‘ठमेलमा राम्रा पर्यटक आएनन्’

आइतबार, ०३ भदौ २०७५, ०५ : २२ अनिल यादव
‘ठमेलमा राम्रा पर्यटक आएनन्’

समयले मान्छेलाई कहाँबाट कहाँ पुर्याउँछ, पत्तो हुन्न । अमित ठकुरी (आयुष) कुनैबेला ब्लु बार (डान्सबार)का कर्मचारी थिए, अहिले त्यही बारका मालिक भए । यतिमात्रै होइन ठमेलमा उनको लगानी रहेको टर्टल लाउन्ज एन्ड क्लब र सर्कल लाउन्ड एन्ड गजल पनि छ । उनी ठमेल पर्यटन विकास परिषद् अन्तर्गतको रात्रिकालीन उपसमितिका सहसचिव समेत हुन् । १६ वर्षदेखि ठमेलको नाइट लाइफसँग परिचित उनीसँग अनिल यादवले गरेको रात्रिकालीन संवादः 

ठमेलमा प्रवेश कसरी भयो ?
मेरो एकजना साथी ड्राइभर थियो । ब्लु बारका स्टाफ ओसारपोसार गर्ने काम गथ्र्यो । मलाई गाडी सिकाइदिन्छु, मसँग हिँड् भन्यो । भर्खर प्लस टुको एक्जाम दिएर बसेको थिएँ, हुन्छ नि त भनेर हिँड्न थालेँ । उसलाई सहयोग गरेको देखेर ब्लु बारको मालिकले एकदिन ‘मसँग काम गर्छौ’ भनेर अफर गरे । एक डेढ महिना गरौँला भनेर थालेको गरेको गर्यैँ भइएछ । साहुले सुरुमै बारको इन्चार्ज बनाइदिए । ४५ सय तलब पाएको थिएँ । गर्दागर्दै त्यहाँको म्यानेजर भइयो । पछि सेयर लिइयो । 

जहाँ काम गर्नुहुन्थ्यो, त्यही बारको मालिक हुनुभयो । कसरी सफल भइयो ?
सब मिहिनेतको कमाल हो । सुरुमा लगानी त चाहिन्छ नै । त्यो भने परिवारबाटै भरथेग भयो । साथीभाइको सहयोग पनि उत्तिकै रह्यो । 

त्यसपछि पढाइ छाडियो ?
राति बारमा काम गर्थें, बिहान पढ्थेँ । क्षेत्रपाटी (काठमाडौँ)को पब्लिक युथ क्याम्पसबाट म्यानेजमेन्टमा ब्याचलर गरेँ । तीन–चार बजेसम्म बारमा काम गरिरहेको हुन्थेँ । ५ बजे कलेज पुग्थेँ । कलेज पढेर घर जान्थेँ । खानपिन गर्थें अनि सुत्थेँ । एकैचोटी रातिको ७–८ बजे उठेर काममा फर्किन्थेँ । अहिले पनि ढिलै सुतिन्छ, ढिलै उठिन्छ । 

नाइट लाइफको के कुराले तपाईंलाई लोभ्यायो ? 
बिजनेस गर्ने भनेको कमाउनकै लागि हो । त्यसपछि मात्र हो नाम, इज्जत । बुझ्ने मान्छेलाई यसमा सबै कुरा छ । सयौंले ठमेलमा रोजगारी पाएका छन् ।  एउटै रेस्टुराँमा ४०–५० जना काम गर्छन् । तीनवटा रेस्टुराँ गरेर मेरैमा २ सय ५० जना जति स्टाफ छन् । राम्रो क्यासियर, डिजे, वेटरले तलब, टिप्स सबै गरेर महिनाको ४०–५० हजार कमाउने ठाउँ हो यो । 

तपाईं त्यसो भन्नुहुन्छ तर यहाँ त कर्मचारीमाथि श्रम शोषण हुन्छ भन्ने गुनासो सुनिन्छ ?
कतै–कतै होला । सबैतिर हुन्न । 

५–८ हजार तलबमा पनि काम गराउनुहुन्छ रे !
मैले पनि ४५ सयबाट काम सुरु गरेको हो । त्यो सिक्ने पिरियडमा पाउने पैसा हो । सिकिसकेपछि राम्रो हुन्छ । मिहिनेत गर्ने मान्छेलाई यो ठाउँ स्वर्ग हो । तर रक्सी सर्भिस गर्नुपर्ने ठाउँमा उल्टै आफैँ रक्सी खाएर बस्ने वेटर भयो भनेचाहिँ उँभो लागिन्न । 

१५ वर्ष ठमेलमा काम गर्दा के परिवर्तन पाउनुभयो ?
जति मान्छेहरु ठमेल भनेर आउँथे, त्यो अहिले घट्दै गइरहेको छ । सायद ठमेलमा हुने सेवा सुविधा बाहिर पनि बिस्तार हुँदै गएर होला । तर भएका व्यवसायमा स्तरोन्नति भएको छ । जसले राम्रो सर्भिस दिन्छ, त्यहीँ जाने प्रतिस्पर्धाले सबै स्तरीय हुने लाइनमा हिँडेका छन् । दुःखको कुरा १४ वर्षदेखि निरन्तर आवाज उठाउँदा पनि ठमेल २४ घन्टा खुल्ला हुन सकेको छैन । 

ठमेलमा रात्रिकालीन व्यवसायका समस्या के छन् ? 
ठमेललाई मान्छेले पोजिटिभ्ली लिएनन् । ठमेल भन्नेबित्तिकै ग्ल्यामर सोचिदिए । भर्खर जन्मेको बच्चामा पनि ठमेल भन्नेबित्तिकै नकारात्मक सोच भइदियो । दुःख लाग्ने कुरा यही हो । ठमेलमा व्यवस्थित पार्किङ नहुने, व्यवसायी संगठित हुन नसक्नु, खुट्टा तान्ने प्रवृत्ति हावी रहनु अर्को समस्या हो । तेश्रोलिङ्गी यौनकर्मी र बाटोमा हिँड्ने दलालको समस्या उस्तै छ । पार्किङ नहुँदा राम्रो क्राउड ठमेल छिर्न सकेको छैन ।

इमेज खराब हुनु कारण के त ?
इमेज खराब भाको होइन, ग्ल्यामर सोचेको हो । ठमेललाई ग्ल्यामर सोच्नु नै यसको दुर्भाग्य हो । हो, हिजोको दिनमा मसाज थियो होला, न्याकेड डान्स थियो होला ...।

मसाज त अहिले पनि छ नि ?
छन् तर आचारसंहिता पालना गरेका छन् । हिजोको जस्तो पक्कै छैन होला । छन् भने कार्बाही हुन्छ ।

कस्ता–कस्ता किसिमका पर्यटक आउँछन् ठमेलमा ?
एयरपोर्टबाट सिधै पोखरा जाने । ठमेल आएर एक रात बस्ने अनि भ्याली बाहिर गइहाल्ने । 

किन त ?
विश्वमा नेपालको नाइट लाइफ भन्नेबित्तिकै चिन्ने त ठमेल नै हो । सायद देशका पर्यटनको स्थिति खराब भएर पनि होला, ठमेलमा राम्रो पर्यटक आएनन् । 

कस्ता पर्यटक राम्रा हुन्छन् ?
राम्रो भनेकै पैसामा लोभ नगर्ने पर्यटक हुन् । अहिले त विदेशी पर्यटक भन्नु मात्र हो, कति त ठेलामा गएर मःमः खाइरहेका हुन्छन् ।
रिक्सामा बियर खाएर बसिरहेको हुन्छन् । अनि त्यस्ता पर्यटकबाट व्यवसाय कसरी चम्किन्छ ?

ठमेलमा व्यवसायीहरु संगठित हुन नसक्नुको कारण के हो ?
होटल व्यवसायीले रेस्टुराँ व्यवसायलाई साउन्ड पोलुसन भयो भनेर कराउने । यस्तैयस्तै कारणमा मतभेद हुन्छ । ठमेललाई नेतृत्व गर्ने मान्छे पनि सही भएनन् । नेतृत्वले एउटालाई पाखा, अर्कोलाई काखा गरेपछि कसरी सही हुन्छ ? नो भेहिकल जोन गरेको, त्यो पनि पार्किङको व्यवस्था नगरी ! यसले धेरै व्यवसाय मारमा परेका छन् । 

ठमेललाई अघोषित रेडलाइट एरिया पनि भन्छन् नि !
भन्नेले त भनिहाल्छन् नि ! नराम्रो भन्नेको मुख थुन्न सकिन्न । 

भनेपछि ठमेल शुद्ध छ ?
१०० प्रतिशत शुद्ध त के पो हुन्छ र ? यत्ति हो हामीले शुद्ध पार्न र व्यवस्थित बनाउन खोजिरहेका छौं । 

अहिलेको डिस्को ट्रेन्ड कस्तो देख्नुहुन्छ ?
पहिले ७ बजेदेखि नै डिस्को सुरु हुन्थ्यो । अहिले १२ बजेसम्म लाउन्ज विथ लाइभ म्युजिक हुन्छ । त्यसपछि डिस्को सुरु हुन्छ । जताततै यही ट्रेन्ड छ । 

तपाईंहरु आफूलाई मनोरञ्जन व्यवसायी भन्नुहुन्छ । मनोरञ्जनका नाममा विकृति केके छन् त, खोल्दिनुस् न ?
जो ग्राहक खराब नियत राखेर डान्सबार, डिस्को, दोहोरीमा छिर्छ र मिसबिहेब गर्छ, नतिजा राम्रो हुँदैन । जसले वेश्यालय नै ठानेर आउँछ अनि स्टाफमाथि हातपात गर्छ, तान्न खोज्छ त्यसपछि झगडा हुन्छ । तर व्यवसायी आफैँ कहिल्यै पनि झगडा गर्दैन । 

तर एकजना बाउन्सरले मसँग भन्नुभएको थियो, ‘डिस्कोमा झगडा हुँदैन भन्दा पनि कति हुन्छ भन्ने प्रश्न हो, झगडा त नर्मल हो’ । उनको कुरा कत्तिको सही हो ?
झगडा कहिल्यै नर्मल हुन सक्दैन । सानो÷ठूलो जस्तो भए पनि झगडा झगडै हो । स्थानीय प्रहरीलाई सोध्नुस्, झगडा कत्तिको हुन्छ ? पहिलाको दाँजोमा अहिले धेरै कम छ । अहिले क्लबको व्यवस्थापन राम्रो छ । सिसी क्यामेराले सबै देखिन्छ । बाउन्सरको काम सेक्युरिटी दिने हो, हान्ने होइन । हान्नेलाई कार्बाही हुन्छ ।  

हानेको त धेरै देखियो तर कार्बाही भएको सुनिएन !
उजुरी गर्नुप¥यो नि ! हात हाल्ने बाउन्सर कार्बाहीमा पर्छ । त्यो एग्रिमेन्टमै लेखेको हुन्छ । प्रहरीलाई उजुरी भने गर्नुपर्छ ।

प्रहरी उल्टै तपाईंहरुसँग मिलेको हुन्छ रे !
त्यस्तो हुँदैन । प्रहरीले सबै स्टाफको विवरण राखेको हुन्छ । तलमाथि भयो भने भाग्न पाउँदैन स्टाफ । त्यो डरले पनि उसले कसैलाई हात लाउँदैन । 

अहिले डिस्कोको व्यापार कस्तो छ ?
न्यून छ । एकैठाउँमा चार–पाँचवटा डिस्को संचालन भएको अवस्था छ । रात्रिकालीन व्यवसायमा रमाउने ग्राहक थोरै छन् । सातै दिन नै ती सबै ग्राहक हिँड्दैनन् । ठमेलमा मात्रै ५३–५४ वटा रात्रिकालीन मनोरञ्जन व्यवसाय (डान्स, दोहोरी, डिस्को) छन् । अनि कसरी राम्रो व्यापार हुन्छ ?

डिस्कोमा १८ वर्ष मुनिका बालबालिका पनि छिराउनुहुन्छ रे, हो ?
त्यो आचारसंहिता विपरीत हो । कसैले छिराउँछ र प्रहरीलाई उजुरी भयो भने कारबाही हुन्छ । 

तीन वटा रेस्टुराँको साहु । रेस्टुराँ आउने युवतीहरुले त धेरै फलो गर्दा हुन् ?
छैन त्यस्तो । ट्र्याकबाट बाहिर गयो भने व्यवसाय बिग्रन्छ । त्यसैले त्यता ध्यान दिन्नँ । कोही नजिक हुन खोजे भने पनि सचेत हुन्छु । 

काठमाडौंका क्लबमा अहिले विदेशी यौनकर्मी पनि भेटिन्छन् भन्ने चर्चा छ । के भन्नुहुन्छ ? 
विदेशी आउँछन् तर ती यौनकर्मी  हुन् भनेर निधारमा लेखेको हुँदैन । त्यसैले थाहा हुँदैन । क्लबबाट बाहिर गएर के–के गर्छन् मतलब हुँदैन, भित्र भने अनुशासनमै बसेर रमाइरहेका हुन्छन् । 

डिस्कोमा केटालाई फि, केटीलाई फ्रि गर्नुहुन्छ रे ! पुरुषहरुको ठूलो गुनासो सुनिन्छ नि ?
प्रायः क्लबमा अहिले टिकट लिने चलन छैन । कोही छिराउन नहुने व्यक्तिलाई बहाना बनाएर फर्काउने हो । बुधबार लेडिज नाइट हुन्छ, विदेशी नियम लगाएका हौँ । १० बजेसम्म ड्रिक्स फ्रि गर्छाैं त्यो दिन । यसमा गुनासो गर्नुपर्ने कुरा छैन । 

कस्तो मान्छे डिस्को छिर्न नमिल्ने हो ?
चप्पल, ट्रयाक लगाएर आउनेहरु छिराउँदैनौँ । 

सेलिब्रिटीहरु कत्तिको आउँछन् नि ?
गायकगायिका आइरहेका हुन्छन् । लाहुरे, एड्रिन प्रधान लगायत । हिरोइनहरुमा केकी अधिकारी, स्वेता खड्का, मलिना जोशी विभिन्न अकेजन पारेर आइरहेका हुन्छन् । 
 

Leave A Comment