पछिल्लो समय युवापुस्ताले रुचाएकी गायिका हुन्, निखिता थापा (मगर) । चाहे सुगम पोखरेलसँग गाएको ‘मायाले बोलेको बोली मीठो भो’ होस् या ब्रिजेश श्रेष्ठसँग मिलेर गाएको ‘कान्छी हे कान्छी’ कभर गीत होस्, स्रोताले खुब रुचाएका छन् । भारतको दार्जिलिङमा जन्मिएकी उनले ‘इन्टु मिन्टु लन्डनमा’ फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाहका लागि स्वर दिएको ‘उडायो हावाले’ गीत अहिले हिट छ । साढे तीन वर्षको दौरानमा ८० भन्दा बढी नेपाली गीतमा स्वर दिइसकेकी निखितासँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :
कत्तिको व्यस्त हो अचेल ?
फुर्सदिलो छैन । रेकर्डिङ र सोहरु भइरहेका छन् । हल्काफुल्का कम्पोज पनि गर्न थालेकी छु ।
पछिल्लो समय गाउने र संगीत भर्ने काम एउटै मान्छेले गर्ने ट्रेन्ड बढिरा’छ । त्यसमै थपिन खोजेको हो ?
इङ्लिस र हिन्दी गीतमा पहिल्यैदेखि संगीत गर्थें तर नेपालीमा गरेकी थिइनँ । आत्मविश्वास पनि थिएन । बल्ल अलिअलि आँट आउँदैछ । तर प्रोफेसनल्ली गर्न खोजेको भने होइन है ! कहिलेकाहीँ त्यत्तिकै धुनहरु जन्मिन्छन् । फेरि आफूले संगीत भरेको गीतमा गाउनुको मज्जा पनि छुट्टै हुन्छ ।
गायक/गायिकाले आफैँ कम्पोज गर्न थालेपछि अरु संगीतकारको संगीतमा गाउने चान्स कम हुन्छ भन्छन् नि ?
सबैको म्युजिक जर्नी आ–आफ्नै हुन्छ । सुगम पोखरेल आफैँ पनि संगीत गर्नुहुन्छ तैपनि उहाँलाई अरुले गीत दिन छाडेका छैनन् । क्षमता छ भने अफरमा कमी हुँदैन । मेरो विचारमा हरेक संगीतकार आफ्नो सिर्जनाप्रति उदार हुनुपर्छ । आफ्नो सिर्जनामा आफूभन्दा राम्रोसँग न्याय अर्को स्वरले गर्न सक्छ भन्ने लाग्छ भने धक नमानी दिन सक्नुपर्छ ।
गीत त तपाईंले धेरै गाउनुभयो तर हर्कुलस बस्नेतसँग गरेको काम नै तपाईंलाई अलि बढी फाप्यो है ?
हो । जब मैले उहाँको संगीतमा ‘कारखाना’ फिल्मका लागि ‘मायाले बोलेको बोली मीठो भो’ भन्ने गीत गाउन पाएँ, त्यसपछि धेरैको नजरमा परेँ । अहिले ‘उडायो हावाले’ गीतमा पनि उहाँकै संगीत हो । दर्शकले खुब मन पराउनु भएको छ । नढाँटी भन्नुपर्दा, हकुर्लस बस्नेतसँग काम गर्नु नै मेरो करिअरको टर्निङ पोइन्ट हो ।
उहाँसँग काम गर्ने अवसर कसरी मिल्यो ?
तीन वर्षअघि पहिलोपल्ट नेपाल आउँदा हलमा अनमोल केसीको फिल्म ‘जेरी’ रिलिज भएको थियो । फिल्मको एउटा गीत ‘के यो माया हो’ टिभीमा देख्नासाथ मन छोएको थियो । यो गीत कम्पोज गर्ने कम्पोजरसँग काम गर्न पाए हुन्थ्यो भन्ने मनमनै लागेको थियो । नभन्दै केही समयपछि म नेपालमै रहेर काम गर्न थालेँ । अलमोडा राना उप्रेतीसँग चिनजान थियो । उहाँले एकदिन ‘निकिता नयाँ कम्पोज छ, डमी दि हाल’ भन्नुभयो । डमी दिन जाँदा उहाँले कम्पोजरसँग भेटाउनुभयो । देख्दा त चिनिनँ तर जब नाम भन्नुभयो, खुसीले सीमै नाघ्यो । पछि मेरो डमी सुनेपछि इम्प्रेस्ड हुनुभएछ । त्यसरी उहाँको संगीतमा मेरो गीत फाइनल भयो ।
गायिका बन्ने चाह सानैदेखिको हो ?
गीत सानैदेखि गाउँथे । पहिलोपल्ट स्टेज पर्फम गर्दा म तीन वर्षकी थिएँ । स्कुलको स्टेजमा उभिएर राइम्सहरु गाउँथेँ । एक प्रकारको कन्फिडेन्स थियो तर भोलि गएर सिंगर नै बन्छु भन्ने सोचेकी थिइनँ ।
कहिलेबाट अब म सिंगर बन्छु भनेर लाग्नुभयो ?
धेरै समयसम्म म कन्फ्युज्ड थिएँ । अरुले राम्रो गीत गाउँछस् भन्दा पनि मलाई होइन होला, त्यत्तिकै भनेको होला भन्ने लाग्थ्यो । म अलरेडी क्लासिकल म्युजिकको क्लास लिइरहेकी थिएँ तर गायिका बन्छु भनेर होइन । सँगसँगै कमर्स पनि पढिरहेकी थिएँ । संगीत सिकिरहेकै बेला एउटा एल्बम निकाल्ने मौका पाएँ । केही म्युजिक कम्पोजरबाट प्रशंसा सुन्न थालेपछि भने अब गर्न सक्छु भन्ने आत्मविश्वास बढ्यो ।
कहाँ सिक्नुभयो म्युजिक ?
मुम्बईको भातखन्डे संगीत शिक्षा पीठमा पाँच वर्षे ब्याचलर कोर्स गरेकी हुँ । मेरो गुरुहरु पण्डित ध्रुव घोष र मिस भावना दीक्षित हुन् ।
दार्जिलिङमा हुर्कनेहरु सानैदेखि संगीतमा पोख्त सुनिन्छन् । त्यसको कारण के रहेछ ?
त्यस्तो त होइन । तर दार्जिलिङमा हुर्कनेहरुसँग न्याचुरल ट्यालेन्ट हुन्छ । वरिपरि म्युजिकल वातावरण हुन्छ । बाटोमा हिँड्दा पनि गीतार बजाइरहेका हुन्छन्, मोहित पार्ने गरी गाइरहेका हुन्छन् । पक्कै पनि दार्जिलिङको हावामै केही छ ! (हाँस्दै) त्यही दार्जिलिङ हावाले मलाई पनि गायिका बनायो । एक त मेरो बाबा स्वयं म्युजिकमा रुचि राख्नुहुन्छ । राम्रो संगीतकार र गीतकार हुनुहुन्छ ।
दार्जिलिङमा जन्मनुभयो । मुम्बईमा पढ्नुभयो, मुम्बईमै संगीत सिक्नुभयो अनि उतै बलिउडमा गीत गाउन छाडेर नेपाल किन आउनुभयो ?
खासमा म मुम्बई बाबाको जागिरले गर्दा गा’को थिए । बाबा इन्डियन आर्मी हो । त्यतिबेला पोस्टिङ त्यतै थियो । बलिउडमा आफ्नो बलबुताले पुग्न निकै गाह्रो छ । कि त रियालिटी सोमा जानुपर्यो कि त आफूसँग चिनजान हुनुपर्यो। मैले त्यता रहँदा एउटा इन्डियन क्लासिकल एल्बम त निकालेँ तर त्यतै ट्राई भने गरिनँ । मुम्बईमा २० वर्ष संघर्ष गरेपछि मात्रै कुनै स्थानमा पुग्थेँ होला तर यहाँ त्यस्तो छैन । मैले अहिले यहाँ जुन लेभलको कलाकारसँग काम गर्न पाइरहेकी छु, सायद मुम्बईमा बसेकोे भए वर्षौं लाग्थ्यो ।
नेपाल कसरी आइपुग्नुभयो ?
सुरुमा म मेरी दिदीको बिहेका लागि आएकी थिएँ । त्यही समयमा मेरो भेट संगीतकार राजन इशान दाइसँग भयो । दिनेश अधिकारी अंकलसँग पनि भेट भयो । त्यो स्तरका मान्छेसँग भेट हुनु सायद मेरा लागि भाग्यको कुरा थियो । त्यसैले मैले छोटो समयमा धेरै गीत गाउने मौका पाएँ । सायद मुम्बईमै बसेको भए यो सफलता हात पर्दैनथ्यो ।
पहिलो गीत रेकर्डिङ गराउँदाको अनुभव सुनाउनुस् न ?
‘थ्रि लभर्स’ फिल्मका लागि ‘जति छन्’ बोलको गीत गाएकी थिएँ । राजन इशान दाइले यो अवसर दिनुभएको थियो । त्यतिबेला मेरो टोन इन्डियन आउँथ्यो । अहिले पनि आउँछ तर धेरै सुधार भइसक्यो । त्यतिबेला मेरो इन्डियन टोन सुनेर मान्छेहरु ट्वाँ पर्थे । सायद उनीहरुलाई यसले कसरी नेपाली गीत गाउँछे भन्ने लाग्थ्यो होला । मलाई त्यतिबेला मामाले धेरै हेल्प गर्नुभयो । एक–एक शब्द उच्चारण गर्न सिकाउनुभयो । स्टुडियोभित्र छिरेपछि पनि म निकै नर्भस भएकी थिएँ । गुम्म परेको कोठा, त्यो पनि अँध्यारो, धेरै डर लागेको थियो ।
नेपाली म्युजिक इन्डस्ट्री कस्तो होला भन्ने सोच्नुभएको थियो अनि के पाउनुभयो ?
जस्तो सोचेकी थिएँ, त्यस्तै पाएँ । कतिपय कुरा त यहाँ त विश्वकै म्युजिक इन्डस्ट्रीसँग मिल्छ ।
भन्नाले ?
नेगेटिभ्सको कुरा नि ! ठ्याक्कै के त नभनौं (हाँस्दै) । यहाँको इन्डस्ट्री न्यु कमर्सका लागि ओपन छ भन्ने सुनेर नै मैले आँट गरेकी हुँ । त्यही पाएँ । नयाँ टाइपको म्युजिक सुन्न खुब रुचाउनुहुन्छ यहाँका अडियन्स । विपुल क्षेत्री, रोहित जंग क्षत्री लगायतका संगीतकर्मी फिल्ममा नगाए पनि दर्शकको नजरमा परेका छन् । इन्डियाको संगीत बलिउडमाथि निर्भर छ तर यहाँ फिल्ममा नगाउनेको पनि वर्चश्व छ । यो राम्रो कुरा हो ।
मनोरञ्जन क्षेत्रको के कुरा तपाईंलाई मनपर्यो ? के ले चित्त दुखायो ?
नयाँनयाँ प्रतिभालाई स्वागत गरेको मनपर्यो । अरु पनि धेरै छन् । मन नपर्ने कुरा गर्नुपर्दा– केहीकेही बाहिरका क्लाइन्ट्सहरु सब्जी किनेजस्तो बार्गेनिङ गर्छन् । त्यो कलाकारको अपमान हो भन्ने लाग्छ । गीतसंगीत भनेको त कला हो नि ! यसलाई अरु प्रडक्ट बेचे जसरी बार्गेनिङ गर्दा चित्त दुख्छ ।
तपाईंले पटकपटक नयाँका लागि यो इन्डस्ट्री ओपन छ भन्नुभयो । साँच्चै हो ?
गाह्रो त हुन्छ तर क्षमता हुनेका लागि ओपन नै छ । अहिले तपाईंसँग राम्रो स्वर छ, क्षमता छ भने युट्युबमा कभर बनाएर अपलोड गर्नुस् न, क्लिक त बढ्छ नै अफर पनि आउन थाल्छन् ।
तर यहाँ त नयाँले कम्प्रोमाइज धेरै गर्नुपर्छ भन्ने गुनासो धेरै सुनिन्छ ?
हो, सुरुसुरुमा आर्थिक हिसाबले कम्प्रोमाइज गर्नुपर्छ ।
फिजिकल कम्प्रोमाइजको कुरा पनि आउँछन् नि ?
हो र ? त्यो त थाहा भएन । मलाई त्यस्तो परेको पनि छैन ।
यहाँ चान्स मार्न खोज्नेहरुको कमी छैन नि त !
यो त विश्वको जुनसुकै क्षेत्रमा हुने कुरा हो । यत्ति हो, आफू बाठो हुनुप¥यो ।
चान्स मार्न खोज्नेहरु तपाईंसँग ठोक्किएनन् ?
छैन । मसँग आँट पनि गर्दैनन् ।
आर्मीको छोरी भएर हो ! (हाँस्दै)
त्यो पनि होला । फेरि म चुप लागेर बस्ने खालको मान्छे पनि त होइन ।
फेमिलीको पनि पुरै सपोर्ट छ है ?
त्यही भएर पनि मसँग त्यो आत्मविश्वास छ ।
अहिले हिट छ तपाईले गएको गीत– उडायो हावाले, यो मन उडायो हावाले...। भन्दिनु न त, तपाईंको मन कसैले उडाएको छैन ?
हँ । (एकछिन मुस्कुराइन् अनि बोलिन् ) त्यसको लागि टाइम छैन । झन् त्यसमाथि म इन्डिया–नेपाल ओहोरदोहोर गरिरहन्छु । मन उडाउने कुरै भएन ।
मन उड्नलाई यतै भइरहनु पर्छ र ?
कमसेकम राम्रोसँग चिन्नुु त प¥यो । राम्रोसँग नचिनी त कहाँ लभ हुन्छ ?
भनेपछि अहिलेसम्म सिंगल नै हो ?
हो ।
दर्शकले पत्याउलान् ?
सत्य भनेको हो । अब पत्याउए पनि नपत्याए पनि दर्शकको कुरा हो (हाँस्दै) ।
हुनेवाला पार्टनर कस्तो होस् भन्ने चाहनुहुन्छ ?
त्यसबारे सोचेकी पनि छैन । यत्ति हो नराम्रो नपरोस् ।
नराम्रो भन्नाले ?
बानी व्यवहारको हिसाबले क्या ! (हाँस्दै) ।
अहिलेको नेपाली म्युजिकको ट्रेन्ड कस्तो पाउनुहुन्छ ?
राम्रो छ । प्रगति नै भइरहेको छ । इस्टर्न र वेस्टर्न दुवै ओरियन्टेड गीतहरु आइरहेका छन् । लोक पनि मरेको छैन ।
सबै राम्रा मात्रै नहोलान्, समस्या पनि देख्नुभएको होला ?
समस्या भन्दा पनि त्यो चेन्ज हो । भक्तराज आचार्यको समयका गीत अहिले पनि आओस् र पपुलर होस् भन्ने अपेक्षा अब राख्नुहुँदैन । सबै कुरा चेन्ज भइरहेको छ । मान्छे, समय चेन्ज, म्युजिक, सोच, पुस्ता सबै चेन्ज भइरहेको छ । त्यसैले अब आफ्नो संस्कृति नछोडी आधुनिक शैलीमा क्वालिटी गीत निकाल्नतिर लाग्नुपर्छ ।
तपाईंका लागि संगीत के हो ?
खोइ के भन्ने ? (एकछिन सोचिन् अनि बोलिन्) मेरा लागि जीवनभरको साथी हो संगीत । मसँग केही नभए पनि म्युजिक सधैँ साथमा हुन्छ । सुःखदुःख जेमा पनि हुन्छ ।
Leave A Comment