आठ राउण्ड गोली लागेर बाँचेकी लक्की रचना

आइतबार, २७ साउन २०७५, ०५ : ०७ जाङ्बु शेर्पा
आठ राउण्ड गोली लागेर बाँचेकी लक्की रचना

पिठ्यू, गाला, घाँटी, कम्मर, पेट र हातमा आठ राउन्ड गोली लागेर पनि कोही बाँच्न सक्ला र ?
असम्भव ! एकै गोलीले पनि व्यक्तिको इहलीला समाप्त गरिदिन्छ तर राम्रो स्वास्थ्य सुविधा र भाग्यले साथ दियो भने कसैको केही लाग्दैन ।

यसैको उदाहरण बनिन् अमेरिका निवासी ३०  वर्षीया रचना श्रेष्ठ । सहज जीवनको खोजीमा एक वर्षअगाडि अमेरिका पुगेकी उनलाई स्टोरमा काम गरिरहेको बेला एकाएक आठ राउण्ड गोली प्रहार भयो । 

सेन्ट फ्रान्सिस अस्पतालको बेडमा उनले एक साता मृत्युसँग पौँठेजोरी खेलिन् र अन्त्यमा जीत उनकै भयो । लुटेराको प्रयास असफल भयो । चिकित्सकको प्रयास र भाग्यको साथले उनको मुस्कान फर्कायो । टेल्सा सहरको सेन्ट फ्रान्सिस सहरमा उपचारपछि अहिले उनी आफ्नै क्वार्टरमा तंग्रिने प्रयासमा छिन् । 

रचनाका पति कपिल श्रेष्ठका अनुसार आठ गोलीमध्ये पाँच वटा निकालियो तर अझै तीन वटा गोली शरीरमै छ । ‘तीनै ओटा गोली नशामा च्यापिएको छ,’ उनले शुक्रवारसँग भने । रचनाको खुट्टामा लागेको चोटको ज्यादा पीडा छ । उनको देव्रे खुट्टावाट गोली निकालियो तर अझै निदाएको अवस्थामा छ । 

यसरी भयो आक्रमण

प्रायः खाद्य स्टोरमा साँझ र बेलुकीको समयमा आक्रमण हुने गरे पनि रचनामाथि भने दिउँसै आक्रमण भएको थियो, लुटेराबाट । दिउँसो करिब एक बजे लुटेरा केही समय स्टोरको शौचालय जाने र आउने गरिररहे । त्यसपछि एक्कासि रचना अगाडि आएर गोली हाने ।

पहिलो गोली उनको पिठ्युँमा लाग्यो र त्यसपछि क्रमशः गाला, घाँटी, कम्मर, पेट र हातमा दुइटा गोली लाग्यो । ८ राउण्ड गोली लाग्दासमेत रचनाले होस् गुमाइनन् । शरीरलाई घिसार्दै मोबाइल झिकिन् र श्रीमान् कपिलको नम्बर डायल गरिन् । त्यही बेला स्टोरमा अर्का ग्राहक आइपुगे । उनले सहायता मागिन् । ती ग्राहकले  ९११ मा डायल गरेर प्रहरीलाई खबर गरिदिए । प्रहरीले तत्काल उनको रेस्क्यु गरेर हेलिकप्टरमा अस्पताल पुर्यायो । 
आक्रमणको दुई घण्टामै प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्यो । 

डिभीले पुर्यायो अमेरिका
काभ्रेपलाञ्चोक स्थायी ठेगाना भएको रचनाको परिवार काठमाडौँस्थित कोटेश्वरमा बस्दै आएको थियो । अमेरिका जाने सपना साँच्दै उनले डिभी भरिन् र प¥यो पनि । ११ महिनाअघि उनी परिवारसहित अमेरिका आइन् ।
उनीहरु अटोका सहर नजिकैको गाउँमा बस्दै आएका छन् । जहाँको वातावरण निक्कै शान्त छ । स्थानीय मिलनसार छन् । उनीहरु राम्रो अवसरको खोजीका लागि त्यहाँबाट बसाइँ सर्ने योजनामा थिए तर अकस्मात यस्तो बिपद् आइलाग्यो । अमेरिका बसाइको पहिलो वर्षमै श्रेष्ठ परिवारले ठूलो विपतको सामना गर्नुपर्यो । 
‘भविष्यबारे खासै योजना बुनेका छैन,’ रचनाका पति कपिलले भने, ‘भाग्यले बाँचेकामा खुसी छु ।’

सात राउण्ड गोलीले नढलेकी ज्वाला
गत वर्ष हलोविनको साँझ आफ्नी साथीलाई अर्पामेन्टको लाउन्ड्रीमा कुर्दा ज्वाला कार्कीमाथि लुटेराले सात राउण्ड गोली हानेको थियो । उनको भाग्य बलियो रहेछ, बाँचिन् !
न्युजरजिस्टरअनलाइनडटकममा प्रकाशित समाचार अनुसार उनी हलोविन मनाइरहेको बेलामा एक अश्वेत युवक आएर उनको मोबाइल र पर्स मागेको थियो । उनले जिस्काएको सम्झिन् र अस्वीकार गरिन् । केही समयमै उनको शरीर रगतमा लत्पतिएको थियो । उनले नो भने लगत्तै १८ वर्षका अफ्रिकी मूलका युवाले लगातार सात राउण्ड गोली हानेका थिए । 
सात राउण्ड गोलीमध्ये एक उनको छातीमा समेत लागेको थियो । गोली लागे पनि उनले हार खाइनन् । सहयोगका लागि चिच्याइन् । प्रहरीले उनको उद्दार गरेर अस्पताल पु¥यायो । 
उनको होस खुल्दा उनी अस्पतालको आइसियुमा थिइन् । 

Leave A Comment