‘ऐतिहासिक पात्रले मात्र चीनसँग नेपाल जोडिन सक्दैन’

बुधबार, ०२ साउन २०७५, ०७ : ०३ प्रजु पन्त
‘ऐतिहासिक पात्रले मात्र चीनसँग नेपाल जोडिन सक्दैन’

नेपालमा १० वर्ष रेडियो पत्रकारिता गरेका लक्ष्मी लम्साल अहिले चीनको राजधानी बेइजिङमा अन्तर्राष्ट्रय रेडियोमा काम गर्छन् । वैशाखमा नेपाल आएका उनले संस्मरणात्मक ‘निहाऊ नमस्ते’ पुस्तक निकालेका छन् । उनै लम्सालसँग शुक्रवारकर्मी प्रजु पन्तले गरेको कुराकानी :

चीनको बसाइमा रेडियो पत्रकारिता गरिरहेको व्यक्ति पुस्तकतिर लाग्नुको कारण के हो ?
रेडियो पत्रकारिता गरे पनि लेख्न असाध्यै मन पर्छ । चीन बस्दा धेरै चीनबारे जानकारी भयो । चिनियाँहरु नेपालीप्रति जिज्ञासु पनि छन् तर भाषालगायतको समस्याले धेरै जानकारी हुन्न । चीन बसाइको अनुभव समेटेर पुस्तक लेख्दा राम्रै हुन्छ भन्ने सुझाव आयो । मलाई ठिक पनि लाग्यो । अनि पुस्तक लेखँे । 

‘निहाऊ’ पुस्तक चै कस्तो हो ?
यो पुस्तक चिनियाँहरुको जीवनबारे रहेको मेरो बुझाइ हो । चिनियाँ संस्कृतिको विविध आयाम, चिनियाँ र नेपाली मानसिकता, फेरिँदै गएको जीवनशैली, धार्मिक र दर्शनको पाटो, चिनियाँ विकास, प्रविधिको फैलावट र त्यसले जीवनस्तरमा पारेको प्रभाव नै पुस्तकको मुख्य पाटो हो । चिनियाँ चिकित्साबारे पनि लेखेको छु । ‘वान बेल्ट वान रोड’ र यसले नेपाललाई पुर्याउन सक्ने फाइदालाई उल्लेख गरेको छु । नेपाल र चीनको सम्बन्ध अरनिको र भृकुटी जोडिन्छन् । त्यस्ता पात्रबारे समेत केही खोतल्ने प्रयास गरेको छु । 

ऐतिहासिक पात्रबारेको तपाईंको धारणा ?
अब हामीले तिनै ऐतिहासिक पात्रहरुको आधारमा मात्र चीनसँग सम्बन्ध जोड्ने र व्याख्या गर्ने गरेर मात्र हुन्न । नयाँ आयामको खोजी आवश्यक छ । आखिर नेपाल–चीनबीचको सम्बन्धको महत्व, चासोबारे नयाँ बाटोको खोजी आवश्यक छ । 

नयाँ आयाम भनेको ?
हामीले ऐतिहासिक पात्र भृकुटी, मञ्जुश्रीको नाम मात्र जपेर हुँदैन । हाम्रो संस्कृति जोडेको भनेर मात्र पूर्ण हुन्न अब । भाषा, साहित्यमार्फत पनि हामी जोडिन आवश्यक छ । पछिल्लो समय चीनमा भारतीय फिल्मको प्रभाव बढ्दो छ । यसलाई समेत ध्यान दिन आवश्यक छ । हाम्रा कला, संस्कृतिबारे जानकारी दिन आवश्यक छ । धेरै चिनियाँहरु अंग्रेजी भाषा जान्दैनन् । सकेसम्म हामीले चिनियाँ भाषामैैैैै हाम्रा कृतिहरु अनुवाद गर्न आवश्यक छ । कला, संस्कृतिबारे जानकारी दिन आवश्यक छ । 

त्यो सम्भव छ ?
सरकार र अध्ययन संस्थाले पहल गर्ने हो भने सहज छ । सबैलाई एक–अर्काको संस्कारबारे बुझ्ने चासो हुँदो रहेछ । चिनियाँहरु नेपालबारे बुझ्न जिज्ञासु छन् । यहाँको समाज, यहाँको कला, भाषा, संस्कृतिबारे उनीहरुमा चासो छ । तर आवश्यक अध्ययन सामग्रीको अभाव छ ।

नेपालप्रति चिनियाँहरुको बुझाइ कस्तो पाउनुभयो ?
सुरुमा जाँदा त कतिपयलाई नेपाल भन्ने देश नै थाहा रहेनछ । चीन भनेको छिमेकी हो भन्ने लाग्छ । तर आम नागरिक नेपालबारे जानकार छैनन् । अहिले नेपालबारे चिनियाँ मिडियामा सामग्री आउन थालेका छन् । त्यसले नेपाल चिनाउन केही सहज बनाएको छ । 

बुद्ध जन्मेको देश, सगरमाथा भन्ने चिनारी फैलिएको रहेनछ ?
कतिपय चिनियाँ साथीहरुलाई हिमाल भएको देश भनेर चिनाएको छु । सगरमाथा भएको देश भनेर हामीले भन्दा सगरमाथा त तिब्बतमा पो छ त भन्थे । यस्तो बेलामा गुगल सर्च गरेर सगरमाथा नेपालमा छ भनेर देखाएका थियौँ । उनीहरु मिलनसार छन् । तर मुख्य समस्या भाषाकै हो । 

नेपाल बाहेक अन्य देशबारेको उनीहरुको बुझाइ बुझ्ने मौका पाउनुभएको छ ? छ भने कस्तो छ ?
५ वर्षको बसाइमा धेरै चिनियाँहरुको संगत गर्ने मौका पाए । जसरी चीनमा आर्थिक विकासमा तिब्र गतिको फड्को मारेको छ त्यसरी नै उनीहरु विश्वलाई चिन्दै छन् । उनीहरुमा अंग्रेजी भाषाप्रति मोह चुलिएको छ । बाहिर पढ्न जाने, बाहिरको संस्कृतिमा झुम्मिने प्रवृत्ति बढिरहेको छ । उनीहरु जिज्ञासु बन्दै गइरहेका छन् । 

चीनको बसाइको क्रममा नेपाली मिडियामा पनि लेखिरहनुभएको छ । पुस्तकको विषय प्रकाशित भइसकेका विषय नै हुन् कि नयाँ ?
यसमा धेरै नयाँ विषयलाई नै स्थान दिएको छु । केही प्रकाशित भइसकेका पनि छन् । तर तिनलाई परिमार्जन गरेको छु ।

अब मूल पेशाबारे पनि कुरा गरौं । नेपाल र चीनको पत्रकारिताबीचको भिन्नता कस्तो पाउनुभयो ?
नेपालमा भन्दा चीनका मिडिया व्यवस्थित छन् । 

तपाईंलाई ‘यो चै नेपाली सञ्चारकर्मीले सिक्न लायक गुण हो’ भन्ने लागेको पाटो ?
धैर्यता हो । उनीहरुमा रहेको संयमता र धैर्यता लोभलाग्दो छ । सूचना आदान–प्रदानमा अपनाउने व्यवस्थित संरचना, विश्वसनीय बनाउन गर्ने मिहिनेत राम्रो छ । समस्यामुखी भन्दा समाधानमुखी विषयको चयन पनि मन पर्छ मलाई ।
 

Leave A Comment