‘तथाकथित  समालोचकहरुले गर्ने रिभ्यु खासै पढ्दिनँ र मान्दिनँ ’ : सुविन भट्टराई

सोमबार, १८ भदौ २०७५, ०७ : ३३ प्रजु पन्त
‘तथाकथित  समालोचकहरुले गर्ने रिभ्यु खासै पढ्दिनँ र मान्दिनँ ’ : सुविन भट्टराई

युवा र प्रेमलाई केलाएर लेख्ने लेखकको सूचीको अग्रपंक्तिमा पर्छन्, सुविन भट्टराई । एक कथा सङ्ग्रह ३ उपन्यास प्रकाशित गरिसकेका उनी युवाको मनोभाव बुझेर शब्द खेलाउन खप्पिस छन् । ‘कथाकी पात्र’, ‘समर लभ’, ‘साया’ र ‘मनसुन’ लेखिसकेका उनी असोज पहिलो साता  ‘प्रिय सुफी’ मार्फत पाठकमाझ आउँदैछन् । लोकप्रियताका लागि सस्तो साहित्य पस्किएको आरोप खेप्दै आएका भट्टराईसँग उनको नयाँ पुस्तक र लेखनीबारे शुक्रवारकर्मी प्रजु पन्तले गरेको कुराकानी :

यस अगाडिका तीन उपन्यासलाई पाठकले प्रायः एकै प्रकारको लभ स्टोरीको  रुपमा लिन्छन् । अब आउने ‘प्रिय सुफी’ पनि त्यही मार्काको उपान्यास त होला नि हैन ?
हैन । फरक छ । यो मोटिभेसनल उपन्यास हो । केही प्रतिशत लभ त छ तर धेरै मोटिभेसन टाइपको छ । 

कस्तो हो यो ?
युवाहरुको एउटा समस्यालाई पक्रेर लेखेको छु । मैले देखाउन खोजेको कुरा मात्रै देख्नुहुन्छ कि अरु पनि देख्नुहुन्छ, त्यो पाठकमा भर पर्छ । पुस्तक प्रकाशित हुनुअगाडि नै धेरै नखोलौँ होला ।

पुस्तक अंशै नभने पनि कस्तो समस्याबारे लेख्नु भएको हो, त्यो हल्का खुलाउन त मिल्ला नि ?
युवाहरुमा बढ्दो आत्महत्याको विषयलाई मूल विषय बनाएको छु ।

सुसाइडको मूल कारण प्रेम सम्बन्ध नै त देखिन्छ । अलि नचपाइकन पहिलाको उपन्यास र अहिलेकोमा विषय के फरक छ भन्दा के होला र ?
एकदमै फरक छ । तीन वटा उपन्यासमा पूरै लभ स्टोरी थियो । एउटा केटा एउटा केटी हुन्थे । उनीहरुकै प्रेम सम्बन्ध उत्तरचढावमा केन्द्रित हुन्थ्यो तर यस उपन्यास केटाकेटीमा मात्रै सीमित छैन । घरपरिवार, इष्टमित्र, साथीभाइसँगको सम्बन्धलाई पनि उल्लेख गरेको छु । मान्छेले आफैँलाई प्रेम गर्दैन । यस उपन्यासमा आफूले आफूलाई प्रेम गर्नुको महङ्खवबारे उल्लेख गर्ने प्रयास गरेको छु । 

मान्छेले सबैभन्दा बढी प्रेम त आफैंलाई गर्छ हैन र ?
भन्न खोजेको के भने, मान्छेले अरुको कारणले सुसाइड गरे जस्तो देखिए पनि आफ्नै जिन्दगी प्रतिको प्रेम नभएर गरेको हुन्छ । मान्छेलाई मरौँ–मराँै लाग्ने नहोस् भन्ने हो । अन्य कुरा धेरै नखोलौँ अब ।

सुविन भट्टराईको उपन्यास भन्नासाथ उही चल्तीको प्रेमलाई मीठो शब्दले पस्किएको पुस्तक भन्ने छाप छ । यो उपन्यासमार्फत त्यो छाप मेट्न खोज्नुभएको हो ?
प्रेमलाई मैले छोडेकै छैन । प्रेम फेरि छोड्छु भनेर छोडिने कुरै होइन । प्रेम बिना त कुनै पनि फिक्सन पूरा हुन्न । अरु उपन्यासमा प्रेमको प्रस्तुति साघुँरो थियो भने अहिले दायरा फराकिलो पार्ने प्रयास मात्र गरेको हो । यस अघिका तीन उपन्यास एकदमै सामान्य तरिकाले लेखेको छु । यसमा कुनै दर्शन र जटिलता छैन । वरिपरिको वातावरणलाई बढी फोकस गरेर लेखेँ तर यो उपन्यासमा दर्शन, मनोविज्ञान लगायतका कुरा छन् । 

लेख्ने तरिकामा परिर्वतनको प्रयास भएको छ हाे ?
एकदमै । एउटै प्रकारको लेख्दा त मलाई पनि मोनोटोनस हुन्छ ।  पढ्नेलाई पनि मोनोटोनस हुन्छ । त्यही भएर फरक गरेको छु । 

लेखकको उमेर अनुसार लेख्ने शैली र सोच फरक हुँदै जान्छ कि क्या हो ! 
ठीक भन्नुभयो । सिगंल हुनुहुन्छ कि मिंगल हुनुहुन्छ, बच्चा छ कि बच्चारहित, यी सबै कुराले लेख्ने विषयमा फरकपना ल्याउने रहेछ । उमेरअनुसार प्रेमलाई बुझ्ने तरिका फरक हुन्छ नै ।

आफूले लेखेकामध्ये कुन पुस्तक बबाल लेखियो जस्तो लाग्छ ?
सबै उस्तै लाग्छ । पाठकले चाहिँ ‘समर लभ’ बढी मन पराइदिए ।
पाठकको हैन तपाईंको च्वाइस सोधेको हो । आफ्ना प्रकाशित पुस्तकमध्ये लामो समयसम्म बजारमा

प्रभाव पार्ने पुस्तक कुन हो जस्तो लाग्छ आफैँलाई ?
यसको लागि समय कुर्नै पर्छ । जस्तो ‘समर लभ’ आयो ५ ÷६ वर्ष भयो चलेकै छ । मान्छे मेच्योर भएपछि मन नपर्ला तर युवा छँदा त मन पर्छ । युवा प्रौढ हुँदै जान्छन्, युवा जन्मदै जान्छन् ।

बजारलाई हेरेर जे चल्छ त्यही विषयमा हल्का पारामा लेख्नुहुन्छ भन्ने आरोप तपाईंलाई लगाएको खुब सुनिन्छ । साहित्य बिगार्नु भएकै हो त ? 
हलुका के हो, गह्रौँ के हो मलाई अलि थाहा भएन । मैले आफ्ना पुस्तकमा अनावश्यक रुपमा दर्शन नथोपरेकै हो तर यो पालिको पुस्तक  फरक छ ।

हल्का लेख्यो भन्ने आलोचकलाई जवाफ दिन गहु्रँगो लेखियो त्यसो भए ?
त्यो त हैन । जसले मेरो कृतिमा वेट छैन भनेर कुरा काट्नुहुन्छ, उहाँले अहिले पनि वेट छैन नै भन्नुहुन्छ । मैले जति नै संसार पिट्ने लेखेँ भने पनि उहाँहरुलाई त्यो मन पर्दैन भन्ने मलाई थाहा छ । सुविनले बजार हेरेर चल्तीको कुरा लेखेर साहित्य बिगार्छ भन्नेहरुको चित्त बुझाउने गरी यो जन्ममा चित्त बुझाउन सक्छु जस्तो लाग्दैन । मुख्य पाटो, आम पाठकलाई  चित्त बुझाउने  हो । अरु मान्छेले के भन्छन्, त्यो मतलब भएन । 

आलोचनालाई बेवास्ता गर्नु ठीक हो र ? सत्य पनि त हुनसक्छ !
मैले समालोचनाको कुरा गरेको हैन, आलोचना मात्रै गर्नेलाई भनेको हुँ । सबैलाई भनेको पनि हैन, केहीलाई मात्र भनेको हुँ । अलिकति आरिसको भावले आएको आलोचनालाई मैले गम्भीर रुपमा लिने गरेको छैन । मैले लेख्नुपर्ने विषय यसले पो लेखिदियो भन्ने प्रकारका मान्छेका कुरा म सुन्दिनँ ।

आफ्नो पुस्तकको समालोचना कत्तिको पढ्नुहुन्छ ?
पाठकले गर्ने समाचोलना गम्भीर भएर हेर्छु । आएका सन्देशमा गम्भीर हुन्छु तर पत्रिकामा आउने समीक्षाको कुरा गर्नुहुन्छ भने त्यो चाहिँ हेर्दिनँ । तथाकथित  समालोचकहरुले गर्ने रिभ्यु खासै पढ्दिनँ र मान्दिनँ पनि ।

किन ?
विभेद हुन्छ । समालोचना भनेको राम्रो–नराम्रो उल्लेख गर्नुपर्ने हुन्छ तर यहाँ त्यस्तो चलन छैन । समीक्षा लेनदेनमा आधारित अनि एक्सचेन्ज गरेर लेख्ने प्रवृत्ति छ । 

समीक्षकले आलोचना गरेकाले आरोप लगाएको पो हो कि ?
सबै समालोचकलाई भनेको हैन । केही त्यस्ता छन् ।

हामीलाई गन्दैन भन्ने देखिँदैन यस्तो भन्दा ? 
विषयवस्तुलाई पूरै तोडमोड गरेको समीक्षा कसरी मान्ने त ?
 

Leave A Comment