‘अहिले बिहे ग-यो भने त बाल विवाहको कानुन लाग्छ’

बुधबार, २७ भदौ २०७५, ०२ : ३४ अनिल यादव
‘अहिले बिहे ग-यो भने त बाल विवाहको कानुन लाग्छ’

लोकदोहोरी म्युजिक भिडियोका दर्शकमाझ चिनिएकी मोडल हुन्, करिश्मा ढकाल । लोकदोहोरी क्षेत्रमा उनको नृत्यले नामजस्तै करिश्मा गरेको छ । अहिलेसम्म करिब ५ सय वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले यसपालि मात्रै ६० वटा तीज गीतमा नाच्न भ्याइन् । अघिल्लो साता विहीबार दिउँसो १२ बजे काठमाडौं, थापागाउँस्थित मम्स किचनमा उनी ममीसँगै शुक्रवारकर्मी अनिल यादवलाई भेट्न आइपुगेकी थिइन् । 

तीज आयो है ?
आएर पनि सक्किसक्यो हाम्रो लागि त  ! (हाँस्दै) । कामको हिसाबले लगभग सकिसक्यो । मानिने तीज आँउदैछ ।

यसपालि तीज गीतको संख्या बढेको हो ?
हो नि ! ६० कट्यो नि यसपालि । अघिल्लो वर्ष ४७ वटामा नाचिएको थियो । 

त्यति धेरै है !
धेरै हो र ! (हाँस्दै) तीज गीत पनि यहाँ धेरै बन्छन् नि ! जम्माजम्मी ३–४ सय तीज गीत रेकर्ड भए होलान् । मेरो भागमा यति मात्र प-यो भन्नुप-यो । 

कति कमाइयो त तीजमा नाचेर ? 
त्यस्तै १५ लाख जति कमाइयो होला (हाँस्दै) । 

एउटा गीतमा नाचेबापत कति लिनुहुन्छ ?
कम्तीमा १५ हजार । 

अधिकांश दोहोरी कलाकारको ध्यान स्तरभन्दा पनि संख्या बढाउनेतिर बढी देखिन्छ । यस्तो किन ?
एक त गीतै धेरै बन्छन् । दोस्रो कलाकार र निर्माताको रोजाई गीत बनाउँदै यसमा यसलाई नचाउने भन्ने तय भइसकेको हुन्छ । हामीलाई अफर आएपछि हामीले नाइँ भन्न पनि मिल्दैन । 

भनेपछि तपाईंहरुको शब्दकोषमा ‘नाइँ’ भन्ने शब्द हुँदैन ?
त्यस्तो होइन । नपच्ने खालका गीत पनि हुन्छन् कतिपय । जस्तो पोहोरसाल ‘कट्टुमाथि बुट्टा’ भन्ने तीज गीत आएको थियो । निकै भाइरल भएको भयो, विवादमा पनि आयो । त्यस्तो खालको गीत आयो भने म चैँ नाइँ नै भन्छु । किनभने मलाई थाहा छ, तीज भनेको हाम्रो संस्कृति हो, मौलिक पर्व हो । राम्रै गीत आउँदा त नाच्ने हो नि, किन ननाच्ने ? 

ल ठीक छ । यसपाली ६० वटा गीतमा नाच्नुभयो । कतिवटा गीत नोटिसमा परे त ?
मेरो मात्र होइन, कसैको गीत पनि यसपालि खासै नोटिसमा परेनन् । ६० वटा गरियो तर तीमध्ये कतिपय गीतहरु कहाँ पुगे, कहाँ बजे भन्ने पनि थाहा छैन । 

एउटा असल कलाकारले संख्या मात्रै बढाउनेतिर ध्यान दियो भने दर्शकमाझ उसको मह-त्व घट्ने डर हुँदैन र ? 
स्पिचलेस ! निकै घतलाग्दो प्रश्न गर्नुभयो तर दोहोरी क्षेत्र अरु क्षेत्रजस्तो व्यवस्थित भइसकेको छैन । अलि अक्कडो क्षेत्र हो क्या यो । मुभीमा जस्तो संख्या धेरै हुँदा आलोचना पनि हुँदैन । फेरि हाम्रो काम नै यही भइसकेपछि काम गर्ने बाध्यता पनि हो । गुजारा पनि त चलाउनुप-यो ! एउटा गीतमा नाचेर मात्र वर्षभरि खान पुग्छ र ? आफैँ भन्नुस् न !

अहिलेसम्म कति गीत पैसाका लागि, कति कलाका लागि नाचियो ?
दुवै कारणमा नाचियो । कति गीत यस्तो हुन्छ कि सुन्नेबित्तिकै पैसा नलिइकनै काम गर्न मन लाग्छ । कति गीत यस्तो हुन्छ कि यो नाच्ने मात्र हो, पैसा लिने हो अनि जाने भन्ने हुन्छ । 

तपाईं मोडलिङमा डेब्यू हुनुभएकै तीज गीतबाट हैन ?
हो नि । तीन वर्षअघि ‘सेल्फी’ भन्ने गीतबाट डेब्यू भएको हो । पहिलो गीत नै हिट भयो । त्यसपछि अफरको कमी छैन । 

सेल्फी’ गीतको त यसपालि चौथो भाग रिलिज भएछ तर तपाईंले त खेल्नुभएन नि ?
अँ, लगातार तीन वर्ष तीनवटा भागमा मैले खेलेँ । यो मेरो आफ्नै घरको होम प्रोडक्सन गीत हो । मेरो कान्छी सानिमा (लक्ष्मी मल्ल)ले गाउनुभएको गीत हो । सानोबुबा (श्रीकृष्ण बम मल्ल)ले लेख्नुभएको हो । यसपल्ट समय नमिलेर मात्र खेलेको । 

आफ्नै होम प्रोडक्सनको गीतमा पनि समय नमिल्ने भन्ने हुन्छ र ?
होइन, त्यस्तै हो । बाहिरको काममा बढी बिजी भइयो क्या यसपालि । 

सुनिएअनुसार सानिमा, सानोबुबासँगको झगडाका कारण यसपालि तपाईंलाई नचाइएन !
त्यस्तो होइन । हल्का मनमुटाव त भइहाल्छ नि !

तपाईंले फेसबुकमा सानोबुबालाई ब्लक नै गर्नुभएको थियो भन्ने हल्ला थियो ?
(हाँस्दै) त्यस्तो त कहिलेकाहीँ भइहाल्छ नि ! खासमा मेरो र सानिमा बीचको सामान्य खटपट भा’को थियो । अहिले मिलिसक्यो । 

सानिमासँग खटपट, सानो बुबालाई किन ब्लक नि ?
होइन, सानी (सानिमा)ले पनि चलाउने भएर हो क्या (हाँस्दै) । खासै ठूलो कुरा होइन यो । 

अहिले मनमुटाव मिल्यो ?
घरको कुरा हो, अफकोर्स मिलिहाल्छ नि ! 

त्यही घरझगडा हुँदा तपाईंले सेल्फी–४ मा खेल्न पाउनुभएन है ?
त्यस्तो पनि नभनुँ । व्यस्त भएर पनि हो । 

सुनिएअनुसार त्यो गीत सुटिङ भएको जानकारी पनि तपाईंलाई डिरेक्टरले दिएका हुन् । घरबाट त अफरै भएन रे ! कसरी व्यस्त भएर नखेलेको भन्दा पत्याउनु हौ ? 
हो । सुटिङ हुँदैछ भन्ने खबर मैले डिरेक्टरबाट पाको हो । ‘सेल्फीमा यसपालि पनि तिमी होइन ?’ भन्दै सुटिङ हुनु १–२ दिनअघि डिरेक्टरको फोन आको हो । त्यसपछि मैले थाहा पाएको हो । त्यतिबेला म त बिजी नै थिएँ तर उहाँ (सानिमा, सानोबुबा)हरुले पनि खबर नगरेकै हो । किन हो, त्यो त उहाँहरुलाई नै थाहा होला (हाँस्दै) । 

मोडल तपाईंको पुरानै गन्तव्य हो ? 
होइन । हिँड्दै गर्दा बनेको नयाँ बाटो नै हो । नाच्ने इच्छा सानैदेखि थियो  तर नाचेरै अघि बढ्छु भन्ने एकरत्ति पनि थिएन । मेरो सानी (सानिमा लक्ष्मी मल्ल)को सानैदेखि गाउने सोच थियो । बच्चा भएपछि ८ वर्ष ग्याप भयो उहाँको पनि । त्यसपछि ‘सेल्फी’ गीत निकाल्ने हुनुभयो । त्यसमा मलाई चान्स दिइयो । किनभने मैले ९ पढ्दैखेरी नाच्ने इच्छा जाहेर गरेकी थिएँ । उहाँले त्यतिबेला एसएलसी दिएपछि जसरी पनि नचाउँछु भन्नुभएको थियो । यसरी डेब्यू भएको हो । 

तपाईं काठमाडौंको रैथाने । यता हुर्केको मान्छे लोकदोहोरीका फ्यान कमै हुन्छन् । तपाईं त मोडलै हुनुभयो । कसरी ?
मेरो फ्यामिली दोहोरीमा भएर ठोक्किन पुगेको हो । म खासमा नाच्न मन पराउने । काठमाडौंमा जन्मेर, काठमाडौंमा हुर्केर लोकदोहोरीमा काम गर्नु यो सन्देश पनि हो भन्ने लाग्छ । 

सुरुसुरुमा साथीभाइको कस्तो प्रतिक्रिया आयो ?
सुरुसुरुमा हे...भन्दै जिस्काउँथे । अहिले त हेर्छन् । सेयर पनि गर्छन् । 

फिल्मबाटै डेब्यु गरौँ भन्ने लागेन ?
मन भएर मात्रै हुन्छ र ? लिंक हुनुप-यो । यतै लिंक भयो, यतै गरेँ । एसएलसी सक्नेबित्तिकै ‘सेल्फी’मा नाचियो । सबैले मनपराए । अरुमा पनि अफर आयो । त्यसरी काम गर्दागर्दै दोहोरीतिरै भिजियो । फेरि अनेस्ट्ली भन्नुपर्दा मलाई एक्टिङ गर्न आउँदैन । त्यसैले फिल्ममा जानुअघि क्लास लिनुपर्छ । 

अफर आको छैन ?
आको छ तर राम्रो ब्यानरबाट छैन । 

हिरोइन हुन हाइटले साथ दिएन भन्ने पनि लाग्छ रे !
सुरुसुरुमा लाग्थ्यो (हास्दै) तर अहिले लाग्दैन । जे छ त्यही हो । फेरि म मात्रै होइन यहाँ त धेरै नेपाली हिरोइन हुनुहुन्छ, हाइट कम भा’का । दर्शक हाइटले भन्दा पनि एक्टिङले प्रभावित हुन्छन् भन्ने लाग्छ । 

स्टेज कार्यक्रम पनि गर्नुहुन्छ है ?
भर्खरै दुबई पुगेर आएँ । मलेसिया पनि पुगेँ । उमेर नपुगेकाले पार्सपोर्ट नै भर्खर बनाएँ । भर्खर १८ वर्ष पूरा भएँ । अब १९ टेक्दैछु । अझै कतिपय देशमा भिसा पर्मिट दिँदैन, उमेर नपुगेर । कति देशले २१ वर्ष खोज्दो रै’छ । 

सानै उमेरमा चर्चा कमाइयो है ?
अलिअलि (हाँस्दै) । आफूलाई लक्की गर्ल ठान्छु । 

तीजलाई भनेर कतिवटा साडी किनियो त यसपालि ?
१८–१९ वटा किनेँ ।  

भनेपछि सपिङ दह्रै भयो ?
त्यस्तो पनि होइन । अर्नामेन्ट्स पहिलाकै थियो । 

सुटिङका लागि यी सबै आफैँ जुटाउनुपर्छ ?
त्यही त म अघिदेखि भन्दैछु, हाम्रोमा अलि राम्रो म्यानेजमेन्ट छैन । यदि त्यसरी हुन्थ्यो भने कलाकारहरु क्वान्टिटी मात्रै नभएर क्वालिटीमा पनि ध्यान दिन्थे होला । एउटा स्वरले मात्र सिस्टमेटिक हुँदैन, सबै बोल्नुपर्छ । 

नाच्न कहाँ सिक्नुभयो ?
मैले सिकेको छैन । 

हो र ! भनेपछि ५ सयवटा भिडियोमा नाचिसकेकी डिमान्डिङ मोडलले अहिलेसम्म नृत्य सिकेकै छैन ? 
अहिलेसम्म आफैँ जानेको कुरा नाचेको हो । अब सिक्ने तर्खरमा छु । 

दोहोरीमा पनि मोडल माथि पुग्न र हराउन बेर लाग्ने रहेछ । जसरी सम्झना बुढाथोकीलाई पार्वती राई, पार्वती राईलाई रश्मि तामाङ र रश्मिलाई अहिले तपाई र अञ्जली अधिकारीले छायाँमा पार्नुभयो । त्यसैगरी तपाईंलाई पछि पार्न कोही आइदेला भन्ने पीर लाग्दैन ?
अहँ, मलाई त्यस्तो लाग्दैन । त्यो त मान्छेको जीवनमा हुन्छ । सधैँ एउटै तरकारी खान हामीलाई झ्याउ लागेजस्तै दर्शकलाई पनि भिडियोमा सधैँ एउटै मोडल नाचेको हेर्न मन लाग्दैन । फेरिफेरि स्वाद लिने मन जसको पनि हुन्छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । जे होस्, आफ्नो तर्फबाट बेस्ट दिने प्रयास गर्नेछु ।

नाचेरै गुजारा चल्छ भन्नेमा ढुक्क हुनुहुन्छ ?
ढुक्क त कोही पनि हुन सक्दैन । पत्रकारलाई पनि सधैँभरी पत्रकारिता गरेरै खान पुग्छ भन्ने ग्यारेन्टी हुन्न । जे होस्, सकेसम्म कोसिस गर्ने हो । 

एकैदिन पाँच वटा तीज गीतसम्म सुटिङ गर्नुभयो भन्ने पनि सुनेँ, हो ?
अँ । डे र नाइट गरेर भ्याइएको थियो अघिल्लो वर्ष । यसपालि एकैदिन चार वटासम्म गरियो । 

त्यसरी त एउटा गीतलाई कति समय दिनुपर्छ ?
दुई–तीन घन्टामा सकिन्छ । तीज गीत भएकाले सुटिङ एउटै लोकेसनमा हुन्छ । त्यसैले सजिलो हुन्छ । 

एकैदिन पाँच वटा गीतमा नाच्न सक्नेगरी इनर्जीचाहीँ कसरी आउँछ हौ ?
इनर्जी भित्रैबाट (हाँस्दै) । जब गीत बज्छ, मेरो खुट्टै रोकिँदैन । नाच्न मन लागिहाल्छ । 

बाहिरबाट देख्दा यो कलाकारिता क्षेत्र कस्तो होला भन्ने लागेको थियो र भित्र आएपछि के पाउनुभयो ?
हेर्दाखेरी स्ट्यान्डर्ड लाइफ देखिन्थ्यो कलाकारहरुको । इन्टरभ्युमा कलाकारहरुको कुरा सुन्दा गज्जब लाइफ रहेछ भन्ने फिल हुन्थ्यो । तर जब भित्र आइयोे त्यस्तो होइन रहेछ । बाहिर जति शोअप हुन्छ नि, भित्र त्यस्तो हुँदैन रहेछ । सोचेको भन्दा बिल्कुलै फरक पाएँ । 

वरिष्ठ अभिनेत्री वसुन्धरा भुषालले एक अन्तरवार्तामा भन्नुभएको थियो, ‘कलाकारको जिन्दगीः बाहिर स्वाङ, भित्र ढ्वाङ’ । हजुरको कुरा सुनेर त्यसको याद आयो !
हो, यथार्थ दिदीले भनेजस्तै छ । 

यो क्षेत्रको के कुराले चित्त दुख्छ ?
सिस्टेमिक छैन क्या ! अनि खुट्टा तान्ने मान्छेहरु ज्यादा छन् ।  मिडियाका कारण पनि दुःखी हुन्छौँ हामी । अस्ति एउटा युट्युब च्यानलमा इन्टरभ्यु दिएकी थिएँ । हेडलाइन्स नै नराम्रो बनाएर राख्दिनुभएछ । त्यस्तो हुँदा दुःख लाग्छ । 

यसपालि ६० वटा तीज गीतमा नाचेकी करिश्मा तीजमा व्रत बस्छिन् कि बस्दिनन् ?
अँह, बस्दिनँ । व्रत अरु बेला त बसिन्छ तर तीजमा बसिँदैन । 

व्रत बस्दा त राम्रो वर पाइन्छ रेन्त, मन छैन र ?
मलाई त्यस्तो लाग्दैन ।  तीजमा व्रत बस्ने सबै महिलाले राम्रो श्रीमान्  पाउनुभएको छ र ? यसको त ग्यारेन्टी छैन । यहाँ व्रत बस्नेले रक्सी खाएर पिट्ने बुढा पनि पाएका छन् । जे कुरामा ग्यारेन्टी छैन, त्यसमा किन जोखिम मोल्ने (हाँस्दै) । 

हजुरको ममी यहीँ हुनुहुन्छ । आज ममीकै अगाडि भन्दिनुस् न त, ‘ब्वाइफ्रेन्ड छ कि छैन तपाईंको ?’
(प्रश्न सुन्नासाथ आमा–छोरी दुवै हाँसे । आमाले प्रश्नको समर्थन गर्दै छोरीलाई भनिन् ‘अँ भन् भन् छोरी ! त्यसपछि छोरी बोलिन्)
अहिलेसम्म मेरो ब्वाइफ्रेन्ड भनेकै डान्स हो । मेरो ब्वाइफ्रेन्ड भयो भने त सबैभन्दा पहिला सायद ममीलाई नै सेयर गर्छु होला (हाँस्दै) । किनभने ममी मेरोलागि साथीजस्तै हो । मेरा हरेक कुरा उहाँलाई थाहा हुन्छ । तर मेरा लागि टेम्पोरेरी ब्वाइफ्रेन्ड भनेको डान्स हो, पर्मानेन्ट बाँकी छ । सरकारले त भर्खर पासवर्ड दिँदैछ, के को हतार ?

साँच्ची हो त है । २० वर्ष त अझै पुग्नुभएको छैन क्यारे ! बिहे गर्न अझै प्रतिबन्धित होला ?
१८ त बल्ल पुगेँ । अहिले नै बिहे ग-यो भने त बाल विवाह हुन्छ रे (हाँस्दै) । अब काममै फोकस्ड हुने हो । 

राम्री र लोकप्रिय हुनुहुन्छ । मरिहत्ते गर्ने फ्यान त धेरै होलान् ?
अँ, अलि अलि । 
(करिश्माले यत्तिमात्रै भनेकी थिइन् तर छेउमा रहेकी आमाले अझै प्रस्ट पारिदिइन्, ‘मरिहत्ते गर्ने त यहाँदेखि अस्ट्रेलिया–अमेरिकासम्म छन् ।)

धेरैले तपाईको डिम्पलको तारिफ गर्दा रहेछन् नि त ?
अँ, मेरोभन्दा बढी तारिफ मेरो डिम्पलको हुन्छ (जोडले हाँसिन्) । खासमा भन्नुपर्दा कलाकार भनेको एउटा झिलिमिलीजस्तै हो क्या । हेर्दाखेरी, आहा कस्तो राम्रो है भन्ने हुन्छ तर कसैले हामीलाई भित्रबाट राम्रोसँग बुझेको हुँदैन, चिनेको हुँदैन । 
 

Leave A Comment