसा हुने, कडा दिसा भयो भने त्यस्तो दिसाले मलद्वारमा रोग बनाउँछ, दिसाका कारणले पायल्स, फिसर वा फिस्टुला हुने जोखिम बढी हुन्छ । कडा दिसा हुनबाट बचियो भने यी तीनवटै समस्याबाट बच्न सकिन्छ । 

पायल्स

पायल्सलाई अंग्रेजीमा हेमोराइ भनिन्छ । मलद्वारको भित्रपट्टी रगतका  नलीहरु हुन्छन् । मलद्वारभित्रका ती नलीहरु फुलेर मासुसहित तल झर्न थाले भने त्यसलाई पायल्स भनिन्छ । रगतकोे नसा र मलद्वारभित्रको छालासँगै तल झर्नु पायल्स हो । 

पायल्स हुंदा मलद्वारभित्रका रगतका नसा तथा छालाको मासु बढेर तन्किँदै तलतिर झर्छ । कडा दिसाका कारणले नसा तथा छालालाई थिच्छ (पे्रस गर्छ) । त्यसरी थिचिएर नसा तथा छाला तन्किँदै बाहिर निस्किन्छ भने त्यो पायल्स हो । 

पायल्समा दुईवटा लक्षण देखिन सक्छ । एउटा दिसा गर्दा बिरामीलाई मासुको डल्लो नै वाहिर निस्किएको जस्तो अनुभूत हुन्छ  । अर्को दिसा गर्दा रगत जान्छ । दुखाइ भने कम हुन्छ । कडा दिसाले जब नसालाई प्रेस गर्दै बाहिर निस्कन्छ तब नसाको टुप्पोबाट फुट्छ र रगत बाहिर निस्कन्छ । दिसा गर्दा उज्यालो र ताजा रंगको रगतको धारा बाहिर निस्कनु पायल्सको लक्षण हो । रगतको धारा जानुलाई स्प्लास अन द प्यान भनिन्छ ।

पायल्स हुँदा पहिलो चरणमा मलद्वारबाट रगत मात्रै बाहिर निस्किन्छ । दोस्रो चरणमा  दिसा गर्दा मासु बाहिर निस्किन्छ तर आफँै फेरि भित्र जान्छ । तेस्रो चरणमा मासु बाहिर आउँछ तर हातले भित्र हाल्दा जान्छ । पायल्सको चौथो चरण अलि जटिल चरण हो । बाहिर निस्किएको मासु भित्र जाँदैन । मलद्वार बाहिर फूलको गुच्छा जस्तो पायल्सको गुच्छा हुन्छ । चारै चरणमा रगत बग्छ । 

फिस्टुला

मलद्वारका वरिपरि साना–साना हाँगाजस्ता सुरुङ (प्वाल) बन्छन् । फिस्टुला भनेको सुरुङ जस्तो रोग हो । मलद्वारभित्रबाट बाहिरसम्म सुरुङजस्ता प्वाल हुन्छन् ।  भित्रपट्टि मलद्वारबाट निस्किएको सुरुङ (प्वाल) बाहिरपट्टि मलद्वार वरिपरिको छालामा खुल्छ । ती सुरुङबाट पनि दिसा बाहिरिन्छ भने फिस्टुला भएको भनिन्छ । 

फिस्टुला हुँदा दिसाजन्य घाउ, पिप, फोहोर मलद्वार वरिपरिको सुरुङ मार्गबाट बगिरहन्छ । 
मलद्वारभित्रको छालामा इन्फेक्सन भएपछि त्यो इन्फेक्सन बढ्दै जाँदा सुरुङ बनाउँदै जान्छ र मलद्वारको वरिपरि बाहिर खुल्छ । प्वाल बाहिर खुलेपछि उपचार नगरेसम्म सुरुङ आफैँ बन्द हुँदैन । 

फिस्टुलामा पनि रोगको सुरुवात कडा दिसाबाटै हुन्छ । मलद्वार वरिपरिका चिप्लो पदार्थ निकाल्ने ग्रन्थी (ग्ल्याण्ड) हुन्छन्, जसले दिसालाई चिप्लो बनाउँछ । फिसर हुँदा मलद्वार वरिपरिका ग्रन्थी पाक्न थाल्छन् । कडा दिसाका कारणले इन्फेक्सन हुन्छ । ग्रन्थीको मुख बिग्रिएर पाक्छन् । ग्रन्थी पाकेपछि भित्रभित्रै इन्फेक्सनले बाटो खोज्न थाल्छन् । 

पाकेको पीपले बाटो कि मलद्वार भित्र खोज्छन् या बाहिर छालातिर खोज्दै जान थाल्छन् । छालातिर बाटो खोज्दा पीप जम्छ  र छाला बाहिर निस्किएर फुट्न खोज्छ, फुट्छ, जसलाई पेरिएनल एप्सेस पनि भनिन्छ । मलद्वारको बाहिर वरिपरि पिलो जस्तो घाउ हुन्छ । रोगको सुरुवात मलद्वार भित्रपट्टि सुरुङ बन्दै जमेको पिप बाहिर निस्कने क्रममा बाहिर पिलो जस्तो घाउ देखा पर्छ । 

पीप फुटिसकेपछि जुन बाटो हुँदै सुरुङ बनाएर पीप बाहिर आएको छ, त्यो सुरुङ बनिरहेको हुन्छ, जसलाई फिस्टुला भनिन्छ । मलद्वार वरिपरिको मासुमा बोसो बढी हुने भएकाले पनि पीप छिटो फैलिन्छ ।

फिस्टुलाको उपचार बेलैमा नगरेको खण्डमा थप हाँगासमेत भएर सुरुङ हुन सक्छन् । फिस्टुलाको सर्जिकल उपचार गरिन्छ । सुरुङलाई बाँधेर काटेर फालेर उपचार गरिन्छ । धागोबाँधेर सेटोन विधिबाट पनि गरिन्छ ।  सुरुङबाट चिरिन्छ । वरिपरिको छालाको भागको प्वाललाई काटेर निकालिन्छ । प्वाललाई काटेर खुल्ला बनाएर छोड्दा पनि निको हुँदै आउँछ । अप्रेसन गरेर उपचार गरिन्छ । फिस्टुला बारम्बार पर्किएर आउन सक्छ 

फिसर 

फिसर पनि मलद्वारकै रोग हो । फिसर हुँदा मलद्वारको बाहिरपट्टिको मुखमा छाला फाटेर घाउ हुन्छ । मलद्वारको बाहिरपट्टीको मुखको छाला फाटेर घाउ निको नभई रहिरहन्छ भने त्यसलाई फिसर भनिन्छ । 
फिसर हुनुको पनि प्रमुख कारण कडा दिसा नै हो । झाडा पखाला तथा मलद्वारका अन्य रोगका कारणले पनि फिसर हुन्छ । फिसरमा मलद्वारको बाहिरपट्टिको छाला फाट्छ । फाटेर घाउ हुन्छ । भर्खर फाट्दा बिरामीलाई अत्यधिक दुख्ने, कडा दिसा हुने भएकाले दुख्ने, दिसामा रगत देखापर्नेजस्ता समस्या हुन्छन् । फिसरको मुख्य लक्षण दुखाइ नै हो । सुरुमा दिसा जाँदा मात्रै दुख्ने भए पनि मलद्वारमा इन्फेक्सन हुँदै जाँदा पनि दुख्छ । 

फिसरको घरेलु उपचार पनि गर्न सकिन्छ । मनतातो पानीमा मलद्वार डुब्ने गरी बिहान बेलुका १५ मिनेट बस्नु पर्छ, जसलाई सिज बाथ भनिन्छ । 

मन तातो पानीमा मलद्वार डुब्ने गरि बस्ता छाला नरम हुने, इन्फेक्सन हुन नदिने, रक्त सञ्चार गर्ने, साफ सफाइ हुने, दुखाइ कम गर्न सहयोग गर्छ । मलद्वारमा लगाउने मलम लगाए पनि उपचार गर्न सकिन्छ । लामो समयसम्म निको नभएको अवस्थामा क्रेनिक फिसर हुन्छ । लामो समयसम्म घाउ सन्चो नभएर फिसर निको भएन भने अप्रेसन गरेर पनि उपचार गरिन्छ  ।   पायल्स, फिस्टुला र फिसर तीनवटै रोगका लागि सिज बाथ गर्न सकिन्छ ।  

जोगिने कसरी ?

तीनवटै रोगको एउटै कारण छ, गलत खानपान । गलत खानपिनले खराब किसिमको दिसा बनाउँछ । गलत दिसाले रोग निम्त्याउँछ । 

गलत खाना भन्नाले फाइबर नभएका खाना, चाउचाउ, बिस्कुट, पाउरोटी, मैदा धेरै भएकाजस्ता खानेकुरा हुन् । यो धेरै खान हुँदैन । फाइबरयुक्त खानेकुरा कम खानाले पायल्स, फिस्टुला र फिसरको हुने सम्भावना धेरै हुन्छ ।

साग–सब्जी, गाँजर, मुला, लौका, चिचिन्डा, फर्सी, स्कुस, सीमिजस्ता तरकारीमा फाइबर पाइन्छ । यस्ता फाइबरयुक्त तरकारी तथा सागसब्जी कम खाने मानिसमा पायल्स, फिस्टुला र फिसरको जोखिम बढी हुन्छ । 

सामान्यतयाः जुन तरकारी तथा खानामा धागो र छिपिँदा जालो जस्तो बन्छ, त्यस्ता तरकारी तथा खानालाई फाइबरयुक्त तरकारी तथा खाना भनिन्छ । फाइबरयुक्त सागसब्जी आन्द्रका लागि फाइदाजनक हुन्छ । फाइबरयुक्त  खानाले दिसा कब्जियत हुन दिँदैन । कडा दिसा हुन दिँदैन । राम्रो दिसा हुन्छ । 

मुख्यतः फाइबरयुक्त तरकारी तथा खानाले शरीरको पाचन प्रक्रियालाई सहज बनाउनुका साथै शरीरमा पोषक तत्व ग्रहण गर्न सहयोग गर्छ । अर्को आन्द्राले फाइबरयुक्त खानालाई सजिलो गरि अगाडि धकेल्छ । शरीरले पोषक तत्व पनि राम्रोसँग ग्रहण गर्छ ।  खाना सजिलो गरी पच्छ । सही आकारको दिसा सही समयमा हुन्छ र कब्जियत हुन पाउँदैन । 

९० प्रतिशतभन्दा धेरै बिरामी पहिलो र दोस्रो चरणमै चिकित्सककहाँ पुगेको देखिन्छ । पहिलो र दोस्रो चरणमा आएका सामान्य औषधि तथा खानपानमा सुधारका लागि सल्लाह दिइन्छ । करिब ९५ प्रतिशत पायल्सको उपचारविना अप्रेसन औषधिबाटै ठिक हुन्छ ।  

पहिलो नम्बरमा फाइबरयुक्त खाना खाने, दोस्रो नम्बरमा पायल्सका औषधि लगाउनुपर्छ । तीन नम्बरमा दिसा नरम बनाउने औषधि दिइन्छ । चार नम्बरमा पायल्स बाहिर निस्किन थालेको छ भने छार सुत्र विधिबाट उपचार गरिन्छ । ब्यान्डिङ विधि पनि अपनाइन्छ ब्यान्डिङ विधि भन्नाले पायल्समा धागो बानिदिएपछि पायल्स आफैँ सुकेर झर्छ । 

पायल्सको ठूलो जोखिम मलद्वारबाट बग्ने रगत हो । पायल्स हुँदा अत्यधिक मात्रामा रगत बाहिर निस्किन सक्ने भएकाले शरीरमा रगतको मात्रा कम भएर ज्यान जान पनि सक्छ । 
फिस्टुलाको मुख्य जटिलता पीप हो । फिस्टुलामा मलद्वारको वरिपरि पीप जम्ने भएकाले त्यो पिप फैलिँदै गएर पनि ज्यान जान सक्छ । मलद्वार वरिपरि पीप जम्यो भने शरीरमा पीप फैलिएर संक्रमणका कारणले

ज्यान जान सक्छ । 

ज्यानै जान सक्ने जोखिमताको हिसाबले फिसरको तुलनामा पायल्स र फिस्टुला जोखिम हुन सक्छन् । 
फिसर टिनएजबाट बढी देखिएको पाइन्छ । किनकि त्यो उमेर समूहकाले बढी जंक फुड खाने भएकाले फिसरको जोखिम टिनएजरमा बढी मात्रामा देखिन्छ । २० देखि ४० वर्षको उमेर समूहमा बढी मात्रामा पायल्स देखिन्छ । सबै उमेर समूहमा फिस्टुुला भएको पाइन्छ । 
प्रस्तुति : उपेन्द्र खड्का


 

Leave A Comment