तीजमा चम्किलो बजार

बुधबार, २७ भदौ २०७५, ०५ : १७ दिलीप पौडेल
तीजमा चम्किलो बजार

एक निजी कम्पनीमा काम गर्ने प्रतिभा सापकोटाले यो पालि तीजका लागि १२ हजार रुपैयाँको ब्रान्डेड सारी किनिन् । अघिपछि क्याजुअल ड्रेसमा हिँड्ने शर्माले तीजका कार्यक्रममा सहभागी हुन सपिङ गरेकी हुन् । ‘तीजमा नयाँ कपडा किन्ने पुरानै परम्परा हो,’ उनले भनिन्, ‘सारीसहित २० हजार रुपैयाँको सपिङ गरेँ ।’
वर्षाद सकिएर तीज नजिकिँदै जाँदा बजारमा चहल–पहल बढेको छ । महिलाहरुले तीजलक्षित सपिङ गरेका छन् । राजधानीको असन, इन्द्रचोक, न्यूरोडलगायतका मल, डिपार्टमेन्टल स्टोर, बुटिक पसलमा ग्राहकको भीड देखिन्छ ।

पसलहरुमा रंगीबिरंगी चुरा, लेहेँगा, सारी र कुर्ता सलवारले भरिभराउ बनाएका छन् । मलहरुमा ग्राहकलाई आकर्षित गर्नका लागि नयाँ–नयाँ डिजाइनका पहिरन ‘डिस्प्ले’ गरेका छन् । महिलाहरुले तीजका लागि बुटिकमा विभिन्न डिजाइनका कपडा अर्डर दिइसकेका छन् ।

उच्च आम्दानी हुने तीजका लागि विभिन्न डिजाइनका सारी अर्डर गर्ने गरेको लाइक्रा बुटिककी सबिना महर्जन बताउँछिन् ।  महर्जनका अनुसार सातदेखि १८ हजार रुपैयाँका सारी बिक्री हुन्छ ।
आम्दानी हुनेले ब्रान्डेड आउटलेटमा गएर सामान किन्छन् भने निम्न आम्दानी हुनेले फुटपाथ, स–साना पसलमा किन्ने गरेका छन् ।

तीजमा ओरापरी (कपडा) फेर्ने पुरानो मान्यता हो । तीजको बेलामा घरमूलीले एक थान ओरापरी अनिवार्य फेर्ने चलन भए पनि यो अहिले नयाँ रुपमा परिणत भएको छ । 
विगतमा भन्दा सारीको व्यापार बढेको आरपी ग्रुपका निर्देशक रुपेश पाण्डेले बताए । ‘विगतमा चोरी निकासी भएर आउने भएकाले कम व्यापार थियो,’ पाण्डेले भने, ‘अहिले भन्सार कडाइ भएकाले आउटलेटमा सारी व्यापार फस्टाएको छ ।’ 

सारीसँगै गहनाको माग पनि बढेको छ । स्वदेशसँगै विदेशबाट गहनाको माग बढी आएको सुन व्यवसायी बताउँछन् । विदेशमा रहेका नेपाली दिदीबहिनीले तीजलाई मनाउने प्रचलन विकास भएकाले विदेशबाट धेरै अर्डर आउने गरेको नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष जोत्स्ना श्रेष्ठले बताइन् । 
चुरापोते व्यापारसमेत फस्टाएको काठमाडौं इन्द्रचोककी प्रमिला श्रेष्ठले बताइन् । ‘तीजमा तिलहरी र पोते लगाउने प्रचलन छ,’ उनले भनिन्, ‘राम्रो व्यापार हुन्छ ।’ तीजमा विदेश बसेका आफन्तलाई हरियो पोते उपहार पठाउने गरेका छन् । विगतमा आठ÷दश हजारको पोते व्यापार गर्नेले अहिले ५०÷६० हजारको व्यापार गरिरहेका छन् ।

सिजनको व्यापारले वर्षभरिको भाडा तिर्ने गरेको इन्द्रचोकमै व्यापार गर्ने करिम मियाले बताइन् । तीज, दसैं, तिहारपछि विवाह पनि हुने भएकाले व्यापारको मौसम सुरु भएको उनले बताइन् ।
अहिले पार्टी प्यालेसलाई पनि भ्याइनभ्याइ छ । विभिन्न संघसंस्थाले दर खाने र नाचगानको कार्यक्रम राखेका छन् । दियालो फुडल्यान्डका टीका पौडेलले तीज नजिकिँदै जाँदा व्यापार बढेको बताए । ‘शनिबारको दिन त निकै चाप हुन्छ,’ पौडेलले भने ।
 

Leave A Comment