‘अडियन्सलाई हावा फिल्म नै चाहिने रहेछ, अब म पनि त्यस्तै फिल्म बनाउँछु’

मङ्गलबार, २२ साउन २०७५, ०८ : २३ अनिल यादव
‘अडियन्सलाई हावा फिल्म नै चाहिने रहेछ, अब म पनि त्यस्तै फिल्म बनाउँछु’

सोमबार दिउँसो विनय श्रेष्ठ (अभिनेता) को कार्यालय पुग्दा उनी अलि तनावमा देखिन्थे । त्यो दिन उनले निर्माण तथा अभिनय गरेको फिल्म ‘रोमियो एन्ड मुना’ चौथो दिनमा प्रदर्शन भइरहेको थियो । अनुहारले प्रष्टै भन्थ्यो, ‘फिल्मले राम्रो व्यापार गरेनछ ।’ १२ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय विनयले यसअघि ‘सानो संसार’, ‘फस्ट लभ’, ‘भिसा गर्ल’, ‘रेशम फिलिली’ लगायत फिल्ममा काम गरेका छन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :

हलमा फिल्म लागिरहँदा घरमा निन्द्रा कत्तिको लाग्ने रहेछ ?
धेरै दिनपछि राम्रोसँग निन्द्रा पु¥याएको आज मात्रै हो (हाँस्दै) । 

व्यापार अपेक्षा गरेअनुसार भएन है ?
अनेस्ट्ली, मैले धेरै/थोरै केही अपेक्षा राखेको थिइनँ । गो विथ द फ्लो भन्ने टाइपले छोडेको थिएँ । मलाई एउटा कुरामा भने विश्वास थियो, अडियन्सले फिल्म हेर्नुहुन्छ र फिल्म मन पराउनुहुन्छ । फिल्मको लगानी अनुसार व्यापार त भएन तर आजसम्म जतिले हेर्नुभएको छ, ९५ प्लसले राम्रो नै भन्नुभएको छ । अझै  टाइम छ, हलमा १०/१२ शोज होल्डमै छ । लेट्स सी ! अझै आशा राखौं । 

तपाईं सोलो हिरो भएर खेलेका फिल्म तपाईंलाई फापेन है ! कहिले भूकम्पका कारण चल्दिएन, कहिले दर्शकका कारण । के लाग्छ तपाईंलाई ?
मैले लिड गरेको फिल्मै नचल्ने भनेर भन्न पनि मिल्दैन । सबै कुरा समयले ठीक पार्ने रहेछ । अहिले नेपाली फिल्मको सन्दर्भमा म मात्रै एउटा एक्टर होइन होला जसको मुभी कमर्सियल्ली सक्सेस भएन । हलबाट ६ हजार ग्रसमात्रै लिएर जाने फिल्म पनि छन् । त्यसैले मैलै कसैलाई पनि ‘ब्लेम’ लगाउन मिल्दैन । फेरि मेरो ग्रोथ नै छैन भन्न पनि मिल्दैन । पहिला म एक्टिङ मात्रै गर्थें, अहिले प्रोडक्सन हाउस खोलेर आफैँ प्रोड्युस पनि गर्छु । फिल्म इक्विपमेन्ट्सको बिजनेस पनि सुरु गरेको छु । क्यामेरा आदि सामग्रीको मेरो आफ्नै सेटअपहरु छ । खासगरी मेरो अहिले लक्ष्य आफूलाई ब्रान्ड बनाउने भन्ने हो । जुन बिस्तारै हुँदैछ । पैसा भनेको त बिस्तारै कमाइन्छ । आखिर मसँग भएको क्षमता मरेर जाने होइन क्यारे ! फिल्म भनेको त एउटा नचले अर्को चल्छ । आशा त बाँचुञ्जेल त्याग्नुहुँदैन । फिसरमेन भएपछि सधैँ स–सानै माछा नपर्ला, कहिलेकाहीँ त व्हेल पनि हात पर्ला नि !  

फिल्म रिलिज भएपछि अहिले पाउनुभएको सबैभन्दा फन्नी प्रतिक्रिया केही छ ?
फन्नी कमेन्ट्स त पाएको छैन तर प्रशंसा धेरैले गर्नुभयो । एज अ प्रोड्युसर, म फिल्मको बिजनेसले खुसी छैन तर अहिले मलाई खुसी बनाइरहेको यही प्रशंसाले नै हो । बिहान उठ्नेबित्तिकै मोबाइल खोल्दा म्यासेजहरु आइरहेको हुन्छ, ‘नाइस फिल्म’, ‘गुड वर्क’ आदि–इत्यादि । 

फिल्मको बजेट कति हो ?
डेढ करोड लाग्यो । 

निर्देशकको पारिश्रमिक मात्रै १५ लाख है ?
हो । 

अहिले नेपाली फिल्ममा कलाकार र निर्देशकले ५० लाख, २० लाख लिएको खबर सुनिन्छ । नेपाली फिल्मको बजार र व्यापारसँग यो कति मेल खान्छ भन्ने लाग्छ ?
गाह्रो छ । फेरि कतिपयले ५ लाख लिएर १५ लाखको हल्ला पनि पिटेका हुनसक्छन् । यो पनि बुझ्न जरुरी छ । अर्को कुरा, मलाई लाग्छ एक्टर भनेको प्राइस ट्याग होइन । क्षमता वृद्धि गरेर आउने, पैसाले तिमीलाई आफैँ पछ्याउँछ । तर यहाँ एक्टर आफैँले आफैँलाई प्राइस ट्याग बनाइरहेको छ । मेरो भ्यालु यति लाखको, उति लाखको भन्दै । यो आफैँले आफूलाई स्टार दाबी गर्ने प्रवृत्ति पनि हो जस्तो लाग्छ । तर यो कसैलाई व्यक्तिगत रुपमा आरोप होइन है, मेरो व्यक्तिगत धारणा मात्रै हो । 

भर्खरै उपत्यकामा बक्सअफिस सिस्टम लागू भएको छ । व्यापारको दैनिक हिसाबकिताब पाइरहनुभएको छ ?
रिपोर्टको बारेमा मेरो प्रोड्युसर पार्टनरले हेरिरहेको छ । उसले दिनहुँ रिपोर्ट पठाइरहेको हुन्छ तर मलाई सुन्नु नै छैन त्यो रिपोर्ट । मुटु नै चिसो हुने रिपोर्ट के सुन्ने ! (हाँस्दै) अब त म एकदमै कमरसियल्ली फिल्म बनाउनतिर लाग्ने हो । पुग्यो क्या अब ! हामी फिल्म क्षेत्रलाई यसरी उसरी योगदान पु¥याउँछौँ भन्दै हिँडेर के गर्ने ? चाहिएको बेला सपोर्ट गर्ने कोही हुँदैनन् । अडियन्सलाई पनि हावा फिल्म नै चाहिने रहेछ । अब म पनि हावा फिल्म नै बनाउनतिर लाग्ने हो । अफकोर्स, लजिक त हुन्छ तर  फिलोसफीको कुरा गरेर अब चल्दैन भन्ने चेतियो ।  

घरकी मुना (श्रीमती) सँगसँगै बसेर फिल्म हेर्दा कस्तो प्रतिक्रिया पाउनुभयो ?
मेरी श्रीमती, ममी, बहिनी भनेका मेरालागि सबैभन्दा सही समीक्षक हुन् । उनीहरुको कुरा म पत्याउँछु । उनीहरुले पनि फिल्म राम्रो भने । केही कमजोरी पनि औँल्याएँ, जुन मैले स्वीकारेँ । कमजोरी त हलिउड फिल्ममा त हुन्छ, हामीकहाँ किन नहुने ? अर्को कुरा, फिल्म त मेरो वाइफ, मम र सिस्टरले मात्र होइन, हेर्ने दर्शकले पनि राम्रो भने । यहाँ हेर्न नगइदिँदा पो टेन्सन भयो त ! 

फिल्ममा तपाईंको क्यारेक्टर वेदले बोल्ने एउटा द्विअर्थी शब्द छ–स्यान्डविच । वेदका लागि यौन प्यास मेट्नु भनेको स्यान्डविच खानु हो । कसले ल्यायो यो कन्सेप्ट ?
यो हामी बस्दाबस्दै निस्केको कुरा हो । गौरव । वेद भन्ने क्यारेक्टरलाई जस्टिफाई गर्ने एउटा गीत चाहिएको थियो । क्यारेक्टर रोमियो छ, एउटा डबल मिनिङ जनाउने कुनै कुरा खोजिरहेका थियौं । एकपल्ट हामीले मिटिङमा खाजा क्लब स्यान्डविच मगाएका थियौं । त्यति नै बेला आइडिया फु¥यो– ‘स्यान्डविच मी’ गरौं भन्ने कुरा आयो । त्यसपछि गीत पनि बनायौं । क्यारेक्टरको हुक लाइन पनि भयो ।  

फिल्ममा त तपाई एकदमै ‘स्यान्डविच’ प्रेमी हुनुहुन्छ । वास्तविक जीवनमा कत्तिको ‘स्यान्डविच’ खाइन्छ नि ?
बिहे गरेपछि त नैतिक रुपमा त्यस्तो हुन मिल्दैन । तर सिंगल हुँदा त अफकोर्स, खाइन्थ्यो । मेरो मल्टिपल गल्र्डफ्रेन्ड्स थिए । किन ढाँट्नु र ? मलाई स्कुल/कलेजमा प्लेयर्स नै भन्थे । विनयको हात-हातमा गलफ्रेन्ड भन्दै जिस्काउँथे । तर अहिले व्यवहारिक भएपछि त्यस्तो छैन । 

फिल्ममा तपाईं निकै घमण्डी र हठी स्वभावको हुनुहुन्छ । यो स्वभाव रियल लाइफसँग कतिको मेल खान्छ ?
म घमण्डी छैन तर मान्छेहरु त्यस्तो भन्छन् । एरोगेन्ट (घमण्डी) र एटिट्युुड फरक कुरा हो । म आफूलाई गुड एटिट्युुड भएको केटा ठान्छु । एटिट्युुड भनेको स्टाइल हो, त्यसलाई घमण्ड भन्न मिल्दैन । 

१२ वर्षको आफ्नो फिल्मी यात्रालाई कसरी समीक्षा गर्नुहुन्छ ?
बिस्तारै आइरहेको छु । पहिलो फिल्म ‘सानो संसार’बाट ‘रोमियो एन्ड मुना’सम्म आइपुग्दा आफूमा ग्रोथ पनि पाएको छु । म अझै बलियो, परिपक्व र जिम्मेवार भा’को छु । मैले पैसा कमाइनँ तर अरु धेरै कुरा कमाएँ । 

तपाईंले भारत पुगेर एक्टिङ पनि सिक्नुभयो, है ?
किशोर कपुरको एक्टिङ इन्स्टिच्युटमा सिकेँ । ६ महिनाको डिप्लोमा कोर्स गरेँ, दुई वर्षजति त्यतै बसेँ । 

बलिउड एक्टर इमरान खान र तपाईंले सँगै सिक्नुभएको भन्ने सुनेको थिएँ, हो ?
हो । इमरान र म ब्याचमेट थियौं । 

उहाँ बलिउडमा जम्नुभयो तर तपाईं नेपाल फर्कनुभयो । बलिउडमै काम गर्न मन लागेन ?
इमरानलाई आमिर खानको भान्जा भएर सजिलो भयो । म त कसैको भान्जा थिइनँ, बलिउडमा । अडिसनहरु त दिएँ तर जोड दिएर लागिनँ । यता फेमिलीमा पनि मम एक्लै हुनुहुन्थ्यो । ड्याड सानोमै बित्नुभयो । त्यसैले उता सिकेर यतै आएर काम गर्ने भन्ने नै थियो मनमा । फेरि बम्बई भन्ने ठूलो ठाउँ हो नि, सजिलो छैन बलिउड पुग्न । 

एक्टर बन्ने भुत सानैदेखि हो ?
एक्टर नै बन्छु भन्ने लक्ष्य त सानैदेखिको होइन । म केजीमा पढ्दा मेरो बुबा क्यान्सरले बित्नुभयो । त्यतिबेलादेखि ममा भोलिपर्सी ठूलो क्यान्सरको डाक्टर बन्छु अनि अरुलाई बचाउँछु भन्ने भावना थियो । कक्षा ८ मा पढ्दा एकजना स्टाइलिस्ट सर हुनुहुन्थ्यो । म बास्केटबल खेलिरहेका बेला उहाँले एकदिन बोलाउनुभयो अनि भन्नुभयो, ‘तँ इन्डियाको सुपरमोडल जस्तै देखिन्छस् । म्यागजिन हेर् त ।’ फोटो पनि खिचाउनुभयो । त्यसपछि ममा पनि हो कि जस्तो भयो ।  एसएलसीपछि दिल्लीमा दुई हप्ताका लागि मोडलिङ सिक्न गएँ । फर्केर आएपछि ७०–८० वटा म्युजिक भिडियो खेलेँ । दर्जनजति विज्ञापनमा काम गरेँ । त्यसपछि अब के गर्ने भन्ने भयो । अब फिल्मतिर जम्प गर्नुपर्छ भन्ने लागेर एक्टिङ सिक्न इन्डिया गएँ । 

१२ वर्षको अवधिमा तपाईंको फिल्म संख्या जम्माजम्मी ९ वटा पुग्यो । अरु त एक वर्षमै ९ वटा खेल्छन् । तपाईंको किन कम ?
नम्बर मात्रै बढाएर के गर्ने ? दुई दिनमै फिल्म उत्रियो भने ? अब भने वर्षमा दुइटा गर्ने हो । एउटा त पुरा लोकल फिल्म बनाउने हो (हाँस्दै)। हामीलाई दाल भात तरकारी नै मीठो लाग्ने रहेछ, स्यान्डविच पचेन । 

मनोरञ्जन क्षेत्रको के कुराले चित्त दुख्छ ?
हाम्रो फिल्म क्षेत्रमा यसले राम्रो फिल्म बनाको छ, यसलाई पुस गर्नुपर्छ भन्ने मान्यता कसैले राख्दैन । कसैले अरुको कामलाई स्वीकार नै गर्दैन रहेछ । हाम्रो फिल्म इन्डस्ट्रीमा एकता छैन क्या ! आफ्नो फिल्म रिलिज हुन लाग्दा ‘ब्रो ब्रो’ भन्छन् । अरुको रिलिज हुन लाग्यो भने दुलोभित्र हराउँछन्, मतलब गर्दैनन् । योपालि म एकदमै निरुत्साहित भएको छु । पैसामात्रै ठूलो कुरा होइन । यो त आज भएन भने भोलि कमाइन्छ । तर कसैले इन्डस्ट्रीलाई नै प्रतिनिधित्व गरेर राम्रो काम गर्न खोजिरहेको छ भने त्यहाँ पनि सपोर्ट पाइनँ । राम्रो सोज पाउनको लागि पनि पर्सनल्ली हल–हलको सिइओसँग गएर भेट्नुपर्छ, राम्रो सोज दिनुस् भनेर रिक्वेस्ट गर्नुपर्छ । फिल्म चल्यो भने त उहाँहरुले पनि ५० पर्सेन्ट खाने हो । नाथे एउटा पोस्टर हलमा राख्दिदैनन् । एउटा पोस्टर राखेको पैसा पनि निर्माताबाटै लिन्छन् यार । दुःखलाग्छ यो सब देख्दा । कसका लागि केका लागि फिल्म बनाउने जस्तो हुने रहेछ । विशेषगरी नयाँ हल खोल्नेहरुले फिल्मको क्वालिटी बुझ्न जरुरी छ । हलमात्रै राम्रो हालेर भएन, फिल्म रिलिजका बेला उहाँहरुले पनि फिल्म चलाउन सक्दो पहल गरुन भन्ने लाग्छ । एउटा फोन कल आएन ! कम्तीमा उहाँहरुले (हल संचालक) तपाईंको फिल्म आउँदै रैछ, राम्रो कन्सेप्ट रैछ, हामी सपोर्ट गर्छौं जस्ता मोटिभेटिभ कुरा त गर्न सक्नुहुन्थ्यो तर त्यो पनि पाइनँ । 

बिहे गरिसक्नुभयो तैपनि कहिलेकाहीँ तपाईंका पुराना सम्बन्धबारे बजारमा चर्चा हुने गर्छन् । उदाहरणका लागि ऋचा शर्मासँगको प्रेम । कस्तो लाग्छ ति चर्चा सुन्दा ?
मलाई त त्यस्तो मतलब लाग्दैन । बितेको कुरा बितेकै हुन्छन् । यत्ति हो, मेरा पुराना सम्बन्धहरुलाई मेरो कुनै सहयोग चाहियो भने म हरदम तयार छु । 
 

Leave A Comment