भाइरललाई नहेपौं

आइतबार, ३१ असार २०७५, ०६ : ३३ उपेन्द्र खड्का
भाइरललाई नहेपौं

नामः यादव थपलिया 
उमेरः ३९ वर्ष  
ठेगानाः काभ्रेपलान्चोक  
भर्ना मितिः २०७५ असार १३ 
मृत्यु भएकोः २०७५ असार १५  
ज्यान जानुको कारणः भाइरल इन्फेक्सन  

काठमाडौँ मेडिकल कलेज (केएमसी), सिनामंगलमा रहेको सञ्चारकर्मी यादव थपलियाको विवरण हो यो, जो ज्वरोको उपचारका लागि समयमै अस्पताल पुग्दासमेत बाँच्न सकेनन् । गत आइतबारबाट सुरु भएको ज्वरो बढेपछि उपचारका लागि गत बुधबार अस्पताल भर्ना भएका उनको शुक्रबार दिउँसो मृत्यु भयो ।
उनको मृत्युको कारण के ? प्रस्ट खुलाएको थिएन अस्पताल प्रशासनले । त्यही कारण खोज्न शुक्रवारकर्मी आइतबार दिउँसो अस्पताल पुगेको थियो । करिब डेढ घण्टाको सोधबुझ र फलोअपपछि बल्ल थपलियाको मेडिकल फाइल भएको ठाउँसम्म पुग्न सकियो । 

केएमसी अस्पतालकी एक सहयोगीले शुक्रवारकर्मीसँगै फाइल थपलियाको उपचारमा संलग्न एक चिकित्सककहाँ पु¥याइदिइन् । फाइल पल्टाउँदा ती चिकित्सक दुःखी देखिन्थे । फाइललाई अगाडि राखेर थपलियाको उपचारमा संलग्न ती चिकित्सकले शुक्रवारकर्मीलाई  रोगको प्रकृति तथा ज्यान जानुको कारण खुलगाउने प्रयास गरे । नाम उल्लेख गर्न नचाहने उपचारमा संलग्न ती चिकित्सकले उपचारमा हरप्रयास गरे पनि बचाउन नसकिएकोमा दुःख व्यक्त गरे । 

‘कयौँ मानिस अस्पताल आउँछन् । निको हुन्छन्, जान्छन् तर पूरै मेडिकल टिम खट्दासमेत उहाँलाई (थपलियालाई) बचाउन सकिएन,’ उनले भने ।

उनका अनुसार अस्पतालमा भर्ना भएको दिनदेखि नै आवश्यक इन्भेस्टिगेसन गरिएको थियो । काठमाडौँमा सम्भव भएको सबै प्रक्रिया पूरा गरिएको उनले दाबी गरे । उनका अनुसार इन्फ्लुएन्जाका कारणले ज्यान गएको भए पनि कुन किसिमको इन्फ्लुएन्जा हो अझै खुलेको छैन । उनको दाबीअनुसार उनलाई इन्फ्लुएन्जाको औषधी पनि चलाइएको थियो तर यही प्रकृतिको इन्फ्लुएन्जा हो भन्ने नखुल्दा उपचारको सकारात्मक प्रभाव नपरेको हो ।

सुरुमै इन्फ्लुएन्जाको संकेत देखेर तत्कालै गाह्रो किसिमको सामान्यतः टेकुमा मात्रै पाइने विशेष औषधी पनि चलाइएको चिकित्सक बताउँछन् । राम्रो भनिएको औषधीले पनि काम नगरी रोगले शरीरका प्रणाली एक दिनमै लथालिंग बनाइदियो । अत्यन्तै चाँडो रोग फैलियो । इन्फेक्सन भएर शरीरभरि फैलियो । जसलाई ‘सिभ्युर सेप्सिस् विथ अक्यूड रेपिरेटोरी डिस्ट्रेस सिन्ड्रोम विद मल्टिअर्गन डिस्फङ्सन’ भनिन्छ । 
तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीको भनाइ भने भिन्न छ । उनीहरु थपलियाको ज्यान जानुको कारण इन्फ्लुएन्जा नभएको दाबी गर्छन् । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठले ल्याब टेस्ट गर्दा इन्फ्लुएन्जा नभएको बताए । 

कतिपय चिकित्सकले भने इन्फ्लुन्जा आफैँले ज्यान जाने नभई त्यसले ल्याउने जटिलताका कारणले ज्यान जाने भएकाले इन्फ्लुन्जाले ज्यान गएको हैन भन्नु महाशाखाको चलाखीपन मात्र भएको दाबी गर्छन् । 

समयमै अस्पताल पुग्दा समेत कुन रोग लागेको हो खुट्याउनै नसकी ज्यान जानेमा थपलिया एक प्रतिनिधि पात्र मात्र हुन् । यस्ता धेरै केस छन्, जहाँ समयमै अस्पताल पुग्दा, चिकित्सकले आवश्यक सबै प्रक्रिया पूरा गर्दा समेत बिरामीको ज्यानै जाने गरेको छ ।

के हो इन्फ्लुएन्जा ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका, क्निकल रिसर्च युनिट संयोजक चिकित्सक शेरबहादुर पुनका अनुसार इन्फ्लुएन्जा एक प्रकारको भाइरस हो । छोटकरीमा इन्फ्लुएन्जालाई फ्लु पनि भनिन्छ । 
इन्फ्लुएन्जालाई टाइप ‘ए’,‘बी’,‘सी’ र ‘डी’ गरी चार प्रकारमा वर्णन गरिन्छ । यी सिजनल फ्लु हुन् ।  तीन वटा इन्फ्लुन्जा मानिससँग सम्बन्धित छ भने एउटा जनावरसँग । तीनमध्ये दुई किसिमको इन्फ्लुएन्जा कडा किसिमको हुने डाक्टर पुन बताउँछन् ।

‘डि’ सामान्यतः जनावरसँग सम्बन्धित छ । ‘ए’, ‘बी’, ‘सी’  मानिससँग सम्बन्धित छ । ‘सी’ ले कडारुप लिएको पाइँदैन भने ‘ए’ र ‘बी’ भाइरसले कडा रुप लिन्छ । टाइप ‘ए’ अन्तर्गत स्वाइन फ्लु, वर्ड फ्लु, हङकङ् फ्लुलगायत पर्छन् । जसलाई एच वान एन वान, एच थ्री एन टुजस्ता नामले पनि चिनिन्छ । 

गएको सिजनमा इन्फ्लुएन्जा ‘बी’ का रोगी सरुवा रोग अस्पताल टेकुमा आएको पुन बताउँछन् । गएको सिजनमा कडै रुपमा इन्फ्लुएन्जा ‘बी’ देखिएको थियो । ‘बी’ ले ज्यानै गएको नपाइएको पुनको दाबी छ । स्वाइन फ्लु, हङकङ् फ्लुलगायत ‘ए’ इन्फ्लुन्जाले भने ज्यान जान सक्छ । 

बढ्दो छ बिरामी
चिकित्सक पुनका अनुसार टेकु अस्पतालमा इन्फ्लुएन्जाजस्तो लक्षण लिएर आउने बिरामी दैनिक बढिरहेका छन् । दैनिक करिब ४५ जनाको हाराहारीमा उपचार तथा परामर्शका लागि टेकु अस्पताल पुग्ने गरेको पुन बताउँछन् । इन्फ्लुएन्जाका कारण टेकु अस्पतालमा मृत्यु नै भएको भने आफूले थाहा नपाएको उनले बताए । 

चिकित्सक पुनका अनुसार अमेरिकामा समेत वार्षिक करिब ३६ हजार बढीको भाइरल फ्लुकै कारणले ज्यान जाने गरेको छ । फ्लुले मार्नेभन्दा पनि यसले समस्या ल्याएर निमोनियालगायत मल्टिअर्गान फेलियर भएका कारणले ज्यान जान्छ । भाइरलबाट उत्पन्न हुने जटिलताको उपचार गरिन्छ । शरीरको कुन अंगमा समस्या छ, त्यसैको उपचार गरिन्छ । 

उपाय भ्याक्सिन
चिकित्सकका अनुसार इन्फ्लुएन्जा हुनुपूर्व यसबाट बच्न एक किसिमको भ्याक्सिन दिइन्छ तर भ्याक्सिनले सतप्रतिशत इन्फ्लुएन्जाबाट बच्ने भने हैन । यसले केही मात्रामा भए खतरालाई टार्ने काम गर्छ । भ्याक्सिनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । 
भ्याक्सिनको प्रयोगले किटाणुविरुद्ध लड्ने क्षमता बढाउँछ । भ्याक्सिनले इन्फेक्सन भैहाले पनि कडा हुन दिँदैन । भ्याक्सिन विकसित देशमा सिजन सुरु हुनुपूर्व लगाउन अनुरोध गरिन्छ । 

भ्याक्सिनले करिब ६० प्रतिशतसम्म भाइरलबाट बच्न सकिने पुन बताउँछन् । भ्याक्सिन कम्तिमा दुई हप्ताअगाडि लगाउनुपर्ने चिकित्सक पुन बताउँछन् । नेपालमा सामान्यतः वर्षाको सिजन र जाडो (जाडोको सुरु र अन्त्य) गरी दुई सिजन इन्फ्लुन्जाको सिजन देखिए पनि सरकारले भने यो इन्फ्लुएन्जाको सिजन हो भनेर किटान नगरेको पुन बताउँछन् । 

वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रेष्ठ भने भ्याक्सिन सरकारको नीतिमा नभएको बताउँछन् । भाइरसले बर्सेनि रुप फेर्ने भएकाले भ्याक्सिनको पूर्वतयारी गर्न कठिन हुने उनको तर्क छ । अघिल्लो वर्ष तयार गरको भ्याक्सिनले पछिल्लो वर्षमा आउने इन्फ्लुएन्जामाथि प्रभावकारी असर पार्न नसक्ने भएकाले सरकारको नीतिमा भ्याक्सिन नपरेको श्रेष्ठको तर्क छ । भाइरसले रुप फेर्ने कुरामा भने चिकित्सक पनि सहमत देखिन्छन् । 

चिकित्सकका अनुसार करिब ६ महिनाभन्दा माथिको उमेर समूहमा भ्याक्सिन लगाउन मिल्छ भने गर्भवतीलाई पनि लगाउन मिल्छ । दम, क्यान्सरलगायतका दीर्घरोगीले पनि लगाउन सक्छन् । जो मानिसको रोग प्रतिरोधात्मक क्षमता कम छ, त्यस्ता मानिसले भ्याक्सिन प्रयोग गर्दा भाइरल इन्फ्लुन्जाबाट केही मात्रामा भएपनि बच्न सकिन्छ । 

सामान्यतः वर्षमा एक पटक यस्ता भ्याक्सिन लगाउन सकिने चिकित्सक बताउँछन् ।  नेपालमा सो भ्याक्सिनको सहज उपलब्धता भएको पुन बताउँछन् । सरकारी अस्पतालमा एउटा इन्फ्लुन्जाको भ्याक्सिन लगाउन करिब ११ सय देखि १४ सय रुपैयाँ पर्ने डा. पुन बताउँछन् । 

यस्तो लक्षण देखिए जोगिनु
चिकित्सक पुनका अनुसार सिजनल फ्लुका मुख्य लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, नाक बन्द हुने, घाँटी ख्याप्प बस्ने, आँखाको गेडी दुख्ने, रुघाखोकी लाग्ने, पखाला लाग्ने जस्ता लक्षण देखा पर्छन् । 
भाइरल इन्फ्लुएन्जा हावाको माध्यमबाट सर्छ । संक्रमितले खोक्दा यो भाइरल अरुलाई पनि सर्ने जोखिम हुन्छ ।  शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम छ भने पनि सर्छ । मानिसको धेरै भिडभाडमा बस्नु हुँदैन । मास्क लगाएर हिँड्नु पर्छ । चिकित्सक पुनका अनुसार संक्रमित भन्दा कम्तिमा ६ फिट टाढा बस्नु पर्छ । 

कागती, गेडा–गुडी, पानीलगायत झोलिलो तथा पौष्टिक तङ्खव भएको खानपिन गर्नुपर्ने चिकित्सक बताउँछन् । चिकित्सक पुन सार्वजनिक बसमा समाउँदासमेत राम्रोसँग हात धुनुपर्ने बताउँछन् । सामान्य किसिमको इन्फ्लुएन्जा भयो भने घरमै पनि आराम गर्न सकिन्छ । श्वासप्रश्वासमै समस्या आयो भने चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्ने पुन बताउँछन् । 

इन्फ्लुएन्जाको विशेष औषधी नहुने चिकित्सक बताउँछन् । यसका लागि सामान्यतः ओसेलटामिभिर नामक एन्टिभाइरल औषधी प्रयोग गरिने डाक्टर पुन बताउँछन् । यो औषधीले भाइरस बढ्न नदिने पुनको भनाइ छ । सबै किसिमको इन्फ्लुएन्जाका लागि ओसेलटामिभिर औषधी प्रयोग गरिन्छ ।

सबै किसिमका भाइरलमा एन्टी भाइरल औषधी चलाउनु पर्दैन । आराम गर्नुपर्छ । हात धुनुपर्छ । कडा किसिमको भाइरललाई भने औषधी चलाउनु पर्छ । सबै कडा किसिमको भाइरलको औषधीसमेत नहुने चिकित्सक बताउँछन् । जस्तो निमोनिया देखियो भने देखिएको लक्षणअनुरुप उपचार गरिने पुन बताउँछन् ।
 

Leave A Comment