बलात्कारी ‘अंकल’

मङ्गलबार, ०५ भदौ २०७५, ०५ : ३२ प्रजु पन्त
बलात्कारी ‘अंकल’

महानगरीय प्रहरी वृत्त कमलपोखरी पुग्दा फाइल फेला पर्याे । प्रहरीको फाइलमा लेखिएको थियो, ‘दिउँसो साढे २ बजे भारतको बिहार घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँमा बस्ने ४ वर्षीया बालिकालाई भारत घर भई हाल हाडीगाउँमा नै सिलाई काम गरी बस्ने वर्ष २८ को अनवर अन्सारीले पैसा दिन्छु भनी सोही घरको दोस्रो तलामा बोलाई जबर्जस्ती करणी गरेको ।’


अभियुक्त र पीडितको उमेर पढ्दा झसङै भइन्छ । प्रहरीलाई आग्रह मैले गरँे ‘यी पीडितको परिवारसँग भेट्न सकिन्छ ?’ वृत्तका प्रहरीले उजुरी आएको हाँडीगाउँमा रहेको प्रहरी चौकीमा पठाए ।


चौकीमा सइ माधव अधिकारी भेटिए । निक्कै सहयोगी रहेछन् । उनले प्रहरी कर्मचारीलाई साथ लगाएर पीडितको डेरामै पठाइदिए । गहना पोखरी नजिकै डेरामा बस्ने रहेछन् उनीहरु । केहीबेर हिँडेपछि भित्र छिर्ने सानो गल्लीमा रहेको घरमा पु¥याए प्रहरीले । 


घरको गेटमै पीडितकी आमा भेटिइन् । साथमा रहेका प्रहरीले चिनाइदिए  र उनी फर्किए । भेट्न चाहनुको कारण खुलाउँदा उनी सुरुमा डराइन् । सम्झाउन केही समय लाग्यो । 


‘तपाईंकी छोरीमाथि जस्तो घटना भयो, त्यस्तो घटना अरुमाथि नघटोस् भनेर लेख्न खोजेको हो, तपाईंको परिचय खुलाउँदैनौँ,’ यत्ति भनेपछि बालिकाकी आमा बल्ल बलात्कारबारे बोल्न र सहयोग गर्न सहमत भइन् । 


उनी छोरीलाई खाजा पुर्याउन विद्यालय जाने तयारीमा रहिछन् । म पनि उनको पछि लागेँ ।
......

( दिदीसँग विद्यालयबाट डेरामा जाँदै । तस्बिर ः कृष्पा श्रेष्ठ )

एलकेजीमा पढ्ने राजेश्वरी (नाम परिर्वतन) कक्षाकोठा पछाडिको सिटमा एक्लै टोलाएर बसेकी थिइन् । उनकी आमा कक्षा कोठाको ढोका उभिइन् । उनले पुलुक्क आमातिर हेरिन् । आमालाई देखेपछि उनको अनुहारको रङ हल्का बद्लियो । हल्का उज्यालियो ।


आमासँगै शुक्रवारकर्मी समेत उभिएकी थिइन् । आमासँगै अपरिचित देख्दा उनको मुहारको रङ पुरानै अवस्थामा फर्कियो । आमाले इशारामा बोलाएपछि उनी सिटबाट उठिन् र भुइँतिर हेर्दै  नजिकै आइन् ।
‘आन्टी’ आमाले मेरो परिचय गराइदिइन् तर उनले कुनै प्रतिक्रिया देखाइनन् । मैले उनलाई काखमा लिन खोजेँ । मानिनन् ।


नबोलीकन आमाले दिएको खाजा खाइन् र खाजा सकिएपछि उसैगरी सिटमा गएर बसिन् ।
यो देख्दा साह्रै मन हुँडलियो । उनलाई हेरिरहेँ । उनी पनि पुलुक्क मतिर हेर्थिन् । उमेर अनुसारको व्यवहार थिएन उनको । निक्कै फरक । बालापनको कुनै संकेतै देखिएन ।


घरमा होस् या कक्षा कोठामा टोलाइरहन्छिन् उनी । भर्खर अक्षर चिन्दैछिन् तर निकै कमजोर छ उनको स्मरणशक्ति । बेलाबेलामा आफैँ झस्किरहन्छिन् । आफ्नै उमेरका साथीहरुको स्वभाव भन्दा भिन्न छ उनको स्वभाव । 


घरका अभिभावक र विद्यालयका शिक्षक–शिक्षिका उनको बालापन फर्काउन सक्दो प्रयासमा छन् तर अहँ ती नाबालिकाको अनुहारको भाव उस्तै निरास छ । उनको बोलीमा बालापनको मिठास हैन भय देखिन्छ ।
धेरै चकचके थिइन्, घर र विद्यालयमा उनलाई सम्हाल्नै गाह्रो पथ्र्यो । उनको परिवार अहिले उनको त्यही चकचकेपन उनमा खोजिरहेको छ । विद्यालयका शिक्षक, शिक्षिका उही पुरानी फुच्ची खोज्छन् तर उनी मौन छिन् । ४ वर्षकै उमेरमा उनको बालापन खोसियो ।


‘पहिला त सम्हाल्नै गाह्रो थियो, निक्कै चकचक गर्थिन् । रिस पनि उठ्थ्यो,’ उनकी आमाले भनिन्, ‘तर अहिले त्यस्तै चकचक गरे हुन्थ्योझैँ लाग्छ तर खै के भयो के भयो !’
उनलाई विद्यालयमा यस्तो अवस्थामा देख्दा मनै कटक्क खायो । 
उनको शिक्षिकासँग कुराकानी गरेँ । 


ती शिक्षिकका अनुसार घटनापछि अन्य बालबालिकाको जस्तो व्यवहार छैन उनको । 
‘घटनाको डेढ महिनासम्म ऊ कसैसँग पनि नबोल्ने र टोलाइरहने गर्थिन्, ती शिक्षिकाले भनिन्, ‘बरु अहिले अलि बौरिन थालेकी छन् ।’

‘भयो जाउँ अब’
उनकी आमा रुन्चे अनुहार लगाएर उठिन् र हामी उनको डेरातर्फ लाग्यौं ।
..........
२०७५, जेठ १२ । हो यही मिति हो, उनको बालापन खोस्ने । अनि उनको बालापन खोस्ने क्रूर व्यक्ति थिए उनको अभिभावक बस्ने घरमै डेरा गरी बस्ने २८ वर्षीय अनवर अन्सारी । उनी अन्सारीलाई अंकल भन्थिन् । उनकी छोरीकी साथी पनि थिइन् । अन्सारीले आफ्नै छोरीकी ४ वर्षीया साथीमा यौवन देख्यो र चिथोर्यो । शरीरको कुन अङ्गको काम के हो भन्ने जान्न नपाउँदै उनी कोपरिइन् ।


त्यो दिनदेखि उनमा बालापन हरायो । नौलो व्यक्ति जो देखे पनि उनी तर्सिहाल्छिन् । घरका सदस्यसँग समेत खुल्न सकेकी छैनन् । 

‘चार वटा छोरी छन्, एउटी नहुर्कंदै यस्तो भयो,’ भारत घर भए पनि अहिले काठमाडौंमा बाँच्नका लागि संघर्ष गरिरहेकी बालिकाकी आमाले भनिन्, ‘भोलि के होला सम्झँदै डर लाग्छ !’
उनको डेरामा पुगियो । काठको पुरानो भ¥याङमा टाउको निउराउँदै हामी उक्लियौँ । उनले ढोका खोल्न अह्राइन् । 
उनकी जेठी छोरीले ढोका खोलिन् । 
ढोका खोल्ने उनकी जेठी छोरी रहेछिन् । नौ कक्षा पढ्ने । ज्वरो आएकाले स्कुल नगई डेरामै बसेकी रहिछन् । 
आमाले मेरो परिचय गराइदिँदै भनिन्, ‘पत्रकार नानी हुन्, अस्ति बहिनीको घटनाबारे बुझ्न आएको रे !’
आमासँग भन्दा उनीसँग कुरा गर्न केही सहज होला जस्तो लाग्यो । उनी त्यो दिनको घटना खुलाउन राजी भइन् । 

त्यस दिन के भयो ?
जेठ १२ गते शनिबार परेको थियो । प्लम्बरको काम गर्ने बाबु २ छोरी लिएर साथीकोमा गए । खाना खान ढिला आउने बताएपछि पीडितकी आमाले जेठी र कान्छी छोरीलाई खाना खुवाइन् र कामका लागि बाहिर गइन् । 


जेठी छोरीलाई  बहिनी हेर्दै गर है भनेर  बाहिरिएकी उनी दिउँसो डेरा फर्कंदा कान्छी छोरी कोठामा थिइनन् । जेठी महिनावारी भएकाले पेट दुख्यो भन्दै सुतेकी रहिछन् । छोरी खोजिन् तर भेटिनन् । छिमेकीकोमा पनि थिइनन् । चर्काे स्वरले छोरीलाई बोलाइन् । अँहँ, कान्छी छोरी बोलिनन् ।


‘आमाले कान्छी बहिनीलाई बोलाएको सुनेपछि म निद्राबाट ब्युँझिएँ,’ पीडित परिवारकी जेठी छोरीले भनिन्, ‘महिनावारी भएकाले पेट दुखेको थियो । त्यही सुरमा निदाएछु । एकैछिन अघिसम्म अगाडि खेलिरहेकी बहिनी त्यहाँ थिइन ।’


आमासँगै उनी पनि बहिनी खोज्न सडकतिर गइन् । बहिनी फेला परिनन् । डेरामा पो आइन् कि भनेर फर्कंदा चार वर्षीया बालिका ढोका अगाडि पेट समातेर बसिराखेकी थिइन् ।
दुवैले कोठा छाडेर गएकोमा झपारे तर बालिका केही बोलिनन् । पेट दुख्यो भन्दै रोइन् ।


ती बालिकाको मुख, ओठ र हात सुन्निएको थियो । भ¥याङ पनि अप्ठ्यारो छ । खेल्न गइछ र लडिछ कि भन्ने लागेछ । ती बालिकाले बल्ल ‘दिदी सुसु गर्ने ठाउँ दुख्या छ’ भनेपछि दुवै आमाछोरीको सातो गयो । 
‘के भो भन् भनेको बोल्दै बोलिन । भनिनस् भने भनेर अलि चर्काे बोलँे,’  भन्दाभन्दै जेठी दिदीको स्वर अड्कियो, ‘माथिको अङ्कलले तल ट्वाइलेट छ, मेरोमा सुसु नगर्नु भन्दा पनि मेरो पेन्टमा सुसु गर्नुभयो । त्यो अङ्कलले सुसु गरेपछि मेरो सुसु गर्ने ठाउँ नै दुख्या छ भनिन् ।’


यत्ति भन्दा दिदीको आँसु खसिरहेको थियो । नजिकै आमा मौन थिइन् । कोठामा  सन्नाटा छायो ।
केही समयपछि दुवै सम्हालिए र घटना सुनाउन थालिन् ।
त्यसपछि दिदीले फकाइफुलाई के–के भयो भनेर सोधिन् । बालिकाले डराई डराई भनिन्, ‘अंकलले त कसैलाई नभन् है भन्या छ ।’


बल्ल बल्ल फकाइन् र बहिनीले दिउँसो भएको घटना सुनाइन् ।
‘माथिको अङ्कलले भित्र आइज भनेर बोलाएछन् । तँलाई पैसा दिन्छु आइज भने,’ दिदीले सुनाइन्, ‘कोठामा गएपछि मुखमा कपडा कोचिदिएछन् । टाउकोमा कपडा बाँधिदिए अनि ती बालिकाको पाइन्ट फुकालिदिएर बलात्कार गरेछन् ।’ 


त्यति भनेपछि के भएछ उनले थाहा पाइहालिन् । बहिनीको पाइन्ट खोलेर हेरिन्  । रगत र सेता टाटा देखिए । रगत बगिरहेको थियो । सेतो टाटा राक्षसको वीर्य थियो । 
...............

( डेरामा बाबुसँग । तस्बिर ः कृष्पा श्रेष्ठ )

उनीहरुको जन्मस्थान भारत हो तर नेपाललाई कर्मथलो बनाएर बसेका छन् । चिनेजानेका आफन्त थिएनन् । कसलाई के भन्ने मेसो नै पाएनन् ।  के गर्ने के नगर्ने सोच्दा सोच्दै रात प¥यो । ४ वर्षीया बालिका ‘सुसु गर्ने ठाउँ दुख्यो’ भन्दै रुँदारुदै निदाइन् ।


दुई छोरी लिएर उनका बाबु डेरामा आइपुगे । जेठीले बाबुलाई दिउँसोको घटना भन्न खोजिन् तर आमाले रोकिन् । उनी खाना खाएर बाहिर निस्किए । बालिका ब्युँझिइन् । उनी उसै गरी रोइन् ।


‘पुलिसलाई भनौं’ भन्ने जेठी छोरीको आग्रह आमाले मान्दै मानिन् । एकोहोरो बालिका रोएको सुनेर केही छिमेकी आए । ती बालिकाले ‘सुसु गर्ने ठाउँमा त्यो अङकलले सुसु ग¥यो’ भनिन् ।
कसैले प्रहरीमा जाउँ भने । कसैले इज्जत जान्छ, भोलि छोरी हुर्किएपछि समस्या हुन्छ भन्ने डर देखाए । केहीले पैसा लिएर कुरा मिलाउन पनि भनेछन् ।


जेठी मानिनन् । उनले ‘सँगै जाने भने जाउँ नत्र म एक्लै गएर भए पनि पुलिसलाई भन्छु’ भनेपछि आमा मानिन् र दुवै बेलुका १० बजे नजिकैको प्रहरी कार्यालय गएर घटना सुनाए । तत्काल प्रहरी डेरामा आयो । प्रहरी आउँदा अन्सारी निर्धक्क खाना खाएर बसिरहेका थिए ।


बाटोमा जाँदै गर्दा अन्सारीले भनेछन्, ‘गल्ती भो । आखिरमा तपाईंकी छोरी मारेको त छैन क्यारे, मलाई माफ दिनुस् ।’ 
ती नाबालिकाका बाबुलाई भाउन्न भएछ । प्रहरीकै अगाडि भकुरी दिए । 
गहनापोखरी नजिकै रहेको बिटमा लगेर सोधपुछ गर्दा अन्सारीले अपराध सकारे ।


‘उसले जर्वजस्ती करणी गरेकै हो भनेर स्वीका¥योे,’ बिटमा रहेका सई माधव अधिकारीले भने, ‘बच्चीको  हेल्थ रिपोर्ट  हेर्दा योनिमा घाउ थियो, उनको कपडामा वीर्य लागेको थियो ।  अहिले ऊ पुर्पक्षको लागि थुनामा छ ।’


अधिवक्ता अन्जना अर्यालका अनुसार दस वर्षभन्दा मुनिका बालिकालाई जबर्जस्ती करणी गरे १० देखि १५ वर्षसम्म जेल सजाय हुने बताइन् । फैसला भने बन्द इजालसमा हुने गर्छ ।

.....................

( डेरामा हाेमवर्क गर्दै । तस्बिर ः कृष्पा श्रेष्ठ )

एक हप्ता उपचार गरेपछि बालिकालाई डेरामा ल्याएपछि उनको व्यवहार बदलियो । प्रहरीले परिवारलाई बालिकालाई स्कुल पठाइदेऊ, साथीहरुसँग घुलमिल हुन्छिन् भनेपछि अभिभावकले स्कुल पठाए । 
अहिले उनी स्कुल जान्छिन् । हल्का घुलमिल हुन थालेकी छन् तर नचिनेको पुरुष देख्दा उस्तै गरी झस्कन्छिन् । बाबुबाहेक अरुसँग नजिक समेत पर्दिनन् ।


‘घटनापछिका कयौँ रात माथिको अङ्कल आयो, पेन्ट फुकाल्यो भनेर रुन्थिन् । झस्याङ्ग भइरहन्थिन्,’ बालिकाकी दिदीले भनिन्, ‘पापा नभएको बेलामा त यो कोठामा बस्नै मान्थिनन् । हिजोआज भने अलि तङ्ग्रिन थालेकी छिन् । अझै पनि बाहिरी नचिनेको र आफ्नो बुबाबाहेक कोही पनि लोग्नेमान्छेको नजिक जान डराउँछिन् ।’

धेरै पीडित १६ वर्ष मुनिका  
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार बर्सेनि बालापनमै बलात्कारको सिकार हुनेको संख्या दुई सय भन्दा बढी छ । प्रहरी कार्यालयसम्म आइपुगेको उजुरीका आधारमा तीन वर्षको अवधिमा ६ सय ४८ अबोध बालिका बलात्कारको सिकार बनेका छन् । यो संख्या बर्सेनि बढ्दो छ ।


अंकुराउँदै गरेको उमेर ११ देखि १६ उमेरमा बलात्कारको सिकार हुनेको संख्या पनि उस्तै छ । आर्थिक वर्ष २०७१–०७२ देखिको तीन वर्षको अवधिमा १ हजार १ सय ४५ जना किशोरी बलत्कारको सिकार भए । तथ्यांक अनुसार हरेक वर्ष ३ सय ५० को हाराहारीमा किशोरी बलात्कारको सिकार बन्छन् ।


तथ्याङ्कले भने वयष्क उमेरमा प्रवेश गरेपछि बालिकाहरु बढी सुरक्षित देखाएको छ । किशोर कालको समापनको उमेर १७ देखि १८ वर्षको बीचमा तीन वर्षमा २ सय ९७ जना बलत्कारको सिकार बनेको देखिन्छ भने १९ वर्षदेखि २५ उमेर समूहका तीन वर्षको अवधिमा ४ सय ५० जनाको बलात्कार भएको देखिन्छ । 
२६ देखि ३५ उमेर समूह र ३६ देखि ४५ उमेर समूहकाहरु नाबालिकाको तुलनामा सुरक्षित देखिए ।

तीन वर्षको अवधिमा २६ देखि ३५ उमेर समूहका ३ सय २५ र ३६ देखि ४५ उमेर समूहका १ सय ६३ जना बलात्कारको सिकार भएको प्रहरी तथ्यांकले देखाउँछ । ४६ वर्ष माथिका समेत बलात्कारको सिकार हुने गरेका छन् । तीन वर्षको अवधिमा यो उमेर समूहका १ सय ४५ जना बलात्कारमा परेको देखिन्छ । 
प्रहरी प्रवक्ता शैैलेश थापा बालिकाहरु आफ्नो पीडा डरले लुकाएर राख्ने भएको कारण बलात्कारीले उनीहरुलाई टार्गेटमा पार्ने गरेको बताउँछन् ।
उनी भन्छन्, ‘हरेक वर्षको तथ्याङ्कले १६ वर्ष मुनिको बालिका बढी पीडित भएको देखाएको छ ।’

बर्सेनि बढ्दो छ संख्या
बर्सेनि बलात्कारमा पर्ने बालिबालिका र महिलाको संख्या बढ्दो छ । प्रहरी प्रधान कार्यालयको पाँच वर्षको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७० ÷०७१  मा ९ सय १२ वटा बलात्कारको घटना देखिएकोमा ०७१÷७२ मा सङ्ख्या बढेर ९ सय ८१ पुगेको थियो । 


०७२÷७३ मा १ हजार ९३ र आर्थिक वर्ष ०७३–०७४ मा १ हजार १ सय ३७ पुग्यो । ०७४÷७५ मा अघिल्ला वर्षको तुलनामा ३० प्रतिशतले बढेर १ हजार ४ सय ८० पुगेको थियो ।

‘बलात्कारको घटना पहिले पहिले दर्ता हुँदैन थिए, अहिले समाज खुल्न थालेको छ । यस्तो घटना लुकाउन हुन्न भन्ने चेतना बढेको छ,’ प्रहरी प्रवक्ता थापा भन्छन्, ‘यसले पनि प्रहरीकोमा आउने उजुरीको संख्या बढेको हुनसक्छ ।’

 

Leave A Comment