प्राविधिक विषय पढे बेरोजगार बस्नु पर्दैन

आइतबार, ०६ साउन २०७५, ०६ : ५७ दिलीप पौडेल
प्राविधिक विषय पढे बेरोजगार बस्नु पर्दैन

डेढ दशकअघि स्थापना भएको राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (नाम्स कलेज) काठमाडौंले स्वास्थ्य प्राविधिक विषयमा अध्यापन गराउँदै आएको छ । सिटिआइभिटी र पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएर विभिन्न विषयमा कक्षा सञ्चालन गरिरहेको प्रतिष्ठानले दक्ष प्राविधिक जनशक्ति तयार गरिरहेको छ । नाम्स कलेजका प्रिन्सिपल रामबहादुर श्रेष्ठसँग कलेजको शैक्षिक वातावरण लगायतका विषयमा शुक्रबारका लागि गरिएको कुराकानी :

प्रतिष्ठानमा के कस्ता विषयमा अध्यापन हुन्छ ?
अहिले हामीसँग चारवटा प्रोग्राम छन् । सिटिइभिटी र पूर्वाञ्चल विश्वविद्यालयबाट स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम  । सिटिइभिटीसँग सम्बन्धन लिएर डिप्लोमा फार्मेसी र हेल्थ असिस्टेन्ट चलाएका छौं । दुवै प्रविणता प्रमाण पत्र तहका हुन् । सिटिइभिटीसँग जोडिए पनि यी एकेडेमिक कोर्ष हुन् । एसईई वा एसएलसीपछि अध्ययन गर्न सक्छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट बीएस्सी नर्सिङ र पब्लिक हेल्थमा बीपीएच अध्यापन गराइरहेका छौं ।

विद्यार्थीले प्राविधिक शिक्षा किन पढ्ने ? अवसर के छ ?
अरू विषयभन्दा प्राविधिक विषय पढ्दा तुलनात्मक रुपमा रोजगारीको सम्भावना छ । पहिला जस्तो जताजतै अवसर नभए पनि प्राविधिक क्षेत्रमा रोजगारीको ग्यारेन्टी हुने भएकैले अभिभावक र विद्यार्थी आकर्षित छन् । स्वास्थ्यका प्राविधिक विषयले स्वरोजगार पनि बनाउँछ ।

कस्ता अवसर छन् त ?
बीएस्सी नर्सिङ पढ्ने अधिकांश विद्यार्थीलाई सोध्नु भयो भने विदेश जानको लागि पढेको भन्छन् । किनकि अस्ट्रेलिया, क्यानडा, अमेरिका, जापानलगायतका मुलुकमा स्कोप छ । पब्लिक हेल्थमा सरकारी, गैर सरकारी क्षेत्रमा अवसर छ । पछिल्लो समय डिप्लोमा फार्मेसी र हेल्थ असिस्टेन्ट (एचए)को अवसर झन् बढेको छ । विगतमा फार्मेसी विषयको कम स्कोप थियो । औषधि व्यवस्था विभागले सामान्य तालिम लिएकै भरमा औषधि पसल राख्ने अनुमति दिन्थ्यो । तर, अहिले छोटो ओरिन्टेसन तालिमले मात्र पसल सञ्चालन गर्न नपाइने भएपछि अब औषधि पसल राख्न न्यूनतम फार्मेसी कोर्ष पढेको हुनुपर्ने बाध्यात्मक अवस्था छ । हिजो सञ्चालन गरेकालाई पनि अनिवार्य छ । पढेर रोजगारी नपाए पनि आफँैले फार्मेसी सञ्चालन गर्न सकिन्छ । हेल्थ असिस्टेन्ट त मिनी डाक्टर नै हो । कोर्ष पनि  कम्प्लेक्स छ । हेल्थ असिस्टेन्ट पढाइ सकाएपछि गाउँघरमा हुने बिरामीका धेरै समस्या समाधान गर्छ । कहीँ जागिर नै पाएन भने पनि आफैं क्लिनिक खोलेर जीविकोपार्जन गर्न सक्छ । आफैँले गर्ने व्यवसायबाहेक जागिरको अवसर पनि छ ।

विद्यार्थी यहाँको कलेजमा किन आउने त ? सिकाइ उपलब्धि कस्तो छ ?
यहाँ पढ्न आउने विद्यार्थीले पहिलो कुरा गुणस्तरीय शिक्षा पाउँछन् । प्राविधिक विषयका लागि ल्याब आवश्यक हुन्छ । काठमाडौं भ्यालीमा भएका कलेजमध्ये हाम्रो ल्याब विशिष्ट प्रकारको छ । कलेजमा आवश्यक उपकरण, आफ्नै भवनसहित भौतिक पूर्वाधार पनि पर्याप्त छ ।  व्यवस्थापकीय पक्ष बलियो छ । प्रयोगात्मक कक्षामा फोकस गर्छौं । ज्ञान भएर मात्र हुँदै प्रयोगात्मक अभ्यासमा बढी केन्द्रित हुनुपर्छ । जनताको स्वास्थ्यसँग सिधै सरोकार राख्ने जनशक्ति भएकाले व्यवस्थित ढंगले आवश्यक ज्ञान, सीप प्रदान गर्छौं । विद्यार्थीको गतिविधिमा पनि सूक्ष्म निरीक्षण गर्छौं । विद्यार्थीलाई अध्यापन गराउन लामो अनुभव भएको अब्बल दक्ष जनशक्ति हामीसँग छ । कक्षा लिजर पनि राख्दैनौं । यहाँ आएर विद्यार्थीले शिक्षकको कारण पढ्न पाएनौं भन्ने अवस्था सृजना हुँदैन । 

विद्यार्थीको परिणाम कस्तो छ ?
हाम्रो कलेजमा पढेका विद्यार्थीहरु अब्बल भएर निस्किएका छन् । राम्रो शिक्षा पाएकै कारण प्रतिस्पर्धामा खरो उत्रिन सफल भएकैले सरकारी तथा गैर सरकारी क्षेत्रमा नाम निकाल्न सफल छन् । धेरै विद्यार्थी जनस्वास्थ्य अधिकृतलगायत विभिन्न पदमा पुगेर आफ्नो करिअरलार्य उज्ज्वल बनाए । एनजिओ, आइएनजिओका उच्च नेतृत्वमा पुगेर काम गरिरहेका छन् । औसतमा करिब ९० प्रतिशत उत्तीर्ण दर छ । यहाँबाट निस्किएर काम गर्न नसकेको भन्ने छैन । 

प्रतिस्पर्धा कस्तो छ ?
देशभरिका कलेजमा टप टेन भित्रमा पर्छौं । स्वाभाविक रूपमा प्रतिस्पर्धा त हुने नै भयो । सिटिइभिटीमा हेल्थ असिस्टेन्टकै ५४÷५५ वटा कलेज छन् । डिप्लोमा फार्मेसीका ३४÷३५ वटा छन् । हामी विद्यार्थी कति प्रतिशत पाए भएभन्दा पनि विद्यार्थी जीवनको गोरेटोमा हिँड्न सिकाउन सक्नुपर्छ । यहाँबाट जानेले जीवनलाई सार्थक बनाउन सकून् भन्ने हाम्रो ध्येय हो । त्यसमा हामी सफल छौं । जिम्मेवार स्वास्थ्य कार्यकर्ता तयार गरेका छौं । व्यक्तिगतभन्दा जनताको फाइदाका लागि काम गर्ने बनाउनु पर्छ  । त्यसमै केन्द्रित छौं ।

यो क्षेत्रमा नीतिगत समस्या के छ ?
सिटिइभिटी र विश्वविद्यालयका कार्यक्रम चलाएका छौं । सिटिइभिटीले धेरै कलेजलाई सम्बन्धन दिएको छ । तर,उनीहरुसँग ती कलेजलाई नियमन गर्ने क्षमता नै छ । प्राविधिक विषयको गुणस्तर सुधार गर्नका लागि जनशक्ति छैन । हेल्थ प्रोफेसनल, फार्मेसी, नर्सिङ काउन्सिलहरु छन् । ती काउन्सिलमा विज्ञभन्दा राजनीतिक नियुक्तिमा जाने परम्पराले गुणस्तर सुधार हुन सकेन । सरकार फेरिएसँगै काउन्सिलका मान्छे फेरिन्छन् । यसले विकृति सिर्जना गरेको छ । विज्ञ बाहिरै छन् । गुणस्तर अनुमगन गर्ने तरिका फितलो छ । यसलाई सुधार गर्नुपर्छ ।

स्वास्थ्य प्राविधिक जनशक्ति धेरै उत्पादन भयो भन्ने छ नि ?
त्यस्तो होइन । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अझै हामीले स्वास्थ्य सेवा दिन सकेका छैनौं । सो मापदण्डअनुसार जनशक्ति पनि कम छ । धेरैभन्दा पनि राज्यले स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जना कम गरेको हो । मानौं सरकारले नीति ल्याएर हरेक कलेजमा हेल्थ पढेको जनशक्ति एकजना अनिवार्य राख्ने व्यवस्था गरे पर्याप्त खपत हुन्छ । सरकारको नेतृत्वमा बस्नेले उत्पादन गरेको जनशक्तिलाई काममा लगाउन सकेका छैनन् ।

भावी योजना के छ ?
सिटिइभिटी अन्तर्गत नै ल्याब टेक्निसियन, फिजियोथेरापी, रेडियोग्राफीमा सर्टिफिकेट लेवलका कक्षा सञ्चालन गर्ने । पूर्वाञ्चल विश्वविद्यालयसँग फार्मेसीमा व्याच्लर्स, बी फार्मेसी, पब्लिक हेल्थमा मास्टर कक्षाको माग गरिरहेका छौं । सम्बन्धित निकायबाट स्वीकृतिको प्रतिक्षामा छौं । 

 
 

Leave A Comment