ठमेलका लाउन्जहरुको फेसबुक पेजमा फाट्टफुट्ट डान्सिङ स्टार सुशान्त खत्री देखिएपछि खोज्दै जाँदा उनी भेटिए ठमेलको टर्टल लाउन्ज एन्ड क्लबमा । आइतबार बेलुका साढे ८ बजेतिर पुग्दा उनी फ्यानले घेरिएका थिए र तस्बिर खिचाउन व्यस्त देखिन्थे । काठमाडौंको कपनबाट भारतको गुजरात पुगेर भारतीय डान्सिङ रियालिटी सो ‘डान्स प्लस’मा डान्सिङ स्टार बनेका उनी हिट हिन्दी फिल्म एबिसिडीको तेस्रो सिक्वेलबाट बलिउडमा डेब्युसमेत गर्दैछन् । उनै सुशान्तसँग केपी ढुंगानाले गरेको अन्तरंगः
हिजोआज तपाईंलाई भारतमा भन्दा नेपालमै धेरै देखिन्छ । काम विशेषले आएको हो कि यतै बस्ने हो अब ?
धेरै जनाले मलाई हिन्दी गीतमा बढी डान्स गरेको देख्ने गर्नुभएको छ । नेपाली गानामा पनि नाचिदेओस् भन्ने फ्यानहरुको चाहना छ । त्यसैले अहिले म नेपालमा म्युजिक भिडियोहरुमा काम गरिरहेको छु । फ्यामिली पनि यतै छ । यहाँ आउँदा फ्रेस अनुभव हुन्छ । त्यसैले मौका पायो कि आइहाल्छु । अरु खास केही हैन ।
केही समयअघि भारतीय चर्चित डान्सर तथा कोरियोग्राफर धर्मेश पनि तपाईंसँगै नेपालमा देखिनुभएको थियो । उहाँ पनि फ्रेस हुन मात्र नेपाल आउनु भएको हो त ?
उहाँ सुटिङका लागि नेपाल आउनुभएको थियो ।
चर्चित डान्सिङ फिल्म एबिसिडीको तेस्रो सिक्वेल बन्ने सुनिएको थियो । त्यसैका लागि आउनु भएको त हैन ?
हैन, हैन । डान्सिङ रियालिटी सो डान्स प्लसको सिजन फोर आउँदैछ । त्यसमा सहभागी खोज्न नेपालमा पनि अडिसन गरिएको थियो । नेपालबाट सात जना चयन हुनु भएको छ । चयन भएकाहरुको ब्याकग्राउन्ड स्टोरीको सुटका लागि सेलेक्ट भएकाहरुलाई सरप्राइज दिन धर्मेश सर नेपाल आउनु भएको हो । धर्मेश सर मेरो गुरुजस्तै हो । गुरु दक्षिणाका रुपमा उहाँलाई नेपाल घुमाएँ । नाइट लाइफ देखाएँ । रमाइलो मान्नुभयो ।
यसभन्दा अगाडि त नेपाली आर्टिस्टले भारतमै गएर अडिसन दिन्थे । तपाईं पनि उतै गएर अडिसन दिनुभएको थियो । अहिले नेपालमै अडिसन लिनुको कारण तपाईंको व्यक्तिगत पहल हो कि कार्यक्रमको सेड्युल ?
मेरो विशेष पहल केही हैन । उहाँहरुको प्रोग्रामको फम्र्याटअनुसार नै अडिसन भएको हो । हाम्रो देश सानो भनिए पनि यहाँ धेरै ट्यालेन्ट छन् तर नेपालमा त्यस्तो प्लेटफर्म छैन, जसको प्रभाव अन्तर्राष्ट्रिय रुपमै परोस् । भारतमा हुने रियालिटी सोहरुमा ट्यालेन्टेड नेपालीहरु सहभागी हुन थालेपछि उहाँहरुले नेपालमै गएर किन अडिसन नलिने भनेर यतै आउनु भएको हो ।
सहभागी कति थिए ?
तीन सय जना जति थिए । तीमध्ये सात जना छानिएका छन् । सात जना मध्येबाट कति जना टेलिभिजनको सोमा पुग्छन्, त्यो त उनीहरुको मिहिनेतमा भर पर्छ ।
डान्सिङ फिल्म एबिसिडीको तेस्रो सिक्वेलमा तपाईंले पनि डेब्यु गर्दै हुनुहुन्छ भन्ने सुनिन्छ, हो ?
हो । स्क्रिप्ट पढिसकेको छु । सुटिङ डिसेम्बर या जनवरीबाट सुरु होला ।
कस्तो भूमिका छ ?
एबिसिडी र त्यसको दोस्रो सिक्वेल दर्शकको रुपमा हेरेको हुँ । दुवै राम्रो भयो । तेस्रो सिक्वेलमा विश्वास गरेर मलाई पनि मौका दिनु भएको छ । त्यो नै मेरा लागि खुसीको कुरा हो । स्क्रिप्ट पढिसकेको छु, स्टोरी त भन्न मिल्दैन । जे होस्, मेरो राम्रो रोल छ । फिल्मको लास्टसम्म दर्शकले मलाई हेर्न पाउनु हुन्छ । अहिले यत्ति मात्र भनौं ।
कस्तो अनुभव भइरहेको छ त ?
पहिलो डेब्यु फिल्म नै सक्सेसफुल टाइटलको सिक्वेलबाट राम्रो भूमिकासहित पाउँदा को खुसी नहोला र ?
डान्सिङ करिअर पनि हिन्दी गीतबाट अनि फिल्मी करिअर पनि हिन्दीबाटै । नेपाली फिल्म गर्न मन नलागेर कि प्रस्ताव नआएर हो ?
नेपाली फिल्ममा पनि अफर नआएको हैन । एउटा फिल्मको अफर आएको थियो । फिल्मको नाम चैँ भनिनहालौं क्यार ! तर नेपालीहरुले अलि प्रोफेसनल रुपमा अप्रोच गर्न जान्दैनन् । एउटा आर्टिस्टले कति दुःख गरेर आफ्नो पहिचान बनाएको हुन्छ, उसको मार्केट भ्यालु कति छ भनेर हेर्नुपर्छ । तर यहाँ प्रस्ताव गर्दा पहिलो फिल्म हो, यस्तो हो, उस्तो हो, यतिमा गरौं न भन्छन् । अलि चित्त बुझेन, त्यसैले गरिनँ तर नेपाली म्युजिक भिडियोहरु गरिरहेको छु ।
भनेपछि नेपाली फिल्मी क्षेत्रकाहरु अलि लोभी छन् ?
लोभी पनि नभनौं । अलि प्रोफेसनल्ली काम गर्न खोज्दैनन् । १० वर्ष भयो नाच्न थालेको छ । ६ वर्षदेखि व्यावसायिक रुपमा काम गरिरहेको छु । मेरो बजेट हाई नै छ । तैपनि सकेसम्म मिलाएर गरिरहेको छु । म मान्छे हेर्दा सानो देखिए पनि भयङ्कर मिहिनेत गर्छु र त्यही अनुसारको पारिश्रमिक चाहिन्छ नै ।
अब तपाईको संघर्षको दिनतिर फर्किउँ है त ! तपाईको संघर्ष त सन् २०१३ बाट सुरु भएको थियो नि, हैन ?
हैन । २०११ बाटै हो । दुई वर्ष नेपालमा स्ट्रगल गरेर केही नभएपछि भारत गएको हो ।
ए, भारत गएपछिको भोगाइ सुनाउनुस् न ?
नेपालमा एकल प्रस्तुति चलेन अनि ग्रुपसँग काम गरेँ । २ वर्ष नेपालमा गर्दा नाम, दाम केही भएन । अनि भारत जाने सोच बनाएँ । एक जना दाइ गुजराजमा बस्नुहुन्थ्यो । परिवारलाई भारत जान्छु भनेँ तर उहाँहरुले मान्नुभएन । हामीले भनेको नमान्ने, आफूलाई मन लागेको गर्ने हो भने किन सहयोग गर्ने भनेर थर्काउनुभयो । आफ्नो मर्जी गर् भन्नुभयो । म अलि जिद्दी स्वभावको छु, त्यसैले हिँडे भारत । गुजरात गएँ । एउटा कलेजको होस्टेलमा बसेर विद्यार्थीलाई डान्स सिकाउन थालेँ । जसले मलाई लैजानुभएको थियो, केही समयपछि उहाँसँग मनमुटाव भयो । अनि छुट्टिएर साथीहरुसँग बाहिर बस्न थालेँ । एउटा साथीले डान्स क्लासमा काम मिलायो । बिहान १० बजेदेखि बेलुका १० बजेसम्म डान्स सिकाउँथे । बस्ने ठाउँ पनि थिएन । साथीहरुकोमा कति बस्नु ? डान्स क्लासमै बस्न थालेँ । राति त्यहीँ सुत्थेँ । ई–ट्वान्टी फोर च्यानलमा डान्ससम्बन्धी कार्यक्रम ‘होनहार डान्सिङ स्टार’ आउँथ्यो । त्यसको अडिसन दिएँ । सेलेक्ट भएँ । मुम्बईमा बोलाउनुभयो । त्यहाँ पनि सेलेक्ट भएर टिभी राउन्डमा पुगेँ ।
पहिलो सो ‘डान्सिङ सुपरस्टार’ भन्ने हैन र ?
हैन । पहिलो ‘होनहार डान्सिङ स्टार’ हो । यो सो चैँ इन्टरनेसनल थिएन । भारतमा मात्रै आउँथ्यो, त्यसैले धेरैले थाहा पाएनन् ।
अनि ?
सेलेक्ट भइयो । स्किपर पनि पाइयो । त्यसको टप १५ सम्म पुगियो । भोटिङ राउन्डमा पुगेपछि सो बन्द भयो । प्रोड्युसर भागे । सो सुरु हुन्छ कि भनेर एक महिना त्यहीँ बस्यौं । सुरु भएन अनि गुजरातको सुरतमै फर्किएँ । जहाँ डान्स सिकाउँथे, त्यहाँ अर्कै प्रशिक्षक राखिसकेको रहेछ । म विचल्लीमा परेँ । एक दुई दिन साथीहरुकोमा बसेँ तर कति बस्ने ? अब चैँ संघर्ष गर्न सक्दिनँ भन्ने भयो । बाबुआमाले ठीकै भन्नु भएको थियो, अब नेपाल फर्कन्छु भन्ने लाग्यो । फेरि लाग्यो, त्यहाँदेखि अर्काको देशमा आएको छु । यत्तिकै खाली हात त के फर्कनु ? तर बस्ने ठाउँ पनि थिएन । पैसा पनि थिएन । अनि रेल्वे स्टेसनको प्लेटफर्ममै सुुत्न थालेँ । त्यसका लागि पनि पाँच रुपैयाँको टिकट काट्नुपथ्र्यो । सिमेन्टको कुर्सी हुन्थ्यो, त्यसैमा सुतेर १० दिन बिताए ।
दिमागमा पहिला सो गर्दाको स्किपर याद आए । फोन गरेर ‘सर म प्लेटफर्ममा सुतेर बसेको छु, मलाई काम चाहियो’ भनेँ । उहाँले बडोदरा बोलाउनुभयो । म गएँ । दुई दिन घरमा राख्नुभयो र उहाँले आफ्नो क्लास मलाई दिनुभयो असिस्टेन्टको रुपमा । बस्ने खाने सबै व्यवस्था थियो । बिहान १० देखि बेलुका १० बजेसम्म डान्स सिकाउँथेँ र त्यसपछि आफू प्राक्टिस गर्थें । त्यसपछि बल्ल आयो इन्डिया डान्सिङ सुपर स्टार ।
त्यसमा कसरी सहभागी हुनुभयो ?
त्यसमा सहभागी हुन्छु भनेर गएको थिइनँ । धर्मेश सर, राधवको डान्स हेरेर हुर्किएकाले मेरो सोच ‘डान्स इन्डिया डान्स’मा अडिसन दिने थियो । त्यसैले त्यसमा स्टुडेन्टहरु लिएर अहमदावाद गएको थिएँ । स्टुडेन्टहरुले ‘सर तपाईं पनि अडिसन दिनु न’ भने । त्यसमा गीता मा, रितेश देशमुख जजको रुपमा हुनुहुन्थ्यो । सो चाहिँ भारतीय नागरिकका लागि मात्र थियो । मसँग कुनै प्रुफ थिएन । फोटो खिचेँ । २–३ लाखको भिड थियो । सानो मान्छे भिडमा लुसुलुसु छिर्दै गएँ ।
त्यो बेला मेरो लुक्स डिफरेन्ट थियो । कपालको स्टाइल पनि अहिलेको जस्तो थिएन । पुरै जुरो उठेको थियो । कलर गरेको थिएँ । उहाँहरुलाई त्यो राम्रो लागेछ । रियालिटी सोमा ट्यालेन्ट भएर मात्र हुन्न । पर्सनालिटी, ब्याकग्राउन्ड स्टोरी सबै हेर्छन् । म सेलेक्ट भएँ । टिभी राउन्डमा बोलाए । अनि आयो मेरो लाइफको फस्ट सो । यहाँ मेरो लाइफ बनाउने र आमाबुबालाई डान्स गरेर पनि केही गर्नसक्छु भनेर देखाउने मौका थियो । ब्याक स्टेजमा बस्दा डर लाग्यो । हजारौं लाइट, ४० भन्दा बढी क्यामरा, अडियन्स पनि उत्तिकै । डर लागिरहेको थियो तर जस्तो भए पनि गर्छु भन्ने लाग्यो । स्टेज चढेँ ढोगेँ ।
त्यो सोमा त तपाईंको नामसँगै ठेगाना बडोदरा नै लेखिएको थियो । भारतीय नागरिक नै बनेर सहभागी भएको हो ?
यसको पनि कथा छ । पहिलो पटक चै बडोदरा भनेर ठेगाना लेखियो । त्यो बेलामा इन्डियन रियालिटी सोमा नेपालीका लागि स्कोप थिएन । टिभी राउन्डको प्रस्तुति सकियो । न्यु फेस देखेर जजहरुले कहाँबाट आएको भनेर सोध्नुभयो । मैले नआत्तिकन, जस्तोसुकै होस् भनेर नेपालबाट भनेँ । प्रोडक्सन टिम सक भएछन् । मैले ढाँटेजस्तो भयो । प्रोडक्सन टिममा डिस्कस भएछ तर मलाई एसेप्ट गरे । जजहरुले पनि अप्रिसिएट गरे अनि सुशान्त खत्री नेपाल भनेर आयो ।
पहिलो सोमा सेलेक्ट भएपछि पहिला कसलाई भन्नुभयो ?
त्यो सो रेकर्डेड थियो । यति तारिख, यति बजे फलानो टिभीमा तपाईंको छोरा नाच्छ, हेर्नुस् भनेर बुबालाई फोन गरेँ । उहाँहरुले हेर्नुभयो अनि दुःखी हुनुभयो । मेरो बच्चालाई सपोर्ट गरिन भनेर रुँदै फोन गर्नुभयो पछि त ।
कुन लेभलसम्म पुग्नुभयो ?
त्यसको टप १० सम्म पुगे । त्यसपछि म नेपाल फर्किएँ । नेपालमा भव्य स्वागत भयो । परिवार खुसी भयो । मेरो फ्यामिली नाचेर केही हुन्न भन्थ्यो, त्यही फेमिली अब नाच्न नछाड्नु भन्न थाले । यसपछि नेपाल टुर गरेँ । उमेर सानै थियो । जहाँ सो पाइन्थ्यो, त्यहीँ गरिन्थ्यो । टुर गर्दा घटना पनि भयो ।
कस्तो घटना ?
नेपालमा ईष्र्या बढी हुने रहेछ । एउटा डान्स स्कुलले सम्मानका लागि बोलाएको थियो । गएँ । पर्फमेन्स पनि गरेँ । धेरै केटीहरु फ्यान थिए । वरिपरि झुम्मिए । त्यसपछि म, दिदी र दुई जना मेम्बरसहित ट्याक्सीमा घर फर्कंदै थिएँ । ट्याक्सी वरिपरि बाइकमा केही केटाहरु थिए । लस्करै बाइक थियो । घेरा नै हालेका थिए । कोही अरु नै होलान् भन्ने लाग्यो । कमलपोखरी आइपुगेपछि ममाथि एक्कासि अट्याक भयो । २५ जना जति थिए । मलाई जोगाउँदा दिदीको मुखमा मुक्का लाग्यो ।
प्रहरीलाई कम्प्लेन गर्नुभएन ?
गरेँ । म आर्टिस्ट मान्छे । मेरो कपाल त्यस्तै थियो । प्रहरीले घटना हेरेर अनुसन्धान गर्नुुभन्दा पनि यस्तो हुलिया रहेछ हानिहाल्छन् नि भन्यो । दुःख लाग्यो । मेरो बुबा पनि पहिला प्रहरीमै हुनुहुन्थ्यो । एउटा किड्नी बिग्रिएपछि छाड्नु भयो तर त्यो घटनापछि प्रहरीप्रतिको सम्मान घट्यो । त्यसपछि भारत फर्किएँ ।
त्यसपछि अलि हराउनु भयो, किन ?
स्टार भएपछि हल्का एटिट्युट आउने रहेछ । आयो । त्यसले नेगेटिभ इम्प्याक्ट पनि प¥यो । कामै नपाउने पनि भयो । पछि बुझ्दै गएँ । आफ्नो बानी सुधारेँ र फेरि फर्किन सफल भएँ ।
अहिलेको अवस्थामा ल्याएको त डान्स प्लसले नै हो नि, हैन ?
डान्स प्लस २०१५ बाट सुरु भएको थियो । पहिलो सिजनमा मैले पनि अडिसन दिएको थिएँ । डान्स प्लस नयाँ सो थियो । नयाँ सोमा नयाँ केही चाहियो नि ! वाइल्ड रिपर्स पनि थियो । तिमीहरुको स्टायल एउटै भयो नयाँ लिएर आऊ भनेर रिजेक्ट गरे । सात महिना प्राक्टिस गरेँ अनि ब्याक टु नेपाल । सोचेँ, नयाँ के गर्ने । सोच्दा सोच्दा बडी ल्याङ्वेज बदलेँ । लिरिकल गर्थें । हल्का स्टाइल बदलेर युट्युबमा हालेँ, धेरैले मन पराए । एउटा सो आएको थियो ‘फिल’ भन्ने लिरिकलमा । कल आयो । नेपालबाटै प्रतिनिधित्व गरेर गएँ । त्यसको जज हुनुहुन्थ्यो रेमो सर । त्यो सो मैले जितेँ । त्यसपछि सुशान्त इज् ब्याक् भन्ने सन्देश गयो । मेरो टुर फेरि सुरु भयो । सबैले सुशान्त बद्लियो भन्ने म्यासेज पाए । त्यसपछि मलाई विभिन्न सोहरुबाट कल आउन थाल्यो । डिआइडी, इन्डिया गट ट्यालेन्टबाट कल आएको थियो । डान्स प्सलबाट कल आयो । ‘यो पालि तेरो लक छ, आइज’ भनेर रेमो सरले फोन गर्नुभयो । सेलेक्ट भएँ । जित्न त सकिनँ तर टप थ्रीसम्म पुगे पनि अलग पहिचान बनाउन सकेँ । त्यसपछि डान्स च्याम्पियनमा भाग लिएँ । यसले अहिलेको अवस्थामा ल्याइपु-यायो ।
अघि नै तपाईंले भन्नुभयो, रियालिटी सोमा ट्यालेन्ट मात्र भएर मात्र हुन्न, ब्याकग्राउन्ड स्टोरी पनि चाहिन्छ, पर्सनालिटी चाहिन्छ । वास्तवमा रियालिटी सो कत्तिको रियल हुन्छ त ?
सोमा एउटा टिम मात्र हुन्न । क्रियटिभ, प्रडक्सन, टेक्निकल, जज सबैको उत्तिकै भूमिका हुन्छ । सोमा हुने सरप्राइजहरु प्लान्ड नै हुन्छ । जस्तो परिवारका सदस्यहरु आउँदा उनीहरुलाई थाहा हुन्छ तर हामीलाई थाहा हुन्न तर सेलिब्रिटीहरु आउँदा यस्तो बोल, यस्तो नबोल, तिमीलाई मन पर्ने सेलिब्रिटी के हो ? के सोध्न चाहन्छौ भनेर पहिल्यै सोधेर सिकाइएको हुन्छ ।
तपाईंको डान्स फर्म चैँ के हो रे ?
मेरो लिरिकल फिल हो । एउटा गीतलाई डान्स फर्ममा ड्रामा मिसाएर फिल गराएर अडियन्सलाई टच गराउने प्रयास गर्छु । त्यसमा म केही सफल पनि भएको छु । जस्तो अहिलेसम्मको चलेको चैँ तेरे नाम गीतको पर्फमेन्स हो । यो डान्स प्लसको कम्पिटिसनमा देखाएको थिएँ । यसले मेरो अलग्गै पहिचान बनाउन सघायो । सलमान खान र क्याटरिना कैफ गेस्ट हुनुहुन्थ्यो । क्याटरिना म्याम त रुनु नै भयो । अहिले पनि जहाँ जाँदा पनि त्यही गीतमा डान्स गर्न आग्रह आउँछ ।
रियालिटी सोहरु हेर्दा त्यहाँ आउने गेस्ट सेलिब्रिटीहरु एकदम फ्रेन्डली देखिन्छन् । त्यो कार्यक्रम अवधिभर हो कि वास्तवमै उनीहरु त्यत्तिकै सहयोगी हुन्छन् ?
हैन, फ्रेन्डली हुन्छन् नि । जस्तो विद्या बालन मसँग एकदम फ्रेन्ड्ली हुनुभयो । मेरो पर्फमेन्स हेरेपछि सि वाज सक्ड । फिल्मको प्रमोसनमा हिँड्दा हिँड्दा एकदम थाकेर आउनुभएको थियो । पहिलो पर्फमेन्स नै मेरो थियो । त्यो बेलामा तडप तडपको बोलमा साइको क्यारेक्टर पर्फम गरेको थिएँ । त्यो हेरेपछि उहाँ एकदम खुसी हुनुभयो । उठेर ताली बजाउनुभयो, मलाई अंगालो मार्नुभयो । पछि भेट्न जाँदा उहाँले चिन्नुभयो । फोटो खिच्न मन लागेको थियो । उहाँ आफैँले क्यामेरा निकालेर सेल्फी खिच्नुभयो । सलमान र क्याटरिना धेरै नरम मान्छे लागे मलाई ।
बाहिर भेट्दा पनि त्यत्तिकै राम्रो व्यवहार हुन्छ ?
हुन्छ ।
अब नेपालकै प्रसंग जोडेँ है त ! इन्टरन्यासनल प्लेटफर्ममा पुगिसक्नुभएको छ । फ्यान फलोइङ बबाल देखिन्छ तर नेपालमा सामान्य रुपमै हिँड्ने गरेको देखियो । समस्या पर्दैन ?
म आर्टिस्ट हुँ, सेलिब्रिटी हैन । म सामान्य व्यक्तिसरह नै हिँड्न रुचाउँछु । म ठमेलतिर धेरै आइरहेको हुन्छु । ठमेलमा गजबका प्रतिभा भएका कलाकार हुनुहुन्छ । प्योर ट्यालेन्ट यहाँ देखिन्छ ।
सेलिब्रिटी हैन भन्नु भए पनि भइसक्नुभयो । यसरी हिँड्दा नेगेटिभ प्रतिक्रिया आउन्न ?
‘यत्रो नाम कमाएको व्यक्ति किन लखरलखर ठमेलतिर आइरहेको हुन्छ’ भन्ने केही व्यक्तिहरुलाई लाग्दोरहेछ । ‘तपाईं यहाँ किन आउनु भएको, तपाईं त सेलिब्रिटी हो’ भन्छन् । केही दिन अगाडि ठूलै फिल्म निर्देशकले ‘तपाईं यस्तो ठूलो मान्छे भएर यस्तो ठाउँमा किन आउनुभएको’ भने । मैले सिधै भनेँ, ‘त्यसो हो भने सेलिब्रिटीका लागि छुट्टै ठाउँ बनाइदिनु न त, म त्यहीँ जान्छु ।’ मलाई रमाइलो गर्न मन पर्छ । साथीभाइ भेट्ने रहर हुन्छ । अहिले मेरो उमेर पनि रमाइलो गर्ने नै त हो !
करिअरमा चित्त नबुझ्ने पार्ट ?
छ ।
जस्तो ?
तपाईंलाई नै एउटा कुरा सोध्छु है । म्युजिक भनेको के हो ?
फिल हो ।
हो, फिल गर्ने हो नि ! मेरो लागि म्युजिक भनेको ‘फिलिङ्स’ हो । हिन्दी होस् या अंग्रेजी होस् या नेपाली म्युजिक होस्, ती सबै मेरा लागि एकै हुन् । म भारतमा हिन्दी गानामा नाच्दा कसैलाई प्रोब्लम भएन तर जब म नेपालमा आएर हिन्दी गानामा नाच्छु नि, मान्छेले कन्ट्रोभर्सी निकाल्न खोज्छन्, सुशान्तले नेपालमा आएर हिन्दी गानामा किन नाच्यो भनेर । अस्ट्रेलियामा पनि त्यही कन्ट्रोभर्सी निकाले ‘हिन्दी गानामा किन नाचेको’ भनेर । हिन्दी गाना सुन्नु हुन्छ, हिन्दी फिल्म हेर्नुहुन्छ, गानामा नाच्न हुन्न ? भारतमा नाच्दा खुसी हुने अनि नेपालमा नाच्दा चैँ ‘ह्या सुशान्तले हिन्दीमा नाच्यो, यस्तो ग-यो, उस्तो ग-यो’ भन्ने ? यो चैँ मलाई मन पर्दैन । म्युजिक भनेको एकै हो ।
अनि अर्को कुरा पनि भनिहाल्छु है ! प्याचप्याच भन्छन् क्या ! ए, हेर्न त्यो टिभीमा नाच्ने केटा हैन भनेर मुखेञ्जी भन्छन् । मेरो हाइट सानो भएर हो कि के हो अलि हेपेको अनुभव हुन्छ । ‘भाइ यहाँ आइज’ भन्छन् । त्यस्तो त भन्नु भएन नि ! नेपालमा म एकदम लोयल छु । त्यो सम्मान र सुरक्षा दुवै हो । आर्टिस्टलाई कस्तो रेस्पेक्ट गर्नुपर्छ त्यो ख्याल गर्नुपर्छ । कलाकारको सम्मान भनेको कलाको सम्मान पनि हो नि !
भारतमा पनि यस्तो होला नि !
म नेपाली हो । नेपाल प्यारो लाग्छ । भारतमा आर्टिस्टको रुपमा व्यवहार गर्छन् । कुन देशको को भन्ने हुन्न । चल्न गाह्रो हो । चलेपछि भगवान्जस्तै मान्छन् । भारतमा हिँड्दा मेरो त ५÷६ जना गार्ड नै हुन्छन् । फ्यानहरु फोटो खिच्न डराउँछन् । मेरो नामको ट्याटु खोपेका हुन्छन् ।
नेपाली भएको कारण हेपिएको अनुभव गर्नु परेको छैन त भारतमा ?
छैन । मैले भारतमा ठूलो–ठूलो कलाकारसँग सो गरेको छु । उनीहरुले कहिल्यै कुन देशको, को हो भन्ने खोज्दैनन् । त्यहीअनुसार व्यवहार गरेको अनुभव गर्नु परेको छैन । यता नेपालमा चैँ अलि अर्कै खालको व्यवहार हुने के ! ‘भाइ, यतिमा गर्देऊ न, ह्या थाहा छ नि नेपालको बजेट यति हुन्छ’ भन्छन् । त्यो त प्रोफेसनल व्यवहार भएन नि !
हिजो भाडा नभएर कपनबाट हिँडेर ओहोरदोहोर गर्ने सुशान्त र अहिलेको सुशान्तको आर्थिक अवस्था कस्तो छ त ?
मान्छे रियालिटी सोमा जाँदा अटोमा जान्छ भने सक्सेस भयो भने फर्कदा प्लेनमा फकिन्छ क्या ! मेरो लाइफ अहिले त्यस्तै छ । पहिला अटोमा जान्थेँ, अहिले प्लेनमा ।
कति समयसम्म होला यस्तै लाइफ ?
२५ वर्ष त टिक्छु । म टिक्नुको कारण मेरो आफ्नै युनिक डान्स फर्म हो । मेरो अनुहार पनि क्याची छ । डान्स गरेर दर्शकलाई हँसाउन पनि सक्छु, रुवाउन पनि सक्छु । भारतमा धर्मेश सरहरु सरहैको व्यवहार हुन्छ । त्यसैले मेरो करिअरको आयु लामै देख्छु ।
अहिले केही नयाँ प्रोजेक्ट छ ?
भारतमा टुर चलिरहेको छ । सोनी म्युजिकले पुराना गीत रिमेक गरिरहेको छ डान्समार्फत । त्यसमा जोडिएको छु । सोनी म्युजिकसँग जोडिन पाउनु मेरालागि प्लस प्वाइन्ट हो । त्यसपछि अभिनय सुरु हुन्छ । सुपर डान्सरमा कोरियोग्राफरका लागि ट्राइ गरिरहेको छु । लेट्स सी, के हुन्छ !
आफ्नो कार्यक्रमको रेट भन्ने लक्षण देखाउनु भएन, ठीकै छ । महिनामा कति जति कमाइ हुन्छ त भन्न मिल्ला नि ?
(हाँस्दै...) पेट पाल्न सकिन्छ । भारतमा म्यानेजर राखेको छु, असिस्टेन्टहरु छन् । उनीहरुलाई तलब दिन समस्या छैन । उतै कार किनेको छु । नेपालमा घरको लोन थियो, त्यो तिरेँ । फेमिली हेर्ने दायित्व मेरै छ, त्यो हेरिरहेको छु । फेमिलीको डिमान्ड पूरा गर्न सक्छु । यस्तै हो ।
नेपालमा चैँ कार नकिनेको ?
अहो नेपालमा त गाडीको ट्याक्स साह्रै महँगो । सातो जान्छ ।
भारतमा भएका नेपाली आर्टिस्टको अवस्था कस्तो छ ?
हरेक क्षेत्रमा नेपाली छन् । ठूला आर्टिस्टसँग काम गरिरहेका छन् । मेकअप, फेसन डिजाइनर, फिल्म निर्देशक पनि छन् । जयश प्रधानले ‘नवावजादे’ निर्देशन गरे । राम्रो कमाएका छन् । नेपालीलाई आर्टिस्टको रुपमा स्वीकार गरेका छन् ।
भारतीय रियालिटी सोमा उदाएकी नेपाली चेली तेरिया मगर पनि हुनुहुन्छ । कस्तो छ उहाँको ?
व्यस्त छ । ऊ त मलाई राखी बाँधिदिएको बहिनी पनि हो । ऊ क्याची छ । उसको समुदाय पनि विदेशमा फैलिएको छ । जहाँसम्म लाग्छ, उसले त वल्र्ड टुर गरिसकी होला ।
नेपालमा बसेर आफ्नो करिअर अगाडि बढाउन सकिन्न त ?
भारतमा म अहिले जति कमाउँछु नेपालमा बसेर २० प्रतिशत पनि कमाउन सकिन्न ।
अब त नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको रियालिटी सो सुरु हुन थाले । कस्तो लाग्छ ?
अहिले भ्वाइस अफ नेपाल फलो गर्छु । नेपाल आइडलको जज गर्दा चैँ (उनले मुख बिगारे).... । भ्वाइस अफ नेपाल हेर्दा रियल ट्यालेन्ट त्यहाँ गएको फिल हुन्छ । जजहरु पनि कत्ति राम्रो, स्टेज पनि इन्टरन्यासनल स्ट्यान्डर्डको छ । खुसी लाग्छ ।
बुगीबुगी ?
राम्रो लाग्यो तर हामीलाई बोलाएर स्टेज सेयर गर्न पाएको भए खुसी लाग्ने थियो । बोलाएनन्, ठीकै छ इट् डजन्ट म्याटर ।
रियालिटी सोमा सहभागी हुनेहरुका लागि टिप्स ?
आफूमाथि विश्वास गर्नुस् । संघर्षका लागि मानसिक रुपमा तयार हुनुस् । बजारमा चलेको भन्दा आफ्नो अलग्गै पहिचान बनाउने प्रयास गर्नुस् । मिहिनेत गर्नुस् । अनुशासित हुनुहोस् । आफ्नो ब्याकग्राउन्ड स्टोरीमा पनि ध्यान दिनुस् ।
नेपालमा केही गर्ने सपना छ भन्नुहुन्छ । त्यस्तो कुनै योजना बनिसक्यो त ?
एउटा डान्सिङ रियालिटी सोको प्लानिङ गरिरहेको छु । इन्टरन्यासनल स्ट्यान्डर्डको, यस्तो सो जसले नेपालीलाई अन्तर्राष्ट्रिय पहिचान बनाउन भारतमा स्ट्रगल गर्न जान नपरोस् । त्यसका लागि होमवर्क गरिरहेको छु ।
अन्त्यमा केही ?
म एउटा आर्टिस्ट हुँ । मलाई नेपालको माटोमा नाच्न रुचाउँछु । मैले पाएको अनुभवका आधारमा नेपालमा केही काम गर्न चाहन्छु, जसले मैलेजस्तो अवसर पाउन र अन्य देशमा गएर कडा संघर्ष गर्नु नपरोस् । नेपाली फ्यानहरुले अलिकति सोचाइ भने परिर्वतन गर्नुपर्छ । आर्टिस्टलाई सम्मान गर्नुस्, माया गर्नुस् ।
०००
दैनिकी ?
म लाटोकोसेरेको हुँ । रातभरि उठ्ने, दिनभरि सुत्ने । बिहान ५ बजे सुत्छु । दिउँसो ३ बजे उठ्छु । कहिले त सुत्दै सुत्दिनँ । नाइट लाइफ रमाइलो लाग्छ ।
ड्रिङ्क्स ?
फ्राइडे नाइट हल्का तर झ्याप हुने गरी खान्नँ ।
यस्तो रमाइलो गर्न रमाउने व्यक्ति, लेडिज पार्टनर पनि होलान् नि ?
यो पर्सनल लाइफ हो । अहिले करिअरमा फोकस गरिरहेको छु ।
इन्जोय गर्ने उमेर छ भन्नु भयो । इन्जोयको त्यो पनि एक पार्ट हैन र ?
अहिले काममै व्यस्त छु । त्यतातिर ध्यान गएको छैन । (हाँस्दै) ।
भेट्न सकिने डिजिटल प्लेटफर्म ?
फेसबुक, इन्स्टाग्राम र म्युजिकल्लीमा छु । इन्टाग्राममा धेरै सक्रिय छु । ट्वीटरमा धेरै कम छु ।
सबै आफैँ चलाउनुहुन्छ कि ?
इमेल चैँ म्यानेजरले चलाउँछन् । अरु आफैँ चलाउँछु ।
कस्ता कस्ता फ्यान छन् ?
धेरै खालका छन् तर मलाई फ्यान भनेर पुरै हात काट्नेहरु मन पर्दैन । मलाई यो लाइफ फ्यानहरुले नै दिएको हो । म उहाँहरुलाई धेरै माया गर्छु ।
Leave A Comment