‘कहिले अप्स कहिले डाउन्स, जर्नी मज्जाको भयो’

बुधबार, १७ असोज २०७५, ०४ : ०८ अनिल यादव
‘कहिले अप्स कहिले डाउन्स, जर्नी मज्जाको भयो’

एकताका नेपाली पप संगीतको दुनियाँमा निकै चम्किएका थिए, नवीन के. भट्टराई । जताततै उनको स्वर गुन्जिन्थ्यो । उनले गाएका ‘साँझ पख’, ‘डर लाग्छ’, ‘खाँदै नखाको विषले’, ‘तिमी हौ लाखौंको धड्कन’, ‘छैन जून’ आदि बोलका गीत अझै श्रोताले बिर्सिएका छैनन् । तर अचेल उनी पहिलेजस्तो चर्चामा छैनन् । शुक्रवारकर्मी अनिल यादवले उनको आरोह–अवरोहबारे गरेको अन्तरंग कुराकानी: 

पटक–पटकको प्रयासपछि तपाईंसँग इन्टरभ्युको समय जु-यो । समय नमिलेरै हो कि पहिल्यैदेखि मिडियासँग लजाउने तपाईको स्वभाव नहटेर हो ? 
(मुस्कुराउँदै) त्यति साह्रो पनि होइन । खासमा म लाइभ कन्सर्टतिर बिजी भएर नै हो । ट्र्याकमा गाउने बानी नभएकाले लाइभका लागि त प्राक्टिस  गर्नुप-यो । त्यसैले बिजी भइयो । 

भनेपछि अहिले स्टेजमा पुरै व्यस्त ?
अलिअलि । 

महिनामा कतिवटा कन्सर्ट गर्दै हुनुहुन्छ ?
त्यही ३–४ वटा । 

दुई दसक भयो तपाईंको संगीत यात्रा । स्वर सधैँ उस्तै सुनिन्छ । आफ्नो भोकल कर्डलाई कसरी मेन्टेन गर्नुहुन्छ ?
संगीत भनेकै साधना हो । प्राक्टिस नगरी केही पनि हुँदैन । गीत गाउनुमात्रै प्राक्टिस होइन, गीत सोच्नु पनि प्राक्टिस हो । संसारमा केही पनि पर्मानेन्ट छैन । एकचोटी त जान्छ, जान्छ तर पनि सकभर जोगाउने कोसिस न हो ! 

जीवनमा अप्स एन्ड डाउन दुवै महसुस गरिसक्नुभयो । के रहेछ सफलता भनेको ? 
म्युजिकको सेन्समा भन्न हो भने आफूले पलङमा बसेर सिर्जना गरेको संगीत मान्छेले मनपराउनु नै सफलता हो । माथिबाट पनि ‘ल गरेर खा’ भनेर दिएको हुनुपर्छ । सर्जकले हरेक गीत उत्ति नै मिहिनेत गरेर बनाएको हुन्छ तर कुन गीत कतिखेर कसरी हिट हुन्छ थाहै हुन्न । 

भाग्यमा खुब विश्वास गर्नुहुन्छ है ?
कर्म र भाग्य दुवैमा विश्वास गर्छु । अलिकति बढी माथि (भगवान)मा विश्वास गर्छु । 

सफल हुनलाई कला र गला मात्रै भएर पनि हुन्न क्यारे, हैन ?
हुँदैन । मैले धेरै त्यस्ता प्रतिभा देखेको छु, जो चल्न सकेनन् । ठमेलमा गाउँदागाउँदै कति विदेश पलायन भए । आफैँसँग केही गर्छु भन्ने भित्री आत्माबाट विश्वास पनि हुन्छ । सँगसँगै भगवानको आशीर्वाद पनि हुनुपर्छ । 

९० को दशकतिर तपाईं बजारमा निकै हिट हुनुहुन्थ्यो । तपाईंको माग बढ्दो थियो तर अहिले त्यस्तो छैन नि...
पहिला हिट हुने र अहिले हिट हुने माध्यम नै फरक छ । अहिले त युट्युबले हिट गराउँछ । भर्चुअल चिजले हिट हुन्छ । लाइक्स र बुस्ट गरेर हिट हुने प्रचलन फस्टाएको छ । हाम्रा पालामा विक्रम टेम्पुमा होस् या ट्याक्सीमा, गीत बजाउनलाई न्युरोडबाट चक्का किनेर ल्याउनुपथ्र्यो । अहिले त मेरोमा भ्युज बढी कि उसकोमा, मेरोमा लाइक्स बढी कि उसकोमा भन्ने प्रतिस्पर्धा बढी सुन्छु तर म त्यस्ता रहरलाई संगीत नै भन्दिनँ । 

नवीन के भट्टराईको एउटा जमाना थियो । त्यो त अहिले सकियो हैन त ?
यहाँ यसको/उसको जमाना भन्ने नै हुन्न । एउटा विन्दुमा पुगेपछि जो पनि हराउँछ । त्यो ठूलो कुरा होइन । मुख्य कुरा आत्मसन्तुष्टि हो । आफूले गरेको कामप्रति सधैँ विश्वास हुनुपर्छ । आफ्नो कामबाट आफूभन्दा पछाडिको जेनरेसन प्रभावित हुनुपर्छ । यो ठूलो कुरा हो ।  

हामीकहाँ अहिले एक–दुइटा गीत हिट हुनेबित्तिकै आफूलाई स्टार ठान्ने प्रवृत्ति हावी देखिन्छ । पूर्व स्टारको नजरबाट हेर्दा यो ठीक हो ?  
खासमा हिटसिट भनेको ठूलो कुरै होइन क्या ! म कुनैबेला काठमाडौं युनिभर्सिटीमा म्युजिक पढिरहेको थिएँ । मसँग गाडी थिएन । बाइक चढ्न आउँदैनथ्यो । बस चढेर जान्थे बागबजार । फर्किदा बसमा मेरो गाना ‘आँखामा तिम्लाई’ बजिराको हुन्थ्यो । ओहो, मेरो स्वर पनि मान्छेले मन पराउँदो रैछ है जस्तो फिल हुन्थ्यो । कुनै पनि चिजबाट मान्छेले बढी अपेक्षा ग-यो भने ऊ पछि गएर दुःखी हुन्छ, हुन्छ । हिट भन्ने कुरा पर्मानेन्ट नै हुँदैन । एउटा सीमित विन्दुसम्ममा मात्र हुने हो । कसैको हकमा दुई वर्ष, कसैको हकमा पाँच त कसैकोमा १० वर्ष हुनसक्ला । 

स्टार भइसकेको मान्छेले आफ्नो करिअरमा आउने ‘डाउनफल’लाई कसरी कन्ट्रोल गर्नुपर्छ ? तपाईको अनुभवसँग जोडेर बताइदिनुस् न । 
मैले जीवनमा चर्चा र स्टारडमलाई कहिल्यै प्राथमिकतामा राखिनँ । त्यसैले न मलाई सफलताको मात लाग्यो, न डाउनफलले सतायो । सधैँ उही रफ्तारमा काम गरियो । मेन कुरा आफ्नो कामलाई इन्जोय गर्नु नै हो । 

तपाईंले सधैँ कृत्रिमभन्दा पनि प्राकृतिक कुरामा जोड दिनुभयो । स्टेज चढ्दा पनि ट्रयाकमा होइन लाइभमै गाउने अडिग कस्नुभयो, है ?
हो । ट्रयाकमा ९० पर्सेन्ट सबै स्टुडियोको प्रडक्ट हुन्छ क्या ! स्टुडियोमा मिक्स गरेर चिटिक्क बना’को चिजलाई एउटा पेन्ड्राइभमा लगेर अनि एउटा माइक लिएर गाउनुमा मलाई मज्जा आउँदैन । म्युजिक भनेपछि बाजा बजाउँदै लाइभ गाउँदाको फिल नै अर्कै हुन्छ । बरु गाउँदा बिग्रन्छ भने बिग्रियोस् तर ‘इन अ ह्युमन वे’मा गाउनुको छुट्टै मज्जा हुन्छ ।

स्टेज कार्यक्रम कम हुनुको मुख्य कारण ट्र्याकमा नगाउनु पनि होला !
त्यो पनि हो । नेपालमा सबैलाई थाहा छ, नवीनले ट्र्याकमा गाउँदैन, ब्यान्ड चाहिन्छ भन्ने । विदेशमा भने कतिजना झुक्किराको हुन्छन् । ५–६ जना ब्यान्ड मेम्बरसहित ल्याउनुपर्छ भनेपछि धेरै तर्सिन्छन् । त्यत्रो प्लेन खर्च लाग्छ भनेर आत्तिन्छन् । एकजना मात्रै बोलाउने सोच बोकेको आयोजकका लागि पाँचौँ गुणा बढी खर्च हुन्छ । त्यसैले मलाई ब्यान्डसहित लाने आँट कमैले गर्छन् । 

जीवनमा कहिल्यै संगीत छोडौँ भन्ने सोच आयो ?
थाक्नु छुट्टै कुरा हो तर छोडौँ भन्ने कहिल्यै भएन । अमेरिकामात्रै ५–६ चोटी गएँ होला । भ्यान राखेर कन्सर्ट गरेँ । धेरैले यतै बस्ने होइन भनेर प्रश्न नगरेका पनि होइनन् तर कहिल्यै त्यतातिर सोचिएन । रुचि पनि भएन । 

तपाईंले अहिलेको नेपाली म्युजिक इन्डस्ट्रीलाई कसरी हेर्नुभएको छ ?
अहिले म्युजिक इन्डस्ट्री नै कहाँ छ र ? जे छ युट्युब छ । के हिट, के फ्लप– त्यसको निर्धारण युट्युबले गर्छ, बुस्टले गर्छ । 

होइन, मैले नेपाली म्युजिकको ट्रेन्ड सोध्न खोजेको ?
ठीकै छ, जे होस् भाइहरुले राम्रै गाइरा’को छन् । लिरिक्समा अलि ध्यान पु-याए हुन्थ्यो कि भन्ने लाग्छ । बाजामा गितार नै चाहिन्छ भन्ने हुन्न तर बाजा प्रयोगमा पनि अलि ध्यान दिए हुन्थ्यो । 

बजारमा जस्तो गीत चलिरहेको छ, त्यस्तै बनाउन खोज्ने संगीतकर्मीको भिड बाक्लो देखिन्छ, यो ठीक हो र ? 
सबभन्दा ठूलो मिस्टेक नै यही हो । अरुको गीत सुनेर, म यस्तो खालको गीत गर्छु, यस्तो खालको चल्छ भनेर कहिल्यै काम गर्नुहुँदैन । त्यो भयो भने आफ्नो आत्माबाट आ’को म्युजिक मिस हुन्छ । ट्रेन्ड भनेको आफूले सेट गर्ने हो । अलरेडी चलिरा’को ट्रेन्डलाई पछ्याउने हो भने त कभर गीत गाए भइगो नि, किन नयाँ गीत निकाल्नुप-यो ! मार्केट भनेको आफूले चलाउने हो क्या ! मलाई पनि पहिला धेरैले सुझाव दिन्थे, ‘ए दाइ मार्केटमा यस्तो चलिराको छ’ भन्थे । सो ह्वाट ? म हुलमा मिसिनु हुन्न भन्ने मान्छे ।  छुट्टै पहिचान बनाउनुपर्छ । बरु समय लाग्न सक्छ । अहिले म नेपालको मुभी म्युजिक सुन्छु । फरक फरक कम्पोजरको कति गीतहरु पनि उस्तैउस्तै लाग्छ । छक्क पर्छु । त्यो म्युजिसियनसँग कन्फिडेन्ट नभएर हो । तिमीले कुनै चिज गर्दैछौ भने त्यो चिजमा तिम्रो कलर, तिम्रो बास्ना आउनुप-यो क्या, अरुको होइन । 

संगीत संघर्षका दिनलाई अहिले कसरी सम्झनुहुन्छ ?
मेरो संघर्ष नै भएन । मान्छेहरुको आउँछ नि, मेरो जुत्ता फाट्यो, हार्मोनियमको अगाडि वाइवाइ र चिउरा खाँदै बसेको । हो त्यस्तो टाइपको मेरो संघर्ष कहिल्यै भएन । टोलकै साथीहरुसँग मिलेर ‘द स्टिल ह्विल्स’ ब्यान्ड खोलेका थियौं । इङ्लिस गीत गाउँथ्यौँ । त्यत्तिकैमा नेपाली एल्बम निकालौँ न त भन्ने भयो । रहरैरहरमा साथीहरुसँग मिलेर पहिलो एल्बम निकाल्यौँ । नाम पनि त्यही राख्यौं, ‘रहरैरहरमा’ । सय पिस पनि बिक्री भएन । सयमा पनि ५० त साथीले किन्देको ! घरमा गएर सुन्दा पनि सुनेनन् होला । मार्केट भनेको हामीले चिताको जस्तो हुँदैन रहेछ भन्ने त्यतिबेलै थाहा भयो । धेरै साथीहरु त फ्रस्टेट भएर विदेशै गए । तैपनि आफू संगीतमै लागियो । अझै लागिया छ । 

तपाईंको एउटा हिट गीत छ, ‘खाँदै नखाको विषले जिउँदै मा¥यो, बोल्दै नबोले नि बात लाग्यो...।’ जिन्दगीमा कतिपल्ट यस्तो भयो ?
हुन्छ, कहिलेकाहीँ गल्ती नगरे पनि बात लाग्छ । मलाई भन्दा बढी त यो गीत लेख्ने राजीवमणि नेपाललाई लाग्यो होला (हाँस्दै) । 

तपाईंलाई पहिलोपल्ट आफू सेलिब्रिटी भएको महसुस कहिले भयो ?
त्यस्तो फिल त कहिल्यै गरिनँ । गरेको भए सायद आज सबैभन्दा दुःखी भइन्थ्यो । जे होस्, लाइफलाई इन्जोय गरिररा’छु ।  

अहिले नेपालमा गायन रियालिटी सोहरु निकै चर्चामा छन् । कसरी लिनुभएको छ ? 
रियालिटी सो भनेकै सबैभन्दा अनरियल हुन्छ रे ! सबै वेल स्क्रिप्टेड हुन्छन् । त्यहाँनेर अरुका गीत गाएकै भरमा ट्यालेन्ट भन्न नमिल्ला ! कभरबाहेक क्रिएटिभिटी नाप्ने अरु चिज पनि हुनुपर्छ जस्तो लाग्छ । तर यो सब कमर्सियल उद्देश्यले चलिरहेका छन् । कमाउने माध्यम हो । 

नियमित हेर्नुहुन्छ ?
छैन । अहिलेसम्म नेपाल आइडल र द भ्वाइसको एक एपिसोड पनि हेरेको छैन । प्रतिस्पर्धीले मेरो गीत गाएको बेला सोसल मिडियामा फ्यानले क्लिप मेन्सन गर्दिराका हुन्छन् । त्यो पनि हेर्दिनँ । 

आफ्नै गीत अरुले गाउँदा पनि हेर्नुहुन्न ?
आफैँले गाउँदागाउँदा गरेको गीत किन हेर्नु हौ ? अरुकै केही नयाँ र क्रिएटिभ काम भयो भने हेरेर इन्जोय गर्छु । 

अचेल एल्बमको जमाना कतिको मिस हुन्छ ?
भइहाल्छ नि ! -याकै-याक अनि -याकभर चक्का । स्वादै अर्कै हुन्थ्यो । अहिले त म्युजिकमा इजी एक्सेस छ । जे चाह्यो त्यही, भन्नेबित्तिकै सुन्न पाइन्छ । 

अहिले त स्वर पनि मिलाउन मिल्छ रे ! अटो ट्युन पनि हुन्छ रे ?
अँ, त्यही भएर त हिरो, हिरोइन, खेलाडी सबले गीत गाइरा’छन् (हाँसो) । 

अन्त्यमा, दुई दसकको आफ्नो संगीत यात्रालाई आफै समीक्षा गर्नुप-यो भने कसरी गर्नुहुन्छ ?
मज्जाको जर्नी भयो । अप्स एन्ड डाउन्स भयो । हाँसो र खुसी दुवै पाएँ ।  जीवनसँग नजिक बनायो । जीवनको यथार्थलाई छिटो चिनायो । अरुलाई ८० वर्ष लाग्थ्यो भने मैले सायद २६ वर्षमै जीवनलाई नजिकबाट चिनेँ । दिनदिनै अचम्मअचम्मका मान्छेहरु भेटिन्थ्यो । सम्झँदा अहिले पनि रमाइलो लाग्छ ।  

(तस्बिर: कृष्पा श्रेष्ठ)

Leave A Comment