यहाँ रमिता छ !

आइतबार, ०६ साउन २०७५, ०६ : ४१ शुक्रवार
यहाँ रमिता छ !

काठमाडौंका हिलाम्मे सडकको सास्तीका तस्बिरले सामाजिक सञ्जाल रंगिरहँदा गृहमन्त्री रामबहादुर थापा भने अन्तरिक्ष यातायातको मनोरम सपना बाँड्नमा ब्यस्त छन् । चिकित्सा शिक्षामा सुधारको मागसहित अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली कविता फुराउँदै साहित्यिक कार्यक्रममा भावनामा बग्न ब्यस्त छन् । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल सार्वजनिक कार्यक्रममार्फत डा. केसीले नमाने जबर्जस्ती भए पनि जुम्लाबाट उठाएर काठमाडौं ल्याउने ध्वाँस दिन ब्यस्त छन् ।

जुम्लादेखि काठमाडौंसम्म डा. केसीको बिग्रँदो स्वास्थ्यको चिन्ता छाएको छ । अरुको सुविधाका लागि ज्यान जोखिममा पारेका डा. केसीको स्वास्थ्य केही नहोस् भन्दै प्रार्थनामा छन् आम नागरिक । सरकार कानमा तेल हालेर सुनेको नसुन्यै गरेर बसेको छ ।

वर्षायामसँगै राजधानी नै डुबानमा पर्न थालिसक्यो । काठमाडौंका सडकमा सवारी साधन पानी जहाज बनिरहेका छन् । बाढी–पहिरोको कहर सुरु भइसक्यो तर सरकारको प्रतिक्रिया हेर्दा लाग्छ– सब ठीक छ, केही गडबड भएको छैन । नेपाल समृद्ध भइसक्यो, सब नेपाली सुखी छन् । 

प्रधानमन्त्री ओली कि बोल्दै बोल्दैनन्, बोले आम नागरिकको मुटु घोच्ने गरी बोल्छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्षको शैली पच्छ्याउँदै सत्ताधारी दलका नेता तथा सभासद् ‘पख्लास् तँलाई देखाइदिन्छु’ भन्दै आम नागरिकलाई धम्क्याउन ब्यस्त छन् ।

यत्तिमा मात्रै अड्किएको छैन रमिता । सत्ताधारी दलका सभासद् आपराधिक गतिविधिमा पक्राउ परेकाको जमानी बस्न हुर्रिंदै पुगिरहेका छन्, प्रहरी कार्यालय र हाम्रो सरकारको पालामा हाम्रा मान्छे समात्ने हिम्मत ? भन्दै मुक्त गर्दैछन् आफ्नालाई ।

विरोधको स्वर ठ्याम्मै सुन्न चाहँदैन सरकार । भौतिक रुपमा उपस्थित भएर विरोध प्रदर्शन गर्ने स्थलहरु हुन् या डिजिटल दुवै माध्यमलाई तारो बनाइरहेका छन् सत्ताधारी ।

सरकारले गरेको गलत कामको आलोचना गर्ने आम नागरिकलाई साइबर क्राइममा जेलमा सडाउने धम्की दिन सक्रिय छन्, सत्ताधारी दलका सांसद । आम नागरिक त्रासमा छन् । सरकारको रचनात्मक आलोचना गर्ने बौद्धिक वर्गको चरित्र हत्यामा सक्रिय छन्, सत्ताधारी साइबर आर्मी । 

सरकारको बचाउमा २४ सै घण्टा सरकारको भजन गाउन सक्रिय छन् उनीहरु सामाजिक सञ्जालमा । उनीहरुको स्तुति पढ्दा लाग्छ नेपालमा रामराज्य आइसक्यो । मन्त्रीहरु विभिन्न आवरणमा आफ्नालाई राज्य कोष लुटाउन सक्रिय छन् तर सरकारी कोष लुटाए भन्न सक्ने अवस्था छैन । सरकारी कान स्तुतिका लागि खुला छन्, रचनात्मक आलोचनाका लागि टालिएको छ । 

लोकतन्त्रमा सत्ताधारीले गरेको गलत कामको खबरदारी गर्ने जिम्मेवारी पाएको प्रमुख प्रतिपक्षको स्वर हराएको छ । कहीँकतै व्यक्तिगत रुपमा सुनिए पनि मसिनो छ उनीहरुको स्वर । 

नागरिक समाज जुर्मुराउने प्रयासमा छन् तर हिजोको अति राजनीतीकरणका कारण गुमाएको विश्वसनीयताका कारण उनीहरुको स्वर पनि दबिएको छ । सिंहदरबारलाई सुन्न बाध्य पार्ने बल देखिन्न । डा. केसीको पक्षमा एकमत देखिए पनि सरकारलाई हेर्ने दृष्टिकोणमा सञ्चार माध्यमसमेत अलमलमा देखिन्छन् ।

आम नागरिक निराश छन् । समृद्ध नेपाल र सुखी नेपालीको सपना मधुरो बन्दै गइरहेको छ । यस अवस्थामा पनि सत्ताधारी सपना बाँड्न सक्रिय नै छन् तर उनीहरुको सपनामा न रङ छ, न वासना । छ त केवल रमिता मात्र ।
 

Leave A Comment