बन्ध्याकरणले शक्ति घट्दैन

बुधबार, २० भदौ २०७५, ०१ : २४ उपेन्द्र खड्का
बन्ध्याकरणले शक्ति घट्दैन

आवश्यक बच्चा जन्मिइसकेपछि थप बच्चा नजन्माउनका लागि स्थायी बन्ध्याकरण भरपर्दो उपाय  हो । स्थायी बन्ध्याकरण गर्ने विधि तथा प्रविधि भित्रिरहेका छन् । तर नेपालमा स्थायी बन्ध्याकरण गरेपछि शारीरिक शक्ति कमजोर हुने भ्रम समेत देखिन्छ । शारीरिक शक्ति कमजोर हुनुका साथै यौन जीवनमा समेत असर हुन्छ भन्ने पनि सुनिन्छ । चिकित्सकहरुका अनुसार यो भ्रम मात्र हो । 


प्रसूति गृह, थापाथलीका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा. गेहनाथ बरालका अनुसार स्थायी बन्ध्याकरण सामान्य सल्यक्रिया हो । अप्रेसनमार्फत बन्ध्याकरण गरिने भएकाले यसलाई सर्जिकल मेथड पनि भनिन्छ ।  


स्थायी बन्ध्याकरण गर्दा पुरुषको शुक्रकिटको नली र महिलाको डिम्बनली काटेर छुट्याइन्छ । यसरी पुरुषको स्थायी बन्ध्याकरण गर्नुलाई भासेक्टोमी भनिन्छ भने महिलाको स्थायी बन्ध्याकरणलाई ट्युबेक्टोमी भनिन्छ । 


चिकित्सा क्याम्पस, फिजियोलोजी विभागका विभागीय प्रमुखः डाक्टर दिनेश बाँस्तोलाका अनुसार मिनिल्याब (चिरेर) र ल्यापरसकोपी (प्वाल पारेर) गरी दुई किसिमले ट्युबेक्टोमी गरिन्छ । 
मिलिल्याब र ल्यापरसकोपी


डा. गेहनाथका अनुसार  महिलाको स्थायी बन्ध्याकरण गर्दा पेट चिरेर र अर्को पेटमा प्वाल पारेर गरिन्छ । महिलाको पेट चिरेर गरिने बन्ध्याकरणमा करिब दुई इन्च लम्बाइमा चिरिन्छ ।


पेट चिरिसकेपछि नली बाँधिन्छ । डा. बरालका अनुसार नली दुईतिर बाँधिन्छ र बीचमा काटिन्छ । यसरी नली काटेर बन्ध्याकरण गरिने प्रक्रियालाई मेडिकल भाषामा मिनिल्याप भनिन्छ । 


प्रसूति गृह, थापाथलीका रेजिडेन्ट डाक्टर  नवीन दर्नालका अनुसार मिनिल्याप गरेर स्थायी बन्ध्याकरण गर्न धेरै समय लाग्दैन । स्थायी बन्ध्याकरण गर्न पाँचदेखि १० मिनेटमा सकिन्छ ।


महिलाको  पेटमा प्वाल पारेर पनि स्थायी बन्ध्याकरण गरिन्छ । दुर्बिनबाट प्वाल पारेर गरिने बन्ध्याकरणलाई ल्यापरसकोपी भनिन्छ । डा. बरालका अनुसार दुर्बिनबाट सानो प्वाल पारेर क्यामेरा नली भएको ठाउँसम्म पु¥याइन्छ । अप्रेसन गर्ने औजार पनि क्यामेरासँगै पठाइएको हुन्छ । रबर पनि सँगै पठाइएको हुन्छ । मेसिनको सहायताले रबरले नलीको दुईपट्टिको भागमा बाँधिन्छ र नलीको बीच भागमा काटिन्छ । दुर्बिनबाट गर्दा सामान्यतया आँखाले नै हेरिन्छ ।


ल्यापरसकोपी गर्न ३÷४ मिनेट लाग्छ । करिब एक सेन्टिमिटरको प्वाल पारेर ल्यापरसकोपी गरिने चिकित्सकले जानकारी दिए । 


नली के हो ?
डा. दर्नालका अनुसार साधारण भाषामा नसा भनिन्छ । तर नसा हैन नली हो । ओभुलेसन भएर बच्चा बन्नका लागि चाहिने डिम्बासयको मुख गरेर आउने बाटो नली हो । डिम्बासयबाट डिम्ब निस्किएर नली हुँदै पाठेघरमा आउँछ । महिलाको स्थायी बन्ध्याकरण गर्दा डिम्बबाहिनी नलीलाई नै बन्द गरिन्छ । 
नली बन्द गरेपछि नलीबाट आउने डिम्बासय आउन पाउँदैन । शुक्रकिट पनि जान पाउँदैन । शुक्रकिट र डिम्बासयको भेट हुन पाउँदैन र गर्भ रहँदैन । 


शुक्रकिट तथा डिम्ब निस्कने प्रक्रिया निरन्तर रहन्छ । तर निश्चित अवधि पुगेपछि पुरुषको शुक्रकिट र महिलाको डिम्बको मृत्यु हुने डा. बाँस्तोलाले जानकारी दिए ।

भाषा नलीको कटिङ
पुरुषको पनि अस्थायी र स्थायी दुवै किसिमको बन्ध्याकरण हुन्छ । जसरी महिलाको स्थायी बन्ध्याकरण गर्दा पेट चिरेर गरिन्छ । पुरुषको पेटभित्र जानु नपर्ने भएकाले चिर्ने तथा प्वाल पार्ने भन्ने हुँदैन । पुरुषको बन्ध्याकरण गर्दा ‘भाष– नली’ काटिन्छ । नलीको नाम भाष हो । भाष नलीलाई काट्ने भएकाले भासेक्टोमी भनिएको डा. बराल बताउँछन् । 


अण्डाशय (टेस्टिकल) बाट लिंगमा जाने नली हुुन्छ, जसलाई भाष भनिन्छ । पुरुषको भासेक्टोमी गर्दा भाष नली बन्द गरिन्छ । भासेक्टोमी गर्दा चिरेर भाष नली भेटिन्छ । पुरुषको स्थायी बन्ध्याकरण गर्दा अण्डाशय र लिंगको बीचको भाष नली काटिन्छ, जुन शरीर बाहिरै हुन्छ । 


डा. बरालका अनुसार भासेक्टोमी दुई तरिकाले गरिन्छ । नाइफ (चक्कु) प्रयोग गरेर गरिने अप्रेसन तथा नाइफ प्रयोग नगरी गरिने अप्रेसन । 


चक्कु प्रयोग गरेर गरिने अप्रेसनलाई मेडिकल भाषामा स्कालपेल भनिन्छ भने नन्स्कालपेल चक्कु प्रयोग नगरी गरिने अप्रेसन हो । 


स्कालपेलमा चिरेर सानो प्वाल पारेपछि भाष नली देखिन्छ । भाष नली देखिएपछि नलीको दुवैपट्टी बाँधिन्छ र नलीको बीचमा काटिन्छ । 


अहिले पायः नन्स्कालपेल विधि अपनाइने डा. बराल बताउँछन् । नन्स्कालपेल विधिमा भने धेरै चिरिँदैन । चुच्चो औजारले सानो प्वाल पारिन्छ । प्वालबाट भाष देखिन्छ । भाष नली देखिएपछि औजारले समाएर बाहिर निकालिन्छ । बाहिर निकालेर नलीको दुवैपट्टी बाँधेर बीचमा काटिन्छ । 


पुरुषको भाष नली बन्द गरिदिएपछि शुक्रकिट लिंगमा जान पाउँदैन । शुक्रकिट आउने नली नै बन्द गरिने भएकाले खुला यौन सम्पर्क गरे पनि बच्चा बस्दैन । 

बीर्य र शुक्रकिटमा फरक
चिकित्सकका अनुसार पुरुषको शुक्रकिटले बच्चा बनाउँछ भने बीर्य भनेको तरल पदार्थ हो । तरल पदार्थ भित्र शुक्रकिट हुन्छ । तर भासेक्टोमी गरेपछि पनि पुरुषको लिंगबाट बीर्य अर्थात् तरल पदार्थ आउँछ । तर शुक्रकिट भने आउँदैन । 


डा. दर्नालका अनुसार शुक्रकिट नआउने भएपछि भासेक्टोमि गरेको पुरुषले महिलासँग यौन सम्पर्क गरेर बीर्य स्खलन गर्दा पनि बच्चा बस्दैन ।


सामान्य रुपमा हेर्दा भासेक्टोमी गरेपछि पनि भासेक्टोमी गर्नुपूर्वजस्तै गरी यौन सम्पर्क गर्दा बीर्य स्खलन हुन्छ । तर सो बीर्यमा शुक्रकिट भने हुँदैन । 

सत प्रतिशत बच्चा हुँदैन
राम्रोसँग अप्रेसन भएको छ भने स्थायी बन्ध्याकरण गरेपछि बच्चा नबस्नेमा एक मत देखिन्छन्, चिकित्सक । अप्रेसन फेल भएको अवस्थामा भने बच्चा बस्ने सम्भावना हुन्छ । राम्रोसँग नली नबाँधिएको अवस्थामा बच्चा बस्ने सम्भावना हुन्छ । 


डा. बाँस्तोला बन्ध्याकरण सत प्रतिशत सुरक्षित हुने बताउँछन् । त्यसैले सफल बन्ध्याकरण भैसकेपछि बन्ध्याकरण गरेको व्यक्तिले यौन सम्पर्क गर्दा गर्भ नरहने उनले बताए ।
महिला–पुरुष दुवैको स्थायी बन्ध्याकरण गर्दा अप्रेसन फेल हुने सम्भावना एक प्रतिशत भन्दा पनि कम हुने बरालले बताए । 


नली राम्रोसँग नबाँधिएको अवस्थामा पुनः नली जोडिन सक्छ ।  नली नजोडियोस भनेर नलीको बीचभागमा दुवैपट्टि खालि हुने गरी नलीको सानो टुक्रा काटेरसमेत फालिने डा. बराल बताउँछन् । 
बाँस्तोला पनि आधुनिक विशेषज्ञ चिकित्सक र प्रविधिका कारणले बन्ध्याकरण असफल हुने सम्भावना नहुने बताउँछन् । 


डा. बास्तोलाका अनुसार बन्ध्याकरण गरेको पहिलो तीन महिनासम्म बच्चा बस्न सक्छ । जुन भागमा नली काटियो त्यस भागभन्दा बाहिर महिलाको डिम्ब तथा पुरुषको शुक्रकिटको निस्काशन हुन्छ, जुन क्लियर हुन तीन महिना लाग्छ । 


त्यसैले भासेक्टोमी गरेका पुरुषलाई भासेक्टोमी गरेपछि एक प्याकेट कण्डम दिने गरिन्छ । बन्ध्याकरण गरेको २४ घण्टा आराम गर्नुपर्ने बाँस्तोला बताउँछन् । 

यौन जीवनमा असर हुँदैन

स्थयी बन्ध्याकरण गर्दा यौन जीवनमा कुनै असर नगर्ने चिकित्सक बताउँछन् । यसले महिला पुरुष दुवैको यौन जीवनमा कुनै असर पर्दैन । स्थायी बन्ध्याकरण गरेपछि शुक्रकिट मात्रै स्खलन हुँदैन । पुरुषको यौन उत्तेजना तथा यौन चाहनामा कुनै असर नहुने डा. बाँस्तोला बताउँछन् । 


‘अप्रेसन गरेको केही दिनसम्म घाउ दुख्छ । दीर्घकालीनरुपमा न त यौन जीवनमा कुनै असर हुन्छ न शारीरिक शक्ति नै कमजोर हुन्छ,’ डा. बराल भन्छन् । 


डा. बाँस्तोलाका अनुसार बन्ध्याकरण गरेका व्यक्तिमा सामाजिक अफबाहका कारणले मनिसलाई उदासिन बनाउँछ । उदासिनताको कारणले दुवै दाम्पत्य जीवनको यौनक्रिडा हतोत्साहित हुन्छ । त्यसैले बन्ध्याकरण गर्ने श्रीमान्–श्रीमतीबीच राम्रो सल्लाह हुनुका साथै परामर्श लिनुपर्ने बाँस्तोलाको सुझाव छ । 
मिनिल्याप र ल्यापरसकोपी दुवैमा जटिलता आउने सम्भावना बराबरी जस्तै हुन्छ । तर सामान्यतया जटिलता आउँदैन । महिलाको अप्रेसन गरेर १÷२ वटा मात्रै टाँका लगाइने चिकित्सक बताउँछन् । ठूलो अप्रेसन नभएकाले डराउनु नपर्ने चिकित्सकको सल्लाह छ । 
शरीर कमजोर हुँदैन


स्थायी बन्ध्याकरण गरेर महिला तथा पुरुष दुवैमा शारीरिक शक्ति कमजोर नहुने चिकित्सक बताउँछन् । सानो अप्रेसन हुने भएकाले शारीरिक शक्ति कम नहुने बताउँछन्, डा. बराल । 


काम गरिखाने ज्यान कमजोर हुन्छ भनेर पुरुषले भासेक्टोमी नगर्नु पुरुष पन्छिने मेसो मात्रै भएको बताउँछन्, बाँस्कोटा । 
 

Leave A Comment