‘साम्राज्ञी र मबीच शंका गर्नुपर्ने सम्बन्ध छैन’

आइतबार, १७ भदौ २०७५, ०७ : ११ अनिल यादव
‘साम्राज्ञी र मबीच शंका गर्नुपर्ने सम्बन्ध छैन’

धिरज मगर ‘ड्याट ड्युड भ्लग्स’ नामको युट्युब च्यानल चलाउँछन् । पपुलर युट्युबरको उनको परिचय  बदलिँदैछ, अभिनेताका रुपमा । फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ बाट उनी साम्राज्ञी राज्य लक्ष्मी शाहको अपोजिटमा डेब्यु हुँदैछन् । चकलेटी लुक्सका उनी फिल्म रिलिज हुनुअघि नै टिजर, गीत र ट्रेलरबाटै दर्शकको नजरमा परिसकेका छन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी : 

युट्युबबाट फिल्मको सेलिब्रिटी हुने चरणमा हुनुहुन्छ । कस्तो लागिरहेछ ?
अहिलेसम्म त युट्युबबाट पाएको फेम र चर्चाभन्दा त्यति फरक महसुस भएको छैन । 

भ्लगिङ आइडिया कसरी आयो त ?
पाँच वर्षअघि समर भ्याकेसनका लागि बाहिर निस्केका थियौँं । त्यतिबेलै हामी तीनजना साथी मिलेर एउटा भिडियो बनायौं । युट्युब अलरेडी पपुलर थियो । त्यहीँ हाल्यौं । रेस्पोन्स राम्रो आयो । अनि तीन जना मिलेर च्यानल चलायौं । पछि सबै साथी सधैँ भेट हुन गाह्रो भएपछि मैले एक्लै च्यानल खोलेँ । त्यसपछि पपुलारिटी झन् ग्रो भएको महसुस भयो । 

भ्लगिङ सुरुमा त रुचि थियो होला तर पछि त प्रोफसन नै भयो है ?
१–२ वटा भिडियो अपलोड गर्नेबित्तिकै राम्रो रेस्पोन्स आयो । सब्सक्राइब पनि बिल्ड हुन टाइम लागेन । फ्यानहरुले अब नयाँ भिडियो कहिले आउँछ भनेर म्यासेज गर्न थाले । झन् हौसला मिल्दै गयो । हप्तामा १÷२ वटा भिडियो गर्दौगर्दै दिनदिनै बनाउन थालेँ । आज पनि रुचि नै हो । यहीँबाट पैसा कमाउँछु भनेर काम गरेको भने होइन । 

तर कमाई त राम्रै हुन्छ होला ? 
अँ, राम्रै हुन्छ । 

भिडियो ब्लगका कन्टेन्टहरु कसरी छान्नुहुन्छ ? 
नयाँ–नयाँ कोरियन गीत आइरहेको हुन्थ्यो । सुरुमा म त्यही गीतहरुमाथि रिएक्सन दिएर भिडियो बनाउँथे । पछि रिएक्सन भिडियोमा बोरिङ भएपछि ट्राभल ब्लग सुरु गरेको हुँ । जता जता घुम्न जान्छु, जे जे अनौठो लाग्छ, भिडियो बनाएर अपलोड गरिहाल्छु । 

आफूलाई अब भ्लगर भनेर चिनाउने कि फिल्म एक्टर ?  
युट्युबलाई म कहिल्यै भुल्दिनँ । स्टप पनि गर्दिनँ तर आफूलाई चिनाउने बेला म एक्टर भनेर चिनाउँदा बढी प्राउड फिल गर्छु । मलाई पनि थाहा थिएन, एक्टर हुन कति मिहिनेत गर्नुपर्छ भन्ने । म जिन्दगीमा सुखसँग हुर्केको, कहिल्यै दुःख नपाको मान्छे हुँ तर जब मुभी लाइनमा प्रवेश गरेँ, धेरै प्रेसर फिल गरेँ । कति टाइम दिएँ, कति मिहिनेत गरेँ, त्यसको लेखाजोखा नै छैन । 

कुनै बेला फिल्म एक्टर बनुँला भन्ने लागेको थियो ?  
म अढाइ वर्षको हुँदा नेपालबाट युके गएको हुँ । बुबा त्यतैको आर्मी । म उतै हुर्किएँ । नेपाल फेरि फर्किन पाइएला भन्ने सोचेको थिइनँ । झन् नेपाली एक्टर बन्छु भन्ने त कसरी सोच्थेँ होला ! तर इन्टरटेन्मेन्ट फिल्डमा सानैदेखि रुचि थियो । 

फिल्ममा अफर कसरी आयो त ? 
युट्युबमा पपुलर भएपछि युकेका कार्यक्रममा मलाई एमसी गर्न बोलाइन्थ्यो । एकपल्ट युकेमै डान्स अफ इभेन्ट कार्यक्रम भएको थियो, जहाँ रेनशा म्याम (बान्तवा राई) गेस्ट जज बनेर आउनुभएको थियो । उहाँले मलाई ब्याक स्टेजमा सोध्नुभयो, ‘मुभीतिर इन्ट्रेस्ट छ कि छैन ?’ त्यसपछि हाम्रो लगातार तीन पल्ट मिटिङ भयो । तेस्रो मिटिङमा स्क्रिप्ट सुनाउनुभयो । यो भन्दा पहिला पनि अफर आएको थियो तर मन लागेन । यो चैँ सुन्नासाथ इशान भन्ने क्यारेक्टर मेरा लागि बनेको जस्तो फिल भयो । त्यसैले काम गरेँ ।  

क्यारेक्टर आफ्नै जीवनसँग नजिक थियो कि क्या हो ? 
पात्र पनि युकेकै थियो । त्यस्तै त्यस्तै भन्नुपर्ला ।  

यसअघि कुन फिल्म किन रिजेक्ट गर्नुभयो ? 
फिल्मको नाम त भन्दिनँ तर स्क्रिप्ट चित्त नबुझेर खेलेको थिइनँ । अहिले त्यो मुभी आधा सुट भएर होल्डमा रहेछ । धन्न मैले गरिनछु । अहिले पनि ‘इन्टु मिन्टु लन्डनमा’ नआएर अरु कुनै आएको भए म ‘नो’ नै भन्थँे होला । 

‘उडायो हावाले’ गीत निकै रुचाइएको छ । धेरैले गीतमा तपाईंले साम्राज्ञीलाई पनि छायामा पारेको टिप्पणी गरिरहेका छन् । के भन्नुहुन्छ ?
अँ, मैले पनि त्यस्तो न्युज पढेँ । अरुले गरेको कमेन्टमा त म केही रिएक्ट गर्दिनँ तर मलाई भने जति गर्न सक्थेँ त्यति अझै गर्न नसकेको फिल हुन्छ । 

गीतमुनि कमेन्ट्स गर्ने धेरैले साम्राज्ञीभन्दा तपाईंको चर्चा गरेका छन् । कतिपयले ‘नेक्स्ट सुपरस्टार अफ नेपाली फिल्म इन्डस्ट्री’ भनेर लेखेको पनि देखेँ । सुपरस्टार भइएला त ? के लाग्छ ? 
मैले मुभी खेल्नलाई मात्रै खेलेको होइन । राम्रो कलाकार बन्ने अठोट लिएर यो सेक्टरमा आएको हुँ । सुपरस्टार भन्ने कुरा त अडियन्सको आँखामा भर पर्ने कुरा हो । 

तपाईंमा के देखेर निर्देशकले फिल्ममा लिनुभयो भन्ने लाग्छ ?
अफकोर्स, सुरुमा त लुक्स नै हो । त्यसमा शंकै छैन । ढाँटेर भन्दा पनि मान्छेले विश्वास गर्ने कुरै भएन । एक्टिङ क्लास लिएपछि भने ममाथि देखिएको ग्रोेथ र प्यासनले अझ इम्प्रेस्ड हुनुभयोजस्तो लाग्छ । 

अनि तपाईं भ्लगर भन्ने थाहा थिएन र ?
फिल्ममा अफर गर्दा रेनशा म्यामलाई मेरोबारे केही थाहा थिएन । पछि थाहा पाउनु भएको हो । 

थाहा पाएपछि बोनस फिल भयो होला !
हो, बोनसजस्तै नै ठान्नुभयो किनभने मेरा भ्लगका फ्यान पनि फिल्मसँग जोडिने सम्भावना रह्यो नि त ! 

एक्टिङ कोसँग सिक्नुभयो नि ?
राजन खतिवडा (रंगकर्मी)सँग । उहाँले पनि छिटो ग्रोथ भयो भनेर तारिफ गर्नुभएको थियो । बाँकी त फिल्म हेरेपछि नै थाहा होला । 

तपाईंलाई भाषाले त समस्या दियो होला है ? 
अँ, एकदमै भयो । नेपाली बोल्न नआउने होइन तर मुभीमा कस्तोकस्तो शब्दहरु युज हुने क्या !  उच्चारण गर्नै गाह्रो हुने शब्दहरु हुन्थे । निकै गाह्रो हुन्थ्यो ।  

फिल्ममा खेल्नुअघि साम्राज्ञीलाई कसरी चिन्नुहुन्थ्यो ?  
‘ड्रिम्स’ फिल्म हेरेको थिएँ । त्यतिबेलै उनको काम देखेर यो पहिलो मुभी हो भन्दा पत्यार लागेको थिएन ।  सुरुमा ‘इन्टु मिन्टु लन्डनमा’मा साम्राज्ञी नै मेरो को–एक्टर भन्ने थाहा थिएन । पछि उनी नै अपोइन्ट भयो भन्दा झन् खुसी लाग्यो । 

हामीकहाँ धेरै एक्टरहरु फिल्म रिलिजपछि प्रमोसनमा हिँड्दैनन् तर तपाईं निकै सक्रिय देखिनुहुन्छ । फिल्मको टिजर, गीत, ट्रेलर रिलिजअघि सबैको काउन्टडाउन भिडियोमा देखिनुभयो । भ्लगिङ स्किल काम लाग्यो है ? 
प्रमोशन भन्नेबित्तिकै यहाँ सबैले एउटै शैली पछ्याउदा रहेछन । सबैले फोटो हालेर थ्रि डेज टु गो, टु डेज टु गो भन्दा रहेछन् । हामीले फरक ग¥यौँ । प्रमोसनल स्ट्राटेजी हामी सल्लाह गरेर बनाइरहेका छौं । एक्टर भएपछि त्यो गर्नु पनि पर्छ किनभने फिल्म हाम्रो पनि प्रोडक्ट हो । 

सुनिएअनुसार तपाईंले आइकोर फिल्म्स्कै ब्यानरमा लगातार अन्य तीनटा फिल्म पनि साइन गरिसक्नुभयो तर तपाईं स्वीकार्नु हुन्न । किन होला ? 
अहिले अफिसियल्ली केही भएको छैन । भयो भने घोषणा हुन्छ । (हाँस्दै)

पहिलो फिल्म रिलिज नभई अरु तीनटा फिल्म खेलाउन तयार हुनु भनेको त ठूलो चुनौती हो नि । त्यसैले सोध्ने खोजेको ...?
यो कुरामा खुसी लाग्छ क्या ! मुभी त हेरिसक्यौँ नि त हाम्रो टिमले । युनिटभित्र त हाम्रो काम थाहा भइसक्यो नि त !  

भनेपछि तपाईंले तीनवटा फिल्म खेल्ने कुरा झुट नहुन पनि सक्छ ?
त्यो चाहिँ भन्न मिल्यो तर अफिसियल केही भएको छैन है ! (हाँस्दै) । 

तपाईंले फिल्म हेर्नुभयो ? 
अफकोर्स । 

सन्तुष्ट हुनुहुन्छ ?
डिटेल्समा सोच्ने हो भने केही गल्ती भेटिएला तर समग्रमा राम्रो बनेको छ । 

फिल्म फ्लप भइहाल्यो भने अभिनय छाड्नु त हुन्न नि ?
हिट हुनु÷नहुनु आफ्नै ठाउँमा छ तर नराम्रो मुभी बन्यो भनेर कसैले भन्ला जस्तो लाग्दैन । 

मगर समुदायबाट पहिलो मगर लिड एक्टर भनेर पनि खुसी व्यक्त गरेको सुनियो नि ! 
म सरप्राइज्ड छु यो कुराले । मलाई यो मंगोलियन अर्थात् कोरियन लुक्स भएको भनेर अगाडि नबढाइयोस् भन्ने लाग्छ । मेरो कामलाई मन पराएर नै माया गरियोस्, नराम्रो छ भने नराम्रो नै भनियोस् भन्ने लाग्छ ।

लन्डनमा नेपाली फिल्मको मार्केट कस्तो छ ?
क्रेज छ । नेपाली फिल्महरुको स्क्रिनिङ भइरहेको हुन्छ । हामी बस्ने ठाउँमा नेपाली बसोबास कम छ । त्यसैले म त्यति भिजेको त छैन नेपाली कम्युनिटीसँग तर मार्केट बढ्दै छ भन्ने लाग्छ । 

भर्खरै तपाईंको कोएक्टर साम्राज्ञीको ब्रेकअपको खबर मिडियामा आयो । ब्रेकअपको कारण तपाईं भएको चर्चा पनि सुनियो । खास कुरा के हो ?
त्यस्तो केही भा’को होइन । टिजर रिलिज भएपछि धेरैले हाम्रो केमेस्ट्री देख्नुभयो । हामी युकेबाट सुटिङ गरेर फर्किनेबित्तिकै साम्राज्ञीको ब्रेकअपको कुरा बाहिर आयो । त्यसैले युकेमा केही भयो होला त्यसैले  ब्रेकअप भएको भन्ने माइन्डसेट अडियन्सलाई बनेको हुनसक्छ । तर हामीबीच शंका गर्नुपर्ने त्यस्तो केही भएको छैन । भएको भए हामी क्लियर गथ्र्यौं । 

गलफ्रेन्ड त होला नि ? 
छैन । अहिले म पूरै काममा फोकस्ड छु । 

यस्तो ह्यान्डसम् मान्छे सिंगल छ भन्दा कसले पत्याउला ! 
कुनैबेला थियो । अहिले छैन । लास्ट रिलेसनसीप तीन वर्षअघि थियो । 

ब्रेकअप के कारणले हुने रैछ ?
लङ डिस्टेन्स ।  

सम्बन्धलाई बलियो बनाउन के आवश्यक रैछ ?
अन्डस्ट्यान्डिङ, कम्प्रोमाइज । सम्बन्ध भनेकै सम्झौता हो जस्तो लाग्छ । 

प्रपोज गर्ने युवतीहरु त धेरै होलान् ?
अँ, छन् (हाँस्दै) ।  

कसरी ह्यान्डल गर्नुहुन्छ ?
सबैले मलाई चिनेर भन्दा पनि मेरो काम मन पराएर गरेको हो । त्यसैले मैले सिरियस्ली लिन्नँ, लाइट्ली नै लिन्छु । कतिपयले लुक्स, कतिपयले काम, कतिपयले स्टाटस हेरेर प्रपोज गरेका हुन्छन् । सबैलाई थ्यांक यु भन्दिन्छु । 
 

Leave A Comment