दरमा नगरौ कर

मङ्गलबार, २६ भदौ २०७५, ०६ : ३१ उपेन्द्र खड्का
दरमा नगरौ कर

तीजको धार्मिक मान्यता पच्छ्याउने हो भने जो व्रत बस्छ उसको मनोकामना पूरा हुन्छ । असल वर मागे वर पाइन्छ, वर पाइसकेकाले आफ्नो जीवनसाथीको सुस्वास्थ्यको कामना गरे आयु बढ्छ । तर स्वास्थ्य विज्ञानले सुस्वास्थ्यको पक्षमा भने अलि भिन्न तथ्य भन्छ । स्वास्थ्य विज्ञानअनुसार जसको नाममा व्रत बसेको हो उसको स्वास्थ्य हैन, जो व्रत बसेको हो उसको स्वास्थ्य राम्रो हुन्छ ।

व्रत पानीसमेत नपिई पूर्ण निराहार, आंशिक निराहार पनि बसिन्छ । पानी, फलफूल,जुस, खाएर बस्ने आंशिक निराहार र दिन बिराएर, एक हप्ता, पन्ध्र, महिना वा वर्षमा एकपटक बस्ने पिरियोडिक व्रतका रुपमा तीन तहमा राखिने गरिन्छ । तीजको व्रत पूर्ण निराहार र आंशिक पनि बस्ने गरिन्छ ।

चिकित्सकका अनुसार कहिलेकाहीँ व्रत बस्दा जो व्रत बसेको हो उसको पाचन प्रणाली बलियो बन्छ । 
। व्रत बसेको दिन शरीरका केही अंगले आराम पाउँछन् जसले स्वास्थ्यलाई फाइदा नै पु¥याउँछ ।
‘व्रत बस्दा यन्त्रका रुपमा काम गर्ने शरीरका अंगले आराम गर्न पाउँछन्, महाराजगञ्ज, चिकित्सा क्याम्पस फिजियोलोजी विभागका प्रमुख डा। दिनेश बाँस्तोलाले भने‘ निराहार व्रत बस्दा पाचन प्रणालीसँग सम्बन्धित मस्तिष्कले समेत आराम पाउँछ ।’

चिकित्सकका अनुसार कहिलेकाहीँ व्रत बस्दा खाना पचाउने प्रणालीलाई फाइदा हुन्छ । केही दिन तथा समय पेट खाली राख्दा पेट तथा आन्द्रामा भार घट्दा त्यहाँ चाहिने ऊर्जा अन्य अंगमा डाइभर्ट गर्न सकिने र खाना पचाउने ग्यास्टोइन्टेश्टिनल सिस्टमले आराम गर्ने समय पाउँदा पेटका बिग्रिएका संरचना बनाउन सक्ने चिकित्सकको मत छ ।

‘व्रत बसेको समयमा खाना पचाउने त्यस्ता शक्ति शरीरको अन्य कामका लागि सक्रिय हुन्छन्,’ नेसनल एकाडेमी अफ मेडिकल साइन्सेस(न्याम्स), वीर अस्पतालका कन्सल्टेन्ट सर्जन डा. सुशील मोहन भट्टराईले भने, ‘त्यो शक्ति स्नायु प्रणाली, श्वास प्रणाली, मुटुको मजबुती लगायतका लागि प्रयोग हुन्छ ।’ 
प्रसूति गृहकी अब्स्ट्रेटिसियन एण्ड गाईनोक्लोजिस्ट डा. ऋचा गिरी त हप्तामा एकपटक नियमित व्रत बस्दा शरीरलाई फाइदा हुने शरीर फूर्तिलो हुने र शरीरसमेत हल्का हुने सुझाव दिन्छिन् ।
व्रतले बोसोे पग्लिन्छ

चिकित्सक भट्टराईका अनुसार जुनसुकै खाना खाए पनि आधारभूत रुपमा कार्बोहाइड्रेट, फ्याट र प्रोटिन नै खाने हो । त्यसबाट शरीरमा आवश्यक ऊर्जा प्राप्त हुन्छ । मानिसले खाएको खानेकुरा बढी भएको अवस्थामा शरीरले खाद्यतत्व बोसोको रुपमा संचित गरेर राख्छ । 

आपतकालीन अवस्थाका लागि शक्ति तथा आवश्यक तत्व कलेजो र मांशपेशीमा बोसोको रुपमा भण्डारण भएको हुन्छ । यस्तो तत्व शरीरलाई ऊर्जा आवश्यक परेको बेलामा शरीरले खपत गर्छ । भण्डारण भएको बोसोमध्ये पहिला कलेजोबाट, दोस्रोमा मांशपेशीबाट र  त्यसपछि बोसोबाट निष्कासन हुन्छ । 

बेला–बेलामा व्रत बस्दा पेट खाली हुन्छ । शरीरमा ऊर्जा आवश्यक पर्छ र यसरी शरीरले भण्डारण गरेर राखेको ऊर्जा खपत गर्छ । शरीरमा रहेको बोसोलगायत पोषक तत्व एक ठाउँबाट अर्को ठाउँमा चल्दा शरीर (रिफ्रेस) हुन पाउँछ । भण्डारण भएको बोसो पग्लिन्छ । 

‘बेला–बेलामा पेट खाली राख्दा जमेर रहेको बोसो चल्छ । कोलेस्टेरोलजस्ता मुटुको धमनी नै बन्द गरिदिएर हृदयघात गर्ने र शरीरलाई हानी पु¥याउने किसिमका बोसो नियमित व्रत बस्दा घटेको देखिएको छ,’ डा. भट्टराईले भने, ‘हप्तामा १÷२ पटक निराहार व्रत बस्ने व्यक्तिमा ३० देखि ४० प्रतिशतसम्म मुटुको असर, रक्तचाप, सुगरलगायतको रोगको  जोखिम घेटेको देखिन्छ ।’

जोखिम पनि छ
निराहार र भोकै व्रत बस्दा चिनिरोग, उच्च रक्तचापका साथै, दीर्घ रोगी र वृद्ध अवस्थामा असर गर्नसक्छ । यस्तो अवस्थामा व्रत नबसे उचित हुने चिकित्सक बास्तोलाको सल्लाह छ । दीर्घरोगी तथा अशक्त व्रत बस्दा ग्लोकुजको मात्रा कमी भएर रिँगटा लाग्ने तथा बेहोस हुनसक्ने बताउँछन् चिकित्सक ।

‘बेला–बेलामा व्रत बस्दा इन्सुलिन हर्मनलाई शरीरले नटेर्ने प्रवृृत्तिमा कमी आएर सुगर तथा डाइबेटिज लाग्नबाट बचेको रिसर्चले देखाएको छ,’ डा. बास्तोलाले भने, ‘त्यसैले शरीरमा ग्लोकुज तथा इन्सुलिनको सन्तुलनका लागि बेला–बेलामा व्रत बस्नु राम्रो देखिन्छ । तर रक्तचाप, कुनै दीर्घ रोग छ र उमेर ढल्किसकेको छ भने व्रत नबसे राम्रो ।’ 

मुटुरोग, रक्तचाप, सुगर, अतिमोटो–पातलोपना, क्यान्सरलगायतका रोग भएका व्यक्तिले व्रत बस्नुपूर्व चिकित्सकको सल्लाह लिनुपर्ने चिकित्सकको सल्लाह छ । 

तीजको व्रत भने अलि नमिल्दो रहेको चिकित्सकको मत छ । अघिल्लो दिन टन्न दर खाने अनि भोलिपल्ट पानी पनि नखाइकन व्रत बसेर बेलुका फेरि व्रत समापन भएपछि टन्न खाने प्रवृत्तिले शरीरलाई हानि गर्ने उनीहरुको मत छ ।

व्रतपछि पेय पदार्थ
मेडिकल अभ्यासमा पनि विभिन्न किसिमका उपचार तथा अप्रेसन गर्नुपूर्व केही समय वा केही दिन खाना खान दिइँदैन, जसलाई निलपर ओरल भनिन्छ । अप्रेसन गर्नुपूर्व आठ घण्टा बिरामीलाई नखुवाई राखिन्छ । अप्रेसन गरेपछि पनि केही समय मुखबाट केही खान दिइँदैन ।

चिकित्सक सुशील भट्टराईका अनुसार उपचार तथा अप्रेसनपछि बिरामीलाई खान दिँदा पानी, जुस लगायतको पारदर्शी किसिमको तरल पदार्थ खुवाइन्छ । एकैचोटि कडो खाना दिइँदैन । पेटलाई कम भार पार्न तरल पदार्थ खुवाइएको हो । 

व्रत बस्दा पानी पिएर व्रत तोड्नुको वैज्ञानिक अर्थ रहेको बताउँछन् चिकित्सक । व्रत समापन भएपछि पहिलो चरणमा पानी, जुसलगायतको पेय पदार्थ खानाले पेटलाई धेरै भार नपर्ने भएकाले व्रत लगत्तै कडा र भारी खाना नखान चिकित्सक सुझाव दिन्छन् ।

‘व्रत सकेपछि एकैचोटि कडा किसिमको खानेकुरा खानाले पेटले सम्हल्न नसकेर उल्टि(भमिट) हुने जोखिम हुन्छ,’ डा. ऋचाले भनिन्, ‘व्रत सकिएपछि पनि एकैचोटी धेरै चिसो र धेरै तातो खानेकुरा खान हुन्न ।’
एकैचोटी निराहार उचित हैन

डा. बास्तोलाका अनुसार सामान्यतया स्वस्थ मानिसले २४ घण्टासम्म निराहार व्रत बस्दा स्वास्थ्यमा असर हुँदैन । तर वर्षमा यदाकदा व्रत बस्ने बानी छ भने त्यसलाई शरीरले सहजरुपमा नलिनसक्छ । त्यसैले तीजमा मात्र व्रत बस्नेहरु बेलाबखत बेहोस हुन्छन् । व्रतका लागि शरीर तयार नहुँदा उनीहरुको शरीरमा एकैपटक ग्लुकोजको मात्रा कम हुन्छ र उनीहरु बेहोस हुने चिकित्सक बताउँछन् ।

‘घाममा पानी पनि नखाई, लाइनमा बस्दा र नाच्दा शरीरमा पानीको मात्रा कम हुन्छ, चिकित्सक बास्तोलाले भने, ‘यसले ब्लडप्रेसर घटेर व्रतालुको ज्यानसमेत जान सक्छ । त्यसैले तीजको व्रत बस्नुभन्दा केही हप्ताअघिबाटै आंशिक व्रत बसे राम्रो ।’
 

Leave A Comment