‘पढाइ विद्यार्थीको करिअर डेस्टिनेसन मिट गर्ने हुनुपर्छ’

बुधबार, ०२ साउन २०७५, ०५ : ११ शुक्रवार
‘पढाइ विद्यार्थीको करिअर डेस्टिनेसन मिट गर्ने हुनुपर्छ’

दुई दशकअघि स्थापना भएको पिनाकल कलेज ललितपुर शिक्षा क्षेत्रमा स्थापित नाम हो । शैक्षिक क्षेत्रमा लामो अनुभव सँगालेको समूहद्वारा सञ्चालन गरिएको कलेजले समयसामेक्ष रुपमा विभिन्न विषयमा कक्षा सञ्चालन गर्दै आएको छ । सो कलेजले यो वर्षदेखि कानुन विषयमा पनि कक्षा सुरु गरेको छ । केमेष्ट्रीमा एमएस्सी, लिडरसीप एजुकेसनमा एमफिल गरेर विद्यावारिधि गर्ने तयारीमा रहेका पिनाकल कलेजका संस्थापक प्रिन्सिपल ऋषि तिवारीसँग शैक्षिक क्षेत्रको बारेमा शुक्रवारका लागि गरिएको कुराकानी 

यहाँको कलेजमा कुन तह र विषयमा अध्यापन हुन्छ ? 
प्लस टुमा विज्ञान, व्यवस्थापन र मानविकी संकाय छन् । त्यसअन्तर्गत विज्ञानमा कम्प्युटर साइन्स, बायलोजी, व्यवस्थापनमा बजारको मागअनुसार कम्प्युटर, बिजनेस र होटल मेनेजमेन्ट, मानविकीमा समाजशास्त्र, जर्नालिजम, मेजर इङ्लिस छन् । यो वर्षदेखि कानुन विषय थप गरेका छौँ । त्यसमा जनरल ल छ । लको कलेज थोरै मात्र छन् । पछिल्लो समय कानुनको बढ्दो मागलाई ध्यान दिएर नयाँ विषयमा सुरु गरेका हौं । स्नातक तहमा बीबीएस, बीएस्सीमा माइक्रो बायोलोजी, प्राविधिक क्षेत्र सिटिइभिटीको डिप्लोमा फार्मेसी, इन्जिनियरिङ, पारा मेडिकलका कक्षा पनि छन् ।

पिनाकलको विशेषता के हो ?
व्यवस्थापकीय पक्ष, रिजल्ट, शिक्षण सिकाइ, आवश्यक पूर्वाधार राम्रो छ । कलेजको राम्रो पक्ष भनेको विशुद्ध शिक्षा क्षेत्रमा लाग्ने र लामो समय यही क्षेत्रका अनुभव हासिल गरेका शैक्षिक समूहले सञ्चालन गरेको छ । शिक्षामा धेरै व्यापार गर्ने दृष्टिकोणले आएका छन् । शैक्षिक संस्था सञ्चालन गर्दा बीचमा छाडेर विद्यार्थीलाई अलपत्र पार्ने समस्या पनि छ  । अन्य क्षेत्रका व्यक्ति हुँदा घाटा भए बीचमै छाड्ने जोखिम हुन्छ । यहाँ प्रोफेसननै शिक्षा भएका व्यक्ति भएकाले त्यस्तो समस्या आउँदैनन् । 

यो व्यवस्थापकीय पक्ष भयो । सिकाइ उपलब्धि कस्तो छ ?
अहिलेको पढाइ विद्यार्थीको करिअर डेस्टिनेसन मिट गर्ने हुनुपर्छ । म डाक्टर बन्छु भन्ने विद्यार्थीले साइन्स, मेनेजर बन्नेले मेनेजमेन्ट पढेको छ भने त्यसका लागि के अतिरिक्त शिक्षा आवश्यक छ भन्ने विषयमै फोकस गछौँ । पाठ्यक्रममा भएका विषयले मात्र नसमेट्ने भएकाले अतिरिक्त ज्ञानको आवश्यक पर्छ । मार्कसिटमा धेरै प्रतिशत आएर मात्र डाक्टर, इन्जिनियर बन्न चाहने विद्यार्थीलाई पुग्दैन । ती विषय अध्ययन गर्नका लागि इन्ट्रान्सको पूर्व तयारी स्वरूपका कक्षा पनि समय तालिकाअनुसार राखेर प्स टू पछि विद्यार्थी जान चाहेको क्षेत्रलाई फोकस गरेर अध्यापन गराउँछौँ । आवश्यकताको विश्लेषण गरेर समयसापेक्ष अहिलेको बजार प्रतिस्पर्धी बजारमा शैक्षिक प्रमाण पत्रले मात्र नपुग्ने भएकाले अब्बल बन्न लिडरसीप, एट्टीच्युड, पर्ननालिटी, मोटिभेसन, आइटी नलेजको विकासमा पनि ध्यान दिन्छौँ । बजारमा गएर अन्तर्वार्ता, लिखित परीक्षा फेस गर्न विद्यार्थीमा प्रतिस्पर्धी क्षमताको विकास गरी बजारमा प्रतिस्पर्धा गर्न अब्बल बन्छन् । 

अहिलेको शिक्षाले बेरोजगारी उत्पादन गर्याे भन्ने आरोप छ नि ?
यसमा हाम्रो दोष होइन । पाठ्यक्रमको दोष हो । सरकारले जस्तो पाठ्यक्रम दियो त्यस्तै पढाउने हो । त्यसमा हामीले अतिरिक्त दिन सकेका छौं । उदाहरणका लागि मेनेजमेन्ट पढ्नेको उद्देस्य राम्रो बैंकर, मेनेजर, चार्टर एकाउन्टेन्ट, व्यवसायीमध्ये कुनै एक बनौं भन्ने हुन्छ । त्यसका लागि आवश्यक सीप, ज्ञान दिएका छौं । पाठ्यक्रमका अतिरिक्त ती विषयसँग सम्बन्धित ज्ञानसीप दिएर क्षमता विकास गर्छौं । 

यहाँको कलेजमा विद्यार्थी किन आउने । अन्य कलेजमा भन्दा के फरक छ ?
पहिलो कुरा विद्यार्थी र अभिभावकले केलाई आधार बनाएर कलेज छान्न उपयुक्त हुन्छ ? भन्ने विषयमा ध्यान दिनुपर्छ । शिक्षाको मूल्य, मान्यता बुझेको शैक्षिक टिम छ कि छैन ? त्यस्तो समूह हामीसँग छ । कलेजले विगतमा कस्तो नतिजा ल्याएको छ भनेर हेर्नुपर्छ । यहाँका विद्यार्थीले अहिलेसम्म चार, पाँचपटक बोर्ड फस्ट गरेका छन् । विद्यार्थीले जहिले पनि कलेजको व्यवस्थापकीय पक्ष, रिजल्ट, शिक्षण सिकाइको वातावरणलाई हेर्नुपर्छ । ती विषयमा हामी अब्बल छौँ । शैक्षिक वातावरणले पनि उत्तिकै भूमिका खेल्छ । शिक्षण सामग्री, लाइब्रेरी, ल्याब अत्याधुनिक हुनु आवश्यक छ । यी मापदण्डमा आधुनिक शिक्षा दिन सक्षम छौं । समाजको कलेजप्रति हेर्ने दृष्टिकोण सकारात्मक छ । विद्यार्थीको आर्थिक हैसियतअनुसार फी निर्धारण गरिएको छ ।

यहाँको उत्पादनले कस्तो परिणाम दिएको छ ?
अब्बल रिजल्ट त छँदैछ । विभिन्न क्षेत्रमा छात्रवृत्ति पाएका छन् । यहाँको उत्पादन समाजका विभिन्न तहमा जस्तै डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर भएर सफल रुपमा स्थापित भैसकेका छन् । विदेश अध्ययन गर्न जानेले पनि सफलता पाएका छन् । 

शैक्षिक क्षेत्रमा के समस्या छ ?
नीति निर्माणमा समस्या छ । परीक्षा प्रणाली । अहिलेको एसइईको रिजल्ट हेरौं त । आज एउटा नतिजा आउँछ भोलि अर्को । सफ्टवेयर बिग्रियो रे । राज्यले त्यस्तो भन्न मिल्छ ? यो क्षेत्रमा अस्थिरता छ । ग्रेडिङ सिस्टममा खोट छ । भर्खर पाठ्यक्रम परिवर्तनको कुरा आयो । समृद्धि नेपालको कल्पना गरिएको छ । त्यसको एउटा इन्डिकेटर शिक्षा हो । यही शैक्षिक सत्रमा पाठ्यक्रम परिवर्तन गरेर अनिवार्य विषय राख्ने हल्ला चल्यो । विरोध जनायौं । बहसपछि अहिले स्थगित भएको छ । यसले के प्रमाणित हुन्छ भने नेपालको शैक्षिक नीति दाताको गाइडलाइनअनुसार बन्छ । राष्ट्रिय आवश्यकतामा आधारित हुनुप¥यो । अन्तर्राष्ट्रिय नम्र्स पूरा गरेको हुनुपर्छ । यी यावत् विषय छन् । रोजगारमुखी शिक्षा दिनुपर्छ । ११,१२ लाई विद्यालय शिक्षा भनेको छ । यो विश्वविद्यालयको प्रस्थान बिन्दु पनि हो । विश्वविद्यालय जाने विद्यार्थीले रोजेको विषय पढ्न पाउनुपर्छ । त्यसमा ध्यान दिएको पाइँदैन । शिक्षा व्यवस्थापन, मूल्यांकन प्रणाली पनि फेर्नुपर्छ । 

निजी क्षेत्रका कलेजप्रति हेर्ने दृष्टिकोण सकारात्मक देखिँदैन नि किन ? 
यो एक प्रकारको विभेद हो । सरकारी कलेजको अवस्था हामी सबैले देखेकै छौँ । निजीको रिजल्ट हेर्न सक्नुहुन्छ । सरकारको मापदण्डअनुसार कानुनी रुपमै निजी क्षेत्रले सञ्चालन गरेका छन् । मैले अर्कोलाई किन बिरोध गर्ने ? मैले राम्रो गरेँ भने विद्यार्थी स्वाभाविक रुपमा आकर्षित हुन्छन् ।  राज्यले संरक्षण गर्नुपर्छ । हामीले छात्रवृत्ति पनि दिएका छौं । विभेदकारी नीति छ । 

भावी योजना ?
प्राविधिक विषयमा जाने हाम्रो लक्ष्य छ । उच्च शिक्षामा जब मार्केटले खोजेको बीबीएम पनि आउँदैछ । होटल मेनेजमेन्टका कक्षा थप्दैछौँ ।  
 

Leave A Comment