इन्टु मिन्टु लन्डनमा : फ्रेस अनुहारमा बासी क्रिम

बिहिबार, ११ असोज २०७५, ११ : ११ शुक्रवार
इन्टु मिन्टु लन्डनमा : फ्रेस अनुहारमा बासी क्रिम

भनिन्छ, कलाकार सिनेमाको एउटा हिस्सा हो तर निर्देशक आफैँमा एउटा सिनेमा हो । 

तर के गर्ने ? अधिकांश नेपाली फिल्म निर्देशकहरु यही यथार्थ बुझ्दैनन् । फिल्म चलाउन फिल्मको मुटु कथा र कथ्य शैली नै बलियो हुनुपर्छ भन्ने सत्यलाई उनीहरु बिर्सन्छन् । ध्यान दर्शक अल्मल्याउने संगीत, लोकेसन, कलाकारमा दिन्छन् । परिणाम ‘इन्टु मिन्टु लन्डनमा’ जस्तै उत्पादन हुन्छ । 

फिल्मभित्र लन्डनका चिल्लाचिल्ला सडक, ठूल्ठूला बिल्डिङ, लामालामा रेल र डाँडापाखा छन् । साजसज्जा भव्य छ । कलाकारका पहिरन उस्तै आकर्षक छन् । गीतहरु सुमधुर छन् । तर न कथा नै ताजा छ न त कथ्य शैली । 

नेपालबाट बाबुलाई भेट्न लन्डन गएकी मीरा (साम्राज्ञीराज्य लक्ष्मी शाह) र लन्डनकै रेस्टुराँमा काम गर्दै आइरहेका ईशान (धिरज मगर) साथीको माध्यमबाट एकअर्कालाई भेट्छन् र थाहै नपाई प्रेममा पर्छन् । 

दूतावासमा राजदूत रहेका मीराका बाबुलाई उनीहरुको प्रेम पच्दैन । लगत्तै मीरालाई लिएर उनी नेपाल फर्कन्छन् र नेपाली सेनामा अधिकृत तहका जागिरे आकाश (सारुक ताम्राकार)सँग छोरीको बिहे तय गरिदिन्छन् ।  

त्यसपछि मीरा र ईशानको प्रेमले कुन मोड लिन्छ ? आकाशको इन्ट्रीपछि उनीहरुको प्रेम कता मोडिन्छ ? यही उतारचढावका बीच फिल्मको कथा सकिन्छ । 

यात्राका क्रममा हिरो–हिरोइनको भेट । भेटपछि प्रेम । प्रेमपछि पारिवारिक अवरोध । त्यसपछि अर्कै केटासँग हिरोइनको बिहे तय । अनि हिरोइनलाई पाउन हिरोको संघर्ष । 

यस्ता कथामाथि बलिउडले मात्रै होइन नेपालले पनि थुप्रै फिल्म बनाइसक्यो । कथा र प्रस्तुतिका हिसाबले ‘इन्टु मिन्टु लन्डनमा’ पुरानो ढर्राबाट मुक्त देखिँदैन । फिल्म हेर्दै गर्दा बलिउडको सुपरहिट फिल्म ‘दिलवाले दुल्हनिया ले जाएगें’ झल्झली याद आउँछ । 

१० वर्षदेखि नेपाली फिल्ममा कोरियोग्राफी गर्दै आइरहेकी रेनशा बान्तवा राईको पहिलो निर्देशकीय फिल्म हो, ‘इन्टु मिन्टु लन्डनमा’ । निर्मातालाई बढी खर्च गराउने कोरियोग्राफरका रुपमा उनको परिचय छ । आफूले कोरियोग्राफी गर्ने गीतलाई भव्य देखाउन उनी साजसज्जादेखि पहिरनसम्ममा ध्यान दिन्छिन् । 

उनको यो विशेषताले नै गर्दा होला, ‘इन्टु मिन्टु लन्डनमा’को ‘प्रोडक्सन भ्यालु’ उच्च देखिन्छ । चाहे बिहेदेखि पार्टी समारोहसम्मका दृश्यहरु नै किन नहोस्, सजावटमा कहीँकतै झारा टारिएको छैन । तर फिल्मको आत्मा कथा र शैलीमा झारा टार्दा ती सबै मिहिनेत खेर गएको छ ।

कोरियोग्राफर छँदै लगानीमा सम्झौता नगर्ने रेनशाको स्वभाव फिल्म निर्देशनसम्म आइपुग्दा उस्तै देखियो । तर विडम्बना, फिल्मलाई आवरणमा भव्य देखाउन निर्माताले जति लगानी गरे, त्यो लगानी फिर्ता गराउन उनले फिल्मको कथा र प्रस्तुतिमा जुन मिहिनेत गर्नुपर्ने थियो, त्यो देखिएन । 

न उनले प्रस्तुत गरेको प्रेमकथा दर्शकलाई नयाँ लाग्छ, न त्यसको प्रस्तुतीकरणले दर्शकलाई छुन्छ । फिल्ममा मीरा र ईशान एकअर्काबिना बाँच्नै नसक्ने जुन अवस्था देखाइन्छ, उनीहरुबीच त्यो स्तरको गहिरो प्रेम दर्शकलाई महसुस हुँदैन । ठाउँठाउँमा कलाकारको डबिङमा पनि समस्या देखिन्छ । फिल्मभरी ‘लिप सिंक’ नमिलेका दृश्यहरु बग्रेल्ती भेटिन्छन् ।   

तैपनि फितलो कथा र प्रस्तुतिका बाबजुद लन्डनका मनोरम दृश्य, मीठा गीत र कलाकारको अभिनयले दर्शक जसोतसो ‘होल्ड’ हुन सक्छन् । कथा प्रवाहका हिसाबले पहिलोभन्दा दोस्रो हाफ कम बोरिङ छ । 

पाश्र्व संगीत र गीतले फिल्मको साख जोगाएको छ । शैलेन्द्रध्वज कार्कीको क्यामेराले खिचिएका दृश्यहरु ‘आइ क्यान्डी’ लाग्छन् ।  

कथावस्तु फ्रेस नभए पनि फिल्मले नेपाली फिल्म क्षेत्रलाई एउटा फ्रेस अनुहार भने दिएको छ, धिरज मगरका रुपमा । चकलेटी अनुहार खोजिरहेका निर्मातालाई उनी राम्रो विकल्प हुन सक्छन् । फिल्म हेर्दै गर्दा उनमा देखिने ‘एक्टिङ एटिट्युड’ले दर्शकलाई लोभ्याउँछ । 

बजारमा अनमोल केसी, प्रदीप खड्का र पल शाहको विकल्प खोजिरहेका निर्माताका लागि धिरज एउटा उत्तम विकल्प हुन् । फ्रेस कथा नदिए पनि फ्रेस अभिनेता दिएकी निर्देशक यसका लागि प्रशंसाकी हकदार हुन् । 

त्यस्तै सारुक ताम्राकारको स्टाइल र अभिनय भने स्वभाविक लाग्छ । विवेक लिम्बुले बेलाबेलामा दर्शक हसाउँछन् ।

फिल्मको संख्या बढेसँगै कलाकारको अभिनय पनि झन् माझिदै जानुपर्ने हो तर पहिलो फिल्ममा अभिनयकै कारण वाहवाही बटुलेकी साम्राज्ञीराज्य लक्ष्मी शाह ‘इन्टु मिन्टु लन्डनमा’ आइपुग्दासम्म झन कमजोर देखिएकी छन् । उनको डायलग डेलिभरी बनावटी लाग्छ र अभिनयमा पनि गहिराई छैन । उनले अब अभिनयमा आफूलाई परिष्कृत नगर्ने हो भने उनको करिअर दुई दिनको घामछाया हुने पक्का छ । 

फिल्म रिलिज अघिसम्म निर्देशक रेनशा राईको पटकपटक दाबी सुनिन्थ्यो, ‘यो फिल्मले नेपाली फिल्मलाई नयाँ उचाइमा पु-याउनेछ ।’ तर फिल्म हेरिसकेपछि कहीँकतै त्यस्तो महसुस भएन । बरु नेपाली फिल्मको प्रेमकथा अझै पनि ९० कै दशकमा बनेका बलिउड लभस्टोरीभन्दा माथि उठ्न नसकेको बोध गरायो । जोडी फ्रेस, लोकेसन फ्रेस तर कथा उही बासी !
 

Leave A Comment