मासुमा नगरौँ रौस

आइतबार, ११ कार्तिक २०७५, ०५ : २५ उपेन्द्र खड्का
मासुमा नगरौँ रौस

डा. सुशील मोहन भट्टराई
कन्सल्टेन्ट सर्जन
नेसनल एकाडेमी अफ मेडिकल साइन्सेस (न्याम्स), वीर अस्पताल 

दसैं मिठो खाने, राम्रो लगाउने चाड हो । परिवार भेटघाट भएर आनन्दले मनाउने पर्व हो दसैं मासुसँग समेत जोडिएको चाड हो । 

मासुमा विशेषगरी प्रोटिन र फ्याट पाइन्छ । मासु खाने व्यक्तिले प्रोटिन र फ्याट खाएको हुन्छ । प्रोटिन र फ्याट शरीरलाई अत्यावश्यक तत्व मध्येमा पर्छ । खनिज तत्व, क्याल्सियम, म्याग्नेसियम, जिंकलगायतका तत्व मासुबाट प्राप्त हुन्छ । शरीरलाई आवश्यक पर्ने भिटामिन–ए, ओमेगा–३ फ्याटि एसिडजस्ता शरीरलाई अत्यावश्यक तत्व मासुबाट प्राप्त हुन्छ । कलेजोमा आइरन र भिटामिन–ए प्रशस्त मात्रामा पाइन्छ । 

शरीर मजबुत बनाउँछ
मासुले शरीरको वृद्धि विकासलाई सहयोग गर्छ । विशेषगरी बढ्दो उमेर समूहका व्यक्तिले नियमित मासु खानाले शरीरको वृद्धि विकास हुन्छ । मासुले शरीरलाई मजबुद बनाइरहन्छ । ढल्किँदो उमेर समूहका व्यक्तिका लागि मासुमा भएको प्रोटिनलगायतले शरीरमा रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । शरीरलाई मजबुत बनाई राख्न सहयोग गर्छ । मासुमा भएको क्याल्सियमले हड्डी खिइने समस्याबाट समेत बचाउँछ । विशेषगरी ढल्दै गएको उमेर समूहका लागि मासु तथा हड्डीको सुप खानाले शरीरलाई मजबुत बनाउँछ । 

शरीरमा प्रत्येक कोषिका मर्ने र फेरि बन्ने प्रक्रिया चलिरहन्छ । शरीरको कोषिका मरेपछि पुनः उत्पादनका लागि आवश्यक पौष्टिक तत्व मासुमा पाइन्छ । प्रोटिनले मरेका कोषिका पुनः उत्पादन गर्छ, जुन मासुबाट प्राप्त हुन्छ । 

बोसोयुक्त मासुले बेफाइदा
मासुका फाइदा र बेफाइदा दुवै छन् । पकाउने तथा खाने तरिकामा पनि मासुका फाइदा र बेफाइदामा भर परेको हुन्छ । फ्राइ गरेको मासु, चिल्लोमा तारेको मासु, प्रशस्त चिल्लो ग्रेबी गरेको मासुले शरीरलाई फाइदा गर्दैन यसले कोलस्ट्रोल बढाउँछ । यस्तो मासुले शरीरमा अत्यधिक मात्रामा बोसो बढाउँछ । बढी बोसोले मुटुलाई असर गर्छ ।

शरीरमा जमेर रहेकोे बोसो र मासु खाँदा प्राप्त हुने बोसोले शरीरमा बोसोको मात्रा बढी हुन्छ । बोसो बढी भएपछि रगतका धमनीमा जम्न जान्छ, जसलाई आथेरोस्क्लेरोसिस् भनिन्छ । जसका कारणले हृदयाघातको जोखिम हुन्छ । रगतको धमनीमा बोसो जम्दै गएपछि रक्तसञ्चारमै कम हुने भएकाले हृदयाघातको जोखिम हुन्छ । त्यसैले तरिका मिलाएर मासु खानुपर्छ । मासु खाने तरिका मिलेन भने शरीरलाई जोखिम हुन सक्छ । 

मासू आफंैले पनि खराब गर्ने केही रोग हुन्छन् । उच्चरक्तचाप (प्रेसर) र सुगरका बिरामीलाई पनि मासुले असर गर्छ । 

रातो मासु घातक
रातो रंग भएका मासुले विशेषगरी प्रेसर र सुगर भएका व्यक्तिलाई हृदयाघातको जोखिम अत्यधिक हुन्छ ।  ढल्दो उमेरका व्यक्तिलाई पनि रातो मासुले फाइदा गर्दैन । रातो मासुले प्रेसर र सुगर भएका व्यक्तिको प्रेसर र सुगरलाई गढबढ गरिदिनुका साथै प्रेसर र सुगर नभएका व्यक्तिमा पनि पे्रसर र सुगर निम्त्याउँछ । प्रेसर र सुगर बढी भएमा  मुटु, आँखा, मृगौलालाई असर गर्छ ।

रातो मासु खसी–बोका तथा राँगामा पाइन्छ । त्यसैले रातोमासु शरीरलाई फाइदाजनक मासु होइन । विशेष गरी ढल्दो उमेर समूहका व्यक्तिलाई रातोमासु फाइदाजनक हुँदैन । बयस्कले भने रातो मासु पचाउँछन् । रातो मासुमा प्रोटिनलगायतका तत्व पाइन्छन् । कुखुरा, माछालगायतको मासु रातो मासुभन्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

कसरी खाने मासु ?
मासु खाँदा मासु पकाउने तरिका मिलाउन जरुरी हुन्छ । मासु पकाउँदा चिल्लो कम र झोलिलो बढी बनाउनु पर्छ । मासुसँगै टाँसिएको बोसो घटाउनुका साथै मासु पकाउँदा चिल्लो पनि कम हाल्नु पर्छ । पानीमा बफाएर पनि बोसो घटाउन सकिन्छ । प्रेसर, सुगरजस्ता रोग भएका व्यक्तिले रातो मासु नखाएकै राम्रो हुन्छ । खानुपरेमा पनि सागपात पनि मिलाएर खाँदा स्वास्थ्यका लागि फाइदा हुन्छ । साग, सब्जी, फलफूल मिलाएर सन्तुलित रुपमा मासु खानुपर्छ । मासु मात्रै स्वादिष्ट हुँदैन । त्यसैले अन्य परिकार पनि खाँदा शरीरलाई पौष्टिक तŒव पुग्नुका साथै मिठो पनि हुन्छ । फलफूलले पनि खाना पचाउन सहयोग गर्छ । शरीरलाई ताजापन बनाउन फलफूलले सहयोग गर्छ । मासु मात्रै खाँदा असर गर्ने भएकाले मासु खाँदा सावधानी अपनाउनु पर्छ । 

शरीरका लागि कार्बोहाइड्रेड करिब ५० प्रतिशत, प्रोटिन करिब ४० प्रतिशत र चिल्लो १० प्रतिशत पौष्टिक आहार आवश्यक हुन्छ । यी सबै तŒव भएको खाना सन्तुलित भोजन हुन्छ । दाल, चना, गेडागुडी लगायतबाट प्रोटिन प्राप्त हुन्छ । तरकारीमा खाना पचाउने फाइबर पाइन्छ । सुगरका रोगीले फाइबरयुक्त तरकारीलगायत खाना खायो भने सुगर बढ्दैन । 

दसैंको मसला
मसला खाँदा बजारमा पाइने कृत्रिम मसला खानु हुँदैन । बजारमा बनाइएका मसला नखाँदानै राम्रो । बेसनको प्रयोग नगर्दा नै राम्रो । जिराको दाना, लसुन, ल्वाङ, दालचिनी, अदुवालगायतका मसलाले शरीरलाई फाइदा गर्छ । त्यसैले दसैंको मासुमा मसला खाँदा मात्रा मिलाएर खानुपर्छ । 

धेरै मसलेदार तथा अत्यधिक पिरोले ग्यास्ट्रिकको समस्या भएका व्यक्तिमा असर हुन्छ । अल्सर हुने तथा अल्सर फुट्नेसम्मका समस्या हुन्छन् । पित्तथैलीको पत्थरी भएका व्यक्तिमा पनि चिल्लो पचाउने क्षमता कम हुन्छ । त्यसैले मासुसँगैको चिल्लो, मसलेदार तथा पिरो खानेकुराले पेट ढुस्स फुल्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्नेजस्ता समस्या हुन्छन् । 

अमिलोले पचाउँछ 
भेजिटेरियनले अचारलाई स्वाद मानेर खान सकिन्छ । खाँदेर राखेको अचार नखाएकै राम्रो । धेरै समय राखेको अचारले स्वास्थ्यलाई फाइदा गर्दैन । पुरानो अचारमा किटाणु बढेको हुन्छ । पुरानो अचार स्वादका लागि ठिकै भए पनि पौष्टिक गुणस्तर (भ्यालु) घटिसकेको हुन्छ । त्यसैले खाँदेको पुरानो अचार कम खाएको राम्रो । 

ताजा अमिलोले खाना पचाउन एन्टी अक्सिडेन्टको काम गर्छ । अमिलोमा खाना पचाउनका लागि भिटामिन–सी हुन्छ । अमिलोले खानालाई पचाउन मद्यत गर्ने भएकाले ताजा अमिलो खानु राम्रो हो । मासुलाई समेत कागती, निबुवालगायतको अमिलोले पचाउन सहयोग गर्छ ।  अमिलोले शरीरको बुढो हुने प्रक्रियालाई रोक्नुका साथै घाउ छिटो सन्चो हुन्छ । अमिलो खाँदा क्यान्सर लाग्नबाट पनि बच्न सकिन्छ । 

खाना पचाउन व्यायाम
खाना पचाउन सन्तुलित भोजन गर्नुपर्छ । थोरै थोरै, छिटो छिटो खाने । राति घाम डुबेपछि किटाणुको गतिविधि बढ्ने तथा शरीर पनि आराम गर्ने समय भएकाले घाम डुबेपछि खाना नखाँदा नै राम्रो । पूर्वीय संस्कृतिमा पनि घाम डुबेपछि नखान सुझाव दिएको पाइन्छ । 

मासुलगायतको खाना खाएपछि व्यायाम गर्नुपर्छ । नियमित व्यायाम गर्नाले शरीरले खाएको खाना पचाउँछ । शरीरमा बोसो जम्न पाउँदैन । व्यायामले कोलस्ट्रोल, प्रेसर, सुगरको मात्रा सामान्य हुन्छ । 
दसैंको समयमा मुटु, प्रेसर, सुगरजस्ता रोगीले खानपानमा विशेष ध्यान दिनुपर्छ

। यस्ता रोगको समस्या भएकाले रातो र चिल्लो मासु खानु हुँदैन । सुगर रोगीले अत्यधिक मात्रामा गुलियो मिठाई लगायतका खानेकुरा खानु हुँदैन । युरिक एसिड भएकालाई पनि मासु तथा मदिराले असर गर्छ । वियर र मासु युरिक एसिडका दुष्मन हुन् । युरिक एसिड भएका शाकाहारीले गेडागुडी पनि खानु हुँदैन । शाकाहारी भोजन गर्नेले पनिरमा पनि चिल्लो धेरै हुने भएकाले धरै पनिर नखाएकै राम्रो । 

पेटको क्यान्सर भएका दीर्घ रोगीले मासु पचाउन नसक्ने भएकाले मासुको सुप खानु उपयुक्त हुन्छ । 
दसैंको मासु ताजा र सन्तुलितरुपमा खानु नै राम्रो हुन्छ । पोलेको मासुले पनि स्वास्थ्यलाई फाइदा गर्दैन । 

सन्तुलित भोजन
दसैंमा मासु, रक्सी, चिउरा पनि खाइन्छ । मासु र रक्सी मात्रै पनि खाइन्छ । यी खानाले आन्द्राको चाल बिग्रिन्छ । आन्द्रालाई राम्रो चाल हुनका लागि फाइबरयुक्त खाना आवश्यक हुन्छ । फाइबरयुक्त खाना नपुगेपछि मानिसलाई कब्जियत हुन्छ । मलद्वारको समस्या हुन थाल्छ । फाइबरयुक्त खानाको कमीले पायल्स, फिस्टुला, फिसर हुन थाल्छ । पायल्स, फिस्टुला, फिसरको समस्याका बिरामी दसैंपछि ह्वात्तै बढ्छन् । त्यसैले दसैंमा मासुका साथै हरियो साग पात खानाले मासुको फाइदा पनि लिन सकिन्छ भने बेफाइदाबाट पनि बच्न सकिन्छ । 

कडा दिसाले आन्द्रालाई असर गर्छ । कडा दिसा हुनबाट बचियो भने यी तीनवटै समस्याबाट बच्न सकिन्छ । 

गलत खानपिनका कारणले कब्जियत हुनुका साथै पायल्स, फिस्टुला र फिसर हुन्छ । त्यसैले दसैंमा धेरै मासु रोटी खानु हुँदैन । साग–सब्जी, गाजर, मुला, लौका, चिचिन्डा, फर्सी, स्कुस, सीमिजस्ता तरकारीमा फाइबर पाइन्छ । यस्ता फाइबरयुक्त तरकारी तथा सागसब्जी कम खानाले पायल्स, फिस्टुला र फिसरको जोखिम बढ्छ । त्यसैले दसैंँमा मासु मात्रै खानु हुुँदैन फाइबरयुक्त खाना पनि खानु पर्छ । 
फाइबरयुक्त तरकारी तथा खानाले शरीरको पाचन प्रक्रियालाई सहज बनाउँछ । त्यसैले दसैंमा सन्तुलित भोजन गर्नुपर्छ । दसैंको समयमा स्वस्थ रहन सन्तुलित भोजन गर्न आवश्यक छ । 
प्रस्तुतिः उपेन्द्र खड्का


 

Leave A Comment