फेसबुकमा लाइभ

आइतबार, ०९ साउन २०७३, ११ : ३२ शुक्रवार , Kathmandu
फेसबुकमा लाइभ

लामो समयको परीक्षणपछि फेसबुकले लाइभ भिडियो ब्रोडकास्टिङ सुरु गरेको छ । अब फेसबुक प्रयोगकर्ताले आफ्नो अकाउन्ट वा पेजबाट भिडियो लाइभ गर्न सक्नेछन् । फेसबुकले सेडुअल वा इभेन्टमा भिडियो लाइभ गर्न सक्ने जनाएको छ । सेडुअल लाइभमा सवाल जवाफ पनि गर्न मिल्छ । भिडियोमा हालै लन्च गरिएको इमोजी पनि देखाउन मिल्छ । साथै, कमेन्टको रिप्ले पनि हेर्न मिल्ने फेसबुकले जनाएको छ ।
फेसबुकका प्रोडक्ट म्यानेजमेन्टका निर्देशक फिजी सिमोले लाइभ भिडियोमा दस गुणा बढी प्रयोगकर्ताले एकै पटक कमेन्ट गर्न सक्ने बताएका छन् । धेरै मानिसको चाहनाअनुसार फेसबुक लाइभको परीक्षण गरिएको फेसबुकले जनाएको छ । जसमा फेसबुकले सफलता पनि हात पा¥यो ।
फेसबुकले लाइभ भिडियो सबै प्रयोगकर्तामाझ ल्याउनुअघि परीक्षण गरेको थियो । जसमा उसले केही सेलिब्रेटीलाई यो सुविधा प्रदान गरेको थियो । परीक्षण गरेको एक वर्षपछि फेसबुकले यो सुविधा सबैका लागि खुल्ला गरेको हो ।
मानिसहरू नयाँनयाँ स्थानको भिडियो हेर्न रुचाउँछन् । तसर्थ, फेसबुक प्रयोगकर्ताले आफ्ना फ्यान फलोअरलाई ती स्थानबाट लाइभ स्ट्रिमिङ गर्न सकिने फेसबुकले आफ्नो ब्लगमा उल्लेख गरेको छ । यसले नयाँ फ्यान फलोअर पनि बढाउने फेसबुकको विश्वास छ ।
लाइभ भिडियो नोटिफिकेसनमार्फत फ्यान फलोअरकहाँ पुग्ने फेसबुकले जनाएको छ । लाइभ स्ट्रिमिङ सुरु हुनेबित्तिकै सबै फलोअरकहाँ नोटिफिकेसन पुग्ने फेसबुकको दाबी छ ।  
फेसबुकले हाललाई ६० मुलुकमा फेसबुक लाइभ सेवा उपलब्ध गराएको छ । ती देशका फेसबुक प्रयोगकर्ताले आईओएस र एन्ड्रोइड अपरेटिङ सिस्टमका स्मार्टफोनबाट फेसबुक लाइभ गर्न सक्नेछन् । नेपालमा भने फेसबुक पेजहरूलाई मात्र यो सुविधा प्रदान गरिएको छ । व्यक्तिगत प्रोफाइलबाट यो सुविधा हासिल गर्न सकिँदैन । व्यापार÷व्यवसाय वा कुनै पनि प्रायोजनका निम्ति खोलिएका पेजबाट फेसबुक लाइभ गर्न मिल्छ । नेपालमा केही सेलिब्रेटी र केही मिडियाले फेसबुक लाइभ गर्ने गरेका छन् । हालै रेखा थापाले आफ्नो पेजबाट फेसबुक लाइभ गरेकी थिइन् । उनले धुर्मुस–सुन्तली एकीकृत बस्तीबाट लाइभ गरेकी थिइन् ।
यसरी गर्नुस् लाइभ
लाइभ गर्न स्ट्याटस लेख्ने ठाउँमा क्लिक गर्नुपर्छ । त्यसपछि तपाईंले चारवटा अप्सन देख्न सक्नु हुन्छ । पहिलो अप्सनमा फोटो÷भिडियो पोस्ट गर्ने देख्नुहुन्छ । दोस्रो अप्सनमा रातो अक्षरको गो लाइभ, तेस्रो अप्सनमा चेक इन र चौथो अप्सनमा फिलिङ÷एक्टिभिटी देख्न सक्नुहुन्छ । तपाईंले दोस्रो अप्सनको गो लाइभ बटन थिच्नुपर्छ । त्यसपछि लाइभबारे थोरै विवरण खुलाउनुपर्ने हुन्छ । त्यसपछि तपाईंले भिडियो लाइभ गर्न सक्नुहुन्छ ।
लाइभमार्फत स्टोरी बताउनुस्
फेसबुकले सबैकहाँ आफूले चाहेको स्टोरी पु¥याउन सजिलो माध्यम फेसबुक लाइभ भएको उल्लेख गरेको छ । यसले मिडियालाई पनि सहज बनाएको विज्ञहरूले बताएका छन् । यसको प्रयोग बीबीसी, सीएनएनलगायत ठूला मिडियाले प्रचलनमा पनि ल्याइसकेका छन् । कुनै विषयमा ताजा बहस गर्न ती मिडिया फेसबुकबाटै लाइभ स्ट्रिमिङ गर्न सुरु गरिसकेका छन् । अप्रत्याशित हुने घटना भएकै स्थानबाट तुरुन्तै फेसबुक लाइभ गर्न मिल्ने भएकाले यसको प्रभावकारिता बढ्दै गएको विज्ञहरूले मूल्यांकन गरेका छन् ।
फेसबुक प्रयोगकर्ताले लाइभ भिडियो समापनपछि भिडियो कहाँ जाने भन्ने जिज्ञासामा फेसबुकले भनेको छ– लाइभ स्ट्रिमिङ सकेपछि भिडियो आफैँ पेजमा प्रकाशित हुन्छ । फेसबुकले एक पटकमा अधिकतम ९० मिनेटसम्म लाइभ गर्न सक्ने उल्लेख गरेको छ ।  
कसरी हेर्ने लाइभ
फेसबुक लाइभ भन्ने कहाँ हुन्छ ? भन्ने प्रश्न तपाईंको मनमा हुन सक्छ । फेसबुकका अनुसार फेसबुकको माथि देव्रेपट्टि रातो अक्षरमा लाइभ लेखिएको हुन्छ । जुन न्युज फिडमार्फत देख्न सकिन्छ । लाइभ सस्क्राइभ गरेर पनि लाइभको नोटिफिकेसन पाउन सकिन्छ । रेकर्डेड सबै भिडियो प्रोफाइलको भिडियोज सेक्सनमा सेभ हुने फेसबुकले जनाएको छ ।
पेज भएकाले भिडियोलाई कस्टमाइज पनि गर्न सक्नेछन् । त्यसका लागि कन्ट्रोल एन्ड कस्टमाइजेसन सेटिङमा गएर आफू अनुकूल भिडियोलाई कस्टमाइज गर्न सकिन्छ ।
फेसबुक लाइभका लागि भने राम्रो स्पिडको इन्टरनेट चाहिने फेसबुकले जनाएको छ । ‘राम्रो वाइफाइ भएको इन्टरनेट भए फेसबुक लाइभ सम्भव छ, यसको सट्टा फोरजी सेवाबाट पनि फेसबुक लाइभ गर्न सकिन्छ,’ फेसबुकले ब्लगमा लेखेको छ । इन्टरनेटको स्पिड हेर्न स्पिडटेस्ट एप डाउनलोड गरेर हेर्न पनि फेसबुकले सिफारिस पनि गरेको छ ।
भिडियो रिपोर्ट गर्न मिल्ने
भिडियो कन्टेन्टबारे फेसबुकले सतर्कता अपनाएको छ । जोकोहीले आफूखुशी भिडियो लाइभ गर्न मिल्ने भएकाले कस्तो भिडियो लाइभ गर्न हुने नहुनेबारे फेसबुक सतर्क रहेको उल्लेख गरेको छ । यदि कसैले अश्लील वा कोही कसैलाई टर्चर गर्ने भिडियो लाइभ गर्दै छ भने त्यसमा प्रयोगकर्ताले रिपोर्ट गर्न सक्नेछन् । त्यसका लागि फेसबुकले एउटा टोली नै खटाएको छ । त्यस्ता भिडियोहरू फेसबुकले तुरुन्तै हटाउने प्रतिबद्धता पनि जाहेर गरेको छ ।
बक्स
फेसबुकमा अफलाइन भिडियो !
फेसबुकमा पोस्ट भएका करिब ९८ प्रतिशत भिडियोले हैरानी दिने गर्छ । अझ युट्युबका भिडियोको तल र माथि सो भिडियो चोरिएको अथवा फेरि पोस्ट गरिएको भनेर देखाउने गर्छ । तर, अब तपाईंले चाहेको भिडियो आफ्नो एन्ड्रोइड एप प्रयोग गरी सेभ गर्न सक्नुहुन्छ ।
फेसबुकका एक प्रयोगकर्ताले फेसबुकमा भएको अफलाइन भिडियो हेर्न मिल्ने फिचरको पत्ता लगाएका छन् । फेसबुकमा सेभ गरिएको भिडियो तपाईंको अकाउन्टमा स्वतः सेभ हुन्छ । यसको अर्थ सो भिडियो तपाईंको स्मार्टफोनमा भने सेभ हुने होइन । डाउनलोडपछि सेभ भएको भिडियो तपाईंको फेसबुक एपमा मात्र रहन्छ ।
फेसबुक प्रयोगकर्ताले भनेका छन्, ‘म सामाजिक सञ्जालको विज्ञ होइन तर मेरो अनुमान छ अन्य सेवामा अपलोड नभएका भिडियो फेसबुकमा भने सजिलै सेयर गर्न मिल्छ । यो सत्य भएको खण्डमा फेसबुक आफ्नै स्टिमबारे पनि अनभिज्ञ छ ।’
उक्त भिडियो अफलाइनबाट पनि हेर्न सकिन्छ र आफूले चाहेको समयमा हटाउन सकिन्छ । फेसबुक एपको भर्सन ८५ र ८६ एपको प्रयोग गरी भिडियो सेभ गर्न सकिन्छ ।

...............................

साढे दुई महिनापछि फोरजी सेवा !
सरकारले दूरसञ्चार सेवा प्रदायक संस्थालाई फोरजी सेवा सञ्चालन गर्न पाउने बाटो खोलिदिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्यसम्बन्धी) नीति २०६९ मा पहिलो संशोधन गरी फोरजी सेवा सञ्चालनको बाटो खोलिदिएको हो ।
मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गर्ने कम्पनीलाई फोरजी सेवा सञ्चालन गर्न दिने गरी नीति संशोधन गरेको जानकारी दिएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले फोरजी सेवा सञ्चालनको नीतिगत निर्णय ऐतिहासिक भएको बताए । पुरानै ब्यान्डमा नयाँ प्रविधि चलाउन पाउने गरी प्रविधि तटस्थताको निर्णय गरिएको उनको भनाइ छ ।
प्राधिकरणले अबको साढे दुई महिनापछि फोरजी सेवा सञ्चालनमा आउने दाबी गरेको छ । प्राधिकरणका अध्यक्ष दिगम्बर झाले फोरजी सेवा सञ्चालनका लागि प्राधिकरणले तत्कालै टेन्डर आह्वान गर्ने बताए ।
फोरजी सेवा सञ्चालनका लागि दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले रुचि देखाउँदै आएका छन् । यी कम्पनीले सेवा सञ्चालनका लागि प्राधिकरणसँग अनुमति लिनुपर्ने छ । अनुमति लिएपछि प्राविधिक तयारी गर्नुपर्ने र प्राविधिक तयारी उपयुक्त ठहरिएमा प्राधिकरणले अन्तिम स्वीकृति दिने नीतिमा उल्लेख छ ।
प्राविधिक तयारी गर्न दुई महिनाको समय लाग्ने प्राधिकरणले जनाएको छ । विकसित मुलुकका उपभोक्ताले आठ वर्ष पहिलेदेखि नै फोरजी सेवा प्रयोग गर्दै आएका छन् ।
प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकको संख्या मुलुकको आवश्यकताभन्दा बढी भएको भन्दै मर्जर र एक्विजिसनसम्बन्धी कानुन बनाउने निर्णय पनि गरेको छ । नेपालमा हाल छवटा दूरसञ्चार सेवाप्रदायक कम्पनी छन् ।

 

Leave A Comment