अशोक दर्जी विवाद : संरक्षणको आवरणमा कुनियत

शुक्रबार, ११ साउन २०७५, ०५ : ५९ पुष्पा थपलिया
अशोक दर्जी विवाद : संरक्षणको आवरणमा कुनियत

सबैलाई थाहा छ, रामकृष्ण ढकाल चर्चित गायक बन्नुमा उनको गला र कलासँगै गोपाल कर्माचार्यको भूमिका महत्वपूर्ण छ । बरालिँदै गीत गाउँदै हिँडेका ढकाललाई काठमाडौं ल्याएर कर्माचार्यले संगीत क्षेत्रमा स्थापित गरी दरिलो पृष्ठभूमि बनाइदिए । 

सामाजिक सञ्जालको फैलावटसँगै केहीले उनै कर्माचार्यको पदचाप पछ्याउने प्रयास गरिरहेका छन् । जसले निःस्वार्थ काम गरे ती सफल भइरहेका छन् । जसले समाजसेवाको आडमा व्यक्तिगत स्वार्थ भजाउने प्रयास गरे, ती विवादमा तानिए ।

अर्को उदाहरण हेरौं । केही वर्षअघि मलेखुमा गीत गाउँदै गरेको अवस्थामा भेटिएका थिए बालक प्रेम परियार । एक बटुवाले गरेको सामान्य कुराकानी र केही गीतका टुक्रा गाएको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्टिए । त्यो भिडियो रातारात भाइलर बन्यो । कलाकार शिशिर राणाले तिनै भाइरल ब्वाईलाई काठमाडौं ल्याए । उनले केही फिल्ममा गाउन लगाए । उनले ‘नाइँ नभन्नु ल २’ मा गाएको ‘मर्ने कसैलाई रहर हुँदैन’ र ‘यी आँखामा तिमी छौ’ गीतले सबैको मन जित्यो ।

काठमाडौं ल्याएर फिल्ममा गीत गाउने अफर दिएका उनै राणाले प्रेमलाई पढ्न स्कुल भर्ना गरिदिए । अहिले परियार १६ वर्षका भए, ललितपुरस्थित युनाइटेड स्कुलमा कक्षा ८ मा पढिरहेका छन् । होस्टलमा बस्छन् । करिब नौ भन्दा बढी देश उनले चहारिसकेका छन् । अझै पनि उनलाई देशविदेशबाट निम्तो आइरहन्छ तर पढाइका कारण उनी जान सकिरहेका छैनन् । 

अब अर्को घटना हेरौं । जुन अहिले निकै विवादमा तानिएको छ । पात्र हुन्, अशोक दर्जी ।  
सडकमा बसेर गीत गाउने उनको र प्रेमको कथा उस्तै छ तर नतिजा भने फरक छ । प्रेमले जसको संरक्षण पाए, उनले पहिला पढाइ अनि पछि मात्र संगीतमा जोड दिए । उनी राजी भए ।

अशोकले स्वर नखुले पनि पहिला गीत, युरोप टुर, पैसा अनि मात्र पढाइ भन्ने संरक्षक पाए । आर्थिक रुपमा कमजोर सुकुम्बासी परिवारका सदस्य अशोकलाई गायक तथा संगीतकार टंक बुढाथोकी र डिजे रुपकले काठमाडौं ल्याए । एउटा गीत रेकर्ड गराए । अशोकको गायकी क्षमताले उनलाई गायन क्षेत्रमा राम्रो सम्भावना छ भनी नदेखाएको हैन । उनी भाइरल ब्वाई बन्नुमा उनको गला भन्दा पनि उनको दुःखी पृष्ठभूमिले काम गरेको थियो । 

अशोककी दोस्री आमा, कपाल काट्दा भावुक भए अशोक, पहिलो पटक प्लेन चढे अशोकले, अशोककी दिदी दुःखी भइन्, अशोकको घरमा भुतले तर्सायो, अशोकको भव्य घर बन्दै जस्ता युट्युबका दृश्य र यस्तै कन्टेन्टलाई प्रमोट गर्नेहरुले देखाउँछ, अशोकले रामकृष्ण र प्रेमले जस्तो असल मनको अभिभावक पाएनन् ।

नौ वर्षका बालकलाई करिअर बनाउनतिर लतार्ने कि पढाइ–तालिम अनि मात्र करिअरमा ध्यान दिने बनाउने ? उनको संरक्षण लिने टंक बुढाथोकीको ध्यान केमा छ भन्ने बुझ्न अशोकको युरोप टुर क्यान्सिल भएपछि उनै बुढाथोकीले फेसबुकमा राखेको स्टाटसले देखाउँछ ।

उनले लेखेका छन्, ‘अशोकको संसार देख्ने सपना टुटेको छ, अब अशोक बाबुलाई मैले के भनेर बुझाउने होला है ? दादा हामी कहिले जाने युरोप भनेर हिजो मात्र सोधेका थिए ।’

संरक्षक बनेका टंक र उनको समूहले अशोकको ‘करिअर’ भन्दा ‘क्यास’मा जोड दिएपछि यो विवाद बढिरहेकै थियो । उनीहरुको नियतमाथि प्रश्न उठिरहेकै थियो । यसैबीच आफूलाई टंकको म्यानेजर बताउने उनका दाइ टीकाराम बुढाथोकीको आक्रोशपूर्ण पत्रकार सम्मेलन, टीकाराम र अशोकले अध्ययन गरिरहेको विद्यालयका प्रिन्सिपल दीपक न्यौपाने बीचको टेलिफोन संवाद बाहिरियो ।

अशोकको घर बनाउने ठेकेदारले पैसा नपाएको सार्वजनिक अभिव्यक्ति दिएपछि घर बनाउन उठाएको रकमको पारदर्शितासमेत विवादमा आयो । यस भन्दा अगाडि जग्गा खरिदमा एक लाखको विवाद आएको थियो । यो विवाद रोकिने छाँट छैन । बढ्दो छ ।

हो चैँ के त ?
के अशोकको संरक्षकले पढाइभन्दा पैसामा जोड दिएकै हुन् त ? उनलाई भर्ना गरिएको बेथेल एजुकेसनल एकेडेमीको रेकर्ड हेर्दा यस्तै देखियो । विद्यालयका प्रिन्सिपल न्यौपानेका अनुसार अशोक विद्यालय भर्ना भएको तीन महिना भयो तर उनी मुस्किलले ४५ दिन मात्रै स्कुल पुगेका छन् । असार २३ मा काठमाडौं आएका उनी यतै छन् । 

युकेजीमा भर्ना भएका उनले पहिलो त्रैमासिक परीक्षासमेत दिएनन् । परीक्षा अगाडि उनलाई युरोप टुरको तयारी भन्दै टंकले काठमाडौं ल्याएका थिए । 

‘मैले यो परीक्षा निकै महङ्खवपूर्ण छ, कृपया पढ्न दिनुस्, परीक्षा दिन दिनुस्, अशोकको भविष्यको सवाल छ भन्दा पनि उहाँहरुले मान्नु भएन,’ प्रिन्सिपल न्यौपानेले भने । 

लिक भएको टंकका दाजु टीकाराम र प्रिन्सिपल न्यौपाने बीचको टेलिफोन संवादमा टीकारामले युरोपको तयारीका लागि काठमाडौं ल्याएको, युरोपको काम सकिएपछि फर्काउने बताएको सुनिन्छ ।
टंक भने अशोकलाई काठमाडौं पढाउने सुरले ल्याइएको बताउँछन् । उनले अशोकलाई काठमाडौं पढाउने योजना आफ्नो नभई अशोकको बाबुको भएको दाबी गरे । 

सार्वजनिक भएको घटनाक्रमले देखाउँछ, टंक र उनको समूहले अशोकलाई काठमाडौंमा पढाउने भन्दा पनि एक महिने युरोप टुरमा लैजाने विषयमा विद्यालयका प्रमुख र उनीहरुबीच मनमुटाव भएको हो । विद्यालय विद्यार्थीलाई पढाउने योजनामा देखिन्छन् भने टंक र उनको समूहको प्राथमिकतामा पहिला सांगीतिक कार्यक्रम अनि मात्र पढाइ देखिन्छ । यो विवाद सार्वजनिक भएपछि अहिले टंक अशोकलाई काठमाडौंमा राख्ने योजनामा पुगेका छन् ।

प्रिन्सिपल न्यौपाने आफूले अशोकसहित चार जनालाई १० कक्षासम्म निःशुल्क पढाउने सम्झौता गरेकाले काठमाडौं लैजानुअगाडि अनुमति लिनुपर्ने बताउँछन् ।

‘सम्झौताविपरीत मलाई नसोधी लैजान त नमिल्ला नि !’ न्यौपानेले भने ।
यसबारे जिज्ञासा राख्दा टंकले ‘उहाँकै बाबुले ल्याएकाले उतै सोध्नु’ भन्दै पन्छिए । 

संरक्षणको आवरणमा कुनियत
विवाद सुरु भएको युरोप टुरका कारण हो तर अशोक र टंक दुवैको युरोप टुरको प्रयास सफल भएन । दुवैको भिषा अस्वीकृत भयो । युरोप टुरको टन्टा त सकियो तर नाबालक अशोकको भविष्य कसरी अगाडि बढ्ला यो विवाद भने जारी छ ।
अशोकको ठाउँमा आफ्नै छोरा भएको भए, परीक्षा छुटाएर युके लैजान खोज्नुहुन्थ्यो ?

शुक्रवारको जिज्ञासामा टंकले निर्धक्क भने, ‘अवश्य लैजान्थें । कला र गला नभई कसैले अफर गर्दैन । कला गला र क्षमताको भरमा अफर आए छोरालाई युके मात्रै हैन, मलेसियामै भए पनि पठाउँछु ।’

पढाइभन्दा पैसा ठूलो हो त भन्ने प्रश्नमा उनले भने, ‘मलाई यसबारे केही भन्न आएन, तपाईंले जे देख्नुभएको छ, त्यहीअनुसार लेख्नुस् ।’

यही संवादले देखाउँछ यत्रो विवादपछि पनि टंकको दिमागमा नाबालक अशोकको पढाइ भन्दा विदेश टुर नै पहिलो प्राथमिकतामा देखिन्छ । विदेश टुर अर्थात् पैसा । 

घर के हुँदैछ त ?
अशोकको घर बनाउने विषय पनि विवादमा छ । टंक सहितको आर्थिक समितिले पाँच लाखमा जग्गा किनेको बताएका थिए । त्यसलगत्तै जग्गा बिक्री गर्नेले चार लाखमा बेचेको सार्वजनिक गरेपछि एक लाख कता गयो भन्ने विवाद सुरु भएको थियो । पछिल्लो समय घर बनाउने ठेक्का पाएका व्यक्तिले भुक्तानी नपाएको भन्दै विवाद भएको थियो । 

टंक अशोकको घर बनाउन १७ लाख जम्मा भएको र घर बनाउने काम जारी रहेको बताउँछन् तर अहिलेसम्म कति रकम खर्च भयो त्यो खुलाउँदैनन् ।

‘अहिले भर्खर मात्रै तीन बोरा सिमेन्ट र रड लगियो, अझै के–के किन्नै बाँकी छ, यो त घर पूर्ण रुपमा निर्माण नभइकन भन्न सकिने कुरै भएन नि !’ उनले भने ।

अशोकको भिजुअल टंक र अर्का डिजे रुपकको व्यक्तिगत च्यानलमा समेत देखिन्छ । जसको भ्युअर्स राम्रै छ । ती दुवै च्यानलबाट राम्रै आम्दानी भइरहेको देखिन्छ । अशोकको गीत आफ्नो च्यानलमा हालेपछि टंकले युट्युबको पैसा अशोकलाई पनि दिने बताएका थिए । 

तर अहिले उनी भिडियोहरुबाट कति आम्दानी भइरहेको छ भन्ने पनि खुलाउन चाहँदैनन् । उनी यसलाई आफ्नो व्यक्तिगत सम्पत्ति भएको दाबी गर्छन् । युट्युबबाट आएको पैसामध्ये चार लाख अशोकको घर बनाउने दिने र अरु सबै आफ्नै आम्दानी रहेको दाबी गर्दै उनले भने, ‘मेरो व्यक्तिगत सम्पत्तिको खोजीनिती किन गर्नुहुन्छ ? त्यो नखोल्ने त मेरो ब्यक्तिगत अधिकार छ ।’ 
 

Leave A Comment