पद्यमश्री पुरस्कार घोषणा गर्नुअघि वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पाँच सूची सार्वजनिक गर्दै आएको खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले २०७४ को पुरस्कारका लागि सूची निकालेन । यसका अध्यक्ष जीवा लामिछानेले सामाजिक सञ्जालमार्फत अब एकै पटक पुरस्कार घोषणा गर्ने सार्वजनिक गरे ।
अर्को साहित्यिक पुरस्कार दिने मदन पुरस्कार गुठीले पहिला सर्ट लिस्ट सार्वजनिक गर्दैनथ्यो । पद्यमश्रीले सूची सार्वजनिक गर्न थालेपछि उसले पनि सिको ग¥यो । पद्यश्रीले सूची ननिकाल्ने निर्णय गरेको भोलिपल्ट उसले मदन पुरस्कारका लागि चयन भएका ‘सर्वश्रेष्ठ ८’ पुस्तकको नाम सार्वजनिक गर्यो ।
आखिर जसले शुरु गरेको उसैले किन उत्कृष्ट सूची ननिकाल्ने निर्णय गर्यो ?
जिज्ञासा मेटाउन प्रतिष्ठानका संस्थापक उपाध्यक्ष धनराज गिरीसँग सम्पर्क गर्दा उनले ‘प्राविधिक कारण’ भएको दाबी गरे । प्रतिष्ठानका अर्का पदाधिकारीसँग जिज्ञासा राख्दा कुरोको चुरो आयो, ‘पुरस्कार छनोटको उत्कृष्ट पाँच सार्वजनिक गरेपछि लेखक, प्रकाशक र विभिन्न शक्ति केन्द्रबाट पुरस्कारका लागि दबाब आउन थाल्यो ।
दबाब थेग्नै नसक्ने हुन थालेपछि एकै पटक पुरस्कार नै घोषणा गर्ने निर्णय गर्नुपर्यो ।’ अध्यक्ष लामिछानेले फेसबुकमार्फत निर्णय सार्वजनिक गरेपछि पक्ष र विपक्षमा तर्कहरु आए । व्यंग्यकार लक्ष्मण गाम्नामेले सर्ट लिस्ट ननिकाल्ने निर्णयप्रति चित्त बुझाएनन् । उनले फेसबुकमै सर्ट लिस्ट रोक्नुको साटो २० वटाको सूची निकाल्न सुझाए ।
डा. नवीनबन्धु पहाडी दाहालले लामिछानेलाई सम्बोधन गरेर छोटो पत्रै पोस्ट गरे, फेसबुकमा । जहाँ उनले ‘नेपाली साहित्यको सबैभन्दा दुःखद् पक्ष रेस्टुराँमा गरिने समीक्षा’ रहेको टिप्पणी गर्दै लेखे, ‘धेरै ठाउँहरु यस्ता दुर्गन्धित देखिएका छन् कि पुरस्कारको घोषणा गरिन्छन्, रकममा भरपाइ पनि हुन्छ तर उल्टै आयोजकलाई बुझाउनु पर्ने हुन्छ ।’
उनले सुझावको रुपमा गम्भीर आरोपसमेत लगाए, ‘सुनेका कुरा भन्छु । पक्कै सुधार ठान्नुहुन्छ होला । गुठीका सदस्यहरुले पहिल्यै बैना मार्छन् पनि भनिएको छ, ध्यान पु¥याउनु होला ।’
नेपालमा करिब १६ सय हारहारीमा साहित्यसम्बन्धी राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार छन् । निजी क्षेत्रबाट स्थापित पुरस्कारमध्ये २०१३ बाट दिन थालिएको मदन र २०६४ बाट दिन थालिएको पद्मश्री प्रतिको आर्कषण अलि बढी नै देखिन्छ । आकर्षणको कारण, यसको राशि त हुँदै हो, साथमा पुस्तकले पाउने थप बजार पनि देखिन्छ ।
तर यी दुवै पुरस्कार विवादमुक्त छैनन् । हरेक वर्ष पुरस्कार वितरणको बेला चर्का बहस र विवाद हुन्छन् ।
पाउनेको पक्षधरहरुले ‘नपाउनेहरुको रोइलो’ भन्दै आलोचना गर्छन् । नपाउनेहरुले ‘पुरस्कारको नाममा दलाली भो’ भन्दै आलोचना गर्छन् । जसले जुन पुरस्कारको आलोचना गरेको हुन्छ, उसको कुनै कृतिले पाउँदा दंग पर्दै लिन जान्छन् ।
तर साहित्यमा दिइने पुरस्कार र विवादको श्रृंखलाले देखाउँछ, यो नपाउँदाको रोइलो मात्र पक्कै पनि हैन । गडबड त पक्कै छ ।
पाउनैनपर्ने कृतिले नपाएको, लेखकले नै पुरस्कारको राशि नलिने सर्तमा पुरस्कारका लागि मरिहत्ते गरेको, पुरस्कार पाउनकै लागि प्रकाशन गृह फेरेको, समय कटिसकेपछि प्रकाशनमा आएको कृतिले पाएको, कसैले पुरस्कार वितरण प्रणालीमा औँला उठाए पनि पछि उसैको कृतिलाई दिएपछि चुपचाप लागेको बग्रेल्ती विकृति देखिएका छन् पनि ।
‘यो वर्ष यो पुरस्कार मलाई दिनुस्, अर्काे पालि तपाईंलाई मेरो पुरस्कार पक्का’ भनेर पुरस्कार साटफेर गरेको साहित्कारहरु नै बताउँछन्,’ ‘नेपाली पुरस्कारको इतिहास’ पुस्तकका लेखक डिल्लीराम शर्मा भन्छन् ‘पुरस्कारमा धेरै विकृति छ । आफैँ बनाउने, आफ्नैलाई दिने चलन छ ।’
शर्माले आरोप मात्र लगाएनन्, एक उदाहरण पनि दिए पुरस्कार साटफेरको ।
उनका अनुसार केही समय पहिले कवि श्रवण मुकारुङमार्फत बेलायती राईहरुले स्थापना गरेको पुरस्कार र नेपाली साहित्य डटकमकी मोमिला जोशीले पुरस्कार साटफेर गरेका थिए । मुकारुङले नेपाली साहित्य डटकमको पुरस्कार पाए, मोमिलाले बेलायती राईहरुले स्थापना गरेको पुरस्कार पाइन् ।
मुकारुङ भने यो दाबीबाट तर्किए । ‘यो नचाहिने हल्ला हो,’ उनले भने, ‘मलाई मोमीलाजीले पुरस्कार दिएको साँचो हो र संयोग के भयो भने अर्काे वर्ष हङकङबासीले उहाँलाई पुरस्कार दिएछन् । त्यहाँ मैले चिनेका साहित्यकारहरु त छन् तर म त्यो पुरस्कार समितिको सदस्य हैन ।’
पुरस्कारमा गुटबन्दी
वरिष्ठ साहित्यकार परशु प्रधान साहित्यिक पुरस्कार चयनमा चरम गुटबन्दी रहेको बताउँछन् । उनले मदन पुरस्कारलाई गुटबन्दीको राजा नै भनी टिप्पणी गरे ।
‘मदन पुरस्कारमा जति गुटबन्दी अन्त कतै हुँदैन,’ उनले भने, ‘रद्दी पुरस्कार मध्येमा यो पनि एक हो ।’ ४० भन्दा बढी कृति प्रकाशित गरिसकेका उनले अहिलेसम्म मदन पुरस्कार पाएका छैनन् । कतै यो झोँक पुरस्कार नपाउँदाको त हैन ?
‘मैले यो पुरस्कार पाएको छैन यही कारणले भन्यो भन्लान् पनि,’ उनले शुक्रवारसँग भने, ‘तर सीमित व्यक्तिको घेराबन्दीमा परेको पुरस्कार हो यो । यो भन्न मलाई कुनै संकोच लाग्दैन ।’
मदन पुरस्कार पुरस्कार कमिटीकै सदस्यको मत पनि साहित्यकार प्रधानसँग मिल्यो । कमिटीका एक पूर्व सदस्य अविनाश श्रेष्ठले ५० को दशकयता मदन पुरस्कारले कृतिको सही मूल्याङ्कन नगरेको स्वीकारे ।
‘२०५० सालदेखि यो पुरस्कारमा पारदर्शी देखिँदैन । कुनै मापदण्ड छैन । पुरस्कार गुठीलाई जस्लाई मन पर्यो उसैलाई दिने चलन छ,’ उनले भने, ‘पहिले कमलमणि दीक्षितलाई जो मन प¥यो उसैलाई दिनुहुन्थ्यो । राम्रो कृतिले पाएको देखिँदैन ।’
मदन पुरस्कार गुठीले दिएको ऐना, खुसी, पल्पसा क्याफे, दमिनी भीर, खलंगामा हमला, राधा, एक हातको ताली, छापामारको छोराले मदन पुरस्कार पाउँदा निकै विवाद भएको थियो ।
मदन पुरस्कारको तुलनामा पद्मश्री पुरस्कार कमै विवादमा आउने गरेको छ । पद्मश्रीलाई पूर्वका श्रष्टाप्रति बढी नै नरम भएको आरोप लाग्ने गरेको छ । पुरस्कृत कृतिकै बारेमा भने विवाद आएको छैन । यसको कारण कान्छो पुरस्कार हुनु र मदन पुरस्कार पाउने आश गरिएको पुस्तकलाई पद्मश्री दिइनु पनि हुनसक्छ ।
आफूले पाएपछि मौन
२०६९ अगाडि राजन मुकारुङ मदन पुरस्कारको कट्टर विरोधी थिए । मुकारुङको कृति ‘दमिनी भीर’ले मदन पुरस्कार पाएपछि उनी फुरुङ्ग हुँदै पुरस्कार लिन पुगे । त्यसपछि उनको दोहोरो व्यवहारको खुबै आलोचना भयो ।
उनले मदन पुरस्कारको विरोध नगरी ‘काट्टो खाने प्रवृत्तिको पुरस्कारको विरोध मात्र गरेको दाबी गरे । लेखक खगेन्द्र संग्रौला पनि पुरस्कारविरोधी सूचीमा पर्छन् । उनले प्रज्ञा प्रतिष्ठानबाट वितरण हुने पुरस्कार पाएपछि नरम भएको साहित्यकार डिल्लीराम मिश्रको आरोप छ ।
पैसो लिन्न, पुरस्कार देऊ
मदन पुरस्कार गुठीका पूर्व सदस्य अविनाश श्रेष्ठ पुरस्कारका लागि साहित्यकारहरु समेत मरिहत्ते गर्ने गरेको बताउँछन् । नेपाल प्रज्ञा प्रतिष्ठानले दिने पुरस्कार छनोट समितिमा समेत बसेका उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘कतिपय साहित्यकारहरु पुरस्कारको राशि लिन्नँ, पुरस्कार दिनुहोस् भन्दै धाउँछन् । म एकेडेमीमा हुँदा धेरै नाम चलेका साहित्यकारहरु त्यसरी आउनुहुन्थ्यो ।’ उनले ती साहित्यकारको नाम भने लिन चाहेनन् ।
मदन पुरस्कार विजेता महेशविक्रम शाह साहित्यिक पुरस्कारमा रहेको गलत प्रवृत्तिले साहित्य नै धुमिल भएको बताए ।
‘केही मानिसहरु कृति कसरी राम्रो लेख्ने भन्दा पनि ठूला पुरस्कार कसरी लिने भन्ने होडबाजी गर्छन्,’ उनले भने, ‘पुरस्कार मलाई दिनुस्, त्यो राशि बराबरको नगद तपाईंलाई नै भनेर पुरस्कार वितरकलाई फकाइन्छ रे !’
प्रकाशन गृह नै परिवर्तन
कस्तो पुस्तक निकाल्यो भने पुरस्कार पाइन्छ भन्ने मात्र हैन, कुन प्रकाशन गृहबाट निकाल्दा पुरस्कारको बलियो दाबेदार बनिन्छ भन्ने खेल पनि चल्ने गर्छ यहाँ । त्यसका लागि लेखकहरु रातारात प्रकाशन गृह फेर्नसमेत छाड्दैनन् ।
यस्तै आरोप खेप्दै आएका लेखक हुन्, अमर न्यौपाने । उनले उपन्यास ‘सेतो धर्ती’ छाप्न सांग्रिला बुक्ससँग सम्झौता गरिसकेका थिए तर एकाएक उनले फाइन प्रिन्टबाट पुस्तक निकाले ।
न्यौपाने निकटका अनुसार उनले त्यो बेला ‘मदन पुरस्कार पाउने सम्भावना रहेको तर सांग्रिलाले २०६८ भित्र ननिकाल्ने भएकाले फाइन प्रिन्टमा गएको’ प्रष्टीकरण दिने गरेका थिए । भयो पनि त्यस्तै । २०६८ को मदन पुरस्कार उनैले पाए ।
यस विषयमा जिज्ञासा राख्दा न्यौपानेले ‘पहिले निकाल्ने भनेको पब्लिकेसनसँग कुनै करार नभएको र पुस्तक जुध्ने भएपछि पब्लिकेसन परिर्वतन गरेको’ दाबी गरे ।
पुरस्कारै शंकास्पद
साहित्यकार सीमा आभाष दुई नम्बरी धन्दा गर्नेहरुले समेत आफ्ना परिवारका नाममा साहित्यिक पुरस्कार घोषणा गर्ने गरेको र शंकास्पद व्यक्तिले गठन गरेको त्यही पुरस्कार लिन साहित्यकारहरु मरिहत्ते गर्ने गरेको बताइन् ।
‘साहित्यप्रति लगाव भएका भन्दा इजी मनी कमाएकाहरुले यस्ता पुरस्कार स्थापना गरेको देखिन्छ,’ उनले भनिन्, ‘उनीहरुको उद्देश्य साहित्यको उपयोग गरेर आफ्नो प्रचार गराउनु देखिन्छ ।’
पुरस्कारका लागि सोर्सफोर्स
युवा वर्ष मोति पुरस्कारका लागि लेखक आफैँले आफ्नो कृतिको व्याख्या गर्दै निवेदन दिनुपर्छ । मदन पुरस्कारका लागि पनि प्रकाशन गृह या लेखक आफैंले पुस्तक लगेर दर्ता गराउनुपर्छ । अन्य पुरस्कारको प्रक्रिया पनि यस्तै देखिन्छ ।
पुरस्कारका लागि पावर लगाउनेहरु पनि उत्तिकै छन् । को कुन पार्टीप्रति आस्था राख्ने लेखक हो भन्ने आधारमा समेत पुरस्कार पक्का हुन्छ । कवि सीमा आभाषले पनि यस्तै अनुभव गरेकी रहिछन् ।
गत वर्ष उनको पुस्तक ‘स्त्री’ मदन पुरस्कारको उत्कृष्ट नौमा परेपछि पुरस्कारका लागि सोर्सफोर्स लगाउनुस् भनेर सुझाव दिनेहरु टन्नै निस्किए ।
‘मलाई त्यतिबेला कांग्रेसको सोर्सफोर्स लगाउनू, शेरबहादुर देउवालाई भन्नू पुरस्कार पक्का हुन्छ भनेका थिए,’ उनले भनिन्, ‘ तर मैले त्यसो गरिनँ ।’ उनको पुस्तकले पुरस्कार पनि पाएन ।
‘राधा’ उपन्यासले मदन पुरस्कार पाउनुको कारण कांग्रेसको सोर्स रहेको अहिले पनि गाइँगुइँ सुनिन्छ नै । राधाका लेखक कृष्ण धरावासी भने ‘नचाहिने हल्ला’ भनेर पन्छिए ।
साझा पुरस्कारमा पनि राजनीतिक रङको समस्या देखिन्छ । २०६१ को साझा पुरस्कार विमल निभाले पाए । पुरस्कारको बलियो दाबेदार गोविन्द वर्तमानको कृति ‘सोह्र साँझ’ थियो । त्यति बेला साझामा बामपन्थी निकट प्रमुख रहेकाले गोठालेको कृति पन्छ्याइएको बताइन्छ । २०६५ सालको मदन पुरस्कार युवाराज नयाँघरेको ‘एक हातको ताली’ले पायो । यो कृतिले उक्त पुरस्कार पाएपछि साहित्यकारमाझ हल्लीखल्ली मच्चियो ।
उक्त पुस्तकको भूमिका कृष्णचन्द्रसिंह प्रधानले लेखेका थिए । उनै प्रधानको दबाबमा कमलमणि दीक्षितले मदन पुरस्कार दिएको चर्चा चलेको थियो । त्यो बेलामा नारायण ढकालको कृति ‘कल्पवृक्ष’को निकै चर्चा थियो । ढकालले चन्द्र शमसेरलाई गाली गरेर लेखेको भएर दीक्षित परिवारले नरुचाएको अहिले पनि दाबी गरिन्छ ।
बजारमा नआउँदै पुरस्कार
कुनै कुनै पुस्तक त छापिनुअगाडि नै पुरस्कृत हुने गरेको छ । २०६७ सालको साझा पुरस्कार मापदण्डअनुसार क्षेत्रप्रताप अधिकारीको पुस्तक ‘नफुलेका फूलहरु’ले पाउनुपर्ने थियो । तर त्यो वर्ष प्रकाशनमा नआएको पुरुषोत्तम सुवेदीको संक्रमणकालीन साहित्यले पुरस्कार पायो । जो प्रकाशितै भएको थिएन । पत्रकार नारायण वाग्लेको कृति ‘पल्पसा क्याफे’ले प्रकाशित हुनुअगाडि नै मदन पुरस्कार पाएको थियो । यसबारे जिज्ञासा राख्दा वाग्लेले भने, ‘त्यो त पुरस्कार समितिले निर्णय गरेर दिने हो हामीलाई के थाहा हुन्छ र ?’
कार्यक्रम नहुँदै पुरस्कार
२०७२ चैत १४ मा प्रज्ञा प्रतिष्ठानले कविता महोत्सव आयोजना ग¥यो तर सर्वोत्कृष्ट कविताको पुरस्कार घोषणा भने १० चैतमा भयो । सार्वजनिक रुपमा वाचन नै नभएको कवितालाई कसरी प्रज्ञा प्रतिष्ठानले पहिल्यै सर्वोत्कृष्ट भनी पुरस्कार दिने निर्णय ग¥यो ? यसको उत्तर प्रज्ञा परिषद्का कसैसँग पनि जवाफ थिएन, न त काव्य तर्फका प्रमुख अमर गिरीसँगै थियो ।
त्यतिबेला नै डिल्लीराम मिश्रले नैतिकता भए अमर गिरीले राजीनामा दिनुपर्छ भने तर न गिरीले राजीनामा दिए न पुरस्कार नै खारेज गरियो ।
‘मदन पुरस्कार साहित्यिक पुरस्कार हैन’
राधेश्याम लेकाली, अध्यक्ष, नेपाली साहित्यिक पत्रकार संघ
हाम्रोमा धेरै किसिमका पुरस्कार वितरण गरिन्छन् । प्रायः पुरस्कार सिफारिसको आधारमा दिइने चलन छ तर जो असल स्रष्टा छ, त्यसले मलाई पुरस्कार देऊ भनेर निवेदन हाल्दैन अनि पुरस्कार राम्रा कृतिले पाउँछ भन्ने छैन ।
नेपालमा पुरस्कार वितरण गर्दा आफन्तवाद, सिफारिसवाद र लेनदेन बढी चलेको छ । धेरैजसोले मदन पुरस्कारलाई साहित्यिक पुरस्कार मान्ने गरेको पाउँछु तर मदन पुरस्कार साहित्यिक पुरस्कार हैन । उसले वितरण गरेका अहिले सम्मका पुस्तक हे¥यो भने पनि त्यस्तो देखिँदैन ।
पुरस्कारका लागि लेख्ने प्रवृत्ति बढेको छ । पुरस्कार किन्ने, पुरस्कार वापतको पैसा नलिने, मिडियामा प्रपोगन्डा मच्चाउने, समीक्षा लेख्न लगाउनेजस्ता कयौँ विकृति छन् ।
Leave A Comment