‘क्यासलेस’ कारोबारको क्रेज

आइतबार, २७ साउन २०७५, ०६ : ०१ दिलीप पौडेल
‘क्यासलेस’ कारोबारको क्रेज

प्रवीण मानन्धर कालिमाटीको माली आयल स्टोरमा गएर आफ्नो गाडीमा पेट्रोल भरे । मानन्धरले पम्प सञ्चालकलाई क्यास दिएनन्, मोबाइल एप्सबाट पैसा तिरे ।

आइएमई पेबाट पैसा तिर्दा उनलाई उल्टै प्रतिलिटर दुई रुपैयाँ क्यास ब्याक भयो । ‘पेमेन्ट गरेको ३० मिनेटमै आइएमई वालेटमा क्यासब्याक भयो,’ मानन्धरले भने, ‘पैसा बोक्नु नपर्ने मोबाइबाट पैसा तिर्न सजिलो भएको छ ।’ एक सय १० रुपैयाँ लिटरको पेट्रोल एक सय आठ रुपैयाँमा भर्न पाउँदा मानन्धर दंग थिए । 

‘अब नगद बोक्नै नपर्ने भयो,’ उनले भने, ‘अन्य क्षेत्रमा ‘डिजिटल पे’ सुरु भएको भए पनि नेपालमा पेट्रोल पम्पमा समेत ‘क्यासलेस’ कारोबार सुरु भएको छ । आइएमई पेले मुलुकमै पहिलो पटक राजधानीका चार वटा पम्पमा यो सेवा सुरु गरेको हो । 

‘आइएमई पेको एप आउनलोड गरेका सेवाग्राहीले ती पम्पमा क्यास ब्याकको सुविधा पाउँछन्,’ आइएमईका जनसम्पर्क अधिकृत राजु पौडेलले भने, ‘पैसा बोकेर हिँड्ने झन्झट हटाउन आइएमई पेमा यो सुविधा सुरु गरेका हौं ।’

मोबाइल वालेटमार्फत टेलिफोन, विद्युत, खानेपानी, इन्टरनेटको बिल, शैक्षिक संस्थाको शुल्क तिरिरहेका उपभोक्ताले डिजिटल पेमेन्टको दायरा बढ्दै जाँदा होटल बुकिङ, अनलाइन सपिङ, प्लेन, गाडी, सिनेमा हलका टिकट पनि डिजिटल माध्यमबाट काट्न सकिन्छ ।

क्यासलेस कारोबार गर्दा मोबाइल मात्र बोके हुन्छ । सम्बन्धित कम्पनीको एप्स डाउनलोड गरेर मोबाइल वालेटमार्फत पैसा पठाउन, प्राप्त गर्न र भुक्तानी गर्न सकिन्छ । 

मोबाइल वालेट भनेको मोबाइल फोनमै प्रयोग गर्ने एक प्रकारको ‘खाता’ हो । बैंक वा वालेट सञ्चालक कम्पनीमा प्रयोगकर्ताको खातामा भएको रकमबाट मोबाइलको कोड, क्युआर कोड प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ ।

काठमाडौं कालिकास्थान बस्ने प्रमोद शर्मा हवाई यात्रामा सधैँ इसेवाबाट टिकट काट्छन् । इसेवाको एप्स डाउनलोड गरेका राजनलाई टिकट काट्न निकै सजिलो भएको छ । ‘टिकट लिन ट्राभल धाइरहनु परेन,’ शर्माले भने, ‘कमिसन पनि आफैँले पाइने भएकाले सस्तो परेको छ ।’

क्यासलेस कारोबारलाई प्रमोट गर्न नेपाल राष्ट्र बैंकले इसेवा फोन पेमेन्ट प्रालि, आाइएमई डिजिटल सोलुसन प्रालि, प्रभु टेक्नोलोजी प्रालिलाई लगायतका कम्पनीलाई पेमेन्ट गेटवेका लागि अनुमति दिएको छ । अन्य कम्पनीमा पनि अनुमतिको पर्खाइमा छन् । राष्ट्र बैंकले भुक्तानी तथा फस्र्योट विनियमावली –२०७२ को विनियम १९ मा आधारित रहेर दूरसञ्चार सञ्जालको माध्यमबाट डिजिटल वालेटका लागि भुक्तानी तथा फस्र्योट अनुमति नीति–२०७३ बमोजिम अनुमति दिएको छ ।

इ–बैकिङ प्रभावकारी बनिरहेको अवस्थामा क्यासलेस कारोबार बढाउनको लागि प्रोत्साहित गरिरहेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । ‘औपचारिक अर्थतन्त्रलाई औपचारिकमा रुपान्तरण गर्न टेवा पुग्छ,’ उनले भने, ‘डिजिटलाइज कारोबारको दायरा बढ्दै जाँदा प्रयोगकर्ताको संख्या पनि बढ्दै छ ।

नगदरहित कारोबार सहरी क्षेत्रमा मात्र होइन ग्रामीण क्षेत्रमा पनि बढ्दै गएको छ । विकसित मुलुकमा अर्बौं रुपैयाँको कारोबार अनलाइन (विद्युतीय) माध्यमबाट हुने गर्छ । सबैका हात–हातमा स्मार्ट फोन भएकाले पनि सजिलो भएको छ । सर्वसाधारणमा इन्टरनेटको पहुँच वृद्धि हुँदै गएकाले डिजिटल कारोबार क्रमशः वृद्धि हुँदै गएको हो । 

डिपमार्टमेन्टल स्टोर, सपिङ मल, होटल रेस्टुरेन्टलगायतमा  भिसा÷मास्टर कार्डबाट भुक्तानी हुन्छ । कार्ड स्वीप गरेर पेमेन्ट गर्नेक्रम बढ्दो छ । 

नगदभन्दा भिसा÷मास्टर कार्डबाट रकम तिर्नेक्रम बढेको दरबारमार्गमा सञ्चालित एलिस होटलका सञ्चालक नकुल शेरचन बताउँछन् । ‘उपभोक्ताले पैसा तिर्न क्यास बोकिरहनु पनि पर्दैन,’ उनले भने, ‘काउन्टरमा राखिएको मेसिनमा भिसा÷मास्टर कार्डमार्फत पैसा तिर्न सक्छन् ।’ क्यासियरले पैसा हिनाबिना ग¥यो भन्ने चिन्ता पनि नहुने शेरचन बताउँछन् । यसले हरेक ग्राहकले उपभोग गरेको कर स्वतः राजस्वमा दाखिला हुन्छ । 

पूर्व सांसद धनराज गुरुङले अघिल्लो व्यवस्थापिका संसदमा नगद लेनदेनलाई निरुत्साहित गरी ‘क्यासलेस कारोबार’ बनाउन माग गर्दै व्यवस्थापिका संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । 
पैसाको कारोबार रहेसम्म भ्रष्टाचार नरोकिने भन्दै क्यासलेस प्रणालीमा जान माग गरेका हुन् । यसले व्यवसायिक क्षेत्र मात्र नभएर राजनीति नेतृत्व पनि यो प्रविधितर्फ आकर्षित भएको पुष्टि हुन्छ ।

विकसित मुलुकमा भने डिजिटल कारोबारले फड्को मारेको छ । दैनिक जीवनमा हुनै सबै कारोबार डिजिटल माध्यमबाट नै हुन्छ । क्यासलेस कारोबारले भ्रष्टाचार न्यूनीकरण हुने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० भारतीय रुपैयाँका नोट कारोबारमा रोक लगाएका थिए ।

छिमेकी मुलुक चीनमा त सामाजिक सञ्जालको माध्यमबाटै हरेक क्षेत्रमा भुक्तानी गर्छन् । बजार जाँदा, कलेजको फि तिर्न, अस्पताल, होटल तथा रेस्टुराँमा खाना तथा खाजा खाँदा, यात्रा गर्दा बस, ट्रेन सबै क्षेत्रमा क्यास लेस कारोबार हुन्छ । 

अधिकांशले नोट बोकेर हिँड्न छाडेको चीनमा अध्ययन गरेका पत्रकार तुफान न्यौपानेले बताए । ‘चीनमा पैसा (नोट) बोक्ने ट्रेन हटिसकेको छ,’ न्यौपानेले भने, ‘सबै पेमेन्ट वी च्याटमार्फत हुन्छ ।’ वी च्याटकै माध्यमबाट पैसा सापटी दिने, भुक्तानी गर्ने गरेको उनी बताउँछन् । 
 

Leave A Comment