डा. कमल शर्मा लम्साल
फिजिसियन तथा मुटुरोग विशेषज्ञ,
सिभिल अस्पताल
शरीरका सम्पूर्ण अंगमा रक्तसञ्चार गर्नका लागि मुटुले निरन्तर पम्पको काम गरिरहेको हुन्छ । मुटु खुम्चिँदा शरीरका विभिन्न अंगमा शुद्ध रगतको सञ्चार हुन्छ । मुटु फुक्दा शरीरका विभिन्न अंगबाट आएको अशुद्ध रगत मुटुमा जम्मा हुन्छ । मुटुमा यसरी जम्मा हुन आएको रगत अर्कोपटक मुटु खुम्चिँदा रक्तनलीहरुमार्फत अगाडि बढ्छ ।
चिकित्सकीय भाषामा मुटु खुम्चिने प्रक्रियालाई सिस्टोल र फुक्ने प्रक्रियालाई डायस्टोल भनिन्छ । समग्रमा मुटुमा हुने सिस्टोलिक र डायस्टोलको निरन्तर प्रक्रियाले समस्त शरीरमा रक्तप्रवाह गराइरहन्छ । रक्तनलीमार्फत रक्तसञ्चार हुँदा उत्पन्न हुने विशेष किसिमको दबाबलाई नै रक्तचाप भनिन्छ ।
मुटु खुम्चिएको समयमा मुटुबाट वेगसाथ निस्केको रगतले रक्तनलीमा दिएको चापलाई सिस्टोलिक रक्तचाप भनिन्छ भने मुटु एकैचोटी धड्किसकेपछि फुकेको अवस्थाको चापलाई डायस्टोलिक रक्तचाप भनिन्छ । साधारणतया स्वस्थ व्यक्तिको रक्तचाप औसतमा १२०÷८० मिमि हुन्छ । माथिको अंकलाई सिस्टोलिक रक्तचाप तथा तलको अंकलाई डायस्टोलिक रक्तचाप भनिन्छ ।
सामान्यतया सिस्टोलिक वा माथिको प्रेसर १२० मि.मि. र डायल्टोलिक वा तलको ८० मि.मि. सम्म हुनु सबैभन्दा राम्रो हो ।
उच्च रक्तचाप साइलेन्ट किलर
उच्च रक्तचापलाई मेडिकल भाषामा हाइपरटेन्सन भनिन्छ । जसको शाब्दिक अर्थ मुटु तथा रक्तनलीहरुमा दबाब बढ्नु हो । विश्वस्वास्थ्य संगठनले उच्च रक्तचापलाई सुषुप्त हत्यारा अर्थात् साइलेन्ट किलरको संज्ञा दिएको छ ।
उच्च रक्तचापले तत्कालै कुनै ठूलै असर पार्ने सम्भावना कम भए पनि लामो समयको अन्तरालपछि मानिसलाई बिस्तारै रोगी बनाउँदै मृत्युशै्यामा पु¥याइरहेको हुन्छ । उमेर बढ्दै जाँदा उच्च रक्तचापको खतरा पनि क्रमिक रुपले बढ्दै जान्छ । उच्च रक्तचाप महिला पुरुष दुवैमा हुन्छ ।
सामान्य भाषामा भन्दा माथिको प्रेसर १४० वा सोभन्दा बढी र तलको ९० वा सोभन्दा बढी हुनुलाई उच्च रक्तचाप भनिन्छ ।
उच्च रक्तचापका लक्षण
सामान्यतया उच्च रक्तचापका बिरामीमा कुनै लक्षण नदेखिन पनि सक्छन् । कुनै व्यक्तिमा एक वा बढी लक्षण हुन्छन् भने कोहीमा केही पनि लक्षण नहुन सक्छ । कसैलाई अत्यधिक रक्तचाप तथा त्यसको जटिलताले बेहोस नै हुन सक्ने भएकाले लक्षणमा एकैनाशको निश्चितता हुँदैन ।
उच्च रक्तचापका मुख्य लक्षणमा विशेषगरी टाउकोको पछाडिको भागमा दुख्ने, वाकवाकी लाग्ने तथा बान्ता हुने हुन्छ । रिंगटा लागेर हुत्तिने, शरीरले हलुंगोपना महसुस गर्ने, आँखाको दृष्टिमा परिवर्तन भई धमिलो देख्ने लक्षण हुन्छ । कुनै काम नगरे पनि थकाइको महसुस हुने र कमजोरी अनुभव हुन्छ । श्वास लिन गाह्रो हुने, मुटुको ढुकढुकी अनियमित हुने,थोरै परिश्रम गर्दा पनि धेरै पसिना आउने उच्च रक्तचापको लक्षण हुन् । यौन चाहना कम हुने, नाथ्री फुटेर नाकबाट रगत आउने, खुट्टा तथा अनुहार सुन्निने, रातो हुने लगायतको उच्च रक्तचापका लक्षण हुन्छन् ।
रक्तचाप धेरै नै बढी भएपछि रक्तनलीहरु बढी तन्किएर फुट्न सक्छ । मस्तिष्कभित्रको रक्तनली फुटे पक्षघात हुन्छ । मुटुको रक्तनली बन्द भए हृदयाघात हुन्छ । आँखाको रक्तनली फुटे अन्धोपन तथा मिर्गौलाको रक्तनलीमा घात भएर मिर्गौलाले काम नगर्ने हुन्छ ।
कहिलेकाहीँ बढी प्रेसर भएको व्यक्ति बेहोस हुने, हातखुट्टा नचल्ने, पिसाब कम हुने तथा हृदयाघात भएको अवस्थामा अस्पतालको आकस्मिक कक्षमा पुग्ने अवस्था हुन्छ । त्यसैले उच्च रक्तचापका लक्षण पनि रक्तचापको तह तथा यसले विभिन्न अंगमा गरेको असरको आधारमा देखा पर्छन् । रक्तचाप बढी भैरहेका धेरै बिरामीमा केही पनि लक्षण नहुन सक्छ । लक्षण नदेखिँदा पनि रक्तचाप हुने भएकाले रक्तचाप छैन होला भन्ठानेर बिरामीले औषधी नखाँदा जोखिम हुन्छ । ढिला भैसकेपछि औषधि खाँदा ज्यानको समेत जोखिम हुन्छ ।
टिनेजरमा रक्तचाप
टिनेजरमा पनि रक्तचापको समस्या हुन सक्छ । कम उमेरमा रक्तचाप परीक्षण गर्नका लागि विशेष किसिमको सानो मेसिनको प्रयोग गर्नुपर्छ । वयस्क व्यक्तिका लागि प्रयोग गरिने मेसिनले टिनेजरको रक्तचाप नाप्दा सहि मापन नहुन सक्छ ।
कम उमेरमा देखिने उच्च रक्तचाप परीक्षण गर्ने यन्त्र फरक किसिमको भए पनि नाप्ने तरिका भने उस्तै हुन्छ । को व्यक्तिका लागि कति रक्तचाप ठिक हो भन्ने कुरा बच्चा तथा टिनेजरको उमेर,उचाइ, लिंगअनुसारका विशेष किसिमका चार्ट हेरेर पत्ता लगाउन सकिन्छ । वयस्क व्यक्तिका लागि ठिक मानिने रक्तचाप टिनेजर तथा बच्चाका लागि बढी हुन सक्छ ।
रक्तचापको सही मापन गर्न २४ घण्टासम्म घरमै यन्त्र जडान गरी हेर्नुपर्ने हुन सक्छ । अस्पतालमा रक्तचाप परीक्षण गर्दा मनोवैज्ञानिक अवस्थाले उचित मापन फरक पर्न सक्छ । स्वाथ्यकर्मीको अगाडि कतिपय बालबालिका तथा टिनेजर तर्सिन सक्छन्, जसको असरले रक्तचाप सामान्यभन्दा केही बढी देखिन सक्छ ।
केही अनुसन्धानले अमेरिकी बालबालिका तथा टिनेजरमा ४ प्रतिशतमा उच्च रक्तचाप देखिएको छ भने नेपालमा सो उमेरमा हुने उच्च रक्तचापबारे अझैसम्म अध्ययन हुन सकेको छैन ।
विभिन्न हर्मोनसम्बन्धी रोगहरु तथा मिर्गौलासँग सम्बन्धित हुने विभिन्न प्रकारका रोगले रक्तचाप बढाउन सक्ने हुनाले बालबालिका तथा टिनेजरलाई यस्तो रोग छ कि छैन भनेर परीक्षण गर्नमा बढी केन्द्रित हुनुपर्छ ।
बालबालिका तथा टिनेजरको तौल बढी वा बुबा–आमामा उच्च रक्तचाप छ भने जेनेटिक कारणअनुसार कम उमेरमै उच्च रक्तचाप देखिने सम्भावना हुन्छ । कम उमेरदेखि नै मुटुलगायतका सबै अंगलाई बढी दबाब पर्ने हुनाले हृदयाघात, मस्तिष्कघात लगायतका जटिलता युवावस्थामै देखिन सक्छन् ।
भ्रम र उपचार
कम उमेरमा रक्तचाप बढ्ने केही निश्चित कारण हुन सक्ने भएकाले आवश्यक परीक्षण गरी सम्बन्धित कारण पत्ता लगाएर उपचार गरेमा जीवनभर औषधि सेवन गर्नुपर्ने नहुन सक्छ ।
त्यस्तै मुटुसँगै जोडिएको मुख्य रगतको नली एर्वोटामा जालो बसेर पनि उच्च रक्तचाप हुन सक्छ । जसलाई खुर्केर फाल्ने वा स्टेन्ट राखेर उपचार गर्न सकिन्छ ।
रक्तचाप कम भयो भने पनि जोखिम हुन्छ । माथिको सिस्टोलिक रक्तचाप ९० भन्दा कम हुनु हुँदैन । ब्लड प्रेसर कम हुँदा किड्नी फेल हुनुका साथै मस्तिष्कमा हुने रक्तप्रवाह घट्छ ।
रक्तचाप कम हुनबाट बच्न प्रशस्त पानी पिउनु पर्छ । नुनको मात्रा मिलाएर खानु पर्छ । रक्सी सेवन गर्नु हुँदैन । रक्तचापलाई सन्तुलित राख्नु सन्तुलित भोजन गर्नुका साथै शारीरिक व्यायाम गर्नुपर्छ ।
प्रायः सबै प्रकारका रोगको अन्तिम अवस्थातिर रक्तचाप कम हुन सक्छ, यस्तो अवस्थामा मुख्य रोगको सघन तरिकाले उपचार गरेमा रक्तचाप सन्तुलनमा आउन मद्दत गर्छ ।
कतिपय टिनेजरले धूमपान तथा मद्यपान सेवनले गर्दा पनि रक्तचापको जोखिम हुन्छ । आहारविहारले पनि रक्तचाप सन्तुलनमा नआए चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ ।
रक्तचापको औषधि खाँदा चिकित्सकको सल्लाहमा खानु पर्छ । ठिक भयो भनेर जथाभावी ह्वात्त औषधि छोड्दा ज्यानको जोखिम पनि हुन सक्ने भएकाले चिकित्सकको परामर्शविना औषधि छोड्नु हुँदैन । कतिपय औषधि एक्कासि छोड्दा रक्तचाप अति नै बढी भएर ज्यानको जोखिम हुन सक्छ । मिर्गाैला, थाइराइडलगायतका रोगका कारणले रक्तचाप बढेको छ भने सो कारणको उपचार भैसकेपछि उच्च रक्तचापको औषधि नचाहिन पनि सक्छ ।
उच्च रक्तचापको औषधिको सेवनले मिर्गौलालगायतको शरीरका अंगमा असर हुन्छ भन्ने कतिपयको भ्रम छ । औषधिले मिर्गौलालई खराबी गर्नु नभई बचाउँछ । तर चिकित्सकको सल्लाहमा खानु पर्छ । रक्तचाप बढ्यो भन्दैमा नुन पूरै रोक्ने नभई कम मात्रामा सेवन गर्नुपर्छ । नुन पूरै रोक्दा नकारात्मक असर हुन सक्छ ।
त्यसैले खानपानमा ध्यान दिनु पर्छ, जथाभावी खानपान गर्नु हुँदैन । बेला–बेलामा स्वास्थ्य जाँच गराउनु पर्छ ।
प्रस्तुति ः उपेन्द्र खड्का
Leave A Comment