‘त्यो दिन म मरेको भए...’

बुधबार, २० भदौ २०७५, १२ : ४३ शुक्रवार
‘त्यो दिन म मरेको भए...’

नामः देवकृष्ण केसी
उमेरः ४३ वर्ष
घरः साँखु, 
पेसा : क्लिनिकल एसिस्टेन्ट, मोडल अस्पताल
घटना मितिः २०७२, मंसिर ६

सुरुवातः भूकम्प
२०७२ वैशाख १२ गते नेपालमा भूकम्प गयो । बुबा र दाजुको घर भत्कियो । मेरो घर पनि चर्कियो तर भत्किएन । एक संस्थाको सहयोगमा गाउँमा भूकम्प प्रभावितलाई राहत सामग्री बाँड्दा आनन्द लाग्यो । 
घर भत्किएका कयौँ परिवार सरकारको लिस्टमा परेनन् । मेरो चर्किएको घर सरकारी लिस्टमा थियो तर घर भत्किएका बुबा र दाजुको घर थिएन । 

माघ महिना हुनुपर्छ । आइतबारको दिन थियो । भूकम्पमा परेर क्षति भएका घरबारे स्थानीय तहबाट तथ्याङ्क लिन बिदामा बसेको थिएँ । 

बुबा र दाजुको भत्किएको घर सरकारी लिस्टमा नपरेकोबारे परिवारमा कुरा चल्यो । अरुका लागि सहयोग गर्ने तर आफ्नै बुबा र दाजुको घर लिस्टमा पार्न नसकेको परिवारबाट गुनासो आयो । अलि टेन्सन बढ्न थाल्यो । 

जसको २÷३ वटा पक्की घर छन्, उसको घर भत्किएको लिस्टमा छ,  राहत पाउँछ तर जसको घर भत्किएर ध्वस्त भएर बाँच्नसमेत गाह्रो थियो, उनीहरुको नाम थिएन । यो देख्दा दिक्क लाग्यो । बिस्तारै समाजमा खराब मात्रै देख्न थालेँ । एकाएक यो समाजमा बाँचेर कामै छैन भन्ने लाग्न थाल्यो । 

छोरा–छोरी छतमा 
मंसिर ६ गते आइतबार बिहान स्थानीय स्कुलको कार्यक्रममा गएको थिएँ । बिहान केराउबारीमा पानी हालेर घर फर्कंदै थिएँ ।  बाटामा मनमा कुरा खेल्न थाल्यो, ‘मान्छेको ऋण छ, मेरो ऋण छैन । मसँगका साथी कोदाली चलाउँछन् । उनीहरुलाई भोक लाग्छ, निन्द्रा लाग्छ । मलाई न भोक लाग्छ, न निन्द्रा लाग्छ !’
सायद गहुँ छर्ने समय थियो । मेलापात चल्छ त्यो बेला । श्रीमती गाउँमा डल्ला फोर्न खेताला गइन् । वनस्थलीमा पढ्ने छोरा बिदा परेर घरैमा बसेको रहेछ । छोरी पनि घरमै थिई । आठ वर्षकी छोरी र १२ वर्षको छोरो घरको छतमा खेलिरहेका थिए । 

बिषादीको बोतलमा आँखा
केराउमा हाल्न केही दिनअगाडि भतिजालाई विषादी किनेर ल्याउन लगाएको थिएँ । केराउमा पानी हालेर आएँ र खाना खाएँ । खाना खाउञ्जेल त्यस्तो केही लागेको थिएन । सबै ठीकै थियो । 
११ बजेको थियो । खाना खाएपछि टहलिन घरको छतमा गएँ । कौसीमा बसेर हेर्दा भ¥याङको कुनामा राखेको विषादीको बोतलमा आँखा पुग्यो । बोतल देखेपछि किन–किन मर्न मन पो लाग्यो !

छतमा खेलिरहेको छोरालाई हेरेँ । उसको पढाइको चिन्ता लाग्यो । ‘पढाइ हेरिदिनु होला’ भन्न ज्वाइँलाई फोन गरेँ तर दुई पटक डायल गर्दा पनि उठेन । विषादीको बोतल नजिकै गएर नाम पढेँ । मर्ने किसिमको कडा विषादी रहेछ । 

मन कस्तो–कस्तो हुन थाल्यो । मरौं–मरौं मात्र लाग्ने । न ८६ वर्षको वृद्ध बाबुको याद आयो न श्रीमतीको । छोरा–छोरीलाई अत्यन्तै माया गर्थेँ तर त्यतिबेला उनीहरुको पनि सम्झना भएन । दिमागमा यत्ति मात्रै आइरह्यो–– ‘म मर्नुपर्छ ।’


मोबाइल छाडेर जंगल
गोजीमा रहेको मोबाइल र हातको औँलामा रहेको औँठी घरमै छोडेँ । तर सुनको सिक्री लाएँ । त्यसपछि विषादीको बोतल गोजीमा बोकेर हिँडे । डेढ किलोमिटर हिँडेपछि जंगलमा पुगे । चहलपहल थिएन । बाटो नजिक खाँदा कसैले फेला पारेर अस्पताल पु¥याउँछन् र बाँचिन्छ, मर्नैपर्छ भनेर कसैले नदेख्ने सुनसान ठाउँ खोजेँ ।

२-४ वटा चुरोट लिएर गएको थिएँ । टुक्रुक्क बसेर चुरोट खाएँ । चुरोट खाउञ्जेल मनमा दुई वटा कुरा खेलिरहे । एउटा विषादी नदेख्ने गरी फ्याँकिदिऊँ जस्तो लाग्यो । अर्को, बिषादी खाएर पनि मरिएन भने त साह्रै दुःख पाइन्छ भन्ने लाग्यो । अस्पतालमा पोइजन खाएर नमरेकाहरुको बिजोग देखेको थिए, त्यो सम्झिएँ । 

करिब १२ बजेको थियो । दुवै तर्कनाले काम गरेन । मनमा मर्नुपर्छ भन्ने मात्रै लाग्यो । चुरोट खाइसकेपछि विषादीको बोतल राम्रोसँग हल्लाएँ । बिर्को खोलेँ । स्वाट्टै पारेर सबै पिइदिएँ । 

मर्न गाह्रो भयो
त्यसबेला घरमुनि छिमेकीले पुराण लगाएका थिए । त्यसको आवाज जंगलसम्मै सुनिन्थ्यो । विषादी खाएपछि धुन कानमा गुञ्जियो । 

विषादी पिएपछि सजिलै मरिन्छ जस्तो लागेको थियो तर साह्रै गाह्रो पो भयो । शरीरमा करेन्ट लागेजस्तै झट्का लागिरह्यो । पीडा भयो । छट्पटी बढ्यो । शरीर पुरै आगोमा झोसिएजस्तै भयो । कराएँ, चिच्याएँ, जंगलमा मडारिएँ ।

बडो डर लाग्यो । 

खानेबित्तिकै मरिहालिन्छ भन्ने सोचेको त त्यस्तो नहुँदो रै’छ । अँध्यारो–अँध्यारो लाग्यो । दुई पटक बान्ता गरेको याद छ । सहनै नसक्ने गरी पेट निचोरिइरहेको थियो । 

मरेपछि पनि सुख नपाइने भयो भन्ने लाग्यो । मलाई कहाँ–कहाँ कसैले उचालेर लगेजस्तो लाग्यो । आफूले नचाहीकनै आवाज निस्किरहेको थियो । कसैले नसुनून् भनेर मुख छोप्न खोज्थेँ तर स्वर झन्झन् ठूलो सुन्थेँ । काग कराएजस्तो, सुरुङबाट यमराजले उठाएर लगिरहेको जस्तो हुन्थ्यो । निकै समयपछि जताततै अँध्यारो देख्न थालेँ । के–के भयो–भयो । 

रात पर्दै गयो तर मरिनँ । विषले नमारे पनि अब जंगलमा बाघ–भालुले खाने भयो भन्ने डर पो लाग्न थाल्यो ! अब उठेर अलि तल जान्छु र गुहार माग्छु भन्दा उठ्नै सकिनँ । 

झ्याइँकुटी पारेर बोके
घर नआएपछि गाउँको हरिशरण भन्ने भाइ र मेरी श्रीमती खोज्न निस्किएका रहेछन् । चिच्च्याएको सुनेर जंगलतिर आएछन् । आवाज पछ्याउँदै आएर मलाई धन्न भेटेछन् । आँखा च्यात्दा मान्छे चिन्थेँ । जिब्रो लठेब्रिइसकेको थियो ।

भाइले ‘भिनाजु तपाईंले के गरेको भनेर सोध्दा ‘मैले पोइजन खाएँ’ भनेँ ।

श्रीमती र भाइले झ्याइँकुटी पारेर बोके । बारीको पाटामा कहिले तल कहिले माथि लगेजस्तो लाग्थ्यो । मलाई बोकेर लगिरहेका थिए, श्रीमती रोइरहेकी थिइन् । घरमा ल्याएर सरफ पानी खुवाएछन् । उल्टी गर्दा घरमा कालो चप्पल देखेको याद छ । खल्याङमल्याङ गरेको र गाडीमा हालेको पनि सम्झन्छु । त्यसपछि के भयो केही याद भएन ।


लक्ष्मी खोई ? 
आँखा खुल्दा अस्पतालको बेडमा थिएँ ।
होस खुलेलगत्तै श्रीमतीलाई खोजेछु, ‘लक्ष्मी खोई ?’
श्रीमती, छोरा–छोरी आए । उनीहरुलाई देख्दा आँसु थामिएन । रोएँ । मोडल अस्पतालमा पुगेको रहेछु, निर्देशक आउनुभयो । उहाँको अगाडि पनि रोएँ ।

होस खुल्दा विष खाएको दोस्रो दिनजस्तो लागेको थियो तर हैन रहेछ । १४ दिनपछि पो होस आएको रहेछ ! उनीहरुले घरबाट गाडीमा हालेर पहिला जोरपाटीको एउटा अस्पतालमा लगेछन् । त्यहाँ केही विष निकालिएछ । मोडल अस्पतालको कर्मचारी भएकाले आफ्नै अस्पताल पु¥याएछन् । रगतमा ९० प्रतिशत विषादी फैलिइसकेको रहेछ । साह्रै दुःख गरेर बचाएछन् ।

होस आएपछि श्रीमतीले एउटा प्रसंग भनेर हँसाइन् । त्यो दिन उनले मलाई खोज्न छोरा–छोरीलाई पठाएकी रहिछन् । दुवै जंगलमा पनि आएछन् । म सुनसान ठाउँ खोजेर बसेको थिएँ । के भेट्थे र ! दुवै जना एक झोला अमला टिपेर घर फर्किएछन् ।

ड्याडी सुत्केरी 
होस आएको पाँच दिनमै घर जान मन लागेको थियो तर डाक्टरले रोके । भोलि जाउँला भनेर फकाएर राखे । एक हप्तामा बल्ल डिस्चार्ज भएँ । हात खुट्टा साह्रै शिथिल भएका थिए । श्रीमतीले साह्रै स्याहारिन् । 
जिउ बलियो हुन्छ भनेर श्रीमतीले मलाई तेल लगाइदिन्थिन् । बच्चाबच्चीले सुत्केरी भएकाले मात्र यसरी तेल लगाएको देखेका थिए । छोरीले ‘अरुका घरमा ममी सुत्केरी हुन्छन् हाम्रो घरमा चैँ ड्याडि सुत्केरी हुनुभयो’ भन्दै जिस्काइन् ।


म भाग्यमानी 
विष पिएको १४ दिनसम्म होस नखुल्दाको अवस्था आज सम्झँदा पनि जीउ सिरिङ्ग हुन्छ । एन्जाइटीका कारण र सानो–सानो तनावले मानिसलाई मृत्युको मुखमा समेत पु¥याउन सक्ने रहेछ । ज्यान तगडा भएर मात्र व्यक्ति स्वस्थ नहुने रहेछ । मन र मस्तिष्क पनि स्वस्थ हुनुपर्ने रहेछ भन्ने अहिले पो बुझे ।
४÷५ दिनमा होस नआएर धेरै मरेको आफैँले देखेको हो । १३ दिनसम्म होस नआउँदा पनि म बाँचे । भाग्यमानी रहेछु !

अहिले छोरा–छोरीलाई हेर्छु, श्रीमतीलाई हेर्छु । त्यो दिन दिमागमा के सोच आएको होला भनेर छक्क पर्छु ।
बाफरे बाफ....

त्यो दिन सम्झदा पनि ज्यानै सिरिङ्ग हुन्छ । यस्तो कसैले नगरोस् ।
(उपेन्द्र खड्कासँगको कुराकानीमा आधारित)
 

 

‘आत्महत्या रोक्न सकिन्छ’

डा. सरोजप्रसाद वझा
प्रमुखः मानसिक स्वास्थ्य विभाग
त्रिवि शिक्षण अस्पताल
विश्वमा प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गरेको तथ्याङ्क पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष करिब १० लाख मानिसले आत्महत्या गर्छन् । करिब ८० लाखले आत्महत्याको प्रयास गर्छन् । 

ठ्याक्कै यही कारणले आत्महत्या हुन्छ भन्न कठिन हुन्छ । विभिन्न किसिमका मनोवैज्ञानिक कारणले आत्महत्या गरेको पाइन्छ । रोग तथा परिवेशका कारणले पनि मानिसले आत्महत्या गर्छन् । 


प्रमुख कारण डिप्रेसन
मानसिक रोगका कारणले आत्महत्या गरेको भए डिप्रेसन प्रमुख कारण हो । आत्महत्याको ७० प्रतिशत कारण डिप्रेसन देखिन्छ ।

डिप्रेसन भएका मानसिक रोगीमा मरुँमरुँ लाग्छ । दिक्क लाग्ने हुन्छ । डिप्रेसनका रोगीमा म बाँचेर पृथ्वीको भार भएँ भन्ने किसिमका उदासिनता मनमा आउँछ । डिप्रेसन बढ्दै जाँदा आत्महत्याको सोच आउँछ । बेलैमा डिप्रेसनको उपचार गरेर आत्महत्या न्यूनीकरण गर्न सकिन्छ । स्किजोफ्रेनिया जस्तो कडा किसिमको मानसिक रोगका कारणले पनि मानिसले आत्महत्या गर्छन् । 


आवेशमा आत्महत्या
कतिपय मानिस परिवेशका कारणले पनि आत्महत्या गर्छन् । पारिवारिक, शैक्षिक तथा सामाजिक, आर्थिक लगायतको समस्याका कारणले आवेशमा आत्महत्या गरेको देखिन्छ । समाज तथा परिवारबाट उपेक्षित भएको महसुस गरेर बाँच्नु नै धिक्कार छ भन्ठानेर आत्महत्या गरेको पनि देखिन्छ । घरमा कलह तथा आर्थिक समस्याका कारणले पनि मानिसले आत्महत्याको बाटो रोज्छन् । आत्महत्या गर्नेमध्ये करिब  १५ प्रतिशत मानिसले आवेशमा आत्महत्या गर्छन् । 

कुलत र दीर्घरोग
चुरोट, रक्सी लगायतका कुलतका कारण पनि मानिसले आत्महत्या गर्छन् । क्यान्सर, एचआइभी एड्स लगायतका दीर्घरोगका कारणले तनावमा पुगेपछि, आफ्नै जीवनबाट उदासिएर आत्महत्या गर्ने पनि हुन्छन् । रोग निको नहुने थाहा पाएपछि कतिपय मानिसले आत्महत्याको बाटो रोजेको देखिन्छ । 

आत्महत्या प्रयास दोहोरिन सक्छ
एक पटक आत्महत्याको प्रयास गरेर बाँचेका कतिपय व्यक्तिमा पुनः आत्महत्या गर्ने सम्भावना हुन्छ तर के कारणले आत्महत्याको प्रयास गरेको थियो भन्ने कुरामा पुनः आत्महत्या गर्ने सम्भावना हुने वा नहुने भन्ने भर पर्छ । 

स्किजोफ्रेनियाजस्तो कडा किसिमको मानसिक रोग लागेर आत्महत्याको प्रयास गरेको छ भने त्यस्ता व्यक्तिमा पुनः आत्महत्या गर्ने सम्भावना हुन्छ । 

डिप्रेसनका कारणले आत्महत्याको प्रयास गरेर बाँचेका मानिसमा भविष्यमा डिप्रेसन हुने सम्भावना भएकाले पुनः आत्महत्या गर्न सक्छन् । 

सामाजिक, पारिवारिक, आर्थिक लगायतका कारणले आवेशमा आएर आत्महत्याको प्रयास गरेका व्यक्तिले पुनः आत्महत्या गर्ने सम्भावना न्यून हुन्छ । 

आर्थिक, सामाजिक, पारिवारिकजस्ता समस्या समाधान हुने भएकाले आवेशमा आएर आत्महत्याको प्रयास गरेका व्यक्तिमा पुनः आत्महत्याको प्रयास दोहोरिने सम्भावना कम हुन्छ । त्यसैले पनि आत्महत्या दोहोरिने वा नदोहोरिने भन्ने व्यक्तिमा भर पर्छ । 


झुण्डिएर धेरै आत्महत्या
आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी झुण्डिएर आत्महत्या गरेको पाइन्छ । झुण्डिने विधि अपनाएर आत्महत्याको बाटो रोज्नेमा प्रायः सतप्रतिशत आत्महत्या हुने सम्भावना हुन्छ किनभने झुण्डिने विधि अपनाउँदा योजनाबद्ध तरिकाले र मृत्यु हुने किसिमले नै मानिस झुण्डिन्छन् । त्यसैले झुण्डिने विधि अपनाएर आत्महत्याको प्रयास गर्ने व्यक्ति प्रायःको ज्यान जान्छ । 

नेपालमा दोस्रोमा विषादी पिएर आत्महत्या गरेको पाइन्छ । किसानले बढी विष पिएको देखिन्छ । तेस्रोमा, अग्लो ठाउँ, भीर–पाखा तथा घरको छतबाट हाम्फालेर आत्महत्या गरेको पाइन्छ । बन्दुक पाइने ठाउँमा आफैँलाई सुट गरेर आत्महत्या गरेको पाइन्छ ।

सकिन्छ रोक्न
आत्महत्या रोकथाम गर्न सकिने समस्या हो तर हाम्रोजस्तो देशमा धेरैजसो यस्तो रोगको पहिचान नै हुँदैन । मानसिक स्वास्थ्यका बारेमा समाजको बुझाई नकारात्मक छ । आज पनि हाम्रो देशको कयौँ ठाउँमा मानसिक स्वास्थ्यको सेवा जनताको पहुँच भन्दा टाढा छ । 

नेपालमा आफ्नै किसिमको संस्कार तथा रीतिरिवाज छ । अन्तर्जातीय विवाह तथा आर्थिक अवस्था कमजोर र मजबुत भएका जोडी बीचको विवाहका कारणले पनि मानिस आत्महत्याको सिकार हुने गरेको पाइन्छ । आत्मसम्मान तथा समाजबाट उपेक्षा र अपमान महसुस गरेर आत्महत्या गर्नेहरु पनि छन् । 

सामाजिक, मानसिक तथा शारीरिक तीनै कारणले मानिसले आत्महत्याको बाटो रोज्छन्, जुन रोक्न सकिन्छ । आत्महत्याको महसुस हुने व्यक्तिका लागि परमर्श सेवा तथा उपचारको तुरुन्तै व्यवस्था हुने सेवा सरकारले उपलब्ध गराउनु पर्छ । प्रत्येक स्थानीय तहमा मनोचिकित्सकको व्यवस्था हुुनुपर्छ । विकसित देशमा आत्महत्या गर्न मन लागेको व्यक्तिलाई तुरुन्त परामर्श सेवा दिने हटलाइनसमेत हुन्छन् ।

परिवारको कोही सदस्य एकान्तमा बस्ने, उदास हुने लगायतका लक्षण देखाएको अवस्थामा तुरुन्त उपचारका लागि स्वास्थ्य संस्था लानुपर्छ । 

मानसिक रोग ठीक हुन्छ । उपचारपछि मानिस पुरानै अवस्थामा आउन सक्छ । यस्तो समस्या भएकाले आफन्त तथा परिवारसँग आफ्नो समस्या बताउनु पर्छ र समाजले यो रोगलाई पनि सामान्य रुपमा लिनुपर्छ । अनि मात्र आत्महत्याको दर घटाउन सकिन्छ ।
 

Leave A Comment