मानिस किन रुन्छ ? सहज उत्तर भावनाका आधारमा । कहिले खुसीमा आँखु खस्छन्, कहिले दुःखमा । के आँसुको सम्बन्ध भावनासँग मात्र हुन्छ त ?
त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख प्रोफेसर डा.सरोजप्रसाद ओझा मानिस सामाजिक प्राणी भएकाले आफ्नो मनोविज्ञान हुने बताउँछन् । मानिसको मन र विचारको उपज मनोविज्ञान हो । डा. ओझाका अनुसार मानिसको मन र विचार व्यवहारमा उत्रिन्छ । त्यसैले मनोविज्ञानलाई ब्रेन एन्ड विहेवियर पनि भनिन्छ ।
दिमागले गर्ने काम व्यवहारमा पनि देखिन्छ । दिमागको सबैभन्दा ठूलो काम भनेकै सोच्न सक्ने र महसुस गर्न सक्ने क्षमता हो ।
डा. ओझाका अनुसार शरीरभित्र विभिन्न संयन्त्र भएझै त्यहाँ हाँसो तथा रुवाइको संयन्त्र पनि हुन्छ । दिमागमा रुने हाँस्ने विभिन्न केन्द्र हुन्छन् । भावनाको आधारमा मस्तिष्कभित्र हुने रसायनिक परिवर्तनले हास्ने र रुने बनाउँछ ।
मनोविद् गोपाल ढकाल भावना परिवर्तन हुने भएकाले दुःखी हुँदा आँसु र खुसी हुँदा हाँसो आउँने बताउँछन् । रुवाइ पनि भावना हो भन्छन्, ढकाल ।
उनका अनुसार भावनालाई नियन्त्रण तथा परिचालन दिमागको मध्य भागमा रहेको लिम्बिक सिस्टिमले गर्छ । लिम्बिक सिस्टमले भावना, यौन उत्तेजना लगायतका कुराको निर्देशन गर्छ ।
दुःख परेको समयमा स्ट्रेस हर्मन (कोटिशोल) बढ्ने भएकाले मानिस रुने र डोपामिन तथा सेरोटोनिन, नरइफ्रिरेफ्रिन हर्मन खुसी हुँदा निस्किन्छन् ।
डा. ओझाका अनुसार मनलाई मुड पनि भनिन्छ । कतिपय मानिस झगडा भयो या कुनै समस्या भयो भने मेरो मुड ठिक छैन भन्छन्, त्यो भनेको मेरो मन ठिक छैन भनेको हो ।
मनोविद् ढकाल पनि ओझाका तर्कमा सहमत छन् । रुनु मानसिक स्वास्थ्यका लागि फाइदा हो भन्छन् ढकाल । ढकालका अनुसार मानिस नरुँदा मनमै कुण्ठा राख्दा मानसिक समस्या बढ्ने उनले बताए । ढकालका अनुसार रुँदा आएको आँसुलाई इमोसनल टियर पनि भनिन्छ । मन रोएपछि निस्किने प्रक्रिया आँसु हो । आँसु मात्रै हैन, चिच्याएर पनि मानिसले मनको भाव प्रकट गर्ने गर्छन् ।
सिभिल अस्पतालका फिजिसियन तथा मुटुरोग विशेषज्ञ, डा कमल शर्मा लम्साल रुँदा स्टे«स हर्मन बढ्ने बताउँछन् । रगतमा स्टे«स हर्मनको मात्रा बढी हुन्छ । केही मात्रामा आँसुमा पनि स्ट्रेस हर्मन बढी हुन्छ र आँसु झर्छ । तनावमा स्टे«स हर्मन बढ्छ र आँसु झर्छ ।
चिकित्सा क्याम्पस महाराजगंज, काठमाडौंका फिजियोलोजी विभागका विभागीय प्रमुख डा. दिनेश बाँस्तोलाका अनुसार पीडा, दुःख, दुखाई, आवेश, असफलता, कसैको मृत्यु, पीडा, तिब्र मनस्थिति उन्माद, आध्यात्मिक खुसी र तीब्र तथा लगातार लामो समयको तनावका कारणले मानिस रुन्छन् ।
उन्माद, इमोसन, तनावमा कोटिशोल हर्मनले भूमिका खेल्ने डा. बाँस्तोला बताउँछन् । कोटिशोल हर्मनको निशेचितले पिट्दा मनोसामाजिक र दुखाइका कारणले मानिस रुन्छन् । रोइसकेपछि तनाव मुक्त भएको अनुभूति हुनु मात्र नभएर तनाव पनि कम हुने चिकित्सक बताउँछन् । तर धेरै लामो र लगातार रुनु भनेको दीर्घ रोगीको चिह्न तथा लक्षण भएको समेत चिकित्सक बताउँछन् ।
चिकित्सकका अनुसार आवेशले पनि आँसु झर्र्छ । आवेश र लामो समयसम्म आँखा नझिम्क्याउँदा पनि आँसु झर्छ । आँसुको पहिलो काम आँखा सफा गर्ने हो । तिव्र मनोवृत्ति र पागलपनामा पनि आँसु आउँछ । श्रवण भ्रम, दृष्टि भ्रम र घ्राण भ्रमका कारणले पनि आँसु आउँछ ।
डा. बाँस्कोटाका अनुसार आँखाभित्र ल्याक्रिमल ग्रन्थी (आँखा पटल) हुन्छ । ल्याक्रिमल ग्रन्थीबाट आँसु निस्किने चिकित्सक बताउँछन् । यदि त्यसरी आँसु निस्किएन भने किर्निया सुख्खा हुन्छ र घाउ हुन्छ, जसलाई कर्निया घाउ भनिन्छ । रुँदा ल्याक्रिमल ग्रन्थी बढी सक्रिय हुन्छ र आँसु झर्छ ।
नाके पटलजन्य (आँखाको माथिल्लो ढकनी) नलीबाट नाकमा आँसु आउँदै घाँटीमा पुग्ने बाँस्कोटाको भनाइ छ । आँखा झिम्क्याउँदा त्यो झोल (आँसु) कर्नियाको सबैतिर पुग्छ र कर्निया २४ सै घण्टा भिजेको हुन्छ । भिज्नु पर्छ ।
ढकाल पनि बाँस्तोलाको भनाइमा सहमत छन् । ढकालका अनुसार इमोसनल आँसु, कण पर्दा वा घोच्दा र आँखा सधैँ सुख्खा नहोस् भनेर आउने आँसु गरी तीन प्रकारका आँसु हुन्छन् । किटाणु मार्ने किसिमको आँसु हुने पनि ढकाल बताउँछन् ।
शरीरमा इन्डोक्राइम प्रणालीबाट एक किसिमको रस निस्किन्छ । आँसु निकाल्ने पनि एक किसिमको रस हुन्छ । रुनका लागि पनि वातावरण चाहिने ढकाल बताउँछन् । कसैले गाली गर्याे भने दिमाग उत्तेजित हुने भएकाले अटोमेटिकल्ली दिमागले हर्मन निकालेर मानिस रुन्छन् ।
प्याज काट्दा र खोर्सानीको रागले पनि आँखाको ग्रन्थीलाई उत्तेजित गर्छ त्यसैले आँखाबाट आँसु र नाकबाट पातलो रस चुहिन्छ । ढकालका अनुसार रोएको समयमा विशेष गरी इन्डोरफिन हर्मन शरीरमा निस्किन्छ । इन्डोरफिन हर्मनले मन शान्तसमेत गराउँछ ।
पुरुषभन्दा महिला बढी रुन्छन्
चिकित्सकका अनुसार दाहिने दिमाग भावनात्मक हुन्छ भने देब्रे दिमाग तर्कगत । फिल्म हेर्दा तथा कथा पढ्दा दाहिने दिमाग बढी सक्रिय हुने भएकोले मानिस भावनामा डुबेर रुन्छन् भने बहस, तर्क र छलफलको समयमा देब्रे दिमाग सक्रिय भएकोबेला मानिस रुँदैनन् ।
पुरुषभन्दा महिला चार गुणा बढी रुने ढकाल बताउँछन् । तुलनात्मक रुपमा पुरुषको भन्दा महिलाको दाहिने दिमाग बढी चल्ने भएकाले र महिला बढी भावनात्मक हुने भएकाले उनीहरु बढी रुन्छन् ।
ढकालका अनुसार महिलामा प्रोलेक्टिन नामक दूध निकाल्ने हर्मनले पनि रुन प्रेरित तथा सहयोग गर्ने भएकाले महिला बढी रुन्छन् ।
पुरुषको भन्दा महिलाको दैनिकी भूमिका र जिम्मवारी बढी हुने भएकाले पुरुषभन्दा महिला बढी रुने डा. बाँस्तोला बताउँछन् । स्वाद कोपिला (टेस्ट बड्स) र घ्राण क्षेत्र महिलामा बढी हुने भएकाले पुरुषभन्दा महिलाले रोषको प्रदर्शन गर्न सक्ने बास्तोला बताउँछन् ।
वंशाणुगत रुपमा महिला र पुरुष फरक हुन्छन् । महिला र पुरुषको जिन छुट्टाछुट्टै हुन्छ । हुर्काई पनि फरक छ । सामान्यतयाः पुरुषको तुलनामा महिला बढी भावनात्मक हुने डा. ओझाको भनाइ छ । महिलामा चाँडै आँसु आउँछ अनि रुन्छन् ।
पुरुषले आफ्ना भावना तथा मनको कुरा साथीसँग व्यक्त गर्न पाउने भएकाले पनि पुरुष कम रुने चिकित्सक बताउँछन् । रक्सी खाएर, खेलेर तथा साथीभाइसँग रमाएर पनि पुरुषले आफ्ना कुण्ठित पीडा फाल्छन् । हाम्रो समाजमा धेरै महिला मनको मैलो पोख्न बाहिर जान नपाउने भएकाले पनि महिलाले रोएर मनको कुण्ठित पीडा पोख्ने बताउँछन् चिकित्सक । मानिस रुनु मात्र मनको पीडा पोख्ने माध्यम हैन ।
बच्चा किन रुन्छन् ?
बच्चाको पनि दाहिने दिमाग धेरै चल्ने भएकाले छिट्टै खुसी र छिट्टै रुने हुन्छन् । १८ वर्ष नपुगुञ्जेल व्यक्तित्व विकास पूर्ण हुँदैन । डा. ओझा बच्चा जन्मिएपछि १८ वर्षसम्म मानसिक तथा शरीरिक विकास हुँदै जाने बताउँछन् ।
उमेरअनुसार मस्तिष्कको विकास हुने भएकाले उमेर समूहअनुसार दिमागी विकास पनि फरक हुन्छ । त्यसैले कुनै भर्खर जन्मिएको वा एक दुई वर्षको बच्चा आफु निकट भएकालाई आफुतिर आर्कशित गर्न रुन्छन् । भोक लागेको वा अन्य समस्या परेको बेला बोल्न नसक्ने बालबालिका रुन्छन् ।
डा. बाँस्तोलाका अनुसार सुविधाजनक भित्री वातावरणबाट असुविधाजनक बाहिरी वातावरणमा निस्किँदा र पहिलो शक्तिशाली स्वास लिँदा तथा स्वास फेरेपछि नवजात शिशु रुन्छ । नवजात शिशु संसारमा पहिलोपटक निस्किँदाको केही सेकेण्डभित्र (क्षणभित्र) रुन्छन् ।
मनोविद् गोपाल ढकाल पनि डा. बाँस्तोलको तर्कमा सहमत छन् । बच्चाको पहिलो भाषानै रुवाई भएकाले भोक लाग्दा, असहज वातावरण हुँदा, डरलाग्दा पनि बच्चा रुन्छन् । बच्चाले जब अरु भाषा सिक्दै जान्छ त्यसपछि रुवाइ पनि कम हुँदै जान्छ ।
पिन्चे किन हुन्छन् ?
मानसिक स्वास्थ्य विशेषज्ञले कोही मानिस सानै कुरामा पनि रुने बताउँछन् भने कसैलाई ठूलै कुराले मात्र मन छुने गर्छ । कमजोर मानसिक अवस्था, लजालु स्वभावको मानिस चाँडै रुन्छन् । कतिपयको मनोविज्ञान दह्रो हुने भएकाले हत्तपत्त आँखाबाट आँसु नआउने डा. ओझाको भनाइ छ ।
ओझाका अनुसार मनोविज्ञान कमजोर र दह्रो हुनुमा वंशाणुगत कारणले पनि हुन सक्छ । कोही मानिस छिटो आँसु झार्छन्, भने कोही ढिलो । अर्को कारण बच्चा पेटमा हुँदा देखि बच्चा कस्तो वातावरणमा हुर्किएको छ भन्ने महत्वपूर्ण विषय हुन्छ ।
बच्चा गर्भमा हुँदा आमाले कस्तो खानपिन गरेको छ भन्ने पनि महŒवपूर्ण हुने चिकित्सक बताउँछन् । दिमागले जुन किसिमका खानेकुरा खाएको छ, पौष्टिक आहारा पाएको छ छैन भन्ने कुरा पनि महŒवपूर्ण हुने चिकित्सक बताउँछन् । आमा तथा बुबा कमजोर मानसिकता भएका छन् भने वंशाणुगतरुपमा बच्चा कमजोर मानसिकता भएको हुन सक्छ ।
वयस्कको रुवाई
कतिपय किशोरावस्थाका मानिस कडा स्वभावका हुन्छन् । मानिसको प्रकृतिअनुसारको स्वभाव हुन्छ । १८ वर्ष पूरा भैसकेपछि मानिसमा व्यक्तित्व विकास हुने भएकाले मौसमअनुसार मानिसको स्वभाव पनि परिवर्तन भैरहने डा. ओझाको भनाइ छ ।
मनमा भएका रोधन कुण्ठित पार्नुभन्दा आँसुका माध्यमबाट बाहिर निकाल्नु राम्रो हुने चिकित्सकको सुझाव छ । मनमा पीडा कुण्ठित बनाएर राख्यो भने त्यसले नकारात्मक असर पार्ने डा. ओझा बताउँछन् । वयस्कमा निकै ठूलो चोट लागेपछि मात्रै रुने बताउँछन् ढकाल ।
अर्काको दुखाइमा पनि भावनात्मकरुपमा वयस्कमा पीडा हुने डा. बाँस्तोेला बताउँछन् । धेरै मानिसहरु भावनात्मकरुपमा पनि रुने चिकित्सक बताउँछन् । रुने भनेको सामाजिक सिकाइ हो भन्छन्, चिकित्सक । वयस्कमा लाजको कारणले मानिस कम रुने बताउँछन्, बाँस्तोला । बाँस्तोला भन्छन्, ‘वयस्कमा लाजले मानिस रुवाइ देखाउन चाहँदैनन् ।’
वृद्धावस्थाको आँसु
बुढेसकाल लाग्दै जाँदा मानिसको मस्तिष्क पनि बिस्तारै खिइँदै जान्छ । मस्तिष्क खिइँदै जाँदा वृद्धको मनोविज्ञान पनि बच्चाको जस्तो हुँदै जाने डा. ओझा बताउँछन् । सामान्यतयाः ६५ वर्ष उमेर पूरा गरेपछि नसा खिइँदै जाने भएकाले बचपनको व्यवहारमा फर्कदैजाने डा. ओझाको भनाइ छ ।
समग्र मस्तिष्कले काम गर्ने क्षमतामा ह्रास आउने तथा नसा कम्जोर हुने अवस्थालाइ डिमेन्सिया भनिन्छ । बुढेसकालमा पनि देब्रे दिमाग बिस्तारै निष्क्रिय हुँदै जाने र दाहिने दिमाग सक्रिय हुने भएकाले बुढेसकालमा छिटो चित्त दुख्ने र रुने ढकालको तर्क छ ।
बाँस्तोलाका अनुसार बाल–बच्चादेखि वयस्क सम्मका सबै कारणले वृद्ध रुन्छन् । त्योबाहेक समस्याको समाधानको उपाय नभएर पनि वृद्ध रुन्छन् । डा. बाँस्तोला भन्छन्, ‘आधारभूत जीवनयापनको समस्याले वृद्ध रुन्छन् ।’ विगतका तिता मिठा इतिहास सम्झेर तथा तनावले पनि वृद्ध रुन्छन् ।
रुन दिनु ठिक कि बेठिक ?
कसैलाई कुनै समस्या भयो वा आफन्तको मृत्यु भयो भने मनमा पीडा कुण्ठित हुन दिन नहुने र रुन दिनुपर्ने डा. ओझा बताउँछन् । रुन सकेन भने मनमा पीडा कुण्ठत भयो भने समस्या हुन सक्छ ।
परिस्थितिअनुसारको व्यवहार गर्न नसक्नुलाई एब्जस्मेन्ट डिसअर्डर भनिन्छ । रुनु भनेको प्राकृतिक कुरा भएकाले रुने परिस्थितिमा रुन नसकेको अवस्थामा मनोवैज्ञानिक असरसमेत हुन सक्छ ।
डा. ओझाका अनुसार आँखाले देखिन्छ, कानले सुनिन्छ भने दिमागले सोच्छ, यो अटोमेटिक प्रक्रिया हो, ठ्याक्कै यसै भन्ने हुँदैन ।
रुवाइ पनि संयमित तथा स्वस्थ हुनुपर्छ । जतिबेला पनि जथाभावी रुँदा त्यसले समस्या पनि ल्याउन सक्छ । रुवाइ मनको भावना बाहिर निकाल्ने एउटा माध्यम हो । पीडा पर्दा मानसिक उपचार पद्धतिको एक थेरापीका रुपमा रुवाइलाई लिन सकिन्छ । मानिस रुँदा शरीरमा हानीकारक तत्व बाहिर निस्किने समेत बताउँछन् ।
धेरै रुँदा पनि आँखा राता हुने, निराशा आउनेजस्ता समस्या हुन सक्छन् । सामान्यतः हप्ता १५ दिनमा एक पटक रुनु सामान्य मानिन्छ । सानो–सानो कुरामा पनि रुने मानिसको स्वभाव हुने पनि चिकित्सक बताउँछन् । तनाव भएपछि शरीर पनि तनावमा हुने भएकाले आँसु झर्छ । लिम्बिक सिस्टमले रुन निर्देशित गर्ने भएकाले मानिस रुन्छन् ।
Leave A Comment