आत्मसमर्पणपछि सिधै जेल

शनिबार, २४ फागुन २०७६, ०१ : ०२ शुक्रवार
आत्मसमर्पणपछि सिधै जेल

जबरजस्ती करणी मुद्दा लागेका चतराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीले अन्ततः अदालतमा पुगी आत्मसमर्पण गरेका छन्। आफ्नै शिष्याबाट बलात्कारको आरोप लागेर प्रहरीले पक्राउ गर्ने सुइँको पाएपछि कृष्णदास गिरी हृदयाघातको नाटक गरेर विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना भएका थिए।

मंसिर १६ मा अस्पतालबाटै पक्राउ परेका उनले पक्राउ छल्ने प्रपञ्च गरिरहे। न्यायालयले उनलाई पक्राउ गर्ने बाटो खोलिदिएपछि उनको केही जोर चलेन। देशकै पूर्वप्रधानमन्त्रीदेखि ठूलाठूला ओहदामा रहेका व्यक्तिहरुसँगको नजिकको सम्बन्ध बनाएपछि जस्तोसुकै अपराध गरे पनि जोगिइन्छ भन्ने मानसिकता बोकेकालाई सिद्धबाबाको जेल चलानले लोप्पा खुवाइदिएको छ।

जिल्ला अदालत सुनसरीले धरौटीमा छाड्ने निर्णय दिएको भए पनि उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। देशी तथा विदेशी साथ र सहयोग पाएका कृष्णदास सो आदेश आउनुअघि नै भारत पुगिसकेका थिए।

जिल्ला अदालत पर्साबाट उनीबारे आएको आदेशमा बलात्कारको अभियोग लागेपछि गिरीले माफी माग्दै गरेको फोन कल रेकर्डलाई प्रमाणको रुपमा स्वीकार गरिएको छ। उनले सो अडियोमा आफूबाट गल्ती भएको स्वीकार्दै अब लिङ्ग काट्न तयार भएको भन्दै उजुरी फिर्ताका लागि अनुनय गरेका थिए।

आदेशअनुसार गिरीले सो आवाज आफ्नो नभएको दाबी गरे पनि परीक्षणमा सो आवाज उनकै हो भन्ने प्रतिवेदन आएकाले अन्यथा हुन नसकेको भन्दै अभियोगमा उनी निर्दोष हुन् भन्न सक्ने अवस्था नरहेको स्वीकार गरिएको छ। प्रमाणको रुपमा अदालतमा पेश गरिएको अडियो गिरीको हो हैन भनेर ल्याब परिक्षण गर्दा ७० प्रतिशतसम्म मिलेको थियो।

सो अडियो उनकै स्वीकार गरिएकाले अडियोमा उनले गरेको कुराकानीमा बलात्कार भएको देखिन्छ तर अदालतबाट ‘पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी’ तीन लाख धरौटी मागियो।

धरौटी माग्न अदालतले गिरी र पीडित महिलाबीच भएको ५३ वटा फेसबुक म्यासेजलाई आधार बनाएको देखिन्छ। आदेशमा ‘प्रतिवादीले एकतर्फी रुपमा सिद्धबाबालाई गरेको करिब एक वर्षसम्मको ५३ थान मुख्य अंश गरेको आशक्तिपूर्ण प्रेम रसका म्यासेजहरु हाल अन्यथा नभएको परिवेशमा प्रस्तुत वारदातलाई जबर्जस्ती करणी भनी मुद्दाको पुर्पक्ष गर्नका लागि प्रतिवादीलाई थुनामा राखी कार्बाही गर्नु औचित्यपूर्ण नरहेको’ उल्लेख छ।

अडियोको आधारमा संलग्न हैन भन्न सक्ने आधार नभएको तर म्यासेज हेर्दा बलात्कार हो भन्न सकिने अवस्था पनि नभएको आधारमा अदालतबाट धरौटीको आदेश आएको देखिन्छ।

महिलाले पनि आफूले म्यासेज गरेको स्वीकार गर्दै आएकी छन्। गिरीले आफूलाई एकोहोरो बनाएको, उनलाई नै भेटौँभेटौँ हुने गरेपछि म्यासेज पठाएको उनको तर्क थियो।

Leave A Comment