छवि–शिल्पाको तमासा

सोमबार, ३२ असार २०७५, ०७ : १९ अनिल यादव
छवि–शिल्पाको तमासा

भनिरहनु नपर्ला, नेपाली फिल्म क्षेत्रमा निर्माता छविराज ओझा र फन्डा पर्यायजस्तै छन् । व्यावसायिक मात्रै होइन, उनले आफ्नो व्यक्तिगत जीवनको चर्चालाई पनि फिल्म व्यापारको ‘फन्डा’ बनाउँदै आएका छन् ।  यो क्रम अझै रोकिएको छैन । उनको व्यवहार हेर्दा देखिन्छ, आफ्नो व्यक्तिगत जीवन तमासा नै किन नबनोस् तर चर्चा भने रोकिनुहुँदैन । 

चार दशकअघि हिन्दी फिल्मको वितरण सहयोगीबाट फिल्मी साइनो जोडेका छविले पहिलोपल्ट निर्माण गरेको फिल्म थियो– युगदेखि युगसम्म । यही फिल्मबाट अभिनयमा पाइला चालेका राजेश हमालको आज फिल्म क्षेत्रमा बौद्धिक अभिनेताको छवि स्थापित भयो तर उनैलाई डेब्यू गराउने छविको छवि भने धमिलो पानीजस्तै छ– प्रश्नैप्रश्नले घेरिएको । 

तेस्रो घरबार बिग्रिसक्दा पनि उनको व्यक्तिगत जीवन छताछुल्लै हुन्छ मिडियामा । अझ उनको ब्यानर छविराज प्रोडक्सनको फिल्म रिलिज हुने मिति नजिकिनुपर्छ प्रेम, विवाहको तमासा छाइहाल्छ मिडियामा ।

नायिका रेखा थापासँगको डिभोर्सपछि शिल्पा पोखरेलसँगको प्रेम र विवाह प्रसंग यसरी नै २ वर्षदेखि मिडियामा छाइरहेको छ । आजै बिहे गर्ने, भोलि नै जन्ती हिँडिहाल्ने जस्ता समाचार आइरहन्छन् मिडियामा । यसमा छवि मात्रै हैन, शिल्पासमेत उत्तिकै सक्रिय हुन्छिन् ।

यी दुवैबीच विवाह भइसकेको अपुष्ट खबर बारम्बार सार्वजनिक नभएका हैनन् तर दुवैले आफूहरु प्रेममा रहेको स्वीकार गरे पनि विवाह भएको भने कहिल्यै स्वीकार गरेनन् । विवाह गर्ने मिति सार्वजनिक गरिरहे अनि त्यही प्रश्नसँग उनीहरु नै तर्किरहे ।

यसै हप्ता छविकी तेस्री पत्नी रेखाले एक स्मारिकामार्फत छवि र शिल्पाबीच दुई वर्ष अगाडि नै विवाह भइसकेको भनाइ सार्वजनिक गरेपछि  ६० कटेका छवि र ३० टेक्दै गरेकी शिल्पाबीच विवाह भइसकेको हो त भन्ने चर्चा सुरु भयो ।
रेखाले आवेगमा आएर यस्तो लेखेकी हुन् या साँच्चिकै यी दुवैबीच दुई वर्ष अगाडि नै विवाह भएर पनि घटना लुकाएर बेलाबेलामा त्यही घटनालाई मिडियामा स्टन्ट मच्चाइरहेका हुन् ?

शुक्रवारकर्मीले करिब एक साता यही प्रश्नको उत्तर खोज्दै यी दुवैका परिचित, निकट र विश्वासीहरुसम्म पुग्दा खुल्यो, रेखाको दाबी सत्य रहेछ । यी दुवैले दुई वर्षअघि सुटुक्क विवाह गरिसकेका रहेछन् । खोजीका क्रममा शिल्पा र छविबीच विवाह हुँदाको दृश्य मण्डपअगाडि उभिएर हेर्ने प्रत्यक्षदर्शीसमेत भेटिए ।

विश्वस्त स्रोतका अनुसार यी दुवैको विवाहका साक्षीमध्ये थिए फिल्म निर्देशक सम्झना रौनियार र फोटो पत्रकार (सम्झनाका श्रीमान्) विकास रौनियार । शिल्पाले विकासलाई दाइ सम्बोधन गर्छिन् । विकासले सोही हैसियतमा शिल्पाको हात छविको हातमा राख्दै कन्यादान गरिदिएका थिए ।  विकास र सम्झनासँग शिल्पाको कन्यादानको तस्बिरसमेत छ । रेखाले समेत सो तस्बिर हेरिसकेकी छन् । 

‘मैले सम्झना दिदी (उप्रेती रौनियार, निर्देशक)को मोबाइलमा दुईजनाको कन्यादानको फोटो हेरेर थाहा पाएकी हुँ । छविले पनि मलाई भनेकै हो,’ छवि र शिल्पाको विवाह भइसकेको दाबीको आधार के हो भनी यस पंक्तिकारले सोध्दा रेखाले शुक्रवारसँग निर्धक्क भनिन् ।

रेखाको खुलासाको पुष्टिका लागि छवि र शिल्पासँग यसबारेमा जानकारी लिनु महत्वपूर्ण थियो । उनीहरुसँग पटक–पटक सम्पर्क गर्ने प्रयास मंगलबार दिनभर जारी रह्यो । छविसँग सहजै सम्पर्क हुने दुई वटा मोबाइल नम्बरले ‘अफ’ भनिरहेको थियो । दिनभर रिङ गए पनि शिल्पाबाट कुनै उत्तर आएन ।

मंगलबार बेलुका शिल्पालाई ‘म अनिल यादव, तपाईंसँग कुरा गर्न चाहन्छु’ भनेर म्यासेज पठाएपछि त्यसको करिब १५ मिनेटपछि कतै मोबाइल उठिहाल्छ कि भनेर फोन गर्दा उठ्यो ।

शिल्पाको स्वर मलिनो थियो । उनले तीन दिनदेखि सञ्चो नभएर आराम गरिरहेको बताइन् ।

शुक्रवारकर्मीले उनीसँग विवाहबारे जिज्ञासा राख्यो ।

‘दुई वर्षअगाडि नै विवाह भइसकेको रहेछ किन लुकाउनु भएको ?’

उनले बिहे गरेको स्वीकार गरिनन् । 

‘यो विषयमा मलाईभन्दा बढी रेखा दिदीलाई थाहा रै’छ । उहाँलाई नै सोध्नु होला,’ शिल्पाले भनिन् । करिब चार मिनेटको कुराकानीमा उनलाई विवाह गरेको तस्बिर देख्ने व्यक्ति नै रहेको बताउँदा पनि स्वीकार गरिनन् ।

शिल्पासँगको कुराकानीपछि कतै निर्माता छविको मोबाइलको स्विच अन भयो कि भनेर फोन डायल गर्दा उस्तै सन्देश आयो– ‘स्विच अफ ।’

छवि–शिल्पाको विवाहबारे जानकार स्रोतलाई मंगलबार नै सम्पर्क गर्दा उनले ‘अब लुकाउनुको अर्थ नहुने सल्लाह दिन्छु’ भनेका थिए । शंका लाग्यो, कतै उनले यही सन्देश दिएकाले निर्माता छविको मोबाइल अफ भएको त हैन ?

हेमादेखि शिल्पासम्म
छविको वैवाहिक यात्रा नायिका रेखा थापासँगको सम्बन्धपछि सार्वजनिक भएको हो तर रेखा उनको तेस्री श्रीमती थिइन् । पहिलो विवाह सामान्य रुपमै भएको थियो ३४ वर्षअघि हेमा ओझासँग । आठ वर्षपछि सो सम्बन्ध टुट्यो । त्यसपछि उनको वैवाहिक यात्रा सुरु भयो नायिकाहरुसँग । 

फिल्म ‘नाता’मा काम गर्ने क्रममा भेट भएकी गीताञ्जली सुनुवारसँग उनले दोस्रो बिहे गरे । डिप्रेसनका कारण गीताञ्जलीले आत्महत्या गरिन् । हेमाका तर्फबाट दुई छोरा र गीताञ्जलीका तर्फबाट एक छोरा छन् । 

गीताञ्जलीपछि छविले रेखासँग तेस्रो बिहे गरे । रेखालाई उनैले फिल्म ‘हिरो’बाट अभिनयमा ब्रेक दिएका थिए । उनी त्यो फिल्ममा प्रमुख भूमिकामा थिइनन् । त्यसपछि छविले आफ्नो प्रोडक्सनबाट बनाउने फिल्महरुमा रेखालाई अनुबन्ध गर्न छुटाएनन् । रेखा उनको फिल्ममा मात्रै हैन, जीवनमै अनुबन्ध भइन्– १६ वर्षको उमेरमा ।

‘छविसँग विवाह गर्दा मेरो उमेर १६ मात्र थियो, परिपक्व थिइनँ,’ बाल विवाह गरेकी रेखाले पुराना दिन सम्झँदै भनिन्, ‘अभिभावक पनि पाउने भएपछि विवाह गरेँ ।’

१२ वर्ष रेखा–छविबीच श्रीमान्–श्रीमतीको सम्बन्ध कायम रह्यो । तर ६ वर्ष अगाडि नै  रेखा–छविको सम्बन्ध औपचारिकता मात्र बनिसकेको थियो । उनी छविसँग अलग्ग बस्न थालिसकेकी थिइन् । कानुनी रुपमा भने उनी २०७३ असारमा मात्रै छविसँग अलग भइन्, जुनबेला छविको जीवनमा शिल्पाको प्रवेश भइसकेको थियो । विश्वस्त स्रोतका अनुसार रेखासँग डिभोर्स भएको एक महिनापछि नै निर्माता छविले नायिका शिल्पासँग विवाह गरिसकेका थिए । 

‘कलिलो उमेरमा विवाह भयो,’ रेखाले डिभोर्सबारे खुलाइन्, ‘जब परिपक्व भएँ, विचार मिल्न छाड्यो र अलग भएँ ।’

फिल्म चलाउने अस्त्र  
फिल्मकर्मी मात्रै होइन, अब दर्शकले पनि छविको फिल्म चलाउने बलियो अस्त्र प्रेम र विवाहसम्बन्धी गसिप रहेको चाल पाइसके । उनको जुन फिल्म रिलिज हुन लागेको हुन्छ, उनको नाम त्यो फिल्मको हिरोइनसँग जोडिएकै हुन्छ । व्यक्तिगत रुपमा आफूसँग नजिक नहुने हिरोइनलाई उनी लगातार आफ्नो फिल्म खेलाउँदैनन् पनि । जो निरन्तर जोडिइन्छन्, ती नायिकासँग निर्माता छविको प्रेम सम्बन्ध अनि विवाहको प्रसंग पनि जोडिइहाल्छ । पटक–पटक दोहोरिइरहेको यो परिघटना संयोग मात्र हुन सक्दैन ।

रेखा–छविको औपचारिक सम्बन्ध कायमै रहँदा फिल्म रिलिजको पूर्वसन्ध्यामा यी दुवैको व्यक्तिगत जीवन गसिपको खुराक बन्थ्यो । जसको सूत्रधार उनै छवि हुन्थे । 

रेखासँग सम्बन्धमा रहुञ्जेल उनी निरन्तर छविकी हिरोइन भइन् । रेखाकै बलमा उनका थुप्रै फिल्म चले पनि । जब दुवैबीच डिभोर्स भयो छवि–रेखाको दोहोरो फिल्मी यात्रा पनि सकियो ।

रेखासँग सम्बन्ध टुटेपछि छविले ‘लोफर’ फिल्मबाट रजनी केसीलाई नयाँ हिरोइनका रुपमा फिल्म इन्डस्ट्रीमा भित्र्याए । रजनीसँग उनको नाम जोडियो नै । यसले रजनीको घरमा समस्या आयो र रजनीले छविको फिल्म दोर्याएर खेलिनन् ।

छविले रजनीपछि फिल्म ‘लज्जा’बाट नयाँ हिरोइनलाई डेब्यू गराए– शिल्पा पोखरेल । ‘लज्जा’पछि उनका लगातार तीन फिल्म ‘हवल्दार सुन्तली’, ‘किस्मत–२’ र  ‘मंगलम्’ मा पनि शिल्पालाई नै हिरोइन बनाए । रेखाको स्थानमा शिल्पाको प्रवेश फिल्ममा मात्रै हैन, छविको व्यक्तिगत जीवनमा पनि भयो । 

यी चारवटै फिल्मको रिलिजअघि छवि–शिल्पाको प्रेम र विवाहबारे चर्चा चलिरहे । शिल्पासँग विवाह गर्न राजी रहेको छविका भनाइहरु सार्वजनिक भइरहे । अरुले छाडेको व्यक्तिको हात समात्दा फरक के पर्ला र भन्ने शिल्पाका भनाइ पनि सँगसँगै आए तर जब विवाहबारे दुवैसँग प्रश्न तेर्साइन्थ्यो दुवैले भन्थे, ‘बिहे गर्ने हो तर अहिले हैन ।’ तर वास्तवमा दुवैबीच पहिल्यै विवाह भइसकेको थियो । 

धेरैलाई थाहा नहुनसक्छ शिल्पाको जीवनमा प्रवेश गर्ने पहिलो पुरुष छवि मात्र हैनन् । नेपाली फिल्मी क्षेत्रमा नायिकाको रुपमा उनी उदाउनुअगाडि नै उनको विवाह भइसकेको थियो । विवाह गरेको केही समयमै खटपट सुरु भयो । शिल्पाको पहिलो विवाहबारे जानकार स्रोतका अनुसार नेपाली फिल्मी क्षेत्रकै व्यक्तिसँग उनको विवाह भएको थियो । उनी शिल्पालाई फिल्मी क्षेत्रमा जानबाट रोक्न चाहन्थे । 

यही विवाद बढ्दै गएपछि दुवै छुट्टिए । उनका पूर्व पति अहिले शिल्पाबारे बोल्न रुचाउँदैनन् । उनी निकट स्रोतमार्फत शिल्पाबारे जान्न खोज्दा उनले स्रोतलाई भने, ‘उसको जीवन नयाँ ढंगले सुरु भएको छ, मेरो आफ्नै तरिकाले अगाडि बढेको छ, पुराना कुरा सार्वजनिक गरेर के हुन्छ र !’ 

किन लुकाइरहेछन् बिहे ? 
दुवैले रियल लाइफमा जग्गे घुमेको तस्बिर फिल्मवृत्तका धेरैले हेरिसकेका छन् । यी दुवै यसबारे जानकार नै छन् । तापनि जब विवाहबारे प्रश्न सोधिन्छ, सम्बन्धमा रहेको तर बिहे नगरेको अड्डी नै कसिरहेका हुन्छन् । आखिर किन उनीहरू बिहेको नयाँ–नयाँ मिति सार्छन् र अनेक बहाना बनाउँछन् दुवै ? निकटस्थ फिल्मकर्मीहरु पनि यी दुवैको यस किसिमको व्यवहारबाट चकित छन् ।

‘बिहे पनि नाटकजस्तो भइदियो छवि दाइलाई,’ नाम नलेखिदिने शर्तमा छवि निकट एक फिल्मकर्मीले भने, ‘सायद अर्को फिल्म चलाउनका लागि नभनेका होलान् ! अर्को फिल्मको रिलिजपछि चाहिँ भन्लान् कि ! ’

त्यसो त एकवर्षअघि ‘मंगलम्’ फिल्म रिलिजताका युट्युब च्यानल रमाइलोछलाई अन्तरवार्ता दिने क्रममा छवि–शिल्पाले आफूहरु बिहेको तयारीमा रहेको स्वीकारेका थिए । 

शिल्पाको घरमा आफू माग्न गएकोसम्म छविले सुनाएका थिए । अझै साइत जुरिसकेको छैन, गुरुले साइत जुराएपछि बिहे हुन्छ भन्ने उनको तर्क थियो ।

लिभिङ टुगेदरमा हुनुहुन्छ रे भन्ने प्रश्नमा पनि शिल्पाले ‘अहिले होइन, बिहेपछि मात्र सँगै बस्छौं’ भनेकी थिइन् । 
२०७४ साउन २८ मा अनलाइनखबरको युट्युब च्यानलमा राखिएको शिल्पाको अन्तर्वार्तामा उनले ‘छविसँग यसैवर्ष विवाह गर्ने’ बताएकी थिइन् । यी दुवैको सम्बन्धबारे जति स्रोत भेटिए, सबैले स्वीकार गरे– ‘दुवैले विवाह गरिसकेका छन् ।’

शिल्पाले तोकेको विवाहको समय आउन एक महिना बाँकी छ । कतै यस बीचमा उनले पुरानो तस्बिर सार्वजनिक गरेर विवाह भइसकेको स्वीकार पो गर्छिन् कि ?

०००

अरुको लोग्नेसँग मेरो नाम नदाँज्दिनुस्’
रेखा थापा
अभिनेत्री

छविले शिल्पासँग बिहे गरेको दुई वर्ष भयो भनेर खुलासा गर्नुभएछ नि !
बिहे गरेकै हो, यो कसरी नयाँ कुरा भयो र !

बिहे भोजमा पनि जानुभएको थियो ?
थिइनँ, निम्तो थिएन । 

अनि कसरी थाहा पाउनु भयो त ?
मैले सम्झना दिदी (सम्झना उप्रेती रौनियार, निर्देशक)को मोबाइलमा दुईजनाको कन्यादानको फोटो हेरेर थाहा पाएको हो । छविले पनि भनेकै हो । 

त्यसो भए किन लुकाइरहेका छन् उनीहरु यो सम्बन्ध ?
त्यो त उनीहरुलाई नै सोध्नुस् । मलाई यो विषयमा कुरा गर्न मन नै छैन । मेरो स्मारिकामा पनि उनीहरुको पोल खोल्ने नियत होइन । मिडियाको प्रवृत्तिमाथि लेखिरहँदा मलाई सधैँ घोच्ने विषय मात्रै उठाएको हो । अरुसँग बिहे गरिसक्दा पनि मेरो नाम छविसँग जोडेर आउँदा साँच्चै मन दुख्छ, त्यसैले त्यो कुरा निस्केको हो । अरु केही नियत थिएन । र, मिडियासँग अनुरोध गर्छु, प्लिज आज उप्रान्त अरुको लोग्नेसँग मेरो नाम नदाँज्दिनुस् । यो त छोरी मान्छेमाथिको हिंसा हो । 

०००

‘प्रुफ छ भने सार्वजनिक गरिदिनुस्’
शिल्पा पोखरेल
अभिनेत्री 

छविराज ओझाकी पूर्व पत्नी रेखा थापाले एक अनलाइनको स्मारिकामा तपाईंले दुई वर्षअघि नै छविसँग बिहे गरेको पोल खोल्दिनुभएछ । के भन्नुहुन्छ तपाई ? 
यो विषयमा मलाई भन्दा बढी रेखा दिदीलाई थाहा रै’छ । उहाँलाई नै सोध्नु होला । 

उहाँले त खोलिसक्नुभयो । अब तपाईकै मुखबाट जवाफ सुन्न खोजेको  ? 
हो रै’छ भने टाइम आएपछि बताउँला ।  

भनेपछि बिहे भएको हो ? 
(हाँस्दै) छैन ।  

हाँस्नु भयो त । झुट बोल्न गाह्रो भएर हो ?  
रेखा दिदीलाई नै सोध्नु न । मैले उहाँसँग कुरा गर्न बाँकी नै छ । म उहाँसँग कुरा गर्छु । भोलि मेरो बिहे भा’को होइन रहेछ भने मलाई अर्को केटा पाउन गाह्रो हुँदैन ? 

पक्कै पनि रेखाजीले हचुवाको तालमा बोल्नुभएको होइन होला ?   
हामी दुवैको घर टाढा छ । कसरी सँगै बस्छौँ भन्नु ? 

तपाईंको पनि गौरीघाट (छविराजको घर) नै हो भन्ने हल्ला छ ?
होइन । बरु रेखा दिदीको अपार्टमेन्ट धेरैपल्ट गा’को छु ।  

छविराजसँग तपाईंको पारिवारिक व्यवहार छ त, होइन र ? 
त्यो त उहाँले जति जना कलाकार भित्र्याउनुहुन्छ, सबैसँग त्यस्तै गर्नुहुन्छ । 

अनि दुई वर्षअघि काठमाडौंको एउटा पार्टी प्यालेसमा छवि दुलहा, तपाईं दुलही बनेर बिहे गर्नुभएको थियो । त्यो कुनै फिल्मको सुटिङ थियो कि ? थियो भने कहिले रिलिज हुन्छ ? 
प्रुफ छ भने प्लिज छापिदिनुस् । उता रेखा दिदीले पनि बिहे भएको दाबी गर्नुभएछ । उहाँलाई पनि प्रुफ छ भने सार्वजनिक गरिदिनुस् नत्र अर्काको कुरामा नबोल्नुस् भनेर मैले भनेको छु भनेर सुनाइदिनुस् । अरुले त हचुवाको भरमा धेरै कुरा भन्न सक्छन्, पत्याइहाल्नुभएन । 

तपाईंहरुको बिहे त फिल्म इन्डस्ट्रीका लागि ओपन सिक्रेटजस्तै छ नि ? 
धेरैजनाले धेरै कुरा भन्नुहुन्छ । स्वीकार्नु पर्छ भन्ने छैन । यदि बिहे गरेको हो भने हामी आफै बोल्छौं । हामी आफैँले मुखले नभनी अरुले बोल्न मिल्दैन । रेखाजीले स्मारिकामा लेखेको विषयमा छविसँग मैले कुरा गरेको थिएँ । उहाँले ‘रेखा मसँग १२–१२ वर्ष सँगै बसेको छु । अब ५ वर्षअघि रेखाले बिहे ग¥यो भनेर मैले लेख्न मिल्छ ?’ भनेर भन्नुभयो । 
 

Leave A Comment