अभय श्रेष्ठका कविता

आइतबार, ०९ साउन २०७३, ११ : २१ शुक्रवार , Kathmandu
अभय श्रेष्ठका कविता

बादी युवतीको घोषणा

‘दुःख के हो ?
जीवन के हो ?
अब म देखाउँछु संसारलाई !’

खाडीजस्तो
जिन्दगीको अघोर अन्धकारबाट उठेर
उज्यालो बिहानीलाई चिहाउँदै
एउटी बदिनीले घोषणा गरी–
अब म मिल्काउँछु
सभ्यताको यो असभ्य परिधान
र, देखाउँछु पातालजस्तो दुःख संसारलाई !

छाती ! मान यो छाती हो
काठमाण्डुको बीच भागमा तेर्सिएको टुँडिखेल
जहाँ मानिसहरू खेल्छन् अनेक खेल
यी सुन्तले ओठका केस्रामा
दाँतका सहस्र डोबहरू हेर
आकाशमा सहस्र ताराझैँ मेरा स्तनका
अनगिन्ती घाउहरू हेर
यो पिठिउँ, यी पाखुरा,
नीलकमलझैँ यी घुँडा र तिघ्राका निलडामहरू हेर
मानौ क्रूर नदीको भेलले चुटेर गएको
बगर हो यो
रगत, वीर्य र पिपले भरिएको
यो शरीरको कुम्भीपाक नर्कलाई हेर ।

भन्न सक्छु म,
प्रेमले भरिएको मेरो आत्मामाथि
ककसले गरे प्रहार ?
ककसले गरे बलात्कार ?

खन्याउन दिन्नँ अब म मेरो अभिशापको भारी
बाँसको तामाजस्ती मेरी छोरीको शिरमाथि
प्रकृतिको विलक्षण रूपझैँ
उसको शरीरकोे मालिक ऊ आफैँ हो
तोड्न दिन्नँ कसैलाई
अब उसको शरीरको गोप्य खजानाको सन्दुक
केबल उसकै मर्जीमा खुल्छ ।

सुन, घामजत्तिकै
पारदर्शी झुट बोलेर सम्मानित भद्रभलाद्मीहरू
सुन, यो बतासे दुनियाँलाई
नरकको डर देखाएर
महान् भएका
मौलवी, पादरी र पुजारीहरू
सुन सर्पघुम्तीजस्ता
घुमाउरो भाषा लेख्ने फूलबुट्टे झुटा कविहरू
सुन– महान् नेता
कार्यकर्ता
सम्पादक
वकिल
न्यायाधीश
प्रधानमन्त्री
मन्त्री
प्रशासक, नाफाखोर र सम्मानित तस्करहरू
सुन... सुन... सुन
संसारका सारा मानिसहरू सुन–

अब म असुल्छु पहिरो लागेको लेकझैँ
बर्बाद जिन्दगीको मूल्य
र, नांगिन्छु यो सार्वजनिक सभामा
जहाँ घामका करोडौँ धर्का किरणजस्तै
देखिनेछन् मेरा दुःखहरू
र, जहाँ
मेरो शरीरसँगै
नांगिनेछ यो व्यवस्था ।

सन्देह

यी बादलका अनेक चित्रहरूले
कोरेका सुन्दर कोलाजमाथि सन्देह गर
पानीका सुन्दर तालमा देखिने
विविध रङको अस्तित्व
र बादलका टुक्राझैँ
तिम्रा हातमा पर्न आएको
हिउँको सौन्दर्यमाथि सन्देह गर ।

अखबार र टेलिभिजनका सनसनीपूर्ण समाचार
कविका फूलबुट्टे सुकिला कविता
मनको एक कुनालाई धक्का दिने
बुद्धिजीवीको विचार
र, देशवासीका नाममा
प्रधानमन्त्रीको सम्बोधनमाथि सन्देह गर ।

तिम्रा सम्मानित गुरुले
मीठो भाषामा सुनाएका कथा
महान् इतिहासकारले लेखेको इतिहास
र, संसारका सर्वमान्य मूल्यहरूमाथि पनि सन्देह गर ।

पग्लँदै गएको हिउँजस्तो
युधिष्ठिरको सत्यनिष्ठा
र, अछुतो आकाशजस्तो
अर्जुनको वीरतामाथि सन्देह गर
देवव्रतको भीष्म प्रतिज्ञा
दुर्योधनको दुष्टता
अनि वेद र पुराणका तिलस्मी कथाहरूमाथि सन्देह गर ।

सुकरात, माक्र्स र गान्धी
डार्बिन, फ्रायड र आइन्सटाइन हुन्
केवल तिम्रा सहयात्री
पवित्र बाइबल, रामायण, महाभारत
धम्मोपदेश, त्रिपिटक
र, कुरान नै होइनन् अन्तिम सत्य
न ब्रह्मा सत्य हो, न मिथ्या हो जगत
विष्णु, महेश्वर, श्रीराम
क्राइस्ट, कविर, मोहम्मद
र सन्देहको कुरा गर्ने बुद्धमाथि पनि सन्देह गर ।

आँगनजस्तो एकत्र संसारमा
छैन कोही सन्देहको घेराबाहिर
सन्देहको ईश्वर रच्ने
मेरो यही कवितामाथि पनि सन्देह गर ।

म अविरल गर्छु सन्देह आफ्नै ब्रह्ममाथि पनि
जसरी माटोले हरेकपटक गर्छ
आफ्नै गर्भमा रोपिएको सत्बीजको परीक्षा ।


समानान्तर

छिँडीबाट कौसीसम्म
म आएको
तिमीलाई धकेल्न होइन
मित्रहरू, म पनि तिमीसँगै
घाम ताप्न आएको हुँ
तिम्रो दुनियाँमा एउटा ‘अछुत’लाई छिर्न नदिइएको
उसको हिस्साको कौसीमा
टेक्ने अधिकार लिन आएको हुँ ।

मलाई चेत आइसकेको छ महानुभावहरू,
छिँडीको चिसोमा
पददलित भएर चुपचाप बस्न
म अभिशप्त होइन ।

निलकाँडा ओच्छ्याइएको
खोलाको बगरबाट
मूलबाटोमा म आएको
यहाँबाट तिमीलाई
निर्वासित गर्नलाई होइन
जिन्दगीको हरियालीपूर्ण यात्रामा
म पनि तिमीसँगै
गन्तव्यको खोजीमा हिँड्न चाहेको हुँ ।

मलाई थाहा छ सज्जन मानिसहरू !
एकलास बगरमा उदास जीवन जिउन
म अभिशप्त होइन ।

झाडी र झारहरूको जंगलबाट बसाइ सरेर
बगैँचामा म आएको
तिमीलाई झाडी र झारहरूको
जंगलतिर खेद्नलाई होइन
म हुँ यहाँको मगमगाउने मूस्वाँ फूल
यहीँ फुल्न, मगमगाउन
र तिमीले अन्यायपूर्वक
ओगटेकोे मेरो ठाउँमा उभिनमात्र आएको हुँ ।

मलाई चेत आइसकेको छ मित्रहरू,
झाडी र झारहरूको जंगलमा
हराउन म अभिशप्त होइन ।

यो त्यही अत्याचार राज हो
जहाँ हाम्रो सुकोमल गीतलाई
देशको काखबाट धुलोमा पछारिएको थियो
र हाम्रा नानीहरूको ओठबाट
खोसिएको थियो मातृभाषाको लयालु गीत ।

जहाँ काटिएका थिए
हाम्रो पुर्खाका सत्र धार्नी नाक
जहाँ आफ्नै परिवेशमा श्वास फेर्दा
गरिएको थियो रामलिहाङ र रिदामाको हत्या
जहाँ हाम्रा पुर्खालाई
ठह¥याइएको थियो इतिहासमै सबैभन्दा मूर्ख
जहाँ हाम्रो हृदयको कोमल पत्रबाट
खोसिएको थियो देश
र, आज त्यहाँ भएको छ चेतनाको पुनर्जागरण ।

इतिहासमा भएका सारा अत्याचार बिर्सेर
म आएँ तिमीसँगै उभिन
तिमीसँगै गन्तव्यको प्रतिस्पर्धामा हिँड्न
आफ्नै हिस्साको जमिनमा टेकेर
आफ्नो भाग्य बनाउन
तर, तिमी भन्छौ
म तिम्रो हिस्सा खोस्न आएँ
र, मलाई यहाँबाट धकेल्न खोज्छौ
म कहाँ तिम्रो हिस्सा खोस्न आएँ ?

तर, तिमीले धकेल्यौ भने
मैले पनि
मेरो हिस्साबाट
तिमीलाई घचेट्नुपर्ने हुन्छ
सक्दिनँ अब सहन
चड्कनपछि मुठीको प्रहार
तिम्रो अस्त्रको प्रतिरक्षामा
मैले पनि अस्त्र उठाउनुपर्ने हुन्छ ।

आदिम मौनताको भञ्ज्याङ नाघेर
तिमीसँगै उपत्यकामा
म नारिन आइपुगेको
तिम्रो आवाज खोस्नलाई होइन
म आफ्नो ओठबाट खोसिएको
लेकाली हावाजस्तो त्यो समधुर गीत
फिर्ता लिन आएको हुँ ।

मलाई चेत आइसकेको छ महानुभावहरू,
म आफ्नो हृदयमा अनुगुञ्जित
आदिवासी लय
गुनगुनाउन प्रतिबन्धित छैन ।

बजारमा चे

पहिलो खेपको बाली काट्दा
किसान मुस्कुराएझैँ
मानिसहरूका वस्त्रमा
मुस्कुराइरहेछन् कमरेड चे–ग्वेभारा ।

कमरेड चेको तस्बिरमा त्यस्तो के छ
जो यस्तरी बिक्छ ?

फिडेल क्यास्ट्रोलाई थाहा छैन
गोन्जालोलाई पनि थाहा छैन
कमरेड विप्लव र वैद्यलाई पनि थाहा छैन ।

चेको सपनाका हत्याराहरूलाई
राम्ररी थाहा छ ।

हतियार

निर्लज्जताविरूद्ध
नग्नता पनि सशक्त हतियार हो
जसरी पाखण्डविरूद्ध
वेश्यावृत्ति पनि मुनासिब कारोबार हो ।

बादशाहको जस्तै महँगा र शानदार लुगा लगाएका मानिसहरू नै
जब नांगा मानिसभन्दा हुन्छन् करोडौँ गुणा अश्लील
भ्रष्ट संसारविरूद्ध
नग्नता पनि बलियो आधार हो ।

जब अफगानी निर्दोष नागरिक बस्तीमा
मानवीय संहिताविरूद्ध भइरहेको थियो भारी बमवर्षा
नांगिएर प्रदर्शन गर्दै कालो झण्डा
क्रोसियाली एक किशोरीले बेलायती राजकुमारलाई सोधिन्–
नांगी आइमाई र तिम्रो देशमा को बढी नांगो छ राजकुमार ?

अमेरिकी युद्धविरोधी युवायुवतीले
बीच सडकमा प्रदर्शन गर्दै नांगो जुलुस
राष्ट्रपतिलाई सोधे–
नांगोपनको सीमान्त के हो बुस महोदय ?

निर्लज्जहरूलाई नंग्याउन
संसारमा थुप्रै पटक भएका छन् नांगा जुलुस प्रदर्शनहरू
र, नांगिएका छन् धेरै–धरै निर्लज्जहरू
भोका–नांगाहरू जब जुलुसमा उत्रन्छन्
बलात्कृत आइमाईहरू, अकाल पति गुमाएका विधवाहरू
र, हेपिएका, लुटिएका वेश्याहरू
जब विरोधमा उठ्छन्
त्यसैत्यसै तिनले सरकारलाई नंग्याइरहको हुन्छन् ।

न्यायका पण्डितहरू नै जब बन्छन् न्यायका हत्यारा
न्यायबाट वञ्चित मानिसहरूका लागि
नग्नता पनि सशक्त हतियार हो
जसरी अत्याचारविरूद्ध
आत्मदाह पनि विद्रोहको हुंकार हो ।

Leave A Comment