जगदम्बा श्री विजेता शान्तदास मानन्धरकाे प्रश्न ‘ बालबालिकालाइ प्रश्न गर्न सिकाएको खै ?’

शुक्रबार, १२ असोज २०७५, ०४ : १९ प्रजु पन्त
जगदम्बा श्री विजेता शान्तदास मानन्धरकाे प्रश्न ‘ बालबालिकालाइ प्रश्न गर्न सिकाएको खै ?’

२०२२ साल देखि बाल साहित्य सिर्जनामा लागेका शान्तदास मानन्धरले दर्जनौँ कृति लेखेका छन्, सयौँ बाल साहित्य सम्पादन गरेका छन् । बाल कथा,उपन्यास,कविता सबै विधामा कलम चलाएका उनी पेसाले निवृत्त शिक्षक हुन् । ०७४ को  जगदम्बा श्री सम्मान पाएका  मानन्धरसँग बाल साहित्यको सेरोफेरोमा रहेर शुक्रवारका लागि प्रजु पन्तले गरेको कुराकानी ।

बाल साहित्यलाई त्यत्ति धेरै चासो दिइन्न । तर त्यही विधामा कलम चलाएर चर्चित पुरस्कार पाउँदा कस्तो लाग्ने रहेछ ?
शिक्षक भएको नाताले बालबालिकाबारे धेरै बुझेँ । तर उनीहरुका लागि पुस्तक थिएन । उनीहरुको दृष्टिकोणबाट साहित्य सिर्जना हुनुपर्छ र सर्वाङ्गीण विकास हुने साहित्य लेख्नुपर्छ भन्ने लागेर बाल साहित्य लेख्न थालेको हो । लेख्दा आफ्नै विद्यार्थीले पढुन्, साहित्यको माध्यमबाट शिक्षा दिन सकियोस् भन्ने नै लक्ष्य थियो । तर पुरस्कारै पाइयो । खुसी छु ।

बाल साहित्यमा ध्यान दिनुपर्ने पक्ष ?
बाल साहित्यमा चोर, कञ्जुस, फटाहा पात्र निर्माण गरेर लेखिन्छ । यस्तो साहित्यले बालबालिकालाई नकारात्मक असर पू¥याउँछ । बालसाहित्य बालबालिकाको क्षमता हुर्काउने माध्यम हो । खाली मनोरञ्जन मात्रै हैन । बालबालिकाको ब्यक्तित्व, सोचाईमा उनीहरुले जस्तो पढ्छन् त्यसैको प्रभाव पर्छ । बाल कथा लेख्दा लक्षित उमेर समूहका आधारमा उनीहरुले ठम्याउन सक्ने भाषाको प्रयोग गर्नुपर्छ ।

नेपालमा बालबालिकाको हुर्काउने प्रकृया कस्तो लाग्छ ?
बालबालिकालाई गर्ने ब्यबहार पहिलाको तुलनामा फेरिएको छ । तर अझै पूर्ण भएको छ । बालबालिका हुर्काउने भनेको हेरविचार गर्ने, खाना खुवाउने मात्रै हैन । उनीहरुको मानसिक विकासको पाटोमा पनि उत्तिकै ध्यान दिनसक्नुपर्छ । घर, समाज बालमैत्री हुनुपर्छ । शरिरको लागि पोशिलो खुराकमा मात्र ध्यान दिएर हुन्न । मानसिक पोशिलो खुराकमा पनि ध्यान दिनुपर्छ । बाल साहित्य पढाउने, वाचन गरेर सुनाउने गर्दा उनीहरुको कल्पनाशिलता बढ्छ । यो पाटो भने अझै अट्किन्छ ।

वच्चाका लागि लेख्नु सजिलो हो भन्ने सुनिन्छ । तपाईको अनुभव सुनौ न । साच्चै सजिलो छ त ?
कठिन छ । बालबालिकाको उमेर समूह अनुसार उनीहरुको मानसिक क्षमता आँकलन गरेर भाषा र शैलीको प्रयोग गर्नुपर्छ । उनीहरु हुर्किएको समाज, पारिवारिक अवस्था हेरेर सही शब्द र कथाको चयन गरेर लेख्नुपर्छ । बालबालिकासँग संगत गर्नुपर्छ । 

आफ्नो लेखनको प्रारम्भिक कालको अनुभव बताइदिनुस् न ।
म विद्यालयको प्रधानअध्यापक थिएँ । बालबालिकालाई पढाउँदा कसरी सरल तरिकाले सिकाउन सकिन्छ भनेर सोच्दा पढाउँदा चित्रको माध्यमबाट छिटो बुझ्दा रहेछन् भन्ने थाहा पाएँ । कस्तो पढ्दा उनीहरु खुसी हुन्छन् भन्ने चाल पाए । त्यसपछि बाल साहित्य अध्ययन गरेँ । विदेशी साहित्य पढे,ँ समाज बुझेँ, बालबालिकामाथि भइरहेको व्यवहारको गहिरो अध्ययन गरेँ । अनि भित्ते पत्रिकामा कथा कविता लेख्न थाले । त्यो उनीहरुले रुचाए । त्यसपछि ०२२ सालदेखि निरन्तर लेख्दै आइरहेको छु । 

बालबालिका सरल हुन्छन्, बुझ्न सजिलो हुन्छ भन्छन् । हो र ?
मानौँ तपाईंले एउटा पुस्तक लिनुभयो । त्यसमा के छ भन्ने थाहा पाउन पल्टाउनै पर्छ । बालबालि बुझ्नेक्रम पनि उस्तै हो । उनीहरुसँग उनीहरु जस्तै भएर भिज्नु पर्छ । उनीहरुसँग उनीहरुकै शैलीमा संवाद गर्नुपर्छ । यो सजिलो काम हो र ?

बाल साहित्य के हो ?
कुनै बेला बाल साहित्यबारे लेखेको थिएँ, ‘बालबालिकाबारे  लेखिएका पुस्तकहरु तिनीहरुप्रति हाम्रो कर्तव्य हो न कि बाल कर्तव्यको सूचीपत्र ।’ अब आफैँ बुझ्नुस्, मेरो धारणा ।

गार्हो भयो । अलि बुझाउनुस् न ?
बाल साहित्य भनेको शिक्षा होइन । पाठ्यक्रम भनेको औषधी हो, मात्रा मिलाएर खानुपर्ने तर साहित्य भनेको पहाडको झरनाबाट झरेको स्वच्छ पानी र खुला मैदानको स्वच्छ हावा हो । जति खाए पनि यसले हानी गर्दैन । ज्ञानविज्ञानको खुराक हो । 

छान्दा कस्तो छान्ने त ?
जस्तो पायो उस्तै पढाउनु हुँदैन । उमेर समूह अनुसारको भाषा शैलीमा लेखिएको साहित्य चयन गर्नसक्नुपर्छ । पहिला अभिभावक आफैंले पढेर मात्र आफ्ना बालबालिकाका लागि उपयुक्र्त छ, छैन निर्णय गर्नुपर्छ । कस्तो शिक्षा दिएको छ, पात्र र चरित्र चित्रण कस्तो छ त्यसमा विशेष ख्याल गर्नुपर्छ ।

बाल साहित्यमा बढी काल्पनिकता किन हुन्छ ?
काल्पनिक लेख्नै नहुने हैन तर असम्भव लेख्नु हुँदैन । जनावरबारे लेख्दा पनि उनीहरुको चरित्र मिल्दो लेख्नुपर्यो । स्यालको बारेमा लेख्ने अनि खरायोलाई स्यालले समायो, खरायो उसका बा–आमा सम्झेर रोयो अनि स्यालले छोडिदियो भनेजस्तो लेख्नुभएन । कहीँ नपाएर स्यालले हातमा आएको सिकार छोड्छ ? कल्पनै भए पनि यथार्थ लेख्नुपर्छ । 

बालबालिकालाई पढाउने तरिकामा खट्किएको पाटो ?
प्रश्न सोध्न नै सिकाइँदैन । त्यसैले हाम्रा बालबालिका धेरै जिज्ञासु छैनन् । त्यसको प्रभावले अनुसन्धानकर्ता, वैज्ञानिक हुने संख्या कम छ । जबसम्म प्रश्न सोध्न सिकाइँदैन, विषयवस्तुलाई फराकिलो ढंगबाट सिकाउन लागिँदैन, उनीहरुको शिक्षा फराकिलो हुन्न । बालबालिकाले प्रश्न सोध्दा झिँजो मान्दै ‘कति सोधी रहेको’ भन्ने जस्तो जवाफ दिनुहुन्न । सकेसम्म सोधिएको सवालको जवाफ उनीहरुले बुझ्ने गरी दिनुपर्छ ।
 

Leave A Comment