गुण्डाका कारिन्दा थापा प्रहरीले नखोज्दै सुटुक्क जेल

शनिबार, ०१ चैत २०७६, १२ : ५१ टपेन्द्र कार्की
गुण्डाका कारिन्दा थापा प्रहरीले नखोज्दै सुटुक्क जेल

उच्च अदालत पाटनले २३ माघमा जिल्ला अदालत काठमाडौंको निर्णय उल्टाउँदै गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राखेर अनुसन्धान गर्ने आदेश दियो। काठमाडौँ जिल्ला अदालतले १ असोज २०७६ मा धरौटीमा छोड्ने निर्णयलाई उच्च अदालतले पाटनले बदर गरिदिएको थियो। त्यसयता उनी सम्पर्कविहीन थिए। थापाविरुद्ध परेको रिटमाथि २३ माघमा सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमको इजलासले जिल्ला अदालतको निर्णय बदर गरेको थियो। उच्च अदालतले निर्णय बदर गर्दै थापालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी अदालत परिसरबाटै गायब भएका थिए। गुण्डा नाइके समीरमानसिंह बस्न्यातको कारिन्दाको रुपमा प्रयोग भएका थापा अन्ततः आफैँ कारागारमा हाजिर हुन पुगे।

कारागार प्रशासनले दिएको जानकारीअनुसार गत सोमबार सुटुक्क आफैँ डिल्लीबजार कारागार पुगेका हुन्। प्रहरीले खोजी गरिरहेका व्यक्ति कारागार पुगेपछि मात्रै त्यहाँको प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोलाई जानकारी गरायो। गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशलाई जिल्ला अदालत काठमाडौंले एक लाख धरौटीमा छोडेको थियो।

उच्च अदालतले अन्य प्रतिवादीहरु पनि  पुर्पक्षमा राखिएकाले नरेशलाई धरौटी माग गर्ने अदालतको आदेश बेरितको देखिएकाले थुनामै राख्न आदेश दिएको थियो।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा थापाको संलग्नता रहेको आरोप लगाएको छ। अन्य आरोपित सुरेन्द्रमान सिंह बस्नेत र शैलेश प्रजातापतिसँग थापा जोडिएको आरोप छ।

नरेश थापा

संगठित गिरोहसँग मिलेर रकम उठाएको आरोमा पक्राउ परेका गृहमन्त्री थापाका भाइ थापालाई काठमाडाैं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका हुन्।

उनीसँगै पक्राउ परेका अन्य पाँच जनाका हकमा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिइएको थियो पवन खड्का, वीरबल भट्टराई, सुरेन नगरकोटी बलामी, शैलेश प्रजापति र विनोद लामा अहिले पनि थुनामै छन्।

थापा ‘क’ ब्लकमा
आत्मसमर्पण गरेका थापालाई कारागार प्रशासनले डिल्लीबजार कारागारको ‘क’ ब्लकमा राखेको छ। यसअघि पूर्वसभामुख कृष्णबहादुर महरा पनि ‘क’ ब्लकमै रहेका थिए।

डिल्लीबजार कारागारको ‘क’ ब्लक सुविधाका हिसाबले राम्रो मानिन्छ। प्रहरी निरीक्षक बनाइदिन्छु भनी घुस लिएको अभियोगमा अख्तियारद्वारा पक्राउ परेका नेकपाका पूर्वसांसद डिबी कार्की पनि अदालतको फैसलासँगै डिल्लीबजार कारागारको ‘क’ ब्लकमा बसी हाल कैद भुक्तान गरिसकेका छन्।

सुडान घोटाला भ्रष्टाचार काण्डमा सर्वोच्चद्वारा दोषी ठहरिएका नेपाल प्रहरीका पूर्वआइजिपी रमेशचन्द ठकुरी, श्रीमती हत्याको अभियोगमा अदालतद्वारा जन्मकैद सजाय सुनाइएका सशस्त्रका पूर्वडिआइजी रञ्जन कोइराला पनि कारागारको ‘क’ ब्लकमा नै रहेका छन्। कारागार स्रोतका अनुसार गृहमन्त्री थापाका भाइ नरेश पनि अहिले सोही ब्लकमा बस्छन्। दुई वर्षअघि राजधानीमा भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याकाण्डका मुख्य अभियुक्त समीरमान सिंह बस्न्यातसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा थापालाई अदालतले थुनामा राख्न आदेश दिएको हो।

यसअघि चिरायू अस्पतालमा
समीरमानसँग मिलेमतो गरेको मुद्दामा पक्राउ परेपछि थापाले प्रहरीको हिरासत नै अस्पताल बनाएका थिए। बसुन्धरास्थित चिरायू अस्पतालमा भर्ना भएर बसेका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सकको ‘प्रेप्सक्रिप्सन’ ल्याएर उनी सो अस्पतालमा भर्ना भएका थिए।

सिआइबीले बयानका लागि कार्यालयमा बोलाएपछि आफैँ गएका थापा त्यहाँ एक रात मात्रै बसेका थिए। त्यसपछि उनी अस्पतालमै बसेका थिए।

के भएको थियो ?
गुण्डा नाइकेसँग सम्पर्कमा देखिएपछि पक्राउ परेका शैलेश प्रजापति पूर्वमाओवादी कार्यकर्ता पनि हुन्। प्रजापतिलाई खड्काले प्रयोग गरिरहेका थिए भने प्रजापतिले समीरसम्म पुग्ने बाटो खोलिदिएका थिए। समीरको योजनाअनुसार बाहिर बसेर पवन खड्काले थापालाई पैसा उठाउने र खर्च गर्ने विषयमा बुझाएर समीर ग्याङमा प्रवेश गराएको थियो। थापासहित काठमाडौं स्युचाटारका खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरबल भट्टराई र मनबहादुर पुन मगर एकै ग्याङबाट परिचालित भएका थिए।

केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्न्यातसँग मिलेर निर्माण व्यवसायीहरूसँग पैसा उठाएको, जेलमै गएर समीरलाई भेटेको र व्यवसायीहरूलाई धम्क्याएको आरोपमा प्रहरीले थापालाई पक्राउ गरी आपराधिक लाभ तथा संगठित अपराधमामा मुद्दा लगाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको थियो। सो सिफारिसअनुसार सरकारी वकिलको कार्यालयले उनीविरुद्ध काठमाडांै जिल्ला अदालतमा मुद्दा दायर गरेपछि उनीहरु फँसेका हुन्।

पक्राउ परेकामध्ये स्युचाटारका खड्का र भेडासिंहका प्रजापतिले थापाको निर्देशनअनुसार व्यापारीलाई धम्क्याएको बताएपछि सिआइबीले उनको मोबाइल ‘कल डिटेल’ निकालेर अनुसन्धान सुरु गरेको थियो। थापा आफैं केन्द्रीय कारागारमा समीरलाई भेट्न गएको पुष्टि भएपछि उनलाई पक्राउ गरी थप अनुसन्धान गरिएको थियो। ‘कोहीसँगै परिचय गर्नुपर्दा थापा आफ्नो नाम नबताएर आफूलाई गृहमन्त्रीको भाइ भन्दै परिचय दिँदा रहेछन्। सुरुमा हामीले अनुसन्धान लागि बोलाउँदा पनि ठूलै मिहिनेत गर्नुपरेको थियो,’ सिआइबी स्रोतले भन्यो। थापाले प्रहरीसँगको कागजी बयानमा इन्कार गरे पनि अनौपचारिक कुराकानीमा भने आफू जग्गा कारोबारी रहेको र त्यसक्रममा समीरलाई भेट्न कारगार गएको स्वीकार गरेका थिए। प्रहरीसँग अनौपचारिक रूपमा स्वीकार गरेपछि अन्य प्रमाण पनि प्रहरीले जुटाएको थियो।

सिआइबीले ठेकेदार जयराम लामिछाने, दीपक गौतम, लाक्पा नुरु शेर्पासहित २५ जनाको सामूहिक जाहेरीका आधारमा उनीहरूविरुद्ध मुद्दा चलाएको थियो। प्रहरीका अनुसार केन्द्रीय कारागारमा रहेका समीरले करिब सय जना निर्माण व्यवसायी र व्यापारीका नाम, निजी कार्यालय र घरको फोन नम्बर र उनीहरूको व्यापार ठेक्का विवरणसहितको कागजात दिएर खड्कालाई पैसा उठाउने जिम्मा दिएका थिए। सो कागजात उनले सुरेन नगरकोटीमार्फत दुबईमा रहेको जे भनिने जावेद अनवदिनलाई उपलब्ध गराएर पैसा उठाउने कार्य सुरु गरेको प्रहरी दाबी छ। निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्न रहेको आरोपमा कैद भुक्तान गरिरहेका समीरले जेलबाटै निर्माण व्यवसायीहरूलाई धम्क्याउने गरेका थिए।

थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरसँग नियमित रूपमा भेटघाट गरेको देखिएको थियो। निर्माण व्यवसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुण्डागर्दी गर्ने समूहका नाममा पक्राउ परेका पवन खड्का र शैलेश प्रजापतिले दिएको बयान र प्रहरीले निकालेको कल डिटेलअनुसार थापाले बस्नेतसँग नियमित सम्पर्क गरेको देखिएको भन्दै उनलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको थियो।
कारागारको सुरक्षामा खटिएका प्रहरी निरीक्षक विपिन ओझाले तत्कालीन माओवादी कार्यकर्ता तुलसी भन्ने व्यक्तिसँग आएर थापाले समीरसँग भेट गरेको पुष्टि गरेका थिए। ओझासँग थापाको पुरानो चिनजानसमेत थियो। आफू जगन्नाथ देवल कारागारमा ड्युटीमा रहेका बखत थापा समीरलाई भेट्न अएको ओझाले पुष्टि गरेका थिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिएको बयानमा ओझाले समीर र थापाको भेट भएको उल्लेख गरेका छन्। ‘२÷३ महिनाअघि उहाँ (थापा) आउनुभएको हो। उहाँ तत्कालीन माओवादीका कार्यकर्ता तुलसीको साथमा आउनुभएको थियो,’ ओझाको बयानमा उल्लेख छ। पक्राउ परेकामध्ये पवन खड्काले हाल फरार रहेका जावेद भनिने जावेद अनवरदिनलाई पटकपटक म्यासेज गरेर ‘हाम्रो कामको साथमा गृहमन्त्रीका भाइ नरेश थापा छन्, उनले हामीलाई बचाउँछन्’ भन्ने उल्लेख गरेका थिए। ‘हाम्रो काममा गृहमन्त्रीकै भाइ रहेका कारण डर मान्नुपर्दैन, जेलमा गएर समीर दाइसँग पनि भेट गरेर आउनुभएको छ। ढुक्क भएर काम अघि बढाऔं भनेको हुँ,’ पवन खड्काले बयानमा भनेका छन्, ‘हामीलाई यो काममा सहयोग गर्ने नरेशकुमार थापा नै हो।’

प्रहरी निरीक्षक ओझासँग थापाको चिनजान मन्त्रीनिवास जानेआउने क्रममा भएको थियो। ‘हरिहर भवनमा ड्युटीमा रहेका बेला उहाँसँग मेरो चिनजान भएको हो,’ ओझाले बयानमा भनेका छन्। पवनसँगै पक्राउ परेका शैलेश प्रजापतिले पनि सोही प्रकारको बयान दिएका छन्। उनले आफ्नो फुड कोर्ट भन्ने खाजा पसलमा आएर थापाले ढुक्क भएर काम गर्नुस्, मेरो साथ छ भनेको बयान दिएका छन्। ‘उहाँ (थापा) मेरो खाजा पसल फुड कोर्टमा आउनुहुन्थ्यो। कुनकुन ठेकेदारसँग पैसा उठाउने र कतिकति लिने भन्नेबारेमा मेरै खाजा पसलमा योजना बनेको हो।  उहाँसहित बनेको योजनाअनुसार दीपक गौतम, जयराज लामिछाने, लाक्पा गेलु शेर्पालगायतका ठेकेदारसँग पैसा उठाउने विषयमा कुराकानी भएको हो,’ शैलेशको बयानमा उल्लेख छ।

त्यस्तै जेलमा रहेका मनबहादुर पुनको बयानअनुसार थापाले समीरमानलाई जेलमै पुगेर भेटेका थिए। भेटमा केके कुरा भएको भन्ने भने थाहा नपाएको पुनले बताएका छन्। समीरमानले भनेअनुसार कारागारमा कार्यरत प्रहरी जवान वीरबल भट्टराईले आफ्नै भतिजोलाई दुईवटा मोबाइल किन्न लगाएर एउटा समीरलाई र अर्को पुनलाई दिएका थिए। पुन पूर्वप्रहरी पनि हुन्।

जेलबाटै बाहिर ग्याङ
समीरको निर्देशनमा पवन खड्काले नै नरेश थापा, जावेद र शैलेश प्रजापतिको ग्याङ बनाएका थिए। सुरेन नगरकोटी र मनबहादुर पुन मगर भने समीरसँगै जेलमा छन्। समीरले नै जेलमा बसेर बाहिर आफ्नो ग्याङ परिचालन गरेका थिए। उनले सोही ग्याङमार्फत ठेकेदारसँग पैसा असुली गर्ने गरेका थिए।  प्रहरीसँगको बयानमा ठेकेदारहरू जयराम लामिछाने, दीपक गौतम र लाक्पागेलु शेर्पाले आफूहरूसँग समीर थापाको नाम लिएर पैसा मागेको, नदिए ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन्। ‘२०७५ फागुनको अन्तिमदेखि नै मलाई शेर्पा शेर्पाजी भन्दै फोन गरी आफ्नो नाम नबताई धम्की दिएका हुन्,’ शेर्पाको बयानमा उल्लेख छ। त्यसैगरी दीपक गौतमले पनि २०७५ फागुन २६ पछि निरन्तर अज्ञात नम्बरबाट फोन आएको र चन्दा मागेको, नदिए अपहरण गर्ने धम्की दिएको बयान दिएका छन्। ‘दिउँसोको समयमा फोन आउने गथ्र्यो, मैले प्रयोग गर्ने मोबाइल नम्बरमा गौतमजी भन्दै फोन आएको हो मैले चिनिनँ, तपाईं को हो भन्दा म तपाईलाई राम्रोसँग चिन्छु, तपाईंको कम्पनीले पाएको ठेक्काको ३ प्रतिशत रकम हामीलाई दिनुहोला, नदिए अपहरण गरी गौचनको हालत त थाहा होला नि’ भन्दै ध्म्क्याएको गौतमको बयानमा उल्लेख। गौतमले प्रहरीलाई कुराकानीको अडियो रेकर्डसमेत बुझाएका छन्। गौचन हत्यामा अहिलेसम्म मुख्य योजनाकार समीरसहित, राजीव स्याङ्तान, शिवजी महतो, मुकेशकुमार पाण्डे, प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, लोप्साङ लामा, अम्बर बहादुर राना, श्याम बहादुर गुम्बे र रोशन बुढाथोकी पक्राउ परिसकेका छन्। सोही हत्यामा जोडिएका मनोज पुन भने २०७४ फागुन ९ गते रूपन्देहीको ‘इन्काउन्टर’ मा मारिए।

हाल सो हत्याकाण्डसँग जोडिएका समीरको ग्याङमा गृहमन्त्री थापाका भाइ नरेश थापा पनि जोडिएका थिए। सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) निरञ्जनदत्त भट्टले यो मुद्दाको अगुवाइ गरेका थिए।

Leave A Comment